रत्न प्रजापति
‘प्रेम र क्यान्सर उस्तैउस्तै हुँदारै’छन् क्यारे । दुवै विस्तारैविस्तारै, थाहै नभई फैलने ।’
नयाँ पुस्ताका लेखक सीधै उपन्यास लेख्छन् । मान्नैपर्छ यो आँट र हिम्मतलाई । पहिलापहिला छोटा विधाका छोटाछोटा मुक्तक, गीत, गजल हुँदै कविता र कथा लेख्न थालिन्थ्यो । थोरैले मात्रै उपन्यास लेख्ने आँट गर्थे । धेरै त कथासम्म पुगेर रोकिन्थे । अहिले त लेखनको सुरुवातै उपन्यासबाट गर्छन् । नयाँ पुस्ताको सिर्जना क्षमतालाई सलाम गर्नैपर्छ । भलै त्यो सिर्जना स्तरीय होस् वा नहोस्, पाठकले रुचाएकै छन् कतिपय नयाँ पुस्ताका लेखकको सिर्जनालाई ।
पहिलापहिला देवकोटाको ‘मुनामदन’, माधवप्रसाद घिमिरेको ‘गौरी’, गुरूप्रसाद मैनालीका ‘नासो’ अथवा ‘परालको आगो’, अथवा ‘बिदा’, गोविन्द गोठालेको ‘पल्लो घरको झ्याल’, विजय मल्लको ‘अनुराधा’ अथवा ‘कोही किन बरबाद होस्’, विश्वेश्वरप्रसाद कोइरालाका ‘सुम्निमा’ अथवा ‘नरेन्द्रदाइ’ आदिबाट साहित्यको पठन सुरु गर्थे । अहिले भने सीधै जेके रोलिङबाट सुरु गरेर चेतन भगत, पाउलो कोहेलो हुँदै हारुकी मुराकामी पढ्न थाल्छन् । त्यसैले पठनमा जस्तै लेखनमा पनि एक प्रकारको छलाङ मारेको अवस्था छ । सीधै उपन्यासबाटै थाल्छन् आफ्नो लेखन अहिलेका लेखकहरू । लेखनको धार पनि फरक छन् अहिलेका लेखकका । अङ्ग्रेजी साहित्यबाट प्रभावित भएर होला, नेपाली साहित्य लेखनमा पनि फरकफरक धार देखिन थालेका छन् । परम्परागत नेपाली धारलाई युवालेखकले कमै पछ्याएको पाइन्छ । यसो त धेरैजसो युवालेखकहरू प्रेमकथामै सीमित छन् । फरक कथ्यशैली र प्रस्तुतिमा नयाँपन पनि भेटिन्छ । लेखनमा क्रमबद्धता हुनुपर्छ भन्ने पुरानो मान्यतालाई केही युवालेखकले भङ्ग गरेका छन् । जहाँबाट पनि सुरु गर्न सकिने, जसरी पनि कथानकलाई अघि बढाउन सकिने र जसरी पनि अन्त्य गर्न सकिन्छ भन्ने मान्यतालाई नयाँपुस्ताका युवालेखकले स्थापित गर्न खोजेको आभास हुन्छ ।
नयाँपुस्ताका एक लेखक हुन् साजन केसी । ‘आफ्टर लभ’ नामक अङ्ग्रेजी भाषाको उपन्यासबाट साहित्यमा डेब्यु गरेका साजनले दोस्रो उपन्यास भने पाठकीय माग र अभिरुचिलाई ध्यानमा राखेर नेपाली भाषामै लेखेको बताएका छन् । उनको दोस्रो उपन्यास हो ‘फिट्किरी’ । उपन्यासको शीर्षक बिम्बात्मक छ । प्रेमको पीडा पखाल्ने औषधिको रूपमा प्रयोग गरिएको छ फिट्किरीलाई ।
युवालेखकको लक्षित वर्ग युवापाठक नै हुनु स्वाभाविक हो । साजनले आफ्नो उपन्यासको लक्षितपाठक युवालाई रोजेको देखिन्छ । ‘फिट्किरी’ प्रेमिल संसारमा रमाउन चाहने युवापाठककै लागि हो । युवापाठकले ‘फिट्किरी’लाई रुचाउने आशा गर्न सकिन्छ । युवा ढुकढुकीलाई राम्रैसँग समेटिएको छ ‘फिट्किरी’ मा । यसमा साहित्यिक गुणवत्ताको अपेक्षा गर्न नसकिए पनि युवा मनको ढुकढुकीलाई समेटिएको र युवा अपेक्षाअनुसारको एउटा समसामयिक उपन्यास यसलाई मान्न सकिन्छ ।
‘फिट्किरी’ मा केही युवा चरित्रको चित्रण छ । प्रेमलाई जीवनमा नभइनहुने र भए पनि नहुने एउटा अचम्मको भावनात्मक सम्बन्धको रूपमा विश्लेषण गर्ने प्रयास हुँदै आएको छ । यस उपन्यासमा पनि यस्तै प्रयास भएको छ । उपन्यासका मुख्य पात्रहरू विवश, सायरा र टिस्टा हुन् । अरू धेरै सहायक पात्रहरू पनि छन् । तिनको चरित्रको चित्रण खासै भएको छैन र उपन्यासमा तिनको भूमिका खासै उल्लेखनीय पनि छैनन् । उपन्यासको मूलपात्रको हैसियतले विवश, सायरा र टिस्टामाथि नै उपन्यासले फेरो मारेको छ ।
चरित्रका दृष्टिकोणले हेर्ने हो भने विवश कृष्णजस्तो लाग्छ भने सायरा र टिस्टाचाहिँ गोपिनीजस्ता । विवशले कहिले सायरासँग रोमान्स गर्छ । कहिले टिस्टासँग । विवश पालैसित घुम्न जान्छ । कहिले दक्षिणकाली । कहिले बैंसकोट । कहिले बन्दीपुर । कहिले पाल्पा । कहिले आफ्नै गृहनगर पोखरामै पनि घुम्छ प्रेमिकासित । हिउँमा खेल्दाखेल्दै थाहा नपाएजसरी टिस्टाको वक्षस्थलमा हात हालेर आनन्द प्राप्त गर्छ । टिस्टाले कुनै प्रतिरोध गर्दिन । यसैगरी सायरासँग पनि रात बिताउँछ लजमै । यहीँनेर एउटा प्रश्न पाठकको मनमा उठ्न सक्छ, प्लस टू पढ्ने केटा र केटीहरू ठाउँठाउँमा विन्दास घुम्दै क्यापुचिनो, अमेरिकानो कफी खाँदै हिँड्छन् । कहाँबाट आउँछ पैसो ? कामै नगरी, कुनै आम्दानी नै नगरी मोजमस्ती मात्रै गरेको देखिने ! कताकता सी ग्रेडका हिन्दी फिल्मको दृश्यजस्तो पनि लाग्छ ।
विवश कहिले वर्तमानमा रमाउँछ । कहिले तीन वर्षअघिको स्मृतिमा हराउँछ । प्रेमिकासँग वनमा घुम्न जान्छ । प्रेमिकालाई चुम्बन गर्छ । घाँसे बूढाले देखेर जिस्काउँछ र सम्झाउँछ, ‘पुलिसले समाउला है..., होस् गरे ।’
विवश सायराको प्रेममा लिप्त हुन्छ । सपनामा पनि सायरालाई नै देख्न थाल्छ । एक्कासि सायरा सम्पर्कविहीन हुँदा ऊ बेचैन हुन्छ । उता बाबा बितेपछि ममीमा आएको परिवर्तनले सायरा पनि बेचैन हुन्छे । सायराको ममीले अन्तरजातीय विवाह गरेकाले माइती पक्षले त्यति वास्ता गर्दैनन् । सायराको ममीले एउटा किराना पसल थापेर परिवारको आवश्यकता पूरा गर्छिन् । अन्ततः एकदिन उनी पनि दोस्रो विवाह गरेर जान्छिन् । सायरा र भाइ सहाराविहीन बन्छन् । फुपूले सहारा दिन्छिन् । फुपूले नै सायराको बिहे अमेरिका बस्ने केटासित गरिदिने प्रस्ताव गर्छिन् । तर सायराले त्यो प्रस्ताव अस्वीकार गर्छे ।
यता विवशको टिस्टासँग सम्बन्ध बढ्दै जान्छ । स्विमिङ सिकाउने बहानामा टिस्टासँग विवशका अन्तरङ्ग सम्बन्ध बढ्दै जान्छ । दक्षिणकाली घुम्न पनि जान्छन् । यहाँछेउ पाठकलाई चलत्रिचको कथाको दृश्य याद आउँछ । टिस्टाको भने प्लस टू पढ्दा र त्यसपछि पनि कसैसित प्रेम परिसकेको हुन्छ । अहिले भने ऊ विवशसँग रोमान्स गर्दै हुन्छे । प्रेम भनेको खेल हो कि के हो ? कहिले कोसँग । फेरि कहिले कोसँग । मन लाग्यो प्रेम । मन लागेन ब्रेकअप । अचेलको प्रेम यस्तै हो । पश्चिमी संस्कृतिको प्रभाव भन्छन् यसलाई । यस्तै सस्तो प्रेमको परिणाम हो युवामा देखिने कुण्ठा, निराशा, घृणा, आक्रोश र बदला । घुमाउरो पारामा यो उपन्यासले यही सन्देश दिन खोजेको छ ।
सायरा विवशलाई असाध्यै प्रेम गर्छे । ऊ विवशप्रति समर्पित छे । त्यसैले उसले विवशको मनोकाङ्क्षा पनि पूरा गरिदिएकी छे । तर आफ्नो बाबु र आमाको अन्तरजातीय विवाहकै कारण घरपरिवारमा सम्बन्ध राम्रो हुन नसकेकाले आफ्नो र विवशबीचको वैवाहिक सम्बन्ध पनि सफल र दिगो नहुने हो कि भन्ने डरले ऊ विवशको बिहे गर्ने प्रस्ताव स्वीकार्न डराउँछे । ऊ पटकपटक सोध्छे विवशलाई बाबुआमासँग कुरा ग¥यौ भनेर । विवशले सायरा विजातीय केटी हो भनेर आमाबाबुलाई भन्न सक्दैन । उसले सायरालाई ढाँट्छ, बाबुआमाले स्वीकार गरेको कुरा । तर सायराले पत्याउँदिन । विवशको बाबुआमा मान्ने कुरामा ऊ विश्वस्त हुन सक्दिन । अन्त्यमा ऊ विवशसित ‘अब म तिमीसँग हुन सक्दिनँ’ भनेर छुट्टिन्छे ।
विवशको कम्प्लिकेटेड लभस्टोरीबाट सशङ्कित टिस्टाले पनि एउटा लामो मेसेज लेखेर विवशबाट अलग्गिने निर्णय गर्छे । विवशलाई प्रेमिकाको होइन मनको घाउ मेटाउने फिट्किरीको मात्र आवश्यकता रहेको आरोप लगाउँछे । आफू त्यस्तो फिट्किरीमात्रै बनिरहन नचाहेको भन्दै ऊ अमेरिकी साथीले बोलाएको भन्दै उतै जाने निर्णय गर्छे । अन्ततः विवश सायरा र टिस्टा दुवैलाई पाउनबाट वञ्चित हुन्छ र एक्लो पर्छ ।
प्रेमकथा हो, यसकारण प्रेम गर्ने उमेरका युवा पाठकका लागि यो उपन्यास रमाइलो लाग्न सक्छ । लेखक स्वयम्ले पनि यो उपन्यास ‘प्रेमिल मनहरूलाई’ समर्पण गरेका छन् । प्रेमिल मनहरूले यो उपन्यास स्वीकार गर्ने अपेक्षा गर्न सकिन्छ ।
पुस्तक ः फिट्किरी
विधा ः उपन्यास
लेखक ः साजन के.सी.
प्रकाशक ः शिखा बुक्स
संस्करण ः पहिलो, मङ्सिर २०७६
पृष्ठ ः ३३१
मूल्य ः रु. ३७५ –