काठमाडौं । दार्चुला, अपिहिमाल गाउँपालिकाका दिलेन्द्र महता आठ दिनअघि भारत प्रस्थान गरेका थिए । कोरोनाको हल्ला त सुनेका थिए । सात समुद्रपारिको हावा महाकालीसम्म पुग्ला भनेर उनले चिताएका थिएनन् ।
अचानक नजिकका आफन्त बिरामी परे । दार्चुला, जिल्ला अस्पतालको उपचारप्रति उनीहरूलाई उति भरोसा भएन । उपचार, गाँसका लागि पिता–पुर्खा भारतकै भर पर्नु परेको थियो । उनी पनि आफन्त लिएर उतै हानिए ।
भारत पुग्दानपुग्दै कोरोनाको कहरले छोपिहाल्यो ।
बाह्रखरीको सम्पर्कमा आएका दिलेन्द्र आफ्नो व्यथा सुनाउँछन्, “राम्रोसँग जाँच गराउनै पाइएन । बसेको ठाउँमा नेपाली भन्नासाथ हामीलाई अपशब्द बोल्ने, तिमीहरूकै देश जाओ भनेर गालीगलौज गर्न थाले ।”
भारतीय नागरिकको अपमान, दुर्वचन सहन नसकेपछि उपचार नगरी उनीहरू आफ्नै देश फर्कन थाले ।
विडम्बना ! भारतले २१ दिन लकडाउनको घोषणा गर्यो । यातायातका साधन पाइएन । आफ्ना नागरिक हुन्थे भने भारतले व्यवस्थापन पनि गर्दो हो । गाडी, घोडा खोजिदिँदो हो । बेवास्तामा परे उनीहरू ।
“अन्तिम अवस्थामा आफ्नै देश फर्कने रहर हुँदो रहेछ । भारतमा ज्यालादारी, मजदुरी गर्ने दार्चुला, बैतडी घर भएकाहरू झिटीगुन्टा च्यापेर पैदलै घर पुग्ने अठोटमा लागे,” दिलेन्द्र सुनाउँछन् ।
दिलेन्द्र पनि पिथौरागढभन्दा टाढाबाट दार्चुला सीमावर्ती इलाका धार्चुला आइपुगे । दुईदिन पैदल हिँडेर । भोकै, अनिदै ।
“म त दुईदिन मात्रै पैदल हिँडे । कति नेपाली त पाँच दिनदेखि च्युरा, भुजियाको भरमा हिँडेरै धार्चुला आइपुगेका छन्, कति थकानले, कति रोग–शोकले गलितम् छन्,” दिलेन्द्र पीडा ओकल्छन् ।
धार्चुला आइपुगेपछि सरकारले देश भित्रन देला भन्ने आशा थियो उनीहरूको । सीमासम्म आइपुगेका नेपालीलाई अलपत्र पर्न दिँदैनौं भनेर सरकारले पटकपटक भनेको छ भनेर नेपालतिरको खबर पनि सुनेका थिए उनीहरूले ।
दुःखको कुरा देश छिर्न प्रतिबन्धित भए ।
“सरकारले हामीलाई दीर्घ रोग बोकेर आएजस्तो व्यवहार गर्यो । छोइछिटो लाग्लाझैं गर्यो । म त कमाउन गएको थिइनँ, धेरै भारतमा मजदुरी गरेर नेपालमा पैसा पठाउनेहरू छन् । उनीहरूको पैचाचाहिँ चल्ने, आउन मिल्ने, उनीहरूचाहिँ आउन नमिल्ने ! यस्तो अन्याय पनि हुन्छ ?,” दिलेन्द्र प्रश्न गर्छन् ।
नेपालतर्फको ढोका बन्द भएपछि झण्डै सातसय नागरिक धार्चुलामै अलपत्र परेका छन् ।
खलङ्गाका सञ्चारकर्मी पदम बडालका अनुसार सीमा नाकामा अलपत्र परेका नेपालीलाई भारतीय प्रशासनले जवाहरसिंह स्टेडियम, बलुवाकोट महाविद्यालय, जीआईसी जौलजीवी र काञ्जी हाउसमा व्यवस्थापन त गरेको छ । तर उनीहरूको अवस्था दयनीय छ । धेरैजना एउटै कोठामा कोचिनु परेकाले भीडमा सङ्क्रमित रहेछन् भने पनि फैलिएर भयावह हुने स्थिति छ ।
बडालका अनुसार जवाहरसिंह स्टेडियममा ३ सय २५ जना, बलुवाकोट महाविद्यालयमा ६० जना, जौलजीवीमा १ सय १० जना र काञ्जी हाउसमा १ सय ६५ जनालाई बन्दोबस्त गरिएको छ ।
