site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इङ्लिस च्यानलमा जलयात्रा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

हामी बेलाइतको दक्षिणी भागको तटीय सहर डोभरबाट फ्रान्सको उत्तरी भागको त्यस्तै तर क्षेत्रफलमा सानो सहर क्यालेसम्मको यात्रा गर्न ठिक्क परेर एउटा ठूलो पानीजहाजभित्र बसेका छौं ।  इङ्लिस च्यानलमा हेलिन तम्तयार भीमकाय जहाजको आठौं तल्लामा रहेका लगभग दुई सय उत्साही मानिसको समूहमा एकै घरका तीन प्राणी पनि मिसिएका छौं । अघिपछि निकै टाढाको एउटा भूपरिवेष्ठित देशका कुनाकन्दरामा रमाइरहने हाम्रा सरल मन यतिखेर यो विशाल जलराशि देख्ता जिज्ञासैजिज्ञासाले भरिएका छन्, कुतूहलता नै कुतूुहलताले पुरिएका छन् र नजाँनिदो त्रासले पिरोलिएका पनि छन् ।   

जहाज चलिसकेको छैन, तीनैजनाका उत्सुक मन व्यग्रतासाथ त्यसको प्रतीक्षामा छन् । यतिखेर हाम्रा मनमा एउटै कुरो छ– यत्रो ठूलो जहाज चढ्ने अवसर हामीले घरिघरि कहिले पाऔंला र ? आज मौका पाउँदा यसभित्र कहाँकहाँ केके वस्तु छन् ? कस्ताकस्ता सुविधा छन् ? केही नछाडी हेर्नुपर्छ । माथिका तलामा नचढौंला, तलका तलामा नझरौंला, आपूm बसेको यो एउटा आठौं तलाको पूरै क्षेत्रफलभरि मात्र एक फन्को लगायौं भने पनि यस अजङ्गको भाँडोभित्रका धेरै कुरा देख्न सकिन्छ भन्ने हामी तीनैजनालाई लाग्छ ।  

यस स्वाभाविक चासोले थिर भएर बस्न दिँदैन । फेरी चढाइ नै त हाम्रा लागि नौलो होइन, तीनैजनाले देशदेशका फेरी चढेकै हौं, तर यति ठूलोचाहिँ हामी कसैले चढेका रहेनछौं । नौलो वातावरणको नौलै अनुभव लिने प्रबल इच्छाले हामीलाई एकनाससँग डोर्‍याइरहेको छ, तलाभित्रको सूक्ष्म अवलोकनमा तानिरहेको छ ।  परको एउटा कुनामा धेरै मान्छे सोहोरिएर एकै ठाउँ गुजुमुज्ज परेको देख्छु । अलिअलि घोप्टिएर केही हेरिरहेका छन् । के रहेछ ? सकसक लाग्न थाल्छ ।  नजिकै पुगेर हेर्छाैं, खानेकुरा किन्ने ठाउँ पो रहेछ ! आफूलाई मन पर्ने तात्ताता खानेकुरा सोकेसभित्र ध्यानपूर्वक हेरिरहेका छन् यात्रुगण । कोही भने यहाँ किनेर अलिक परको बस्ने ठाउँतिर ट्रे लिएर जाँदै छन् । त्यता आँखा पर्छन्, भोकाएका यात्रु आफन्तजनहरूसँग विश्वविख्यात च्यानलमाथिको अविस्मरणीय यात्रा गर्दै मेचटेबुलमा आरामपूर्वक बसेर स्वाद लिईलिई खान थालिसकेका छन् ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

हामी हेर्दै अघि बढ्छौं । अलिकति पर कोसेलीहरू बेच्ने एउटा पसलमा पुग्छौं । ठूलो भीड छ । रङरङका टिसर्ट, डिजाइनडिजाइनका क्याप, आकारआकारका पोस्टकार्ड, साइजसाइजका मग,  किसिमकिसिमका किरिङलगायतका अनेकौं वस्तु भित्तैभरि तुन्द्रुङ्ग झुन्डिएका परैबाट देख्छु । यत्रो जलराशि तर्दाका रोमाञ्चक क्षणहरूको सम्झनास्वरूप आत्मीय स्वजनहरूलाई लगिदिन यात्रुहरू दिल खोलेर कोसेली छानिरहेका छन् । ग्राहकको सेवा गर्न दुइटी किशोरीलाई भ्याइनभ्याइ छ । 

