विराटनगर । पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृतिमा सुशील कोइराला फाउन्डेसन स्थापना भएको छ ।
विराटनगरमा दर्ता भएको फाउन्डेसनले कोइरालाको स्मृतिमा देशभर कार्यक्रम गर्ने तयारी गरेको छ । प्रदेश १ को राजधानी विराटनगरमा फाउन्डेसनको मुख्य भवन बन्ने छ ।
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले बिहीबार फाउन्डेसनको भवन शिलान्यास गर्ने फाउन्डेसनकी अध्यक्ष तथा कांग्रेस नेतृ मृदुला कोइरालाले बताइन् ।
भवन निर्माणका लागि प्रदेश १ सरकारकाले रु. ७५ लाख बजेट छुट्याई दिएको छ । विराटनगर महानगरपालिकाले तीन कठ्ठा जग्गा उपलब्ध गराएको छ । कोइरालाले भनिन्, ‘‘हामी ज्येष्ठ नागरिक स्याहार केन्द्रसमेत सञ्चालन गर्ने तयारीमा छौं ।’’ फाउन्डेसनले युवा लक्षित व्यावसायिक तालिमदेखि आयआर्जनका कार्यक्रमलाई समेत प्राथमिकता दिने कोइरालाले बताइन् ।
सुशील कोइराला विराटनगरमा जन्मिएको र उनको योगदानलाई स्मरण गराउनकै लागि यो संस्था विराटनगरमा दर्ता भई सञ्चालनमा आएको फाउन्डेसनका सचिव दीपक चापागाईंले जानकारी दिए । सुशील कोइरालाको पाँच वर्षअघि निधन भएको थियो ।