site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
 कांग्रेसको अस्तित्व संकटमा पर्ने जोखिम
Dabur Nepal

 संगठनको सिद्धान्त र नेताको आचरण मिलेन भने विसंगति र विकृति बढ्छ । नेपाली कांग्रेसमा केही वर्ष यता देखिएको भद्रगोलले यसको पुष्टि गरेको छ । अल्पमत पक्षले पार्टी महाधिवेशनको  मिति ढिलो तय गरिएको र क्रियाशील सदस्यतासम्बन्धी विधानका धारा निलम्बन गर्ने केन्द्रीय समितिको बहुमतको निर्णय विधानको मर्मविपरीत रहेको भन्दै असहमति प्रकट गरेको छ । कांग्रेस केन्द्रीय समितिले पार्टीको आगामी महाधिवेशन २०७७ साल फागुन ७ गते बोलाउने निर्णय गरेको छ । केन्द्रीय समितिको पदावधि यही फागुनमा समाप्त हुन्छ । महाधिवेशन त्यस अगावै गरिसक्नुपर्थ्यो । अहिले महाधिवेशनको मिति ढिलो तोकियो भन्नेहरूले पनि बेला छँदै  दबाब दिएनन् । उनीहरूको ध्यान भागबन्डामा सीमित भयो । मिति तोकिने बेलामा उनीहरूले केन्द्रीय समितिको बैठक बहिष्कार गरे । आफ्नो कब्जामा नहुने हो भने पार्टी नै नरहोस् भनेजसरी सभापति देउवाले अर्को पक्षमात्र होइन पार्टी नै अक्करमा पर्नेगरी मिति तोके ।  उनले बेला बित्‍ने जोखिम हुनेगरी  महाधिवेशनको मितिमात्र तोकेनन् संगठनको सबैभन्दा महत्त्वपूर्ण क्रियाशील सदस्यतामा पनि कब्जा जमाउन सजिलो हुनेगरी विधानका धारा निलम्बन गर्ने निर्णय गरे । 

देशको सबैभन्दा पुरानो लोकतन्त्रवादी पार्टी भए पनि नेपाली कांग्रेसका नेताले केही वर्ष यता पार्टीलाई विधिसम्मत लोकतान्त्रिक पद्धतिमा सञ्चालन गर्न  सकेका छैनन् ।दलको विधान, लोकतान्त्रिक मूल्य, राष्ट्रिय हित र जनभावना कुनै पनि आदर्श कांग्रेस सञ्चालनका आधार बनेका छैनन् । केही नेताहरूको तजबिजी सहमति र स्वार्थअनुसार भागबन्डा गरेर पार्टी चलाइएको छ । अहिलेको विवाद पनि सिद्धान्त वा मूल्य मान्यताका लागि हाेइन । पार्टी रसातलमा पुग्‍न लागेको छ ।  देशमा लोकतान्त्रिक पद्धति नै संकटमा पर्दै गएको छ । नागरिक स्वतन्त्रतामा कम्युनिस्ट सरकारले एकपछि अर्को प्रहार गर्दैछ । नेपाली कांग्रेसका सभापति पक्षका नेताहरू भने असन्तुष्ट  पक्षले भागबन्डामा चित्त नबुझाएको ठानेर बसेका छन् ।  वार्तामा आए भाग दिन तयार छौँ भन्ने तिनको सोचमा लोकतान्त्रिक हैन सामन्ती सोच प्रकट भएको छ । मानौ, नेपाली कांग्रेस उनीहरूको निजी सम्पत्ति हो र असन्तुष्ट पक्षलाई भागबिलो दिएपछि सबै समस्या समाप्त हुन्छ ।

परन्तु, स्थिति सभापति पक्षाले सोचेजस्तो सरल देखिँदैन । कथम्, कुनै काबु बाहिरको कारणले २०७७ को फागुनभित्र महाधिवेशन भएन भने नेपाली कांग्रेसको वैधानिक अस्तित्व समाप्त हुन्छ । त्यसपछि स्थानीय निर्वाचन सुरू हुन्छ । पार्टी निर्वाचनको घाउमा खाटा बसिसकेको हुँदैन । त्यस अवस्थामा चुनावमा जानु आत्मघात गरेसरह हुन्छ । यसैगरी विधानको निलम्वित धाराका कारण कांग्रेस कब्जा गर्ने रणनीति अपनाएर संगठित यत्न गरेका खण्डमा पार्टी ठूलै संकटमा पर्नसक्छ । पार्टीभित्रको अल्पमतलाई तह लगाउन देउवाले प्रयोग गर्न खोजेको अस्त्र उनैतिर फर्कन पनि सक्छ । कांग्रेसमा गैरकांग्रेसको प्रभुत्व हुनसक्छ । जिल्ला सभापतिहरूले केन्द्रको रोग पक्कै पहिचान गरेका होलान् ।  भागबन्डामा हाेइन विधानको मर्यादा राखेर विवाद टुंगियो भनेमात्र कांग्रेसको लोकतान्त्रिक छवि कायम रहन्छ ।  देशमा लोकतन्त्र बलियो र अधिनायकवादी शक्ति कमजोर भएको भए नेपाली कांग्रेस रहनु र नरहनु कांग्रेस कार्यकर्ताबाहेक अरूको चिन्ताको विषय हुने थिएन । अहिले त लोकतन्त्र जोगाउन कांग्रेसमात्र हाेइन नागरिक समाजका संस्थाहरू समेत जोगिनु आवश्यक छ ।  पार्टीभित्र भागबन्डाको संस्कृति अन्त्य गर्ने,  महासमितिका निर्णयहरू उल्लंघन नगर्ने, विधान मिच्‍ने काम सहमतिमा पनि नगर्ने र सबै ध्यान महाधिवेशन र संगठन विस्तारमा केन्द्रित गर्ने प्रतिबद्धता पार्टी सभापति देउवा र अल्पमत पक्षका नेताबाट प्रकट गराउन सके भने सभापतिहरूले नेपाली कांग्रेस जोगाउन सक्नेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro