site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘सी विचारधारा’ र नेकपाको उत्ताउलो व्यवहार

अहिले सत्तारुढ दलका सबै नेता तथा कार्यकर्ताले वा अझ भनौ कम्युनिस्ट कित्ताका सबैले (मोहन वैद्यलगायतले समेत) ‘सी विचारधारा’को खुलेर वकालत गरेको देखिन्छ । मोहन वैद्यले एउटा टेलिभिजन कार्यक्रममा खुलेरै ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ र ‘सी विचारधारा’को समर्थन गरे । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ड्याङड्याङ निर्णय गर्न पाउनुपर्ने इरादा जाहेर गरेसँगै ‘इन्डो–प्यासिफिक रणनीति’लाई ‘तथाकथित’ भनेका छन् । साथै उनले चीनको समृद्धिको बाटोमा आउने कुनै पनि व्यवधान सहन नसक्ने भनेर चीनप्रतिको समर्पण सार्वजनिक पनि गरे । 

हालै प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा कार्यकर्तालाई चिनीयाँ कम्युनिस्ट पार्टी (चिकपा) का अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओको नेतृत्वमा आएको २० सदस्यीय टोलीले ‘सी विचारधारा’ को बारेमा प्रशिक्षण दिएको बताइएको छ । कुनै समयमा माक्र्स, लेनिन र माओको विचारलाई आफ्नो मार्गदर्शक सिद्धान्तको रुपमा आयात गरेको नेपाली कम्युनिस्ट जमातले ‘जनताको बहुदलीय जनवाद’ पश्चात् अहिले ‘सी विचारधारा’लाई सर्वसम्मत रुपमा स्वीकारेको जस्तो देखिएको छ ।

‘सी विचारधारा’लाई सर्वसम्मतरुपले स्वीकार गर्नुको अर्थ के हो त ? ‘सी विचारधारा’ के हो र कम्युनिस्ट खेमाको यसप्रतिको आकर्षणको रहस्य के हो – राजनीतिक ? अर्थिक वा चाकरी ? के यो साँच्चै नेपालको समृद्धिको लागि उपयुक्त र आवश्यक छ त ? 

Prabhu Bank
Agni Group
NIC Asia

‘सी विचारधारा’प्रति निष्ठा व्यक्त गर्दै गर्दा सबै कम्युनिस्टहरुले पुँजीवादको पनि सँगसँगै विरोध गरिराखेको देखिन्छ । के ‘सी विचारधारा’ को समर्थन गर्दा पुँजीवादको विरोध गर्नै पर्छ ? के ‘सी विचारधारा’ जस्तै पुँजीवादको पनि आफ्नो कुनै विशिष्ठ स्वरुप छ ? के यी दुई विचारधारामा कहीँ कतै समानता छ ? ‘सी विचारधारा’ राजनीतिक वा आर्थिक वा दुवैको मिश्रण भएको कुन चाहिं विचारधारा हो ? के ‘सी विचारधारा’ अबलम्बन गर्न नेपालको संविधानले स्विकृती दिन्छ ? यी र यस्ता कुराहरुका बारेमा जानकारी नहुँदा सम्म अहिले वामपंथी खेमाबाट अप्रत्यासित रुपमा शसक्त रुपले ‘सी विचारधारा’ को समर्थन गर्नुको तात्पर्य वा परिणाम बारे अनुमान लगाउन सकिदैन । 

के हो ‘सी विचारधारा’ ?
कम्युनिस्ट राजनीतिमा वाद, विचारधारा, पथजस्ता पदावलीमा निकै बहस हुन्छ । नेपालमा पनि कुनै बेला ‘प्रचण्ड’ विचारधारा वा प्रचण्डपथको बारेमा तत्कालीन माओवादी पार्टीभित्र निकै बहस भएको थियो । माओवाद वा माओ विचार कुन चाहीँ ठीक भन्ने बारे तत्कालीन ‘मशाल’ र ‘मसाल’बीच चर्कै बहस भएको थियो । कम्युनिस्ट साहित्यअनुसार ‘विचारधारा’ एक प्रकारको परिकल्पना (हाइपोथेसिस) हो भने ‘वाद’ प्रमाणित विचारधारा हो । उदाहरणका लागि माओ र लेनिनले पहिले कम्युनिस्ट क्रान्ति कसरी सफल बनाउने भन्ने बारे विचारधारा निर्माण गरे । सोही विचारधाराअनुसार रुसी र चिनियाँ क्रान्ति सफल भयो । उक्त सफलतापछि लेनिन र माओको विचारधारा क्रमशः लेनिनवाद र माओवादमा परिणत भयो । 

