सी को भ्रमणलाई राजनीतिकरण नगरौं, कांग्रेस पनि विमानस्थलमा स्वागत गर्न तयार छ

सी को भ्रमणलाई राजनीतिकरण नगरौं, कांग्रेस पनि विमानस्थलमा स्वागत गर्न तयार छ

उदय शमशेर राणा–पूर्वअर्थराज्यमन्त्री तथा नेपाली कांग्रेसका युवा नेता हुन् । दिल्लीमा अध्ययनका क्रममा विद्यार्थी राजनीति सुरु गरेका राणा सोसलिस्ट इन्टरनेसनलको युवा विभागको उपाध्यक्षसमेत भए । नेता राणा अर्थतन्त्र र परराष्ट्र मामलामा आफ्नो विशेष रुची रहेको बताउँछन् । राणाले अमेरिकाको कर्नेल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका छन् । 

उनी अहिले सरकार र नेकपाबीच नै विदेश नीतिमा विरोधाभाष देखिएको उनको तर्क छ । अमेरिका र भारतजस्ता लोकतान्त्रिक राष्ट्रहरुभन्दा चीन, भियतनाम, कम्बोडियाजस्ता कम्युनिष्ट राष्ट्रसँग सरकारको झुकाव बढी रहेको उनको विश्लेषण छ ।  उनै कांग्रेस नेता राणासँग नेकपा र चीनको कम्युनिष्ट पार्टीबीच बढ्दो घनिष्टता, त्यसले उत्पन्न गरेका तरंगहरु र चिनियाँ राष्ट्रपति सी जिन पिङको आसन्न नेपाल भ्रमणलगायतका विषयमा जगन्नाथ दुलालले गरेको कुराकानीः 

नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)बीच भएको वैचारिक अन्तरक्रियालाई कांग्रेसले गलत रुपमा प्रचार गरेको नेकपाको दाबी छ । यसलाई तपाईंले कसरी लिनुभएको छ ? 

चीन सरकारको विषयवस्तुसँग हाम्रो केही आपत्ति छैन । उहाँहरुले चीनको विकासबारे, विभिन्न गतिविधिबारे देश विदेशमा त्यसको प्रचार प्रसार गर्नु सामान्य विषय हो ।  हामी कांग्रेसले पनि बीपी कोइरालाको बारेमा विभिन्न ठाउँमा कुरा उठाउँछौं । तर, जुन हिसाबले यो सरकार र नेकपा पार्टीले यो भ्रमणलाई चीन र नेपालको भ्रमण भन्दा पनि दुई पार्टीको भ्रमणका रुपमा प्रस्तुत गरिरहेको छ, यो चाहिँ अत्यन्तै दुर्भाग्यको कुरा हो । 

अहिलेको २१ औं शताब्दीमा दुई देशबीचको सम्बन्धभन्दा दुई पार्टीबीचको सम्बन्धलाई बढी प्राथमिकता दिएकोमा हाम्रो आपत्ति छ । दुई पार्टीबीच सम्झौता हुनु केही ठुलो कुरा होइन ।  कम्युनिष्ट पार्टीहरुको कार्यक्रममा, ब्यानरमा हेर्दा पनि मार्क्स, लेनिन, स्टालीनदेखि माओसम्मको फोटो राखिएको हुन्छ । त्यसैले नेकपाले अरु विदेशी कम्युनिष्टहरुसँग सम्झौता ग¥यो भन्ने कुरामा हाम्रो आपत्ति होइन । तर, यो अत्यन्तै महत्वपूर्ण भ्रमणलाई नेकपाले राजनीतिकरण गर्‍यो । 
भ्रमणबाट देशलाई भन्दा राजनीतिक फाइदा लिनेतिर गएको छ । हामीले चीनबाट धेरै कुरा सिक्नुपर्ने हुन्छ । आर्थिक उन्नती र आर्थीक विकास चीनबाट सिक्नुपर्ने हुन्छ । जुन कम्युनिष्ट पार्टी हो चीनको एक देश एक पार्टीको अवधारणा छ । 
त्यसलाई यहाँ लाद्न खोजेको त होइन भन्ने प्रश्न उठेको छ । त्यसमा चाहिँ हाम्रो आपत्ति छ । त्यसो गर्नु हाम्रो संविधान विपरीत हुन्छ । 

नेकपा र सीपीसीबीचको कार्यक्रमलाई लिएर कांग्रेस निक्कै सशंकित छ । तर ‘सोसलिस्ट इन्टरनेशनल’ मा कांग्रेस पनि आवद्ध छ । समान विचारधारा बोक्ने अलग राष्ट्रका पार्टीहरुबीच वैचारिक आदानप्रदानको विषयलाई लिएर कांग्रेसको आपत्ति किन ? 

दुई समान विचारधारा राख्ने पार्टीहरुबीच छलफल, सम्झौता हुनु सामान्य विषय हो । बीपी कोइरालाको पालादेखि अहिलेसम्म कांग्रेस ‘सोसलिस्ट इन्टरनेशनल’ को सदस्य हो । धेरै मुलुकमा ‘सोसलिस्ट इन्टरनेशनल’ का सदस्यहरु शक्तिमा छन् । 

बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, किसुनजी प्रधानमन्त्री हुँदा पनि विभिन्न देशमा औपचारिक भ्रमण भएका थिए । विभिन्न राष्ट्रका प्रधानमन्त्री, राष्ट्रपति हाम्रो देशमा आए । तर, दुईटै सत्तारुढ दलका सोसलिस्ट इन्टरनेशनलका सदस्य भए पनि त्यो औपचारिक भ्रमणमा पार्टी पार्टीको कार्यक्रम गर्ने काम हामीले गरेका थिएनौं । र, गर्नु पनि हुँदैन । सी जिन पिङको औपचारिक भ्रमणको ठ्याक्कै केही हप्ता अगाडि यो कार्यक्रम गर्दा अलिकति मुल भ्रमणलाई छायामा पार्न खोजेको देखियो । हामीले देशको कुरा गर्‍यौं औपचारिक भ्रमण हुँदा । पार्टीका कुरा गरेनौं । अहिले पार्टीको कुरा बढी भयो । यसमा हाम्रो आपत्ति हो । 

भूराजनीतिक दृष्टिकोणले नेपाल संवेदनशील अवस्थामा छ । सत्तारुढ नेकपा र सीपीसीबीच बढ्दो घनिष्टताले भारत, अमेरिकाजस्ता लोकतान्त्रिक मुलुकले नेपाललाई हेर्ने दृष्टिकोणमा फेरबदल हुन सक्छ ? 

हाम्रो परराष्ट्र नीतिलाई तीन भागमा बाँड्न सक्छौं । पहिलो, भारतसँग । दोस्रो चीनसँग र तेस्रो लोकतान्त्रिक विश्व र ‘मल्टी ल्याट्रल अर्गनाइजेशन’ । त्यो भनेको अमेरिका, जापान, युरोपियन युनियन, अस्ट्रेलियालगायत विश्व बैंक, यूएनहरुसँग । हामीले तीनवटै पक्षलाई सन्तुलनमा राखेर अघि बढ्नुपर्छ भन्ने कांग्रेसको अवधारणा हो । लगभग यसलाई सबैले मान्यता दिएकै कुरा हो । 

विशेषगरि अहिलेको परिस्थितिमा आएर भारत र तेस्रो पक्षलाई होच्याएको होकी जस्तो समय समयमा देखिन्छ । तर, यहाँ अहिले पार्टीको विदेश नीति र सरकारको विदेश नीति अत्यन्तै विरोधाभाषपूर्ण देखिएको छ । त्यसले पनि समस्या पारेको छ । सरकारको विदेश नीतिलाई विपक्षी दलले पनि समर्थन गर्ने वातावरण हुनुपर्छ । तर, यो सरकार र पार्टीबीच अलमलिएको देखिन्छ । 

सरकार र पार्टीको विदेश नीतिबीच विरोधाभाषको कुरा गर्नुभयो । कुन सन्दर्भमा त्यस्तो देखियो ? 

एउटा, भेनेजुएला काण्ड । सरकारको एउटा कुरा, पार्टी अध्यक्षको अर्को कुरा । अचम्मको कुरा आयो । विशेषगरि प्रचण्डको कुरा सुनेर मलाई हाँसो पनि उठ्छ । भेनेजुएलासँग हाम्रो लेनदेन केही पनि छैन । अमेरिकामा हाम्रा पाँचलाख भन्दा बढी नेपाली छन् । उनीहरुलाई बेवास्ता गरेर आफ्नो एउटा कम्युनिष्ट सिद्धान्तलाई हेरेर म कम्युनिष्ट हुँ भन्ने व्यवहारले हामीलाई अत्यन्तै ठुलो नकारात्मक असर आउने दिनमा पर्नेछ । 

‘इण्डो प्यासिफिक स्ट्राटेजि अलाइन्स’ को कुरा गर्दा पनि नेपालको अडान के हो ? त्यो स्पष्ट हुनुपर्‍यो । लिखित हस्ताक्षर गर्ने अलायन्स पनि होइन यो । यो अनौपचारिक एउटा अलाइन्स हो । त्यसैले नेपालको अडान के हो ? परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अमेरिकामा गएर हामी ‘इण्डो प्यासिफिक स्ट्राटेजि अलाइन्स’ को अंग हौं भनेर भन्नुभयो । अहिले प्रचण्डले होइन भन्नुभयो । 

‘इण्डो प्यासिफिक स्ट्राटेजि’ अलाइन्समा कांग्रेसको धारणा के हो ? 

‘इण्डो प्यासिफिक स्ट्राटेजि अलाइन्स’मा कांग्रेसले सरकारको अडानलाई हामी समर्थन गर्र्छौँ भनेर भनेका छौं । तर, नेकपा आफ्नै पार्टीभित्र कहाँ उभिएको छ ? पानीमा उभिएको हो कि ! हिलोमा चिप्लिएको हो कि ! कता गइरहेको छ । अहिले अत्यन्त आपत्तिजनक कुरा आइरहेको छ ।  हामी शक्तिमा हुँदा सामान्य केही हुँदा पनि ‘भारतको दलाल’, ‘अमेरिकाको दलाल’ भनेर कम्युनिष्टहरु उफ्रेर हिँड्थे । हामीले विशेष गरेर यो विदेश नीतिको विषयमा सरकार र हाम्रो दुई खाले कुरा छ भनेर हामीले सकभर भनेका छैनौं । 

चीनले नेपाली कांग्रेसलाई महत्व नदिएर तपाईंहरुले विरोध गरेको त होइन ?

नेपाली कांग्रेस एक चीन नीतिमा प्रष्ट छ । त्यसमा हामी डगमग गर्दैनौं । तर, नेपाल एउटा लोकतान्त्रिक मुलुक हो । हाम्रोमा लोकतान्त्रिक संविधान छ । पञ्चशिलको सिद्धान्त छ विदेश मामिलाका सम्बन्धमा । विश्वका प्रजातान्त्रिक मुलुकहरुलाई पुरै निषेध गर्ने काम भएको छ । यो अत्यन्तै चिन्ताको विषय हो ।

विदेश सम्बन्धको कुरा गर्दा पहिला हाम्रो सम्बन्ध बेलायतसँग, दोस्रोमा भारतसँग भयो । त्यो पछि हाम्रो सम्बन्ध राणाकालमै अमेरिकासँग पनि भएको थियो । 

नेपाल कम्युनिष्ट मुलुक बन्न सक्दैन भन्ने कुरा सरकारले ध्यान दिनुपर्ने कुरा हो । भएका कम्युनिष्ट मुलुक पनि परिवर्तनको बाटोमा लागिसके । उनीहरुले राजनीतिक रुपमा परिवर्तन गर्न नसके पनि आर्थिक रुपमा ठुलो परिवर्तन गरिरहेका छन् ।

‘इण्डो प्यासिफिक स्ट्राटेजि’ मा अमेरिका र ‘बीआरआई’मा चीनको स्वार्थ देखिन्छ । त्यसो भए नेपाल कहाँ उभिने ?

हामी बीआरआईका हस्ताक्षरकर्ता हौं ।  हामीले त्यसको स्वागत गरेका छौं । हामी बीआरआईको पक्षमा पनि हुनुपर्छ । तर, हामी के प्रष्ट हुनुपर्छ भने बीआरआईको सैन्य र रणनीतिक मुद्दामा हामी त्यसको भागीदार हुनुहुन्न । अरु आर्थिक, वातावरणलगायतका विषयमा हामी सँगै हुन सकिन्छ । इण्डो प्यासिफिक भनेको औपचारिक गठबन्धन होइन । यसको पनि अंग हामी हुनुपर्छ । 

नेपालमा वैदेशिक चलखेलका हिसाबले भारत अलि देखिएरै आउँथ्यो । तर, अहिले ‘साइलेन्स डिप्लोमेसी’ अपनाउने भनिएको चीन देखिएर आउन थालेको छ, किन होला ?

यो स्ट्याण्ड बदलिएको देखिन्छ । यो किन बदलियो भन्ने प्रष्ट चित्र त आएको छैन । विशेषगरि चुनावको केही समयअघि देखिनै भारतको ‘ह्याण्ड्स अफ’ को नीति देखिएको छ । चीनको अलि बढी चासो देखिन्छ । नेकपाबाट चुनाव जितेका मेयर, उपमेयरहरुलाई पनि चीन लगिरहेको छ । त्यसमा पनि हामीलाई खास आपत्ति छैन । ऐतिहासिक पृष्ठभूमि हेर्दा भारतीयहरुले ‘डिल’ गर्दा सबैसँग डिल गर्ने चलननै छ । तर, चीनको विदेश नीति यो विषयमा अलि पुरातनवादी रहेको छ । यसमा पनि हाम्रो कुनै आपत्ति छैन । भारतले अहिले जे भए पनि चुप लाग्ने नीति लिएको देखिन्छ । 

सरकारको झुकाव भारत, अमेरिकाजस्ता लोकतान्त्रिक मुलुकहरुभन्दा कम्युनिष्ट राष्ट्र चीनप्रति देखियो भन्ने तपाईंहरुको बुझाई हो ? 

केही समयअघि भारत र चीनको विदेश मन्त्री नेपाल आउनुभयो । चीनको विदेश मन्त्रीलाई भारतको विदेश मन्त्रीलाई भन्दा स्वागत गर्दा एक दर्जा बढी गरिएको देखियो । व्यवहार र सन्देशमा पनि । चीनको विदेश मन्त्रीलाई मन्त्री लिन जानुभयो विमानस्थलमा । भारतको विदेश मन्त्रीलाई लिन परराष्ट्र सचिव मात्र पुग्नुभयो । त्यसैले पनि अहिलेको सरकारले आफ्नो झुकाव कता छ प्रष्ट गरिसकेको छ । हाम्रो प्राथमिकता के हो भनेर भारतलाई देखाइदिइसक्यो सरकारले । अमेरिकालाई झन् वास्तै नगर्ने हिसाबले देखाइसक्यो । त्यसैले अहिले सरकारले पञ्चशील र असंलग्नताको परराष्ट्र नीतिमा परिवर्तन भएको हामीले देखेका छौं । 

चीनका राष्ट्रपति सी जिन पिङ नेपाल आउँदै हुनुहुन्छ । उहाँको भ्रमणका बेलामा सरकारले के कुरालाई प्राथमिकता दिनुपर्ला ? 

चीनका राष्ट्रपति सी जीन पिङलाई नेपालमा स्वागत गर्न चाहन्छौं । किनभने यत्रो उच्चस्तरको भ्रमण चीनबाट धेरैपछि हुन लागेकोमा हामी खुसी छौं । सरकारले विमानस्थलमा गएर उहाँलाई कांग्रेसले स्वागत गर्नुपर्‍यो भन्यो भने पनि हामी तयार छौं । तर, यसको उपलब्धि नेपालको आर्थिक उन्नतीमा केन्द्रित हुनुपर्दछ ।
उखानटुक्का र सपनामा देखेका योजनाभन्दा पनि अहिले अत्यन्त आवश्यक योजनाहरुलाई अघि बढाउनका लागि सहयोग लिन चीनसँग आग्रह गर्नुपर्छ । 

धेरै जलविद्युत परियोजना अहिले कार्यान्वयनमा जान तयारी अवस्थामा छ । कतिपय कृषिलगायतका अरु कार्यान्वयनमा गइहाल्न सक्ने परियोजनामा सहयोग लिनुपर्दछ भन्ने मलाई लाग्दछ । रेलको कुरा पनि गर्दै जाऔं ।  तर, हामीले एउटा बाटो बनाउन सकेका छैनौं । ललितपुरकै मेरो निर्वाचन क्षेत्रमा जाँदा ट्याक्टर लिएर जानुपर्ने अवस्था छ।

सवारी जामले बाटोमै बिरामीको मृत्यु भएको छ । त्यसैले यो सरकारसँग धेरै आशा नगरौं ।

अन्त्यमा, अबको नेपालको राजनीति कुन बाटोमा अघि बढ्ने देख्नुहुन्छ ? 

जबसम्म यो देशमा कम्युनिष्ट भन्ने पार्टी रहन्छ तबसम्म यो देशको आर्थिक विकास हुने देखिँदैन ।  राजाको शासनकालमा जब ज्ञानेन्द्र शाहले शक्ति हातमा लिए म तरुण दलको महासचिव थिएँ । त्यो बेलामा हामीले ‘नो मोनार्की नो कम्युनिज्म’ भन्ने नारा बनाएका थियौं । ‘नो मोनार्की’ भयो । ‘नो कम्युनिज्म’का लागि हामी अगाडि बढ्नुपर्छ । नेपाली जनताले बुझ्नुपर्छ, हो कांग्रेसभित्र पक्कै कमजोरी छ । कांग्रेसका नेताहरुको पनि कमजोरी होला । तपाईंहरुसँग दुईवटा रोजाई हो । लगभग दुई पार्टी प्रणालीमा देश गइसक्यो । कि यस्ता कम्युनिष्ट रोज्नुपर्‍यो कि कांग्रेस रोज्नुपर्‍यो । कम्युनिष्ट र प्रजातान्त्रिक को रोज्ने दुईवटा विकल्प छ । लोकतान्त्रिक अरु पार्टीलाई पनि समेट्दैछौं । अबको राजनीतिक भनेको कम्युनिष्ट भर्सेस लोकतान्त्रिक पार्टीहरुबीचमा हुन्छ ।
 

प्रतिकृया दिनुहोस
ad