तर, सबै नेपाली त्यहाँ अटाएका छैनन् । नअटेका नेपाली महाकालीको किनारमा आफ्नो भूमि, परिवार सम्झिएर आँसुमा बगिरहेका छन् । कोही बालबच्चा च्यापेर दिनभरि महाकालीको उच्चाटलाग्दो बगरमा टोह्लाउँछन् । बेलुका भीडमा कोच्चिँदै आँसु सिरानी हाल्छन् ।
दिलेन्द्रसहित ६–७ जनाले शौचालयको छतलाई बासस्थल बनाएका छन् । “तलबाट ह्वास्स गन्ध छुट्छ । कोरोना लाग्ला नलाग्ला, सरकारको व्यवहारले नै मार्ने भयो,” दिलेन्द्र भावुक हुँदै भन्छन् ।
“अलपत्र पर्नेमा केही रोगी, वयोवृद्ध पनि छन् । अधिकांश आफ्नै देशमा मर्न पाउँ भनेर आएका दुःखी, गरिब छन् । उनीहरू अहिले महाकालीको किनारमा भोकभोकै छन्,” दिलेन्द्र थप पीडा सुनाउँछन् “सीमा आइपुग्दासम्म देश छिर्न पाउनेमा ढुक्क थियौं । सीमामा आइपुगेपछि पो देख्यौं– सरकार कति निर्दयी, क्रूर, अमानवीय हुँदो रहेछ !”
सीमा क्षेत्रमा अलपत्र, बेवारिसे बनाइएपछि पीडा खप्न नसकेर आइतबार, सोमबार दिनभरजसो उनीहरूले नाराबाजी गरे ।
प्रशासनको कानमा बतास लागेन । सीमामा आइपुगेकालाई व्यवस्थापन गर्छौं । सीमाकै विन्दुमा क्वारेन्टिन गर्छौं भनेर ठुल्ठूलो गफ गर्ने केन्द्र सरकारले पनि सुनेको नसुन्यै गर्यो । स्थानीय सरकार, प्रशासनले त उनीहरूलाई ‘वैरी’कै व्यवहार गरिहाल्यो ।
असह्य भएपछि तीनजनाले ‘बाँचे देश पुग्छु, मरे महाकालीमा बग्छु’ भन्दै नदीमा फाल हाले । मृत्युको भेल छिचोल्दै देश छिर्दानछिर्दै उनीहरू प्रशासनको फन्दामा परिहाले । ती सबै अहिले क्वारेन्टाइनमा छन् कि हिरासतमा दिलेन्द्रलाई थाहा छैन । त्यो देखेपछि अरूको पनि महाकालीमा हेलिने आँट आएको छैन ।
“हामी देशभित्र पस्नै नपाउने, परिवारको मुख देख्न नपाउने हो भने हामीलाई पारिबाट गोली हानेर मारिदे सरकार ! यति पीडा त खप्नुपर्दैन !,” दिलेन्द्र व्यथा पोख्छन् ।
पशुशाला, स्टेडियमा पशुसरह कोचिएका नेपालीलाई खाना–नास्ताको प्रबन्ध छैन । फोहोर, दुर्गन्ध फैलिएकाले कोरोनाभन्दा ठूलो महामारी रूप लिने हो कि भन्ने भय उत्तिकै छ । खानेकुराका नाममा सोमबार एउटा पुरी र थोरै तरकारी पाएका थिए । कतिले त त्यो पनि भेट्टाएनन् । मङ्गलबार मध्याह्न हुँदासम्म पनि अवस्था फेरिएको छैन ।
“हामीलाई १४ दिन होइन २८ दिन क्वारेन्टाइन मञ्जुर छ । कथमकदाचित् कोरोना सङ्क्रमण रहेछ भने पनि हामी आफ्नै पैसाले उपचार गर्छौं । घरखेत बेचेर गर्छौं । यहाँ अलपत्र नेपालीले बरु भारत गएर कोइलाखानीमा काम गरेका छन् । कुल्ली, ज्यामी भएर, अपमान सहँदै ढोका पाले लागेर घरपरिवार पालेका छन् । रोजगार दे भनेर सरकारको ढोका–ढोका चहारेका छैनन् । यी दुःखीले उपचार गरिदे भनेर सरकारलाई भन्न आउने छैनन् । आफ्नो देशभित्र त छिर्न दे सरकार ! भोकै मर्न परे पनि आफ्नै देशभित्र, आफ्नै माटोमा मर्छौं । हामीले दशगजामै प्राण त्याग्नुपर्ने हो त सरकार !” दिलेन्द्र अनुनयविनय गर्छन् ।
तस्बिर : पदम बडाल