Skip Advt.

आउनुहोस् ! सबै मिलेर कोरोनाको सामना गरौँ ! 

डा. कुसुमाकर शर्मा

 आउनुहोस् ! सबै मिलेर कोरोनाको सामना गरौँ ! 

निश्चित समयमा कार्यालय पुगिने, पार्किङ नपाइने भन्ने चिन्ताबाट र गाडी चलाउँदा हुनसक्ने हुनेहुनामीको डरबाट मुक्ति हुने हुँदा कार्यालय जाँदा म सार्वजनिक यातायात प्रयोग गर्छु । आज आफ्नो कार्यालय जाँदा मेट्रो रेल स्टेसनबाट निस्की सरकारी कार्यालयको भुइँतल्लामा हिँड्दै थिएँ । मेरो अगाडिका दुई जनाले ढोका पार गर्नेबित्तिकै कानै खाने गरी साइरन बज्यो । केही आकस्मिक कारणले मात्रै यस्तो साइरन बझ्छ । साइरन बज्नेबित्तिकै मेरो अगाडिका र पछाडिका ढोकाहरू स्वचालितरूपमा बन्द भए । अब म कता जाने? सबैतिरका ढोका बन्द भइसके । मनमनै ठाने – के कोरोना यहाँभित्र पनि पस्यो होला त ! एक छिनपछि साइरन बन्द भयो । ढोका खुले र म आफ्नो गन्तव्यतिर लागेँ । किन साइरन बजेको भन्ने कसबाट थाहा पाउने ? मुसो छैन वरिपरि । पछि थाहा भयो प्रादेशिक मन्त्री र सांसदहरूलाई आफ्नो कार्यालय र विधानसभा भवन आवतजावत गर्दा कोरोना भाइरसले न छोओस् भनेर सरकारी कार्यालयको भुइँ तल्ला बन्द गरेको रे ! कुरो सही हो । जननिवार्चित प्रादेशिक बागडोर सञ्चालकहरुलाई कोरोनाबाट बचाउनु त पर्छ नि !

यो कोरोना त अजिङ्गर पो हो कि क्या हो ? हामी साना छँदा अजिङ्गरको नजिक नजानु त्यसले त टाढैबाट सासले तान्छ भन्थे । अहिले त्यस्तै भा’ छ । उहिले कुष्ठरोग लागेकालाई गाउँदेखि टाढा बस्न लगाउँथे । आउन पनि कसरी आ‘को । गोपालप्रसाद रिमालले भने झैं गरी हिउँको चिसो र आगोको तातोभन्दा पनि बढ्ता छोइने गरी आ’को छ ।

अब त ’सामाजबाट अलग्गिने’ अर्थात् ’गुफा बस्ने’ भन्ने नाराले मान्छेलाई मान्छेसँग छ फिट टाढा बस्नुपर्छ भन्छन् । एक त मोबाइल भन्ने खेलौना आएदेखि मान्छे मान्छे बीचको सामिप्य यसै घटेको छ । त्यसमाथि पनि अहिले त ‘सामाजिक दूरी’ तोकेरै टाढा बस भन्छन् । खुसी केमा लागेको छ भने हाम्रो ’नमस्कार’ र ’स्वस्ति’ को संस्कार कोरोना भाइरसले पाश्चात्य मुलुकहरूमा पनि प्रचलनमा ल्याइदिएको छ ।

म सार्वजनिक यातायातमा यात्रा गर्नेलाई कसरी यो ’सामाजिक दूरी’ कायम राख्ने भन्ने झन् ठूलो कहर छ । आफूले मात्रै गरेर के गर्नु ? रेलमा आफू बसेको सीटसँगै बस्न आएको  धम्मर्धुस् होस वा आफूतिरै मुख फर्काई सामुन्नेको सीटमा बसेको चकलेटी हिरो होस् कोरोनाको भारी बोक्या’ छ कि जस्तो लाग्छ । कहिले काहीँ सुन्दर केटी छेउमा बस्दा उनको सुन्दरता निहार्ने उत्सुकता हुन्थ्यो पहिले पहिले । अहिले त सुन्दर केटी छेउमा आइन् भने पनि कोरोना भाइरसको कुम्लो बोकेर हिँडेकी हो कि जस्तो हुन्छ । कसको अनुहारमा लेखेको हुन्छ र उसलाई कोरोना भाइरसले छोएको छैन भनेर ! 

