दुनियाँको तौरतरिका बदल्ने कोरोना

कोभिड – १९ भनिएको कोरोनाभाइरसले यतिबेला दुनियाँलाई आक्रान्त पारेको छ । विश्वमहामारीको रुप लिइसकेको कोभिडको संक्रमण रोक्न दुनियाँका शक्तिशाली मुलुकसमेत आफैँमा खुम्चिएर अरुलाई सहयोग गर्न प्रायः अशक्त देखिएका छन् । बेलाबेला यस्ता संक्रमणबाट विश्व समाज त्रसित हुँदै आएको हो । तर, मानिसबाटै मानिसहरुमा सर्ने कोरोनाभाइरसले जस्तो अनियन्त्रित उग्र संक्रमण अरु व्याधिले यसअघि गरेको थिएन । प्लेगको संक्रमण पढिएको र सुनिएको भने हो  ।   

कोरोना संक्रमित मुलुकको संख्या प्रतिदिन बढेको छ । रोगको फैलावट हरेक दिन हजारौँमा पुगेको छ । यसबाट मर्नेको संख्या पनि हजारौँमा पुगेको छ । यो रोग कहिले कसरी थामिन्छ र नियन्त्रित हुन्छ कसैले भन्न सकेको छैन । आजसम्म १९६ देशमा फैलिएको संक्रमणले भोलि बिहानसम्म २० हजारको जीवनलीला समाप्त पार्ने लक्षण देखिँदैछ । अहिलेसम्म १८ हजारभन्दा बढीको मृत्यु सार्वजनिक भएको छ । दुई महिना ७ दिनमा एक लाखमा फैलिएको संक्रमण ११ दिनमा दुई र चार दिनमा तीन लाखमा पुग्यो ।  

अघिल्ला संक्रमणहरु पशु,पंक्षी र लामखुट्टेजस्ता जीवबाट भएको सुनिन्थ्यो । यसपटक चाहिँ मानिस नै कोरोना संक्रमणको कारक भन्ने अहिलेसम्मको जानकारी हो । यही कारण संक्रमित सबैजसो मुलुकले आफ्ना नागरिकलाई ‘बन्दाबन्दी’ को अवस्थामा रहन सचेत गराएका छन् । अर्थात्, विश्व नै ‘लकडाउन’को स्थितिमा छ । बाँच्ने आशाको किरण चार लाखभन्दा बढी संक्रमित दुनियाँमा आजसम्म एक लाखभन्दा बढी मानिस रोगमुक्त भई घर फर्के भन्नेले दिएको छ । लाखौँलाख बिरामी अस्पताल, क्वारेन्टिन र आइसोलेसनमा जीवन रक्षाको आशामा उपचार गराइरहेका छन् ।

के ठूला, के साना, सम्पन्न हुन् कि विपन्न वा शक्तिशाली र निर्बल सबै मुलुकलाई कोरोना भाइरसले समान त्रसित बनाएको छ । मानिसबाट मानिस टाढिनुपर्ने भएको छ । आफन्तसँगको भेट पनि टाढै बसेर गर्नुपर्नेछ । बसाइ फरक फरक भएका आफन्तसँगको भेट पातलिनेमात्रै होइन कि गृहबन्दी हुनुपर्दा बाटोमा हिँड्ने जोखिम लिनु पनि उपयुक्त देखिएन । यही त हो बन्दाबन्दी । सचेत, सतर्क र निषेधाज्ञा वा कर्फ्यु यसअघि पनि सुनिएको, भोगिएको हो तर बन्दाबन्दी भने कोरानाले यसपटक बुझायो । 

कोरोनाले शक्तिशाली हुने वा भएको दम्भ बोक्नेहरुलाई नयाँ पाठ सिकाएको हुनुपर्छ । तर, मानिस मूर्ख छ, सजिलै पाठ सिक्दैन । कोरोनाले शक्ति, भक्ति र निर्बल सबैलाई समान आक्रमण गर्यो, संक्रमण बराबर गर्यो । ग्रह उपग्रह नाचेको विज्ञान, अणु परमाणु र क्षेप्यास्त्रको होड वा दम्भ भरेको दिमाग अहिले अदृश्य सूक्ष्म जीव कोरोनाले ‘थोत्रो झुम्रो’ जस्तै बनाइदिएको छ । निरीह बनाइदिएको छ मानिसलाई । पछिपछि लागेको विज्ञानले पछि भन्ला – कसले ल्यायो कोरोना र संक्रमणको वाहक को हो ? यसको निरोधक औषधि पनि पछि नै पत्ता लाग्ला । 

