site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा उपभोक्तालाई मार पार्दैनौं’
Sarbottam CementSarbottam Cement

कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण सर्वसाधारण उपभोक्ता आत्तिएका छन् । पेट्रोलियम पदार्थको आयात साविकभन्दा बढी हुँदा पनि यहाँको माग धान्न धौधौ परेको छ ।
नेपाली बजारमा पेट्रोलियम पदार्थ आपूर्ति मिलाउने निकाय नेपाल आयल निगम सम्भावित जोखिम र अभावलाई ध्यानमा राखेर दिनरात लागि परेको छ । र, निगमको नेतृत्वमा छन्, सुरेन्द्र पौडेल । उदयपुर सिमेन्ट कारखानालाई उकासेर वाहवाही पाएका पौडेललाई अर्को खराब संस्थानको जिम्मेवारी दिइएको हो ।

केही दिनअघि ग्यासमा लागेको लाम अहिले देखिँदैन । पेट्रोल पम्प विस्तारै खाली देखिन थालेका छन् । यो विषम परिस्थितिमा यस्ता पदार्थको आपूर्तिमा निगम बलियो बनेर प्रस्तुत भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलसँग पेट्रोलियम पदार्थ आपूर्ति व्यवस्थाबारे बाह्रखरीका रोविन पौडेलले गरेको कुराकानी :

महामारीका रूपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) का कारण अहिले उपभोक्ताहरू एकदमै ‘प्यानिक’ छन् । तपाईंको कार्यकाल सुरु भएयता सम्भवतः यो पहिलो र सबैभन्दा ठूलो च्यालेन्ज होला । यो विषयलाई कसरी हेरिरहनुभएको छ ?
ग्यास व्यवसायीको हडताल, ट्यांकर चालक तथा व्यवसायीको आन्दोलन कम्तीका चुनौती थिएनन् । यो ‘नियन्त्रण बाहिरको चुनौती’ हो । व्यवसायीको हडताल बढी चुनौतीपूर्ण थियो । यो देशकै चुनौती भएका कारण पक्कै पनि जिम्मेवारीपूर्ण थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

पेट्रोलियम पदार्थ कत्तिको अत्यावश्यक वस्तु हो ? निगमले आपूर्ति व्यवस्था मिलाएको पेट्रोलियम पदार्थमा कोरोना भाइरसले यो उपभोग्य वस्तु अभावको जोखिम त हुँदैन ?
पेट्रोलियम पदार्थ आम सर्वसाधारणको ‘लाइफलाइन’ हो । हाम्रो पुस्तामा १०–१५ किलोमिटर साइकलमा हिंड्थ्यौं । आज तेल नभई २ किलोमिटर पनि कल्पना गर्न सकिँदैन । यस्ता पदार्थ जीवनका अभिन्न अंग बनेका छन् ।

हिजोको दिनमा यो आधरभुत आवश्यकता थिएन, आज बनेको छ । ग्यास नभए घरको चुलो बल्दैन । तेल नभए कोही काममा जाँदैन । यति हुँदाहुँदै हामीले निकै कष्टका दिन भोगेका छौं । ४५ सालमा एउटा, ५ वर्षअघि अर्को । हामी नेपाली समस्यासँग जुझ्न बानी परिसकेका छौं । यसकारण मलाई लाग्छ यो परिस्थितिमा अतालिँदैनौं ।

Global Ime bank

पेट्रोलियम पदार्थमा हामी पूर्ण रूपमा विदेशमा निर्भर छौं । छिमेकी मुलुकमा सानो समस्या परे, हामीलाई अभावले पिरोल्छ । हामीसँग ७ दिनभन्दा बढी धान्न सक्ने मौज्दात पनि त छैन नि !