जे चीज छोए पनि साबुन पानीले हात धुनुपर्छ भन्छन् । हात धुन ट्वाइलेट जानु पर्र्नेे । ट्वाइलेट जाँदा दुईवटा ढोका पार गर्नुपर्छ । कार्यालय क्षेत्रको ढोकाको ह्यान्डल सबैले पुच्छन् भनेर विचार गरौँ । तर, ट्वाइलेट ढोकाको ह्यान्डल त कतिले हात नधोई छोए होलान् । त्यसमाथि पनि ट्वाइलेट छिर्न ढोकाको कोड थिच्नुपर्छ । अनि त्यो कोडको बटनमा कति भाइरस हुन सक्लान् ? इत्यादि सोचाइले कतिखेर कार्यालय बाट भागौँ भनेर छटपटी भयो । बाटोभर मोबाइल फोनबाट चराचर जगत नियालेँ । सामाजिक सञ्जालमा छ्या्छ्याप्ती उपदेशहरू देखें । केही नयाँ समाचार छ कि भनेर टिभी खोलेँ । ‘घरै पिँडालु वनै पिँडालु ससुराली जाँदा बाह्र हातको पिँडालु’ भनेझैँ टीभी पनि कोरोनाभाइरसले ढाकेको रहेछ । जताततै कोरोनै कोरोना देखेपछि भाउन्न भएर आयो । कोरोनाभाइरसको समाचार भाइरल भएको देखेर वाक्क, दिक्क, भइसकेको छु ।

साह्रै सतायो यो कोरोनाको चिन्ताले भनेर स्वास्थ्य बीमाअन्तर्गतको ’स्वास्थ्य र तन्दुरुस्ती कार्यक्रम’मा फोन गरेँ । कुरालाई अलि बढाइचढाइ गर्यो भने राम्रो सुझाव पाइएला भनेर सबै बेलीबिस्तार लगाएँ । सार्वजनिक यातायातमा यात्रा गर्न गाह्रो भइसक्यो । ती साधनमा रहेका कुनै पनि ह्यान्डल छुँदा भाइरसहरू मलाई नै कुरेर बसेका छन् कि जस्तो लाग्छ भने । आफ्नो अगाडि उभिएको सहयात्री डल्लै कोरोना भएजस्तो लाग्छ । अरू सहयात्री पनि मलाई अछुत जस्तो व्यवहार गर्छन् । लौ न के भो केही उपाय बताई दिनुस् भने । मेरो फोन नर्सले उठाएकी रहिछन् । मेरो स्वास्थ्यसम्बन्धी अरू धेरै बेलिविस्तार सोधिन् । मेरो जवाफ सकिएपछि ‘’तिम्रो केस म विशेषज्ञ समक्ष राखीदिन्छु त्यो समयसम्म फोनमा झुण्डी राख’ भनिन् ।

मैले फोन कुर्दा उताबाट माइकल ज्याक्सनको ’बिट इट’ भन्ने गाना फोनमै बज्न थाल्यो । जुनसुकै अवस्थामा पनि कुर्नुपर्दा कुर्नेलाई कति पीडा हुन्छ भन्ने थाहा पाएर नै मीठा मीठा गीत बजाउँछन् । मैले फोनको उत्तर कुर्दा समय सापेक्ष गीत पक्कै बाजाको हो । माइकल ज्याक्सनले भने झैं ’जस्ट बिट इट’ अर्थात् यो माहामारीको परिस्थितिलाई जित र जित्नु पर्छ । गीत सुनेर मलाई पनि मजा आयो । गीत सकिने सकिने बेलामा लोग्ने मान्छेको आवाज आयो – ’कुर्नु पर्यो यहाँलाई, माफ गर्नुहास्’ । यतातिरको मलाई साह्रै मनपर्ने एउटा चलन छ । त्यो के भने जति नै ठूलो विशेषज्ञ वा डाक्टर भए पनि सबैभन्दा पहिले आफ्नो पूर्ण परिचय दिन्छन् । अनि आफू के विषयको विशेषज्ञ हुन्, किन बिरामीलाई हेर्न योग्य छन् भनेर खुलस्त भन्छन् । त्यसपछि मात्रै म ’यहाँलाई के सेवा गर्न सक्छु’ भनेर सोध्छन् । यसो गर्दा बिरामीलाई नातागोताभित्रको पारिवारिक डाक्टरसँगै कुरा गरेजस्तो हुन जान्छ । अनि बिरामीले पनि खुलेर कुरा गर्न अनकनाउँदैनन् । यो यहाँ सिकाइने संस्कार हो । ती विशेषज्ञले पनि त्यही गरे ।

मेरो कुरा सुनी सकेपछि स्वास्थ्य विशेषज्ञले भने – ‘‘तिमीले यहाँ फोन गरेर ठीक गर्यौ । किनभने रुघाखोकी वा ज्वरो आउँदा तुरुन्तै डाक्टर कहाँ जाने तर कोरोना समाचार आतंकले मनै अस्थिर बनाउँदा किन चिकित्सक कहाँ नजाने? तिमीले आफ्नो मानसिक अवस्थाको ख्याल गरेकोमा धेरै खुसी छु । तिमीमात्रै एक्लै छैनौ । यतिखेर कोरोना भाइरसले सबैको निराशा बढाएको छ, सबैको मन विचलित स्थितिमा छ र सबै अत्तालिएका छन्’’ । अनि उनले मेरो जागिर, परिवार र परिवारभित्र एकआपसमा सम्बन्धको बारेमा सोधपुछ र कुराकानी गरे । अन्त्यमा भने – ‘‘तिमीले आफ्नो र परिवारको निकै ख्याल र सुर्ता गर्ने रहेछौ । कोरोनाभाइरसको समाचारहरुले तिम्रो सुर्तालाई डरमा परिवर्तन गराइदियो र अत्तालिएका रहेछौ । अब केही समय तिमीले समाचारमा भन्दा बढी मनोरञ्जनमा बितायौ भने यो तिम्रो निराशा हराउँछ ।’’ हुन पनि हामी भौतिक स्वास्थ्यको निकै ख्याल गर्छौँ तर मानसिक स्वास्थ्यको गर्दै गर्दैनौँ भने पनि हुन्छ । सानो र सुखी परिवारको जमानामा स्वस्थ र सन्तुलित मानसिकता हुन जरुरी छ ।

स्वास्थ्य विशेषज्ञसँगको कुराकानी पछि विचार गर्न थालेँ । हुन पनि चौबिसै घन्टा कोरोनाकै कुरा । सामाजिक सञ्जालमा त झन्् कोरोना आतङ्क नै छ । आफूले जानेको कुरा अरूलाई पनि बाँड्नु राम्रै हो तर आफूले सम्प्रेषण गरेको कुराले अरूलाई राम्रै हुन्छ भन्ने छैन । सामाजिक सञ्जालको कोरोना आतङ्कले मजस्ता स्वस्थ र सबललाई त असर गर्ने रहेछ भने मभन्दा कमजोर दिल भएकालाई के हुन्छ होला ? सोचेरमात्रै सामाजिक सञ्जालमा राख्ने बेला आएको छ । हामी वयस्कको मस्तिष्कलाई त यी कोरोनाभाइरसका समाचारले यस्तो असर गर्छन् भने हाम्रा ससाना बालबच्चालाई कस्तो मानसिक असर पर्छ होला ? उनीहरूको मस्तिष्कमा दीर्घकालीन असर पर्न सक्छ । उनीहरुलाई नअत्तालिएर सम्झाउनुपर्छ । यस्ता महामारीको कसरी सामना गर्ने भन्ने कार्यमा सहभागी बनाउने र सकारात्मक सोच राख्न सिकाउने । अर्कोतिर कोरोना भाइरसले सबैभन्दा बढी असर गरेको बूढापाकाको समूह हो । तिनलाई कसरी सहयोग गर्न सकिन्छ भनेर सबै लाग्नु आवश्यक छ ।

यो कोरोनाभाइरसको महामारीमा मैले धेरै कुरा सिकेँ । सबैभन्दा पहिलो कुरा कोरोना पनि एउटा रुघाखोकीको जात हो भन्ने बुझेँ । त्यसैले अत्तालिन बन्द गर्ने । नयाँ जातको रुघाखोकी भएकोले सबै अत्तालिएका हुन् । डाक्टरले सुझाएका कुराहरु व्यवहारमा लागू गर्ने । सकारात्मक सोचलाई बढावा दिने बस् ।

म सधैँ बिहान सुदर्शन क्रियासहित ध्यान गर्छु । त्यसले मलाई सकारात्मक सोच कायम राख्न र मेरो मानसिक अवस्थालाई सन्तुलनमा राख्न मद्दत गर्छ । आफूलाई अरूबाट कोरोना सर्न नदिन सकभर सामाजिक दूरी बनाई राख्छु । केही वस्तु छोएपछि साबुन पानीले हात धुन्छु । अर्को महत्त्वपूर्ण कुरा हो समय तालिका । एउटा निश्चित समयमा र एक घन्टामात्र टीभीको समाचारलाई छुट्याएको छु । सामाजिक सञ्जाललाई प्राथमिकताबाट हटाइएको छु । अर्को धेरै महत्वपूर्ण कुरा हो दैनिक कार्यमा मनोरञ्जनलाई प्राथमिकता दिने । कसरी प्राथमिकतामा पार्ने भन्ने बारे परिवारनै मिलेर छलफल गर्छौँ । अनि परिवारका सदस्यहरूसँगै बसेर आफूलाई मजा लाग्ने कार्य गर्छौँ । व्यक्तिगत दूरी बनाई अरूलाई पनि मनोरञ्जनमा सहभागी बनाउछौँ ।

यस्तो परिस्थिति विगतमा पनि सामना गरेकै हो । दैवी प्रकोप होस् या राजनीतिक विसंगतिको कोप वा छिमेकीको प्रताडन सबैको सामना गरेकै हौँ । आउनुहोस् ! हामी सबै मिलेर यो असामान्य परिस्थितिको पनि सामना गरौँ ! 
 

प्रतिकृया दिनुहोस
ad