Global Ime bank

यस्तै प्रकारले चीनका वर्तमान राष्ट्रपति सी जिन पिङले “दीगो विकासमार्फत चीन र चिनियाँ जनताको जीवनस्तर उकास्ने सुनिश्चितता” प्रदान गर्न चिनियाँ कम्युनिस्ट पार्टीको २०१७ अक्टोबरमा भएको १९औं कांग्रेसमा प्रस्तुत गरेका विचार तथा कार्यक्रम नै ‘सी विचारधारा’ को रुपमा अघि सारिएको हो । राष्ट्रपति सी जिन पिङलाई माओपछिको सबैभन्दा शक्तिशाली नेताका रुपमा लिइन्छ भने उनको कार्यकालमा चीनको चौतर्फी विकास भएको छ । 

अहिले चीनबाट गरिबी लगभग निर्मूल भएको छ भने विज्ञान र प्रविधिको क्षेत्रमा पनि चीनको प्रगति अमेरिकाकै हाराहारीमा छ । केही समयपछि नै चीन विश्वकै सबैभन्दा ठूलो अर्थव्यवस्थामा परिणत हुनसक्छ । यसैले ‘सी विचारधारा’लाई विश्वभर नै निकै चासोका साथ हेरिँदै छ । कतिपय विश्वविद्यालयमा त ‘सी विचारधारा’ सम्बन्धी पाठ्यक्रम नै सुरु गरिएको छ । एडएक्स नामक अनलाइन कोर्समा पनि यो पाठ्यक्रम राखिएको छ (यो पाठ्यक्रम निःशुल्क पढ्न पाइन्छ) । चीनमा त ‘सी विचारधारा’को व्याख्या र विश्लेषण गर्नकै लागि विश्वविद्यालयमा छुट्टै विभागहरु नै खडा गरिएका छन् ।

‘सी विचारधारा’लाई विभिन्न स्वरुपमा प्रस्तुत गरिएको छ । कसैले यसलाई १४ बुँदामा व्याख्या गरेका छन् त कसैले ३० बुँदामा प्रस्तुत गरेका छन् । तर पनि ‘सी विचारधारा’का रणनीतिलाई मुख्यरुपमा चार बुँदामा वर्गीकरण गर्न सकिन्छ ः मध्यमस्तरको समृद्ध समाजको निर्माण गर्ने, सुधारका कार्यक्रमलाई अझ व्यापक बनाउने, कानुनमा आधारित शासन व्यवस्था तथा कठोर पार्टी अनुशासन ।

दिगो विकास र समृद्ध समाज निर्माणका लागि लेनिन वा माओले परिकल्पना गरेको परम्परागत कम्युनिस्ट समाजवादको जस्तो नियन्त्रित अर्थव्यवस्था नभएर केही हदसम्म युरोपियन देशको जस्तो समाजवादी बजार अर्थव्यवस्थाको परिकल्पना गरिएको छ जसमा प्रविधि, आविष्कार, ग्रामीण क्षेत्रको सशक्तीकरणजस्ता विषयमा जोड दिइएको छ । त्यस्तै आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक, तथा वातावरणीय रणनीतिहरुलाई एकीकृतरुपमा निर्माण गरिने कुरा गरिएको छ । मुख्यरुपमा संपत्तिको असमान वितरणलाई कम गर्ने तथा ग्रामीण क्षेत्रमा सम्पत्तिमाथिको अधिकार स्थापित गर्ने विषय पनि ‘सी विचारधारा’मा समेटिएको छ । 

‘सी विचारधारा’ को दोस्रो रणनीतिमा व्यापक सुधारका कार्यक्रम लागु गर्नु रहेको छ । यसअन्तर्गत कर प्रणालीमा सुधार, चिनियाँ मुद्रालाई अन्तर्राष्ट्रियकरण गर्ने, आधुनिक सार्वजनिक वित्त प्रणालीको निर्माण गर्ने, स्पष्ट जिम्मेवारी र अधिकारसहितको केन्द्र र स्थानीय तहबीचको वित्तीय सम्बन्धको विकास गर्ने तथा मौद्रिक तथा वित्तीय नीति लागु गर्न उन्नत नियमन प्रणालीको निर्माण गर्नेजस्ता विषय रहेका छन् । यस रणनीतिअन्तर्गत बजारलाई निर्णायक भूमिका निर्वाह गर्न दिने भनिएको छ । चिनियाँ अर्थतन्त्रमा बजारलाई प्रमुख भूमिका दिने कुरा गर्नु आफँैमा ठूलो परिवर्तन हो । चिनियाँ अर्थतन्त्रमा बजारको भूमिकालाई बढाउन चिनियाँ मुद्राको अन्तर्राष्ट्रियकरण गर्ने र ‘बेल्ट एन्ड रोड इनिसियटिभ’को कुरा अघि ल्याइएको भनिएको छ ।

‘सी विचारधारा’को तेस्रो रणनीतिमा नियम, कानुन र विधिमा आधारित शासन व्यवस्था रहेको छ । तर, कानुन निर्माणको आधार भने चिनियाँ विशेषतासहितको समाजवाद रहेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा जनताको सर्वोच्चता, कानुन र सदाचारको आधारमा शासन तथा सबैका लागि समान कानुनजस्ता कुरा चीनिया विशेषताका सिद्धान्त मानिएको छ । कानुन निर्माण र अन्य सबै कुरामा कम्युनिस्ट पार्टीको नेतृत्व रहने भन्ने चिनियाँ समाजवादको प्रमुख विशेषता हो । 

चौथो रणनीति कठोर पार्टी अनुशासन कायम गर्नु हो । आफ्ना कार्यकर्ताको आचरणमा सुधार तथा पार्टी अनुशासन कायम गर्ने विषयमा सी निकै गम्भीर देखिन्छन् । देङ स्याओ पिङको सुधार कार्यक्रमपछि चीनमा बढ्दै गएको भ्रष्टाचार निर्मूल गर्न सीले निकै कडा कदम चालेको देखिएको छ । हालका दिनमा चीनमा ठूला व्यापारी, नेता तथा कर्मचारीहरुलाई पनि भ्रष्टाचारको आरोपमा कारबाही गरेको देखिएको छ । आत्मालोचना, अध्ययन, सादगीपूर्ण जीवन, मितव्ययिताजस्ता कुरा पार्टी अनुशासनका महत्त्वपूर्ण आयाम हुन् ।

‘सी विचारधारा’मा के फरक तत्त्व छ ?

‘सी विचारधारा’ वास्तवमा राजनीतिक र आर्थिक विचारको समागम हो जसमा व्यक्तिगत सम्पत्तिको अधिकार, उदारीकरण, बजारीकरणजस्ता पुँजीवादी तथा युरोपेली शैलीको समाजवादी अर्थव्यवस्थाका गुण पनि छन् भने परम्परागत कम्युनिस्ट पार्टीको सिद्धान्तअनुरुप अर्थव्यवस्थामा एकल पार्टी नियन्त्रण पनि छ । यस विचारधाराले राष्ट्रपतिलाई निकै शक्तिशाली बनाएको छ ।

आर्थिक कार्यक्रमका कुरा गर्ने हो भने ‘सी विचारधारा’ले अवलम्बन गरेको र गर्ने भनिएको धेरै कार्यक्रम नेपालले सन् १९९० मा नै अवलम्बन गरेको हो । यस अर्थमा भन्ने हो भने ‘सी विचारधारा’ नेपालको लागि नौलो होइन । अहिलेको उन्नत प्रविधियुक्त २१ औं शताब्दीमा कुनै पनि राष्ट्रले न त पूर्णरुपमा सरकार नियन्त्रित अर्थव्यवस्था संचालन गर्न सक्छ न त पूर्णरुपमा बजारमा आधारित अर्थव्यवस्था सफल हुन सक्छ । कति मात्रामा र कुन कुन क्षेत्रमा नियन्त्रण गर्ने र कति खुला गर्ने भन्ने कुनै पनि अर्थव्यवस्थाको तत्कालीन अवस्था हेरेर निर्णय गर्ने विषय हो । यस अर्थमा ‘सी विचारधारा’ ले चीनको विशिष्ठ परिस्थितिलाई ध्यानमा राखेर राजनीतिक, आर्थिक, सामाजिक, र वातावरणीय नीति तथा कार्यक्रम निर्माण गरेको मान्नुपर्ने हुन्छ ।