नेपाल पनि संक्रमित भएको छ । तीनजनामा पुष्टि भइसक्यो । चीनबाट फैलिएको कोरोना भाइसरले अर्को छिमेकी भारत पनि प्रताडित हुँदैछ र संक्रमित वा मृत्यु संख्या क्रमशः बढ्दै छ । भयग्रस्त भारतले तीन साता ‘लकडाउन’ घोषणा गरेको छ । चीनमा नियन्त्रण भएको खबर छ तर त्यो कति भरपर्दो हो वा स्थायी हो भन्न सकिँदैन । नियन्त्रण स्थायी भए उत्तम तर फेरि बल्झिए दुई ठूला छिमेकीबीच पुल बन्ने नेपाली कल्पना कतै रोगको मारको भारले थिचिने पो हो कि ?    

जित्न त मानिसले जित्नुपर्छ । कुर्बानी कति हुने भन्ने हो । देशमा बन्दाबन्दी यही जित्न गरिएको उपाय हो । नेपाल जोखिममा पर्यो कि भन्ने शंका छ । जोखिममा त हो नै । तर, विदेशबाट खासगरी भारतबाट आएका पश्चिमी नेपालका बासिन्दा पर्याप्त सतकर्ता र परीक्षणविना नै घर भित्रिँदा जोखिम देखिँँदैछ । कतिपय क्वारेन्टिनमा बस्न नचाहेको र केही त्यस्ता सुरक्षा केन्द्रबाट भागी गएको आधिकारिक जानकारी आएको छ । यस्तो घटनाले जोखिमको डर धेरै बढाएको छ । 

अब यस्तो दोहोरिनु हुँदैन । सरकारले गरेको सुरक्षात्मक प्रयत्नलाई अरु दलले पनि साथ, सहयोग दिने प्रशंसनीय काम गरेका छन् । यस्तो महामारीमा सरकारी उपायमात्र पर्याप्त हुँदैन । सरकारले राजकीय दायित्व चाहिँ समग्रमा पूरा गर्नुपर्छ । नागरिक समाज पनि जोडिनुपर्छ । उद्योगी, व्यापारी र धनाढ्यहरुले धनको केही हिस्सा देशको सहयोगमा लगाउने अवसर गुमाउनु हुँदैन । उपचार दिने चिकित्सक वा स्वास्थ्यकर्मीको इमानदार योगदानको महत्त्व बुझ्ने र सम्मान दिने बेला पनि हो यो ।   

बन्दाबन्दी सरकार जोगाउन लगाइएको हैन । नागरिकको आफ्नै र आफ्नालाई बचाउन, अझै फराकिलो बुझ्दा दुनियालाई संक्रमण मृत्युबाट बचाउन हो । बुझ्दाबुझ्दै यो संवेदनशील व्यवस्थालाई कतिपय ठाउँमा तोड्न खोजिएको दिक्क लाग्दो खबर सुनिदैछ । नबुझ्ने त भइगए बुझ्नेमा पनि चेतना भरिएन कि ? यस्तो बेला छाडा हुनखोज्नेलाई सरकारी उपाय कठोर देखिए पनि कसैले विरोध गर्नेछैन । 

कोरोना भाइरसले दिएको सन्देश दुनियाले आफ्नो तौरतरिका बदल्नु हो । विश्वबन्धुत्वको अवधारणामा मानवीयताको मिश्रण कमजोर भएको दुनिया हो अहिले । व्यापार, भौतिक वा आर्थिक स्वार्थमा बढी  आत्मकेन्द्रित हुँदै खुम्चिएको हाम्रो सामुको दुनिया कोरोना भाइरसले संक्रमित छ । अस्त्रमा थुप्रो खर्च गर्ने मुलुकहरुले मृत्युञ्जय औषधिको पर्याप्त संग्रह गरेको वा चाहिनेबित्तिकै गर्नसक्ने देखिएन । 

यो यस्तो बेला हो दुनियाँले आफ्नो विकास प्रणालीमाथि पुनःसमीक्षा गर्नेे । विकास प्रणालीलाई कसरी र कति मानवीय, प्राणीजगत् वा प्रकृतिसँग तादाम्य गराउने भन्ने चिन्तनको बेला हो यो । विकासको पहिलो सर्त जीवन रक्षाको हुनुपर्छ । निश्चय पनि अहिलेको विकास प्रक्रियामाथि बहस सुरु भएको छ । कोरोनालाई जितेपछि बहसले तीव्र गति लिने सम्भावना छ । समयले बहस हुनैपर्ने माग गरेको छ । दुनियाँमा यो काम हुने नै छ । यस्तै नेपालले समेत अहिलेसम्मको आफ्नो विकास लक्ष्यमाथि पुनःमूल्यांकन गर्नु जरुरी छ । 

नेपालले तय गरेको  विकास लक्ष्यको भद्रगोल साधनहरुमा केही निश्चित गरिएका माध्यम छन् । तीमध्ये दुई पर्यटन र जलस्रोत हुन् । त्यसपछि जमिन । झन्डै २४ वर्षअघि अरुण तेस्रो आयोजना भत्काएर लामो ‘लोडसेडिङ’ मा पार्ने जलमाफिया र जमिनमाफिया नेतृत्व रहुजेल विकास बन्ने होइन, बग्नेमात्र हो । एमसीसी विकास अनुदान सहयोग रोक्नेहरुले बुझ्नुपर्छ – रातदिन मजदुरी गर्ने गरिबले कोरोनाको ‘लकडाउन’ सहून् कसोरी ? पर्यटन त ‘आकाशे खेती’ रहेछ ।

दुनियाभरि कोरोना फैलियो । हाम्रो ‘अथिति देवो भवः’ अर्थात् भ्रमण वर्ष–२०२० अवरुद्ध भयो । स्वाभाविक छ, पर्यटक अरुकै भर हो । यस कारण हाम्रो विकास प्रक्रियामा दीर्घजीवी स्रोतको उपयोग गर्नु हो । जलस्रोत दीर्घजीवी छ । नदी, थप ठूला तालको लागि उपयुक्त पहाडी क्षेत्र नेपालमा विद्युत उत्पादनका लागि लामो उपाय हो । अहिले मुखैको उपाय एमसीसी अनुदानमा विद्युत् प्रसारण लाइन बनाएर सहमत छिमेकमा बिजुली बेच्नु हो । बिजुलीलाई कोरोनाले ‘लकडाउन’ गरेको छैन नि । 

औषधीय जडिबुटी पनि नेपाली विकास सन्दर्भमा लामै उपाय हो । अनुमतिसहित निश्चित ठाउँ, क्षेत्र तोकेर उत्पादन र व्यापारको व्यवस्था सरकारले मिलाउनु पर्छ । जमिनी स्रोतको यस्तो उपयोग केही समय व्यापारमा रोकिए पनि औषधिका लागि जरिबुटी विश्व बजारको मागभित्र पर्छ । विकासको रटान होइन, खटान चाहिन्छ । त्यसपछि आकाशे खेती नै सही पर्यटन पनि सुगम विश्वमा लाभदायक रहन्छ नै । हाम्रो विकास प्रक्रियामा पाएसम्म स्थायी वा दीर्घजीवी स्रोतलाई अग्रणी प्राथमिकतामा प्रयोग गर्नुपर्ने शिक्षा कोरोना कहरले दिएको छ । 

संस्कार र संस्कृतिमाथि नै परिमार्जन खोज्न लगाएको कोरानाले दुनियाँलाई नेपाली संस्कृतिको पहिचान दिएको छ । नमस्ते वा जुम्लाहात जोडिएको नमस्कारले समदर्शीसँग दुईतीन मिटर सम्मानित दूरी राख्ने उपाय पहिल्यै सिकाएको हो । अँगालो मार्ने र हात खप्ट्याउने ‘नजदिकी’ सभ्य बन्ने लालसामा पछ्याइएको रहेछ । त्यस्तै काँचो कुरा नखाने, पकाएर खाने हाम्रो दैनन्दिनी । पाक संस्कृति । षड् रसमा नेपाली खाना औषधीय रहेछ । धेरै उपाय पुर्खाले सिकाएका, बताएका रहेछन् । यहाँ तिनको सम्झनामात्र ।      

जोखिममा छौँ । सजग, सचेत र स्वस्थ रहन नै मानवीय चेतनाको माग गरिएको हो । नभुलौँ कोरोना कहर छिचोल्न राष्ट्रिय प्रयत्न एकजुट हुनुपर्छ । अनिमात्र बचाउन सकिन्छ र बाँचिन्छ । त्यसपछि दुनियाँको तौरतरिका बदल्ने कोरोना सन्देश र विकास प्रक्रियामा नयाँ बहस गर्न पाइन्छ । त्यसको भोक्ता, प्रयोक्ता र उपभोक्ता होइन्छ ।     

 

कुलचन्द्र वाग्ले

प्रतिकृया दिनुहोस
ad