हिँड्दै गर्दा ठाउँठाउँमा वासरुमहरू देख्छौं, तल–माथि जाने भर्‍याङ भेट्छौं । जहाज चलेकै छैन, तलाको एक फन्को लाइसक्ता ठूलो वाहनभित्रका अनेकौं उपयोगी कुरा र आवश्यक सुविधाहरू कहाँकहाँ केके छन् भन्ने कुराको नक्सै हाम्रा टाउकामा बन्छन् । 

Royal Enfield Island Ad

“यहाँनेर बस्यौं भने सबैभन्दा राम्रोसँग समुद्र हेर्न पाइनेरहेछ,” उषा भन्छिन् । 

चढेको १५ मिनेटजतिमा फेरी चल्ने सुरसार गर्छ । बिस्तारै हल्लिन थाल्छ । हामी चनाखा भएर यताउति हेर्न थाल्छौं । हेर्दाहेर्दे विशाल स्वरूपले मन्द गति लिएको हामीले प्रस्टै थाहा पाउँछौं । यस्तो रोमाञ्चक क्षणमा को चुप लागेर बस्न सक्नु ? उभिएका एकएक यात्रु हलचल गर्दै उत्सुकतापूर्वक बाहिरतिर हेर्न थाल्छन् । बसेकाहरू पनि आआफ्ना ठाउँबाट आँखा तन्काईतन्काई बाहिरतिरै हेर्न थाल्छन् । 

ब्रेकफास्ट खाने हाम्रो सधैंको बेला घर्किसकेको छ । पेटमा मुसा कुद्न थाल्छन् । जसै फेरी चल्छ एक्काका घोडा भएर रेस्टुराँको खानेकुरा राखेको खण्डतिर हानिन्छौं हामी । पङ्क्तिबध्द यात्रीहरू आफूलाई मनपर्ने खानेकुरा ट्रेमा राख्तै अघिअघि सरिरहेका छन् । हातमा एकएक वटा रित्ता ट्रे लिएर बाबुछोरी पनि लाममा उभिन्छैाँँ  । तीन जनालाई मजाले पुग्ने गरी बेलाइतीहरूको प्रिय खाना फिस एन्ड चिप्स र अलिकति स्यान्डविच हाल्छौं । कफि पनि लिन्छौं । पैसा तिर्ने ठाउँमा पुग्दा एउटी पूmर्तिली महिलाले हामीतिर मधुर मुस्कान फाल्छिन् । तिनकै लयमा लय मिलाउँदै अक्षयाले कार्ड घोट्छिन् । अलिक पर झ्यालैनिरको एउटा खालि टेबुल रोजेर उषा बसिसकेकी छिन् । हामी लामबाट निस्कनासाथ हातका इशाराले बोलाउँछिन् । झ्यालतिर फर्केको चारसिटे टेबुलमा हामी आरामपूर्वक बस्छौं । रित्ता पेटमा स्वाद लिईलिई चारो हाल्न थाल्छौं अनि रमाईरमाई विशाल इङ्लिस च्यानलमाथिको नीलो न नीलो पानी हेर्न थाल्छौंं । 

७५ हजार वर्गकिलोमिटर क्षेत्रफलमा विस्तारित इङ्लिस च्यानलको अथाह पानी आफ्नै टेबुलसँगको झ्यालैमुन्तिर देख्ता एक छिन त पत्यारै लाग्दैन । आफ्ना देशमा यस्तो कहाँ देख्न पाउनु, हर्षले मन भरिन्छं । बसाइ फेरीभित्र भए पनि हाम्रा आँखाचाहिँ एकनासले झ्यालबाहिरै छन् । आकाशमा धुम्म बादल छ, दिन रुञ्चेरुञ्चे छ । बेलाइत र फ्रान्स जोड्ने लगभग साढे पाँचसय किलोमिटर लामो इङ्लिस च्यानलको गाढा नीलो पानीबाहेक दृष्टिसामु अरू केही नै पर्दैनन् । सबैभन्दा फुकेको ठाउँमा अढाइ सय किलोमिटर चौडाइ छ रे, तर डोभरको यस घाटबाट क्याले जोड्न त्यस्तै पैंतीस किलोमिटर मात्र छ । जहाँ च्यानेल फुकेको छ, दुई देशका सिमाना अंशका निहुँमा फाटेका भाइभाइका कठोर मन बनिदिन्छन्, उछिट्टिएर परपर पुग्छन् । जहाँ च्यानेल साँघुरिएको छ, तिनै सिमाना अनेकौं डाँडाकाँडा काट्तै तीजमा माइत पुगी वर्षदिनभरिका दुःखसुखका कथा साट्न आतुर आन्द्रा जोडिएका दिदीबहिनीका कोमल मन बनिदिन्छन्, न्यास्रिएर वरवर आउँछन् ।    

ंिहजोआज कतै फेरी चढ्दा तीन दशकअघिको एउटा रमाइलो कुरो सम्झिने गरेको छु । अहिले पनि त्यही दृश्य आँखामा झल्झली नाच्न थाल्छ । २०४२ सालमा नेपालमा पर्यटन व्यवसायको प्रवद्र्घनको सम्भावना भएका ठाउँहरूको सर्वेक्षणमा एउटा विशेषज्ञ–टोलीको सदस्य भई म पश्चिम नेपाल गएको थिएँ । पहिला दुर्गम जुम्ला र मुगु गयौं, अनि प्लेनबाट नेपालगञ्ज झरेर बर्दिया राष्ट्रिय निकुन्जमा पुगेका थियौं । ती दिनमा निकुञ्जभित्र एउटै मात्र जङ्गल रिसोर्ट थियो । त्यही अत्याधुनिक सुविधायुक्त रिसोर्टका विशिष्ट अतिथि बन्यौं हामी ।  एक ढिंडी खोर्सानी वा एक घोगो हरियो मकै किन्नु पर्‍यो भने जङ्गलै–जङ्गल झन्डै सय किलोमिटर परको गाउँमा पुग्नु पर्ने कुरा गर्थे रिसोर्टका कर्मचारी, तर पनि महँगामहँगा विदेशी पेयपदार्थदेखि विदेशीले खोज्ने अन्य धेरै प्रकारका स्वादिष्ट खानेकुराको कुनै कमी हामीले देखेनौं । पुस महिना, खुला आकाशमुनि क्याम्पफायर गरेर प्रदान गरिएको ठूलो सत्कार सहर्ष ग्रहण गरेर राति सुत्यौं । भोलिपल्ट कर्णाली तर्नु पर्ने थियो, राम्रो जीपले चिसापानी घाटमा पुर्‍यायो । त्यहाँ पुगेर हेर्छु त एउटा फ्यात्त फैलिएको, घेरवारविहीन काठे डुङ्गालाई पो फेरी भन्दैछन् । त्यही खतरनाक भाँडामा चढेर त्यत्रो गडगडाइरहेको नदी तर्नुपर्ने कुरो सुन्दा त मेरो ओठमुखै सुक्यो । टोलीका मित्रहरू मुरारीप्रसाद खतिवडा र पी बी बस्नेतसँग त्यस डरलाग्दो साधनमा हाम्रो जीपसमेत हाली हुम्ला कर्णाली, मुगु कर्णाली, ठूली भेरी, सानी भेरी, तिला, बुढीगङ्गा, सेती मिसिएर बनेको विशाल जलराशिको चिसो हावामा सेकिँदै र डरले कालोनीलो हुँदै पारि कैलालीतिर लागेको घटना मेरो जीवनकै एउटा अविस्मरणीय कथा भएर रहेको छ । 

लगातार टकटक गर्दै नजिकिइरहेको एउटा तीखो तर लययुक्त आवाजले सम्झनाको बेगवान घोडा चढेर उडिरहेको मनलाई धरातलमा ओराल्छ । एउटी पातली पातली नवयौवना बडो पूmर्तिसाथ काठको चिल्लो भुइँमा टिलिक्क परेको पेन्सिल हिल जुत्ता बजाउँदै नजिकै आइरहेकी छे । पर्यटकका लागि ठाउँठाउँमा राखिदिएका मुद्रित सूचनासामग्री लिने एउटा ठाउँ हाम्रो टेबुलनजिकै पनि छ, ऊ त्यहीँ पुगेर अडिन्छे । एकदुई जना अरू यात्रु पनि यतै आइरहेका छन् । निःशुल्क ब्रोसर, पम्पलेट छानिरहेका छन् सबै । दुबै देशका भाषामा छन् । एकैछिनअघि मैले पनि अङ्ग्रेजीका तीनोटा ल्याई सरसर्ती हेरेर जतनसाथ झोलामा हालिसकेको छु ।

मन्द गतिमा जहाज अघि बढिरहेको छ, वायुमा र थलमा जति चाँडो जलमा हिँड्न नसक्ने रहेछ सवारीसाधन ।  अलिक पर पुगेपछि फ्रान्सतिरबाट आउँदै गरेको फेरी पनि देख्छौँ ।  ठूलै छ तर हाम्रो जत्रो भने छैन । सेतो रङको बाहिरी भित्तामा ठूल्ठूला अक्षरमा लेखिएको कम्पनीको नाम टाढैबाट पढ्न सक्छौं । बनावट हेर्दा त्यो पनि मान्छे बोक्ने नै फेरी हो भन्ने कुरा हामी सजिलै बुझ्छौं  । 

अगाडि पानीपानी छ । ‘आगो र पानी देख्ता हर्ष नमान्नू’भन्नुहुन्थ्यो आमा । चाहे नेपालका ससाना खोला–खहरे तर्दा होस् चाहे विदेशका ठूल्ठूला समुद्रीमार्गमा यात्रा गर्दा होस्, दुर्घटना हुनु कुनै नौलो कुरो होइन । अकस्मात समुद्रका बीचैमा एउटा अग्लो पोल देख्छु । कतै हाम्रो जहाज त्यस पोलमा ठ्याङ्ग ठोक्किने पो हो कि ? मनमा चिसो पस्छ ।  केही वर्षअगाडि हामी तीनै जनाले घरमा सँगै बसेर टाइटानिक सिनेमा दोहोर्‍याई तेहेर्‍याई हेरेका हौं, घटनाक्रम सबैका मनमा ताजै छन् ।  सन् २००२ डिसेम्बरको एउटा धुम्म धुम्मिएको अँध्यारोमुखे दिनमा यही इङ्िलस च्यानेलमा दुइटा मालवाहक जहाज ठोक्किएर एउटा डुबेको कुरो कतै पढेको थिएँ, त्यो पनि सम्झेर मन खङ्रङ्ग हुन्छ । रोमाञ्चक यात्राको रमाइलो बिथोलिएला, तिनको उच्चारण नै म गर्दिनँ । त्यो पोल कसले गाडेको हो, के प्रयोजनलाई हो बुझ्न नपाउँदै त्यसलाई छलेर जहाज अगाडि पुगिसक्छ । 

एकनासले पानीतिरै हेरिरहेको छु । डर अझै बाँकी नै छ । यस समुद्रमा त भुमरी पनि छ रे । स्मृतिमा आउँछ सन् १८५० मा जङ्गबहादुरले बेलाइतको भ्रमण सकी फ्रान्सका बादशाहको निमन्त्रणामा प्यारिसतिर जान लाग्दा यही जलमार्ग प्रयोग गरेको घटनाको कथा । उनको यात्राबृत्तान्त कहन्छ, “ताहाँदेखि दुई सय कोश–फ्रान्सिसको प्यारिस सहर पात्साहाका तखत छ । बीचमा ४० कोशको समुद्र तर्नुपर्छ । बेलाइतदेखि १ प्रहर दिन बाँकीमा रेलगाडामा सवार भै जाँदा समुद्रका तीरमा साँझमा पुग्नुभयो । तेही बखतमा धुवाकसको जहाजमा सवार भै जहाज चल्दा सबैलाई रिंगटा लागन्या, बान्ता हुन्या, जहाजमा उभिन बस्न नहुन्या, घोप्टो परी सुत्नुपन्र्या । क्या अर्थले भन्या त्यो समुद्रमा भँवरी प¥याको छ । त्यो भँवरीको छाललहरीले जोर गर्दा जहाजलाई उतार–चढाउ गर्दा बडो कठिन हुँदो रहेछ ।”

तीन दशकअघि म ब्राडफोर्ड विश्वविद्यालयमा पढ्थेँ । इङ्लिस च्यानल पार गर्नका लागि पानीमुनि सुरुङ बनिरहेको समाचार सुन्थेँ । समुद्रको गर्भभित्रको पचास किलोमिटरभन्दा लामो  सुरुङबाट तीब्र गतिका रेल ओहोरदोहोर गर्ने कुरा मात्रले आङ सिरिङ्ग हुन्थ्यो । नेपाल फर्केपछि सन् १९९४ मा  बेलाइतको केन्टदेखि फ्रान्सको क्याले नजिक जोड्ने त्यो सुरुङमार्ग खुलेको कुरो पढ्न पाएँ । भब्य कार्यक्रमबीच महारानी एलिजाबेथ र राष्ट्रपति फ्रास्वाँ मितेराले उद्घाटन गरेको पनि थाहा पाएँ । अहिले भने कुनै दिन त्यस सुरुङबाट पनि तर्ने साइत कसो नजुर्ला त भन्ने मीठो आशा मनको एउटा कुनामा पोको पार्छु ।  

घरी रमाउँदै, घरी डराउँदै, घरी पारिवारिक कुराकानी गर्दै ऐतिहासिक जलयात्राको ब्रेकफास्ट खाइसक्छौं । दुइटी अधबैंसे महिला ट्रे, प्लेट, कप, गिलास उठाउन ट्रली घिसार्दै आउँछन् । मधुर मुस्कानसहित एउटी भन्छे, “खाना कस्तो लाग्यो? मन पर्‍यो?” ग्राहकलाई बढीभन्दा बढी सेवा पुगोस् भन्ने भावना तिनका उज्याला अनुहारमा प्रस्टै देख्छु ।  कर्तव्यप्रति अत्यन्तै सजग छन्,  यात्रुहरूलाई कुनै असुविधा नहोस् भन्ने सतर्कता यी मिजासिला परिचारिकाहरूका  उदार मनमा अघि खानेकुरा किन्दादेखि नै पढिरहेको छु । सबै गोरैगोरा छन् , फ्रेन्च र अङ्ग्रेजीमा उत्तिकै पोख्त छन्, फ्रान्सका हुन् कि बेलाइतका हुन् म त ठम्याउनै सक्तिनँ ।

ब्रेकफास्टपछि पनि हामीलाई त्यस भीमकाय स्वरूपका आठौं तलाका कुनाकुनामा अझै केहीबेर रमाउन मन लाग्छ ।  फेरि निस्कन्छौं । यात्रुमा धेरैजसो गोरा नै देख्छु । गर्मीको बिदा,  स्कुले केटाकेटी पनि थुप्रै छन् । केटाकेटीको जात, बाबुआमालाई एकातिर छाडेर आआफ्नै धुनमा साथीहरूसँग यताउति दौडिरहेका छन्, रमाइरहेका छन् । बेलाइती दम्पत्तीका तीनचारजनासम्म सन्तान त्यति अस्वाभाविक नहुने कुरा यहाँ पनि प्रस्टै अनुभव गर्छौं । 

नीलो पानी र अँध्यारो आकाश मात्र हाम्रा अगाडि छन् । अब भने पल्लापट्टिका ससाना आकृतिहरू पनि क्रमशः दृष्टिमा आउन थाल्छन् । नितान्त नौलो अनुभव लिँदालिँदै फ्रान्स त पुग्नपुग्नै पो लागिसकेछौं । हेर्दाहेर्दै समुद्रकिनारमा अड्याइराखेका डुङ्गा ठूल्ठूला देखिन थाल्छन्, पोर्टमा भएका सानाठूला भवनहरू पनि राम्ररी देख्न थाल्छौं । जहाजको गति निकै नै मन्द भइसकेको छ । 

२८ नटिकल माइल लामो च्यानल पार गरी फ्रान्सको किनारमा पुगेर जहाज टक्क अडिन्छ ।  प्रसन्न हुँदै घडी हेर्छु म,  एक घण्टा र २५ मिनेट लागेछ । संसारका कुनाकुनाबाट आएका यात्रुहरूका भीडमा हामी हतारहतार मिसिन्छौं र सोह्रौं, सत्रौं, अठारौं, उन्नाइसौं र बीसौं शताब्दीमा निरवच्छिन्न रूपमा साहित्य, कला, चित्रकला, नाटक, सङ्गीतमा विश्वमै उँचो स्थान बनाएको फ्रान्सको भूमि टेक्न ठूलो उत्साहसाथ जहाजबाट बाहिरिन्छौं ।  

(भट्टराईको नियात्रासङ्ग्रह ‘नीला गोलाद्र्ध’बाट)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  १०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro