काठमाडौं । नवलपरासीको सुनवल २२०÷१३२ केभी न्यु बुटवल र चितवनको भण्डारामा पूर्वी चितवन १३२–३३–११ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । दुवै सबस्टेसनको निर्माण आगामी चैत्र (मार्च २०२०) भित्र सम्पन्न गरी सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
ती सबस्टेसन निर्माण प्रगतिको स्थलगत निरीक्षणमा पुगेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै अवरोध नआएमा तोकिएकै समयमा काम सकिने देखिएको बताए । आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिसँग निर्माण प्रगति, बेहोरिएका समस्या लगायतका बारेमा जानकारी लिँदै कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा काम सक्न निर्देशन पनि दिए ।
दुवै संरचनाको धैरै समय लाग्ने माएिको अधिकांश सिभिल संरचनाको निर्माण सकिएको छ ।
घिसिङले निर्देशन दिँदै भने, “सबस्टेसनको जग (फाउन्डेसन) हालिएको छ, अधिकांश उपकरणहरू आयोजनास्थलमा आइसकेका छन् भने केही आउने क्रममा छन् । अब उपकरणहरू जडानको काम मात्रै बाँकी देखिन्छ, बाँकी रहेको सिभिल संरचनाको काम सक्न र उपकरण जडानको कामलाई तिव्रता दिनुहोस् । निर्माण तेकिएकै समयमा सम्पन्न गर्न देखिएका समस्या समाधान गर्न प्राधिकरणले गर्नुे पर्ने काम र सहजीकरण गर्ने विश्वास उनले दिलाए ।
मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवर्द्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीको विस्तार तथा सदृढीकरणका लागि न्यु बुटवल सबस्टेसनको निर्माण गरिएको हो ।
भारतीय ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले चैतभित्रमा सबस्टेसन चार्ज गर्ने प्रतिबद्धता जनाएको छ । निर्माणमा अहिले १ सय जनाभन्दा बढी श्रमिक खटिएका छन् ।
प्राधिकरणका अनुसार कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् कालीगण्डकी किरडोर २२० कभी प्रसारण लाइन हुँदै न्यु बुटवल सबस्टेसनमा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गरिनेछ ।
नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि लागि दोस्रो क्रसबोर्डर प्रसारण लाइन पनि न्यु बुटवल सबस्टेसनबाट सुरु हुनेछ । नेपाल र भारतबीच विद्युत् व्यापारका लागि न्यु बुटवल–गोरखपुर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण लगानी तथा कार्यान्वयन प्रारुपमा सहमति जुटिसकेको प्राधिकरणको दाबी छ ।
करिब २० बिघामा निर्माण हुने न्यु बुटवल सबस्टेसन धनुषाको ढल्केबर सबस्टेसनपछिको दोस्रो ठूलो विद्युत् हब हुनेछ ।
अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत दिने अनुदानबाट न्यु बुटवलमा ४०० केभीको अर्को सबस्टेसन पनि बन्नेछ । एमसीसीले तनहुँको दमौलीबाट न्यु बुटवलसम्म ४०० केभी प्रसारण लाइन पनि निर्माण गर्नेछ ।
बर्दबाट–न्यु बुटवल २२० केभी र न्यु बुटवल– कोहलपुर (बाँके) ४०० केभी प्रसारण लाइन निर्माण हुँदै छ ।
यसैगरी, चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो ।
हाल भरतपुरमा रहेको १३२ केभी सबस्टेसनबाट करिब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३÷११ केभी चैनपुर सबस्टेसनमार्फत चितवनको पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको छ । तर, लामो लाइन र क्षमताले नधान्दा लाइन चुँडिने, ट्रिपिङ हुने, लो भोल्टेज र विद्युत्को प्राविधिक चुहावटको समस्या थियो ।
यो सबस्टेसन सञ्चालनमा आएपछि प्राविधिक चुहावट करिब ४–५ प्रतिशत घट्नेछ, ग्राहकले पनि गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् पाउने प्राधिकरणले जानकारी दियो । यससँगै, प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुने बताइएको छ ।
मकवानपुरको हेटौंडाबाट भरतपुर तर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सबस्टेसनमा ट्यापिङ गरी त्यस क्षेत्रमा आपूर्ति गरिनेछ ।