डिजेल अभाव हुने सम्भावनै छैन । किनकि डिजेल पाइपलाइनबाटै आउँछ । रह्यो, पेट्रोल, ग्यास र हवाइ इन्धनको कुरो । कोरोनाको संक्रमण पेट्रोलियम पदार्थबाट हुन्छ जस्तो लाग्दैन । किनकि यस्ता वस्तु आफैंमा ‘स्यानिटाइज्ड प्रोडक्ट’ हुन् । यसमा भाइरस इन्फेक्सन हुँदैन । रह्यो अभावको कुरा, समस्या नै आउँछ जस्तो लाग्दैन । 

एकातिर तपाईं असहज स्थिति छैन भन्नुहुन्छ । अनि निगम बुधबारमात्र औपचारिक रूपमा आम सर्वसाधारणलाई नआत्तिन आह्वान गर्छ । ढिलो भएन ? कि हामीले समस्या महसुस गर्‍यौं भन्ने संकेत हो ?
हामी अति नै असहज अवस्थामा पनि पेट्रोलियम पदार्थ आम सर्वसाधारणलाई उपलब्ध गराउने योजनामा छौं । उपभोक्ता बढी नै आत्तिएका कारण हामी त्यस्तो आग्रह गर्न बाध्य भयौं । साँच्चै भन्नुपर्दा विज्ञप्ति निकालिहाल्न जरुरत नै थिएन । बजारको मागअनुसार हामीले तेल उपलब्ध गराएकै छौं । अझ त्योभन्दा बढी नै होला कम भएको छैन । ग्यासमा पनि लाइन त छ तर त्यो निगमले आपूर्ति गर्न नसकेका कारण होइन । व्यवसायीलाई यो कुरा सोध्नुस् न !

उपभोक्ता त्रासले ‘प्यानिक’ भए, धेरै जोहो गरे, भन्न खोज्नुभएको हो ?
धेरै उपभोक्ताले यो परिस्थितिलाई गम्भीर रूपमा लिएर जोहो गरेका छन् भने कतिले हचुवाका भरमा जोहो गरेका छन् । म आफैं उपभोक्ताका रूपमा जाँदा सँगै खरिद गर्न जानेहरू ‘किनौं न, के नै जान्छ र ! आखिर २ महिना ढुक्कै हुन्छ’ भन्ने पनि देखें । यो परिस्थितिलाई उपभोक्ताले सहज रूपमा लिएको पाएँ । यसले निमुखा उपभोक्ता समस्यामा परे । ‘आ.. छँदै छ । लाइन थियो, मैले पनि राखिदिएँ है !’ भन्नेले गर्दा नसक्नेले दुःख पाएका छन् । कतिपय त ‘आए ठीकै छ, नआए पनि सिलिन्डर लाइनमा बसिहाल्छ’ भन्ने सोच भएका पनि रहेछन् ।

फेरि धेरै डराएको जस्तो पनि लाग्दैन । भोलि नपाइने होला कि भन्ने ‘धक’ देखिएको छ । बिजुली पनि छँदैछ, नाकाबन्दी नै त होइन नि ! केही दिनपछि पाइहाल्छु नि भन्ने पनि धेरै छन् । उपभोक्ता डराएका त भन्दिनँ, ‘ग्रासरुट लेभल’का उपभोक्ता चाहिँ पक्कै पनि अन्यायमा हुनसक्ने सम्भावना छ ।

सहज परिस्थितिलाई तथ्यांकमा स्पष्ट पारिदिनोस् न !
अहिलेको भनिएको ‘क्राइसिस’को १५ दिनको तथ्यांकका आधारमा मासिक ५० हजार मेट्रिक टन ग्यास आयात गरेका छौं । जबकि चाहिने परिमाण भनेको ३८ हजार मेट्रिक टन मात्र हो । १२ हजार मेट्रिक टन थोरै होइन । खर्च गर्छु भने पनि खर्च गर्न नसकिने उपभोग्य वस्तु हो, ग्यास ।

अर्कोपाटो हेर्दा काठमाडौंको हरेक परिवारसँग बाथरुममा ग्यास सिलिन्डर जोडिएको छ । जाडो हटेपछि बाहिर निस्किन्छ । ती भर्नका लागि केही माग बढ्ला तर, ‘स्याचुरेट’ अवस्थामा पुगेपछि माग घट्छ ।