त्यसो हो भने ‘सी विचारधारा’ प्रति संशय किन त ? एकातर्फ आर्थिक क्षेत्रमा चीनले गरेको प्रगतिको मुक्तकंठले प्रशंसा गरिन्छ भने अर्कोतर्फ ‘सी विचारधारा’ मा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको कठोर नियन्त्रणको चौतर्फी आलोचना पनि गरिन्छ । ‘सी विचारधारा’ को कार्यान्वयन र भ्रष्टाचार नियंत्रणमा पार्टीको निर्णायक भूमिका रहन्छ । यस्तो अवस्थामा अधिनायकवादको पूर्ण जोखिम हुन्छ । अहिले पनि चीनमा सरकार र कम्युनिस्ट पार्टीको धेरै कुरामा नियंत्रण रहेको छ जुन एउटा लोकतान्त्रिक समाजलाई ग्राह्य हुँदैन । चीनले पहिले पनि “ग्याङ्ग अफ फोर” को प्रताडना र तियानमेन चोकको नरसंहार भोगिसकेको संदर्भमा सरकार र पार्टीको नियंत्रणलाई सतर्कतापूर्वक हेरिएको हो र यही नै ‘सी विचारधारा’प्रतिको संशयको कारण पनि हो । हङकङमा भइराखेका प्रदर्शन र ती प्रदर्शनप्रति चीन सरकारको रवैयाले पनि कतै ‘सी विचारधारा’ अन्ततः अधिनायकवादको विस्तारमा उन्मुख त परिणत हुँदैन भन्ने शंकालाई बल मिलेको हो । 

के नेपालमा ‘सी विचारधारा’को अवलम्बन संभव छ ?

नेपालको संविधानको प्रस्तावनाले आर्थिक समानता, समृद्धि र सामाजिक न्यायसहितको नेपालको परिकल्पना गरेको छ । यी कुराको प्राप्तिका लागि विभिन्न प्रकारका अर्थिक नीति अवलम्बन गर्न सकिन्छ । नेपालले १९९० पछि अवलम्बन गरेका आर्थिक नीतिहरु खुलाबजार अर्थतन्त्रको सिद्धान्तद्वारा निर्देशित भए पनि सामाजिक तथा अन्य आवश्यक क्षेत्रमा सरकारको उपस्थितिले गर्दा अहिलेका नीतिहरु विश्वका बहुसंख्यक देशले अवलम्बन गरेका नीतिसँग सामञ्जस्य राख्छन् । केन्द्रबाट अलिकति दायाँ वा बायाँ जाने कुरा सरकारको नेतृत्वमा भरपर्ने विषय हो तर पूरै दायाँ र बायाँ जान सम्भव छैन ।

‘सी विचारधारा’का अर्थिक नीति पनि खुला बजारमा आधारित आर्थिक नीति नै हुन् । चीनमा रहेका विशाल बहुराष्ट्रिय कम्पनीहरु, ‘सी विचारधारा’मा स्पष्टरुपमा लेखिएका बजारको भूमिका, चीनका विस्वस्तरीय स्टक बजार, तथा व्यक्तिगत सम्पत्तिको स्वतन्त्रताले ‘सी विचारधारा’ परम्परागत कम्युनिस्ट विचारधाराजस्तो नरहेको देखाउँछ । तर, ‘सी विचारधारा’मा रहेको एकल पार्टी नियन्त्रणको प्रावधान भने नेपालको संविधानअनुरुप अवलम्बन गर्न सकिँदैन । संविधानले नेपालका लागि प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणलीको व्यवस्था गरेको हुनाले देशमा एउटामात्र पार्टीको अस्तित्व हुने व्यवस्था असंवैधानिक ठहर्छ । 

त्यसोभए किन यो उत्ताउलोपन त ? 

नेकपाका नेता तथा कार्यकर्ताका हालैका गतिविधि हेर्दा तिनको झुकाव र आकर्षण अधिनायकवादतर्फ देखिन्छ । उनीहरु आफू इतर विचार सुन्न र सहन नसक्ने अवस्थामा पुगेको देखिन्छ । नेपालगंज, चितवन, तनहुँका घटना यसको उदाहरण हुन् । यस संदर्भमा उनीहरुको आकर्षण ‘सी विचारधारा’को एकल पार्टीको नियन्त्रणको सिद्धान्तप्रति हो भने नेपालमा यो असम्भव र अस्वीकार्य छ । चीनमा राष्ट्रपति सी जिनपिङको नेतृत्वमा एकल पार्टी नियन्त्रणले धेरै हदसम्म सफलतापूर्वक काम गरेको छ । यसमा राष्ट्रपति सीको व्यक्तिगत आचरणले काम गरेको छ र समग्र चीन राष्ट्रपति सीको नेतृत्वप्रति विश्वस्त देखिन्छ । यस्तो प्रकारको अधिनायकवादी शासन व्यवस्थाले विश्वका अन्य केही भागमा पनि सकारात्मक काम गरेको देखिन्छ । उदाहरणका लागि घाना, बोत्सोवाना, भियतनामजस्ता देशमा सैद्धान्तिकरुपमा अधिनायकवादी प्रकारको शासन व्यवस्था भए पनि ती देशमा आर्थिक विकास उल्लेखनीय रुपमा भएका छन् । यस्ता प्रकारका तानाशाहलाई बोलीचालीको भाषामा उदार तानाशाह (बेनभलेन्ट डिक्टेटर) भनिन्छ । 

चीनमा चिनियाँ कम्युनिस्ट पार्टीको जस्तै नेपालमा नेकपाको मात्र नियन्त्रण भयो भने देशको हालत के होला ? हामी कल्पना पनि गर्न सक्तैनौ । भरखरैमात्र देखिएको महरा काण्ड र त्यसलाई ढाकछोप गर्न गरिएको प्रयास, सुन काण्ड, बालुवाटार जग्गा काण्ड, वाइडबडी काण्डजस्ता काण्डहरु तथा ती काण्ड तार्किक निष्कर्षमा नपुग्नु, नेकपाका नेता तथा कार्यकर्ताको फेरिएको र भड्किलो जीवन शैली, कदमकदममा विरोधीलाई दिइने धम्की आदिले नेकपाका नेता तथा कार्यकर्तामा पद, शक्ति, र पैसाप्रतिको चर्को मोह स्पष्टै देख्न सकिन्छ । त्यस्तै राज्य शक्तिको प्रयोग नितान्त व्यक्तिगत स्वार्थपूर्तिका लागि गरेको देखिन्छ । यस्तो अवस्थामा ‘सी विचारधारा’प्रतिको आकर्षण देशलाई समृद्ध बनाउने लालसाले नभएर निरंकुशताको अभ्यासको लागि सैद्धान्तिक जामा पहि¥याउने अस्त्रको रुपमा प्रयोग गर्न हो भन्नेमा शंका गर्नुपर्ने देखिँदैन । तर, त्यो सम्भव छैन भन्ने पनि उनीहरुलाई राम्रै थाहा छ । 

‘सी विचारधारा’प्रतिको यो उत्ताउलो आकर्षणको दोस्रो कारण चिनियाँहरुलाई खुसी पारेर व्यक्तिगत स्वार्थपूर्ति गर्नु पनि हो । तर, नेकपाका नेताहरुको विगतका व्यवहार र क्रियाकलापले गर्दा स्वयं चिनियाँ राष्ट्रपतिले यो कुरा बुझेका छैनन् भन्न सकिन्न । नेकपाको बोलीको ठेगान नहुने, दहीच्युरे बानी तथा क्षणिक र व्यक्तिगत फाइदाका लागि बोल्ने प्रवृत्ति अब चीनमात्र होइन, भारतलगायत संसारका सामु स्पष्ट भइसकेको छ । यस्तो अवस्थामा चीनियाँ राष्ट्रपतिको भ्रमणको अवसरमा नेपालले केही ठूला परियोजना हात पार्ने संभावना भए पनि त्यसको कारण ‘सी विचारधारा’प्रतिको नेकपाको रहस्यमयी, ढुलमुले र देखावटी प्रतिबद्धताको नभएर नेपालको वर्तमान परिप्रेक्षमा भारत, अमेरिका र चीनको त्रिकोणात्मक रणनीतिक संबन्धको कारणले हुनसक्नेछ । 

र अन्त्यमा,

‘सी विचारधारा’ चीनको लागि उपयुक्त होला तर नेपालको लागि त्यसमा निहित राजनीतिक पाटो उपयुक्त छैन । तर, नेकपाका नेता तथा कार्यकर्तामा त्यसप्रति देखिएको उत्ताउलोपनले एकातर्फ उनीहरुको निरंकुशतातर्फको आकर्षण देखिन्छ भने अर्कोतर्फ यसले नेपालको असंलग्न परराष्ट्र नीतिलाई धुजाधुजा पारिदिएको छ । यसले अनावश्यकरुपमा भारत, अमेरिका तथा अन्य युरोपीय देशहरुमा नेपाल प्रति संशय पैदा गरिदिएको छ ।

समृद्ध नेपाल बनाउने असल मनसायले (जुन प्रमाणको कसीमा विश्वासिलो देखिँदैन) ‘सी विचारधारा’प्रति आकर्षण बढेको हो भने पनि यो गलत हो । सर्वप्रथम त ‘सी विचारधारा’ चीनको विशिष्ठ परिस्थितिको लागि निर्माण गरिएको हो जुन नेपालका लागि पनि उपयुक्त विचारधारा हुन्छ भन्ने मान्नु आफँैमा ‘सी विचारधारा’ नबुझ्नु हो । दोस्रो, भ्रष्टाचारप्रतिको शून्य सहनशीलता, सादगीपूर्ण जीवनशैली र स्वच्छ प्रशासन ‘सी विचारधारा’का महत्वपूर्ण आयाम हुन् । तर, नेपाल र नेकपामा यी कुराहरु नै छैनन् र यसको नै सबैभन्दा बढी आवश्यकता देखिन्छ ।

कुनै पनि देशको समृद्धिको कारक तत्त्व के हुन सक्छ भन्ने बारेमा व्यापक अध्ययन भएको छ । ती अध्ययनलाई विश्लेषण गर्दा के देखिन्छ भने कुनै पनि देशका नेता तथा जनताको आचरण, बानी ब्यहोरा र संस्कार समृद्धिका सबैभन्दा महत्त्वपूर्ण बाहक हुन् । संविधान लोकतान्त्रिक भए पनि नेपालीको मानसिकता र संस्कार सामन्ती छ । हामीहरु आफू सम्पन्न हुनेमात्र होइन अर्को कमजोर भएको पनि हेर्न चाहन्छौँ । नियम र कानुन तोड्दा गर्व गर्छौँ । नियम कानुनलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्छौँ । भ्रष्टाचारलाई संस्थागत गरेका र्छौँ । दलाल पुँजीवादलाई प्रश्रय दिएका छौँ । सार्वजनिक पदमा बसेकाहरुमा जिम्मेवारी बोध र जवाफदेही रतिभर छैन । हामीले जानी जानी नेपालको विकास नगरेका हाँै । यस्तो अवस्थामा ‘सी विचारधारा’को रट लगाउनुको कुनै तुक छैन । यसले ‘सी विचारधारा’ को सम्मानको साटो अपमान गरेको ठहर्छ ।

‘सी विचारधारा’बाट प्रेरणा नै लिने हो भने सरकारले पारदर्शिता, जावाफदेही तथा सुशासनको सुनिश्चितता गर्न ठोस र विश्वसनीय कार्यक्रम ल्याउनुपर्छ । भारत, अमेरिका र युरोपेली मुलुकहरुजस्तै चीन पनि हाम्रो शुभचिन्तक मुलुक हो । हामी पनि चीन र चिनियाँ जनताको भलो चाहन्छौँ । ‘सी विचारधारा’को नाममा नेकपाले चीनलाई ठग्ने कोसिस गरिरहेको छ । यसर्थ चीनले पनि नेकपाको दोहोरो देखावटी चरित्र बुझेर चनाखो हुँदै नेकपाबाट दिनदहाडै ठगिनबाट जोगिनुपर्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC