काठमाडौं । तत्कालीन बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका निर्देशक डा. भक्तमान श्रेष्ठलाई अपहरण मुद्दामा सजाय सुनाइएका फरार कसुरदार गौतम योञ्जन पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले उनलाई महाराजगन्जबाट पक्राउ गरेको हो । उनलाई पुनरावेदन अदालत हेटौंडाको २०७० माघ २१ गतेको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।
योञ्जनले ०६७ जेठ ४ गते राति चितवन भरतपुर नगरपालिका १०, चौबीसकोटीस्थित निवासबाट डा. श्रेष्ठलाई अपहरण गरी काठमाडौं र नुवाकोटको विभिन्न ठाउँमा बन्धक बनाएका थिए । १८ दिनपछि भारतमा फिरौती पाएपछि ०६७ जेठ २२ गते धादिङको माझिकोटबाट श्रेष्ठ अपहरण मुक्त भएका थिए ।
योञ्जनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको ब्यूरोले जनाएको छ ।