हामीले आयात बढाएका छौं, तर उपभोग घट्ने पक्का छ । अब, तालमेल मिल्दैन । ‘सन्तुलित बिन्दु’मा पुगेपछि ग्यासको आयात–उपभोग ‘न्युट्रलाइज’ हुन्छ । हामी त्यही बिन्दुको खोजीमा छौं । टाढा पनि छैन ।

तपाईंले यो अवस्थालाई ‘बबल’ (फोका) भन्नुहुन्थ्यो । फुट्न कति समय लाग्छ ?
हामी यसैगरी अघि बढ्ने हो भने १५ दिनभित्र ‘क्यु क्लियर’ गछौं । स्पष्ट रूपमा के भन्नचाहन्छु भने १–२ वटा ग्यास कम्पनीमा मात्र समस्या छ । ती कम्पनीका सिलिन्डर किन्नमात्र लाइन लाग्नुपरेको छ । अरूमा समस्या छँदै छैन । उहाँहरुको क्षमताअनुसार हामीले ग्यास दिन सकेका छौं ।

यो त भयो ग्यासको कुरा । पेट्रोल र डिजेलको अवस्था के छ र आउने दिनमा के होला ?
ग्यासको मात्र नभएर तेलको उपभोग पनि घट्छ । हिँडडुललगायत गतिविधि कम भएपछि इन्धनको खपत पनि घट्छ । परिस्थित निकै असहज हुने सम्भावना मान्ने हो भने कार्यालय चैं बन्द हुने इन्धनको माग चैं बढ्ने भन्ने हुँदैन ।

डिजेलको कुरा गर्दा पाइपलाइनबाट आउँछ भण्डारणको विषयमा खासै कुरा नगरे पनि हुन्छ । पेट्रोलको हकमा ट्यांकरमार्फत् ल्याउनुपर्छ । हामीसँग अहिले नै ८० प्रतिशत भण्डारण छ । ८० लाई ३–४ दिनमा १०० बनाउँदै छौं । कुनै पनि गाडी खाली नराख्ने रणनीति अपनाइसकेका छौं ।

अब भण्डारणको कुरो गरौं, हरेक देशले कम्तीमा ९० दिन अत्यावश्यक वस्तु इन्धन भण्डारण गर्ने अभ्यास र मान्यता छ । पूर्वाधार अभावले गर्दा नै हामीले त्यसो गर्न नसकेका हौं ?
निगमको इतिहास पनि हेरौं न । आर्थिक हिसाबले निगम केही सहज स्थितिमा आएको ४–५ वर्षमात्र भयो । त्यसअघि ३० अर्बजति कर्जा मात्र थियो । डिजेल पेट्रोलको पैसा तिर्न नसकेर भारतबाट आयात नै रोकिने अवस्था थियो ।

४ वर्ष भित्रमा निगमभित्र धेरै परिवर्तन भएको छ । हाम्रो योजना बनिसकेका छन् । पाइपलाइनको सर्भे सकिएको छ । सरकार जी–टू–जी मा अघि बढेको छ । मोतिहारी–अम्लेखगञ्ज पाइपलाइन जी–टु–जी मोडालिटीमै बन्यो । ग्यास पनि पाइपलाइनमार्फत् नै आउने, तेल चितवनको लोथरसम्म आउने कुरा अघि बढिसकेको छ । काठमाडौं आउने पाइपलाइनमा केही प्राविधिक समस्या देखिएको छ । त्यो क्लियर नभएसम्म काठमाडौं आइहाल्ने स्थिति छैन । आजको दिनमा निगम धेरै सहज स्थितिमा पुगेको छ । १–२ वर्षमा तेलको पुरा कथा, असहजा, घाटा, अभाव लगायतको कुरा एकादेशको हुन्छ ।

अर्बौं नाफा गर्ने तर पूर्वाधारमा खर्च नगरेको आरोप पनि छ नि !
हामीलाई त्यो आरोप लाग्छ । त्यसको जवाफ दिन ‘भण्डारणसहितको निगम’ को अवधारणासहित अघि बढिसकेका छौं ।

मन्त्रीज्यूले पनि व्यवसायीलाई कडा आदेश दिनुभएको छ, उनीहरुले त्यसअनुसार व्यवहार देखाएको अनुभव तपाईंको छ ?
त्यसको प्रभाव त देखिइहाल्यो । मंगलबार साँझसम्म लाइनको सीमा थिएन । बुधबार ११ बजे लाइन नै छैन । नतिजा देखियो त । नेतृत्वले गर्ने पनि त्यही नै हो ।

व्यवसायीलाई डरै देखाउनु पर्ने भयो हैन त ?
डर होइन, ऐना देखाएको हो । डर त म भन्दिनँ यसलाई । कहिलेकाही आफ्नो क्षमता नबुझेकालाई क्षमता देखाइदिनु पर्छ । हनुमानलाई पनि ‘तिमी समुद्र तरेर पारी जान सक्षम छौ’ भनेर अरू कसैले देखाइदिनुपर्‍यो । ‘तपाईं सक्नुहुन्छ’ भन्ने प्रेरणा दिनुपर्‍यो नि त । हामीलाई पनि मन्त्रीले त्यति भनेपछि आँट आयो । नेतृत्व र अभिभावकले गर्ने त्यही हो । घरमा बाबुआमाले ‘छोरो-छोरी, तँ पढ्न सक्छस्’ भन्नुहुन्छ ।

व्यवसायी भने अप्ठेरोमा लबिङ गर्छन् भनिन्छ । निगमको प्रभावकारिता नदेखाउन पेट्रोलियम पदार्थमा लाइन लगाउने, ग्यास नबेच्न जस्ता कार्य गर्छन् भन्ने कुरो छ । यसमा व्यवसायीमार्फत् आएको राजनीतिक दबाब पनि हुन्छ ?
व्यवसायीले पनि एग्रेसिभ रूपमा सरकारलाई सघाएका छन् । व्यवसायी नेतृत्वको निगमप्रति कुनै आक्रोश छैन, निगमलाई प्रतिकूल हुने कार्य भएको छैन । हामीले अक्षमको उपाधि भिर्नु परेको पनि छैन । हामीले पनि उहाँहरूलाई जिम्मेवार पाएका छौं । एकाध गलत तत्त्व भएका पनि छन् । त्यसलाई हामीले परास्त गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा पेट्रोलियक पदार्थको मूल्य घटेन नि ? निगमले ५२ रुपैयाँमा पेट्रोल किन्दा उपभोक्तालाई १०८, ४४ मा किन्दा १०६ मात्र कसरी ?
भारतबाट पेट्रोको मूल्य ७ रुपैयाँ घटेर आएको हो । त्यसमा २ रुपैयाँ घटाएका छौं । अब, हामीसँग जनताको नासो ५ रुपैयाँ छ । तर, यो घटेर आएको ‘बबल’ हो कि दिगो हो हामी अध्ययन गर्दै छौं । यदि दिगो रहेछ भने उपयुक्त समयमा ५ रुपैयाँ ‘पास–अन’ गर्ने छौं । उपभोक्ताको रकम राखेर हामीले नाफा कमाउनु छैन ।

जुनसुकै कुराको ठाडो आरोह र ठाडो अवरोह ‘डिजास्टर’ हो । सिधै चढ्न खोज्नु वा ओर्लन खोज्नु राम्रो होइन । समाचारमा आएअनुसार ६५ प्रतिशत घटेको हुँदै होइन । अर्कातर्फ हामीले बेलै नभई हवाइ इन्धनको मूल्य घटाएका छौं । हवाई इन्धनमा साढे ४ रुपैयाँ घटाएका छौं ।

पेट्रोल डिजेलको मूल्य १५–१५ दिनमा आउँछ, ग्यास र हवाइ इन्धनको एक महिनामा । भारतीय आयल निगमले पठाएको मूल्यमा हवाइ इन्धनको मूल्य घटेकै छैन । तर, हामीले समायोजन गरेको मूल्यमा भाउ घटेको छ । अर्को मूल्य समायोजन गर्दा अझै घटाउन सक्ने ठाउँ छ । हामीले अर्थतन्त्रलाई सन्तुलनमा राख्ने हो । हाम्रा लागि उपभोक्ता र बिक्रेता समान हुन् ।

२६ अर्ब नोक्सानीमा रहेर पनि त हामीले सस्तो मूल्यमा तेल उपलब्ध गराएकै थियौं । निगमको नाफा आवधिक रूपमा हेर्नुपर्छ । ७ दिन र १५ दिनको होइन । तपाईंले अहिले ‘किन धेरै घटेन ?’ भनेर प्रश्न गर्नुहुन्छ । भोलि ‘किन धेरैले बढायौ ?’ भन्नुहुन्छ । हामीले त्यसको जवाफ पनि दिनुपर्छ । मूल्य निर्धारण गर्दा हामीले सबै कुरा ख्याल गर्नुपर्छ ।

यसलाई सोहीकारण वैज्ञानिक मूल्य समायोजन प्रणाली भनिएको हो । जति उताबाट मूल्य आयो त्यतिले घटबढ गरे बजार र अर्थतन्त्र कतिको चाप पर्छ । ५ रुपैयाँ बढ्यो भने सबैको मूल्य बढ्छ । जनताबाट लिएको नासो समयअनुसार पास–अन गर्ने छौं ।

सर्वसाधारणको एउटा गुनासो छ, मूल्य बढाउने बेलामा २–२ रुपैयाँ गरेर धेरैले बढाउने, घटाउने बेला २ रुपैयाँले भन्दा घटाउन मिल्दैन भन्ने । निगम नाफामा रहेर बलियो बने अन्तर्राष्ट्रिय बजारमा बढे पनि सम्भावित जोखिम कम हुन्छ नि, होइन र ?
पक्कै पनि निगम बलियो हुनु भनेको उपभोक्तालाई फाइदा हुनु हो । भोलि धेरै मूल्यले बढ्यो भने हामीले धेरै बढाउँ त ? त्यसो गर्दा चुलो बल्न सहज हुन्छ ? अंग्रजीमा एउटा भनाइ छ ‘ब्याड एड्मिनिस्ट्रेसन स्लेन हन्ड्रेड, ब्याड फाइनान्सियल म्यानेजमेन्ट स्लेन थाउजेन्ड’ । प्रशासकीय तथा बजारीकण व्यवस्था बिग्रिए १ जनाको ज्यान लग्न सक्छ भने वित्तीय व्यवस्थापन खराब भए १ हजारको ज्यान लैजान्छ । वित्तीय व्यवस्थापन सहज रूपमा लिने विषय हुँदै होइन । हामीले २ रुपैयाँभन्दा बढीले इन्धनको भाउ घटबढ गरेकै छैनौं । ५ रुपैयाँ बढ्यो भने कुनै परियोजनाको भाउ कहाँ पुग्छ ? सोच्नुस् त ।

ग्यास इन्धनलगायत अत्यावश्यक वस्तु अभाव भए कसलाई सम्पर्क गर्ने ?
सरकारको गुनासो सुन्ने हेल्लो सरकार छ, वाणिज्य तथा आपूर्ति विभागको हटलाइन छ । त्यहाँ निगमका कर्मचारी पनि खटिएका छन् । 

निगम र सर्वसाधारण उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध छैन । बीचमा व्यवसायी छन्, कि डिलर कि बिक्रेता । निगम–उपभोक्ताको प्रत्यक्ष सम्बन्ध कहिलेदेखि हुन्छ ?
सम्भव छैन । देशभर निगम ४ सय जना कर्मचारी भएको संस्था हो । कर्मचारी तथा पूर्वाधार संरचना दुवै छैन । र, प्रत्यक्ष सम्बन्ध बनाउने सोच पनि छैन ।
अपवादलाई कानुन बनाउने कुरा पनि हुँदैन । अहिलको समस्या ५ वर्षपछि आएको हो । ४ वर्ष त सब ठीकठाक थियो । अहिले समस्या आएका कारण विकल्प खोजिहाल्नु पर्दैन ।

निगम फाइदामा गए उपभोक्तालाई कसरी राहत मिल्छ ?
साउदी ड्रोन एट्याकको उदाहरण दिन्छु । हामीले मूल्य बढायौं र ? हामीले भएकै स्रोत परिचालन गरे उपभोक्तालाई मार पर्न दिएनौं । बीचमा अरु उतारचढाव आए । ग्यासमा अहिले पनि २ सय ९१ रुपैयाँ प्रतिसिलिन्डर घाटा छ । त्यो हामीले बेहोरेकै छौं । कहाँ घोच्दा कहाँ दुख्छ भन्ने हामीले बुझेका छौं ।

स्वतः सञ्चालित मूल्य प्रणालीमा कस्तो व्यवस्था छ ?
स्वतः सञ्चालित मूल्य प्रणालीमा कार्यविधि अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एकैपटक २ रुपैयाँले भन्दा घटबढ गर्न पाइँदैन । बढीले गर्नुपरे सञ्चालक समितिले निर्णय गर्नुपर्छ । अर्थतन्त्रमा पनि उस्तै प्रभाव पार्छ । 

अब अलि गैरसमसामयिक कुरा गरौं । उदयपुर सिमेन्टलाई उकासेपछि तपाईंको कार्यक्षमता हेरेर नेपाल आयल निगमको नेतृत्व दिइयो । तपाईं आएको १४–१५ महिनामा केके सुधार भए ?
नीतिगत व्यवस्था सुधार, प्रशासनिक संरचना सुधार, निगमलाई व्यवसायीकतातर्फ उन्मुख गर्ने, आपूर्ति सञ्जाल एकनासले अघि बढाउने, भण्डारणस्थलको विस्तृत परियोजना प्रतिवेदन तयार पार्नेसम्मका काम भएका छन् । अम्लेखगञ्जमा हामी अगाडि बढ्दै छौं ।

निगम अहिले कतिको बलियो छ ? नाफा नोक्सान, चुक्तापुँजी, कर्जाको आधारमा वित्तीय अवस्था कस्तो छ ?
हाम्रो कर्जा छैन । चुक्तापुँजी २६–२७ करोडबाट बढाएर ११ अर्ब रुपैयाँ पु¥याएका छौं । तिर्नुपर्ने दायित्व कोषका मात्र छन् । अघिल्लो १५ दिनको नाफा १० देखि १२ करोड रुपैयाँ रहेकोमा मूल्य समायोजनपछि १५ दिनको नाफा ५० करोडको हाराहारीमा पुगेको छ ।

ग्यासकै विषयलाई फेरि जोड्दा घरायसी र व्यावसायिक प्रयोजनको ग्यास छुट्याउने काम कहाँ पुग्यो ?
ग्यासमा कोटाको अवधारणाले छुट्याइएको हो । खटाएर दिने भएकाले त्यो आवश्यक थियो । तर, अहिले त त्यस्तो छैन । अहिलेको भण्डारणको समस्याले कृत्रिम अभाव सिर्जना भएको हो । यसलाई सन्तुलन गर्न समय लाग्छ । ग्यासमा कोटै छैन । केका लागि रातो र नीलो सिलिन्डर ? १५ दिनका लागि ?

अहिलेको परिस्थितिमा उपभोक्तालाई के भन्न चाहनुहुन्छ ?
डिजेल, पेट्रोल र मट्टितेल तपाईंलाई जहिले जति आवश्यक छ लानुस् । तर, घरमा नराख्नुस् । किनकि त्यो अत्यन्तै प्रज्वलनशील पदार्थ हो । ग्यासको सबालमा बढी जम्मा नगर्नुस् । तपाईंले गरेको एक सिलिन्डरको जम्माले अर्का आवश्यकतामा रहेको परिवारलाई असर पार्छ । आफ्नो अधिकार उपयोग गर्दा अर्काको अधिकारको पनि ख्याल राख्नुस् । हिजो यही परिमाणको ग्यास पर्याप्त थियो । आज किन नपुग्नु ? आफूलाई चाहिनेभन्दा बढी नराखिदिनुस् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC