site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तीन महिनापछि केपी-माधव बोलचाल, चारघण्टा मन माझामाझ
Sarbottam CementSarbottam Cement

काठमाडौं । तीन महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालबीचको संवाद–विहीनता टुङ्गिएको छ । मङ्गलबार पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेता नेपाललाई निवासमै बोलाएर कटूतापूर्ण बन्दै गएको सम्बन्धलाई हार्दिकतामा बदल्ने चेष्टा गरेका हुन् ।

“उहाँहरूबीच तिक्तता मेट्ने प्रयास भएको छ,” नेता नेपाल निकट स्रोतले बाह्रखरीसँग भन्यो, “भेटघाटको पहल बालुवाटारबाटै भएको थियो ।”  स्रोतका अनुसार नेता नेपाललाई सोमबारै प्रधानमन्त्री ओलीबाट बोलावट भएको थियो । मङ्गलबार बिहानै नेता नेपाल बालुवाटार पुगेका थिए । र दिउँसो ३ बजे प्रधानमन्त्री निवासबाट फर्किएका थिए । दुई शीर्षस्थबीच लञ्चसहित झण्डै चारघण्टा मन माझामाझ र तिक्तता दूर गर्ने प्रयास भएको स्रोतको दाबी छ ।

“विचारमा विविधता हुन्छ । प्रतिस्पर्धा हुन्छ । मतमतान्तर पनि हुन्छ । कम्युनिस्ट पार्टीको सौन्दर्य र जीवन पनि त्यही हो,” नेपाल निकट स्रोत भन्छ, “तर नेता नेपालले व्यक्तिगत मनमुटाव र दूरी चाहनु भएको थिएन । प्रधानमन्त्रीबाटै पहल भएपछि उहाँले आनाकानी गर्ने कुरा पनि आएन ।”

Prabhu Bank
Agni Group
NIC Asia

गत भदौ पाँच गतेको सचिवालय बैठक यता दुई नेताबीच दोहोरो संवाद पनि भएको थिएन । पार्टी सचिवालयको बैठकबाहेक अन्यत्र देखादेख हुने अवस्था पनि थिएन । तर मङ्गलबारको संवादले त्यो चिसोपनाको अन्त्य गरेको स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले मनमुटावको अन्त्य गर्न चाहे निर्णय र कार्यशैलीमा भने पुरानै अडान पाएको र सुधारको छनक नदेखिएको नेता नेपाल निकट स्रोतले जानकारी दियो ।

“प्रधानमन्त्रीले स्वभाव, निर्णयको फेरबदलको कुनै सङ्केत त गरेका छैनन् । निर्णयमा कहीँ, कतै त्रुटि भयो कि, असमझदारीहरू हटाउन मैले नै पहल गनुपर्छ कि भनेर अनुभूति गरेको त पाइएन । पार्टीका निर्णयले व्यक्तिगत सम्बन्धमा असर नपुर्‍याओस् भन्ने देखियो,” नेपाल निकट स्रोतले बाह्रखरीसँग भन्यो । “विधि, पद्धति र अनुशासनमा नेता नेपाल पनि आफ्नै अडानमा छन् । पार्टी सञ्चालन र निर्णय प्रक्रियामा आफ्नै दृष्टिकोण भए पनि त्यसकै आधारमा व्यक्तिगत सम्बन्ध प्रभावित हुनुहुँदैन, कटूतामा बदलिनुहुँदैन माधव नेपाल प्रष्ट हुनुहुन्छ,” नेपाल निकट स्रोत भन्छ ।
 
'लभ एण्ड हेट'को रिलेसन

Global Ime bank

गत भदौ ५ गते भनाभन भए पनि सचिवालयको बैठकको उत्तराद्र्धतिर नेता नेपालले प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको शुभकामना दिएका थिए । ओलीले तपाईंको शुभकामना चाहिँदैन भनेपछि दुई नेताबीच बोलचाल ठप्प भएको थियो । तर नेपालले व्यक्तिगत सम्बन्ध शत्रूतापूर्ण अवस्थामा पुर्‍याउनुहुँदैन भनेर संवादको समय पर्खिइरहेको नेता नेपाल निकट स्रोत बताउँछ ।

“उहाँ (ओली–नेपाल)को सम्बन्ध प्रेम र घृणाको हो । हार्दिकतापूर्ण सम्बन्ध कहिलेकाहीँ तिक्ततामा बदलिन्छ । फेरि सौहार्द बन्छ । यो नियमित र चलिरहने प्रक्रिया हो,” नेता नेपाल निकट स्रोत बताउँछ । दुई नेताबीच तत्कालीन एमालेको नवौं महाधिवेशनपछि सम्बन्धमा यस्तै तिक्तता र कटूता देखिएको थियो । महाधिवेशनताका तीव्र प्रतिस्पर्धा भएकाले कार्यविभाजन र निर्णय प्रक्रियामा त्यसले सोझो प्रभाव पार्‍यो ।

मिल्नै सक्दैनन् भने दुई शीर्षस्थ एमाले–माओवादी केन्द्र एकताताक सँगै भए । अहिले पनि त्यसैको पुनरावृत्ति भएको नेता नेपाल पक्षधर बताउँछ ।

भवन बनाउने चिन्ताले जुराएको भेट

स्रोतका अनुसार भेटमा दुई नेताबीच बल्खुमा पार्टी कार्यालय बनाउने काम अघि बढाउने विषयमा पनि छलफल भएको छ । बालुवाटार स्रोतले जानकारी दिएअनुसार राष्ट्रपति विद्या भण्डारीले बल्खुमा पार्टी कार्यालय बनाउन छिट्टै सुरू गर्नुपर्नेमा जोड दिँदै आएकी छन् ।

२०७२ सालको विनासकारी भूकम्पले क्षतिग्रस्त तुल्याएपछि पार्टी कार्यालयको भग्नावशेष पन्छाइएको छ । पार्टी कार्यालय धुम्बाराहीको पासाङल्ह्यामु स्मृति प्रतिष्ठानलाई भोगाधिकार दिएको जम्गामा बनेको साढे दुई तले भवनमा सारिएको छ । र, नेकपाले प्रतिष्ठानलाई मासिक दुई लाखभन्दा बढी रुपैयाँ भाडा बुझाउँदै आएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सरेपछि बल्खुमा भवन निर्माण गर्ने योजना अलपत्र परेको छ । तत्कालीन एमालेले २०७२ सालमै तत्कालीन पार्टी महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा १२ सदस्यीय भवन निर्माण समिति पनि बनाएको थियो ।

भवन निर्माण समितिका संयोजकले भवन बनाउनुको सट्टा आफैं भाडाको घर खोज्दै हिँडेको भन्दै पार्टीमा चर्चा समेत चलेको थियो । समितिमा शङ्कर पोखरेल, परशुराम मेघी गुरूङ, विष्णु रिमाल, योगेश भटराई, रामनाथ ढकाल, रवीन्द्र अधिकारी, सोमप्रसाद पाण्डे, हिक्मत कार्की, विनोद ढकाल, केदार सञ्जेल, भरत पहाडी सदस्य थिए । त्यसमध्ये ढकाल अधिकारीको निधन भइसकेको छ । पोखरेलले रक्षामन्त्रीको कार्यभार सम्हालेकाले भवन निर्माणको अग्रसरता लिन ओलीले नेपाललाई आग्रहसमेत गरेका थिए ।

राष्ट्रपति भण्डारीले बल्खुमा पार्टी कार्यालय बनाउने काम सुरू गर्न ताकेता गर्दै आएकी छन् । मङ्गलबारको भेटमा पार्टी कार्यालय बनाउने विषयले पनि प्रवेश पाएको स्रोतको दाबी छ ।

यो पनि पढ्नुहोस्

नेपाल–ओली डिभोर्स 

बालुवाटारमा ओली र नेपालबीच भएको के हो ?

 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६  २१:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement