site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वैदिक संस्कृतिमा राष्ट्रवाद

१. प्राक्कथन
       प्राच्य संस्कृति विशेषगरी वैदिक संस्कृतिमा राष्ट्रविषयक चिन्तनको रूपरेखा कस्तो पाइन्छ भन्ने जिज्ञासा यस लेखको अभिप्रेरणा हो । यसैमा आधारित रही आर्यावर्तको मूल सांस्कृतिक धाराका रूपमा अनादि कालदेखि अस्तित्त्वमा रहेको वैदिक संस्कृतिको आधाररूप मानिने वैदिक वाङ्मयमा विकीर्ण रूपमा देखापर्ने राष्ट्र र राष्ट्रविषयक चिन्तनहरूको अन्वेषण गर्नु र उक्त अन्वेषणमा आधारित रही वैदिक संस्कृतिमा राष्ट्रवादको स्वरूप निरूपण गर्नु यस चर्चाको मूल विषयक्षेत्र हो । यस चर्चाबाट नेपालजस्तो बहुसांस्कृतिक मुलुकमा विद्यमान राष्ट्रिय संस्कृतिका मूल आधारस्तम्भ र प्रतीकलाई सुदृढ तुल्याउँदै राष्ट्रिय एकता प्रवर्धनमा सहयोग पुग्छ ।


२. वैदिक संस्कृति र वाङ्मयको परिचय
       बृहत् नेपाली शब्दकोशमा ‘संस्कृति’ शब्द तत्सम नाम शब्दका रूपमा परिभाषित छ । यसको अर्थ (१) कुनै वस्तुलाई परिमार्जन गर्ने वा संस्कृत रूप दिएर चम्किलो, उज्यालो बनाउने काम;  संस्कार; परिष्कार,  (२) कुनै राष्ट्र वा जातिको सामाजिक जीवन,  राजनीति,  अर्थव्यवस्था आदिमा प्रतिबिम्बित हुने तिनका कलाकौशल, बौद्धिक विकास आदिमा प्रकट हुने सम्पूर्ण क्रियाकलापको परिष्कृत रूप,  (३) धेरै समयदेखि देशकालसापेक्ष भई आन्तरिक,  वैचारिक तथा परम्परागत धारणाका रूपमा विकसित हुँदै आएको आचारविचार,  रहनसहन आदिका माध्यमले कुनै राष्ट्र, समाज,  जाति आदिको स्वरूप खुट्टिने यावत् मान्यता,  भावना,  चिन्तनमनन,  भौतिक अभिव्यक्तिहरूसमेतको समूह वा साधन, (४) कला, साहित्य, इतिहास,  भाषा,  धर्म,  दर्शन आदि विभिन्न विषय वा मूल्य परम्पराको समष्टि नाम भन्ने बुझिन्छ । यस आलेखमा विवेचना गर्न खोजिएको ‘वैदिक संस्कृति’ शब्दले उल्लिखित सबै परिभाषाको तात्पर्यलाई धेरथोर रूपमा प्रकट गर्छ,  जसको सम्बन्ध हिन्दूहरूको जीवनशैली र दर्शनसँग गाँसिएर रहेको छ । 
       आर्यहरूको जन्मदेखि मृत्युसम्मको सामाजिक जीवन नियमबद्ध छ र त्यसको मूल वेद हो । ज्ञानार्थक ‘विद्’ धातुबाट ‘वेद’ शब्द बनेको छ । श्रुति, आगम र आम्नाय आदि वेदका पर्यायवाची शब्द हुन् । राम्रा कुराको ग्रहण र अनिष्टको परिहार गर्ने उपाय सिकाउने नै वेद हो भनेर भाष्यभूमिकामा भनिएको छ । सायणाचार्यका अनुसार अपौरुषेय वाक्य नै वेद हो । आधुनिक विद्वान्हरू पनि अनादि (नित्य), अपौरुषेय (कुनै पुरुषद्वारा रचना नगरिएको) तथा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरेर चार भागमा विभाजित, अनेक शाखा भएको, गुरुशिष्यपरम्पराबाट आएको तथा मन्त्रसंहिता र ब्राह्मणग्रन्थका रूपमा रहेको शब्दराशिलाई वेद भन्छन् । सुरुमा वेद एउटै थियो । यसलाई पछि कृष्णद्वैपायनले चार (ऋक्, यजु, साम र अथर्व) भागमा विभक्त गरे र वेदव्यासका नामले प्रख्यात भए । वेदका चार भाग छन् – संहिता (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद),  ब्राह्मण,  आरण्यक र उपनिषद् ।
वैदिक युगमा तत्कालीन मानिसहरूले प्रकृतिसँग अत्यन्त नजिक रहेर आफ्नो जीवन बिताएका थिए । यस युगलाई सम्पूर्ण रूपमा भावुकता, निष्पाप र पवित्रताको युग मान्न सकिन्छ । प्रकृतिका विभिन्न मनोहारी स्वरूपहरूलाई देखेर तत्कालीन मानिसका भावुक मनमा स्वतस्फूर्त उत्पन्न मनोभावलाई स्तुति, दिव्यगान र काव्यरचनाका रूपमा वैदिक महर्षिहरूले शब्दबद्ध तुल्याए र तिनै कुरा नै वैदिक ऋचा या मन्त्रहरू बने । त्यसैले वेदका मन्त्रहरूमा यस्तो आनन्द र परिपूर्णता शाश्वत र अखण्ड रहोस् भन्ने कामना अभिव्यक्त भएको पाइन्छ । वैदिक महर्षिहरूको चाहना थियो – हामीले अनुभव गरिरहेका अपार आनन्द र तृप्तिलाई सय वर्षको पूर्ण आयुसम्म भोग्न सकियोस् र हाम्रा सन्तान दरसन्तान पनि यसैगरी तृप्त रहून् । यति मात्रै होइन, यो जीवन समाप्त भएपछि हामी स्वर्गमा जाऊँ र त्यहाँ पनि यस्तै आनन्दको निरन्तरता रहोस् । यसरी वेदलाई हाम्रा पुर्खाले मानव प्रकृति, बाह्यपर्यावरण र रहस्यपूर्ण ईश्वरतत्त्वको समेत गम्भीर र यथार्थ ज्ञान दिने र तदनुकूल व्यक्तिधर्म, परिवारधर्म, कुटुम्बधर्म, कुलधर्म, समाजधर्म, राष्ट्रधर्म र मानवधर्मको समेत यथायोग्य निरूपण गर्ने शास्त्रका रूपमा प्रतिपादन गरेका थिए । 
समग्रमा धर्म, अर्थ, काम र मोक्ष नै आर्यहरूको जीवनका परम लक्ष्य हुन् । यिनै लक्ष्यको निर्वचन र प्रतिपादन गर्ने क्रममै वैदिक साहित्य जन्मेको हो । यही वैदिक साहित्य नै सनातन वैदिक संस्कृतिको आधार हो । वैदिक संस्कृतिको प्राचीन स्वरूप के कस्तो थियो र त्यसका आधारभूत मूल्य मान्यता के हुन् भन्ने कुराको खोजी गर्न वैदिक वाङ्मयको अध्ययन अनिवार्य छ । वैदिक वाङ्मयअन्तर्गत व्यापक सन्दर्भमा हिन्दूधर्म दर्शनका सम्पूर्ण विधा र विषयहरू समेटिने भए पनि सीमित अर्थमा चार वेद, ब्राह्मणग्रन्थ, आरण्यक र उपनिषद्हरू पर्छन् । उल्लिखित ग्रन्थहरूको परिचय निम्नानुसार छ –
२.१ ऋग्वेद
       ऋग्वेद सनातनधर्मको मूलग्रन्थ एवं प्राचीनतम वाङ्मय हो । जसबाट अर्चना वा स्तुति गरिन्छ, त्यस्ता मन्त्र (ऋचा) हरूको समूह भएकाले यसलाई ‘ऋक्’ भनिएको हो । मीमांसकहरू भने अर्थमा आधारित पादव्यवस्था भएको मन्त्रसमूहलाई ‘ऋक्’  भनिएको हो भन्छन् । यिनै ऋचाहरूको सङ्गृहीत स्वरूपलाई ‘ऋग्वेद संहिता’ भनिएको छ । अहिले मुद्रित रूपमा पाइने ऋग्वेद संहिता शैशिरीय–शाकल शाखाको हो । चतुर्मुख ब्रह्माको पूर्वमुखबाट ऋग्वेद निःसृत भएको मानिन्छ । ऋग्वेदलाई सूक्त र मण्डलका भेदले दुई किसिमबाट विभक्त गरिएको छ भने सूक्तहरू चार किसिमका छन् – ऋषिसूक्त, देवतासूक्त, छन्दसूक्त र अर्थसूक्त । यसमा एक हजार अठ्ठाइस सूक्त छन् र दश हजार पाँच सय एक्काइस ऋचा अथवा मन्त्रहरू छन् । ऋग्वेदमा यी सूक्तहरूलाई मिलाएर मण्डल बनाइएको छ । सबै सूक्तहरू दश मण्डलमा समेटिएका छन् । यी मण्डलहरूलाई फेरि पचासीवटा अनुवाक अर्थात् अध्यायहरूमा विभक्त गरिएको छ र यिनै अध्यायमा उल्लिखित सूक्तहरू समेटिन्छन् । ऋग्वेदको एक अर्को विभाजन पनि प्राप्त हुन्छ, जसअनुसार यस ग्रन्थलाई आठवटा अष्टकहरूमा बाँडिएको छ र यी अष्टकहरू केही ऋचाहरूको समूहमा विभाजित छन्,  जसलाई वर्ग नाम दिइएको देखिन्छ । ऋग्वेदमा यस्ता वर्गको सङ्ख्या दुई हजार चौबीस छ । तर यो विभाजन अहिले त्यति प्रचलित छैन ।
ऋग्वेदको द्वितीय मण्डलदेखि सप्तम मण्डलसम्मको रचना सर्वप्राचीन मानिएको छ भने दशम मण्डल केही पछिको मानिन्छ । अन्य तीन मण्डल (प्रथम, अष्टम र नवम) मध्यकालिक मानिएका छन् । अन्य वेदहरूका जस्तै ऋग्वेदका पनि संहिता, ब्राह्मण, आरण्यक र उपनिषद् भागहरू छन् । यसका दश मण्डलमध्ये केही मण्डल छोटा छन् र केही ठूला छन् । पहिलो र दशौँ मण्डल समान रूपमै बृहत्काय छन् । दोस्रो मण्डलदेखि सातौँ मण्डलसम्मलाई ऋग्वेदको श्रेष्ठ भाग अर्थात् हृदयस्वरूप मानिन्छ । यसको आठौँ मण्डल र प्रथम मण्डलका प्रारम्भिक पचासवटा सूक्तहरूमा समानता छ । 
ऋग्वेदको रचनाकालका विषयमा विद्वान्हरूबीच मतैक्य देखिँदैन । पाश्चात्य विद्वान्हरू यसको रचनाकाल इसापूर्व २००० देखि ६००० वर्षसम्म मान्छन् र उनीहरू वेदलाई अपौरुषेय एवं ईश्वरप्रदत्त पनि मान्दैनन् । तर पौरस्त्य विद्वान्हरू विशेषगरी बालगङ्गाधर तिलक यसको रचनाकाल इसापूर्व ६००० वर्षभन्दा पहिले नै भएको बताउँछन् । वेदमा सूचित भूगर्भ सूचनाहरूका आधारमा डा. अविनाशचन्द्रले यसको रचना लाखौँ वर्षअघि भएको बताएका छन् । वस्तुतः ऋग्वेदका मन्त्र या ऋचाहरूको रचना कुनै एक जना ऋषिले कुनै एक निश्चित अवधिमा गरेका होइनन् बरू विभिन्न कालमा विभिन्न ऋषिहरूद्वारा यिनको रचना र सङ्कलन गरिएको हो । ऋग्वेद मन्त्रका द्रष्टा ऋषिहरूमा गृत्समद, विश्वामित्र, वामदेव, अत्रि, भारद्वाज, अङ्गीरा र वसिष्ठ छन् भने स्त्री मन्त्रद्रष्टाहरूमा लोपामुद्रा, घोषा, अपाला, विश्ववारा, सिकता, शचीपौलोमी र कक्षावृत्ति प्रमुख छन् । ऋग्वेदका मन्त्रहरू स्तुतिपरक भएकाले ऋग्वेदको धार्मिक र आध्यात्मिक महत्त्व निकै ठूलो छ । चार वेदहरूमध्ये सबैभन्दा प्राचीन भएकाले ऋग्वेदबाट आर्यहरूको राजनीतिक प्रणाली, धर्म, दर्शन, संस्कृति, कृषि, वाणिज्य र इतिहासका बारेमा महत्त्वपूर्ण जानकारीहरू प्राप्त हुन्छन् । 
२.२ यजुर्वेद
‘यजुर्वेद’ गद्यप्रधान वाङ्मय हो । अनियमित अक्षरबाट समाप्त हुने वाक्यहरूलाई ‘यजुः’ भनिएको छ, त्यसैले गद्यात्मक मन्त्रहरूको सङ्कलन नै ‘यजुः’  हो । ‘यजुः’  शब्द ‘यज्’  धातुबाट बनेको छ,  जसको अर्थ हो–  देवपूजा, सङ्गति र दान । यजुर्वेदमा कर्मकाण्डलाई मूल महत्त्व दिइएको छ,  अतः यसका समस्त क्रियाहरू देवपूजा, सङ्गति र दानअन्तर्गत आउँछन् । 
यज्ञ गर्नेबेला अध्वर्युले प्रयोग गर्ने मन्त्रहरूमात्र यजुर्वेदमा सङ्कलित छन्, त्यसैले यजुर्वेद र यज्ञकर्मबीच गहिरो सम्बन्ध छ । यजुर्वेदमा यज्ञकर्मलाई नै श्रेष्ठकर्म बताइएको छ । यजुर्वेद दुई प्रकारका छन्– कृष्णयजुर्वेद र शुक्लयजुर्वेद । श्रीमद्भागवतमा वर्णन गरिएअनुसार व्यासले वैशम्पायनलाई वेदको शिक्षा दिए र वैशम्पायनले आफ्ना शिष्य याज्ञवल्क्यलाई उक्त शिक्षा दिए । पछि कारणवश आफ्ना शिष्य याज्ञवल्क्यसँग वैशम्पायन रिसाए । उनले याज्ञवल्क्यलाई आफूले पढाएको सबै ज्ञान फिर्ता गर्न भने । याज्ञवल्क्यले पनि गुरुको वचन शिरोधार्य गरी आफूले पढेको सबै विद्या बान्ता गरिदिए । वैशम्पायनका अन्य शिष्यहरूले तित्राको रूप धारण गरी याज्ञवल्क्यले वमन गरेको सबै वेद खाइदिए । यसरी बान्ताका रूपमा ग्रहण गरिएको वेद नै कृष्णयजुर्वेद हो । कृष्णयजुर्वेदमा मन्त्र र ब्राह्मणभाग छ्यासमिस रहेको बताइन्छ । कृष्णयजुर्वेदका चार शाखाहरू छन्–  तैत्तिरीय, मैत्रायणीय, कठ र कपिष्ठलकठ (अपूर्ण) । 
वैशम्पायन रिसाएपछि पहिले पढेको वेदलाई बिसाएर याज्ञवल्क्यले पुनः वेद पढ्नका लागि सूर्यको आराधना गरे । यसरी सूर्यको आराधन गर्दा प्राप्त भएको वेद नै शुक्लयजुर्वेद हो । शुक्लयजुर्वेदको संहितालाई वाजसनेयी संहिता भनिन्छ । यसको कारण के हो भने याज्ञवल्क्यले आराधना गरेका सूर्यले वाजी अर्थात् घोडा भएर याज्ञवल्क्यलाई वेदको शिक्षा दिएका थिए । शुक्लयजुर्वेदमा विनियोग–वाक्यरहित केवल मन्त्रहरू मात्र विद्यमान छन् । कृष्णयजुर्वेदमा चाहिँ विनियोगवाक्य र मन्त्रहरू दुवै छन् । यजुर्वेदमा चालीस अध्याय छन् र कूल एक हजार नौ सय पचहत्तर मन्त्र छन् । शुक्लयजुर्वेदका दुई शाखाहरू छन्– माध्यन्दिनीय र काण्व । नेपालका ब्राह्मणहरू प्रायः शुक्लयजुर्वेदको माध्यन्दिनीय–वाजसनेयी शाखाका पाठक हुन् । अधिकांश नेपालीको कर्मकाण्ड यसै शाखाका मन्त्रसंहिता, ब्राह्मणग्रन्थ, श्रौतसूत्र, गृह्यसूत्र र परिशिष्ट इत्यादि ग्रन्थबाट निर्दिष्ट हुन्छ । 
२.३ सामवेद
वेदका गेय मन्त्रहरूको सङ्ग्रहलाई ‘सामवेद’ भनिन्छ । यस्ता स्तुति–मन्त्रलाई मधुर स्वरमा गाइन्छ । साम भनेकै लय हो । सामवेदको महत्ताको प्रतिपादन गर्दै योगेश्वर भगवान् श्रीकृष्णले गीता (१०/२२) मा भनेका छन्– ‘वेदानां सामवेदोऽस्मि’ अर्थात् वेदहरूमा म सामवेद हुँ । 
सामवेदलाई दुई भागमा बाँडिएको छ– पूर्वार्चिक र उत्तरार्चिक सामवेद । यी दुईका बीचमा ‘महानाम्न्यार्चिक’ सामवेद पनि परिगणित छ,  जसमा दश मन्त्रहरू सङ्कलित छन् । अहिले उपलब्ध रहेको सामवेदको कौथुम शाखाको संहितामा १८७५ ऋचा र जैमिनीय शाखाको संहितामा १६९३ ऋचा छन् । सामवेदमा केही मन्त्रहरूलाई छाडेर लगभग सबैजसो मन्त्रहरू ऋग्वेदकै छन् । सामवेद वेदको उपासना काण्ड हो । यसमा जस्तो उपासनाको उल्लेख गरिएको छ, त्यसमा ‘ज्ञान’ र ‘कर्म’  को समन्वय छ ।   
२.४ अथर्ववेद 
चारवटा वेदहरूमध्ये अथर्ववेद चौथो वेद हो । ‘अथर्व’ शब्दमा रहेको ‘थर्व’ धातुको अर्थ ‘हिँड्नु’ अर्थात् ‘गति’ हो । ‘थर्व’ धातुमा ‘अ’ उपसर्ग लगाउँदा अथर्व शब्द निष्पन्न हुन्छ । यसरी बनेको अथर्व शब्दको अर्थ हुन्छ– निश्चल अर्थात् स्थिर । तर यसको अर्थ गतिहीनता चाहिँ होइन । अथर्ववेदको मन्त्रसाधनाले साधकका एषणालाई नियन्त्रित गरेर ‘स्थितप्रज्ञ’ बनाउँछ । तसर्थ यसको ‘अथर्व’ नाम सार्थक हुन्छ । 
अथर्ववेदलाई विभिन्न नामले चिनाउने गरिन्छ । वैदिक साहित्यमा अथर्ववेदलाई ‘ब्रह्मवेद’, ‘भैषज्य वेद’ र ‘अथर्वाङ्गिरस’ आदि नामले पनि चिनाइएको छ । यस वेदको साधना र चिन्तन गर्ने ऋषिहरूलाई ‘अथर्वा’ अथवा ‘आथर्वण’ भनिन्छ । यी ऋषिहरू अग्निका उपासक थिए । अथर्ववेदमा अधिकांशतः शान्ति, पुष्टि, अभिचार (मारण, मोहन, उच्चाटन) आदि क्रियाकलापसित सम्बन्ध राख्ने मन्त्रहरू सङ्कलित छन् । अथर्ववेद संहिता बीस काण्डमा विभक्त छ । यसमा ७२६ सूक्त छन् र ५९७७ मन्त्र छन् । बीसौँ काण्डका अधिकांश मन्त्रहरू ऋग्वेदकै छन् ।  
२.५ ब्राह्मणग्रन्थ
    ब्रह्म अर्थात् यज्ञ वा मन्त्रको व्याख्या गर्ने वेदका भागलाई ब्राह्मण वा ब्राह्मणग्रन्थ भनिन्छ । यसमा यज्ञको स्वरूप, फल,  द्रव्य र देवता इत्यादि विषयमा प्रकाश पारिएको हुन्छ । वस्तुतः ब्राह्मणमा वैदिक कर्मकाण्ड र यज्ञहरूको वर्णन छ । 
२.६ आरण्यक 
गुरुसित घरमा पढ्न नहुने र अरण्य अर्थात् वनमा गएर पढ्नुपर्ने वेदका अंशलाई आरण्यक भन्दछन् । आरण्यकमा कर्मकाण्ड र यज्ञका रूपक कथाहरू एवं तत्सम्बन्धी दार्शनिक व्याख्याहरू छन् ।
 २.७ उपनिषद्हरू
उपनिषद्हरू हिन्दूधर्मका महत्त्वपूर्ण श्रुतिग्रन्थ हुन् । यिनीहरू वैदिक वाङ्मयअन्तर्गत नै परिगणित छन् । यिनमा परमेश्वर, परमात्मा, ब्रह्म र आत्माको स्वभाव एवं सम्बन्धको दार्शनिक तबरले वर्णन गरिएको छ । तसर्थ उपनिषद्हरू ब्रह्मविद्याका द्योतक हुन् । विश्वका अनेकौँ दार्शनिकहरू उपनिषद्लाई सबैभन्दा उत्तम ज्ञानकोश मान्दछन् । वेदान्त,  साङ्ख्य,  जैन र बौद्ध आदि सबै दर्शनको मूलस्रोत उपनिषद्लाई नै मानिन्छ । 
‘उपनिषद्’ शब्द ‘उप’ र ‘नि’ उपसर्गपूर्वक ‘सद्’ धातुबाट निष्पन्न भएको हो । यसको सामान्य अर्थ हो– नजिकै बस्नु । ‘ब्रह्मविद्याको प्राप्तिका लागि शिष्य गुरुको नजिकै बस्नु’ नै उपनिषद्को भावार्थ हो । ‘सद्’ धातुका विवरण,  गति र अवसादन गरी तीन अर्थ छन् । भनिन्छ, यस विद्याको अभ्यासबाट मुमुक्षुजनको अविद्या नष्ट हुन्छ (विवरण), यसले ब्रह्मप्राप्ति गराइदिन्छ (गति), यसको अभ्यासले मनुष्यहरूका गर्भवास आदि सांसारिक दुःख सर्वथा शिथिल हुन्छन् (अवसादन) । तसर्थ उपनिषद् त्यस्ता तत्त्व–प्रतिपादक ग्रन्थ मानिन्छन्, जसको अभ्यासबाट परमात्माको साक्षात्कार हुन्छ ।
चिन्तनशील ऋषिहरूले स्वानुभूतिमूलक ज्ञानचर्चाद्वारा अज्ञात सत्यको खोजी गर्नका लागि गरेको प्रयास नै उपनिषद्को मूल प्रेरणा हो । उपनिषद्मा वर्णनातीत परमशक्तिलाई शब्दद्वारा अभिव्यक्त गर्ने अधिकतम प्रयास गरिएको पाइन्छ । निराकार, निर्विकार, असीम र अपार ज्ञानसत्तालाई अन्तर्दृष्टिबाट सम्झिने र परिभाषित गर्ने अदम्य आकाङ्क्षा उपनिषद्हरूमा देखा पर्छ । त्यसैले उपनिषद्हरूलाई कवि–हृदयी ऋषिहरूका काव्यमय आध्यात्मिक रचना र अझ आध्यात्मिक चिन्तनका अमूल्य निधि मानिएको छ । उपनिषद्मा वैदिक दर्शनको वास्तविक निचोड छ । उपनिषद्मा आत्म र अनात्म तत्त्वहरूको निरूपण गरिएको छ, जसले वेदका मौलिक रहस्यहरूको प्रतिपादन गर्छन् । प्रायः उपनिषद्हरू वेदको अन्तमा आउँछन्, त्यसैले यिनलाई वेदान्त पनि भनिन्छ ।
उपनिषद्हरूको सङ्ख्याका विषयमा विद्वान्हरूबीच एक मत पाइँदैन । धेरै जसोले उपनिषद्को सङ्ख्या १०८ मानेका छन् । तिनमा ऋग्वेदीय उपनिषद् १० वटा,  शुक्ल यजुर्वेदीय उपनिषद् १९ वटा, कृष्ण यजुर्वेदीय उपनिषद् ३२ वटा,  सामवेदीय उपनिषद् १६ वटा र अथर्ववेदीय उपनिषद् ३१ वटा छन् । यिनका अतिरिक्त नारायण,  नृसिंह,  रामतापनी र गोपाल गरी चार उपनिषद् पनि प्रसिद्ध छन् । 
उल्लिखित उपनिषद्मध्ये विषयको गम्भीरता र विवेचनाको व्यापकताका कारण तेह्रवटा उपनिषद्हरूलाई विशेष मान्य र प्राचीन मानिएको छ । जगद्गुरु शङ्कराचार्यले दश वटा उपनिषद्मा भाष्य लेखेका छन्– (१)ईश (२)ऐतरेय(३)कठ (४)केन (५)छान्दोग्य (६)प्रश्न (७)तैत्तिरीय(८)बृहदारण्यक(९)माण्डुक्य र (१०)मुण्डक । शङ्कराचार्यले निम्न तीन उपनिषद्लाई प्रमाणको कोटिमा राखेका छन्–  (१) श्वेताश्वतर (२) कौषीतकी र (३) मैत्रायणी । अन्य उपनिषद्हरू तत्तद् देवता विषयक हुनुका कारण ‘तान्त्रिक’ मानिन्छन् । यिनमा शैव,  शाक्त,  वैष्णव र योगविषयक उपनिषद्हरू पर्दछन् । 
३. वैदिक समाज र समाज व्यवस्था
यस आलेखमा विशेषगरी वैदिक संस्कृतिमा पाइने राष्ट्रविषयक चिन्तनको विवेचना गर्न खोजिएको कुरा पहिले नै स्पष्ट भैसकेको छ । यस्तो विवेचनाका लागि वैदिक समाज र समाज व्यवस्थाबारे केही जानकारी प्राप्त गर्नु आवश्यक देखिन्छ । वस्तुतः अहिलेको प्राच्य समाजव्यवस्था वैदिक समाजव्यवस्थाकै विकसित स्वरूप हो । हामीकहाँ समाज र राष्ट्रसम्बन्धी जे जस्ता चिन्तनहरू प्रचलित रहेका पाइन्छन्, तिनको मूल वैदिक सभ्यताबाटै रसाइरहेको देखिन्छ ।
ऋग्वैदिक कालमा प्रशासनको सबैभन्दा छोटो एकाइ ‘गृह’ या ‘कुल’ थियो । कुलको प्रमुखलाई ‘कुलप’ भनिथ्यो । त्यसभन्दा माथिल्लो एकाइलाई ‘ग्राम’ भनिन्थ्यो । ग्रामव्यवस्थाको निरीक्षण गर्ने प्रमुख अधिकारीलाई ‘ग्रामणी’ भनिन्थ्यो । ग्रामभन्दा माथिल्लो संरचनालाई ‘विश’ भनिन्थ्यो । विशको प्रमुखलाई ‘विश्पति’ भन्ने गरिन्थ्यो । सबैभन्दा माथि ‘जन’ रहन्थ्यो । ‘जन’ एक प्रकारको अधिकारसम्पन्न सामुदायिक सङ्गठन थियो । यसको शासन पुरोहितद्वारा सञ्चालन हुने गथ्र्यो । पछि ‘जन’ शब्दका सट्टा ‘जनपद’ शब्द प्रयुक्त हुन थाल्यो । जनभन्दा माथिल्लो संरचना राष्ट्र थियो र राष्ट्र सञ्चालन राजाद्वारा हुने गथ्र्यो । तत्कालीन राज्य एवं न्यायव्यवस्था धर्ममा आधारित थियो । राजाले कानुनी सल्लाहकार र पुरोहितहरूको सहायताले न्यायसम्पादन गर्ने गर्थे । त्यतिखेर पनि चोरी,  डकैती,  हत्या आदि अनेकौँ अपराधहरू हुने गरेका सङ्केत पाइन्छन् । वैदिक कालमा पशुहरूको चोरी सबैभन्दा बढी हुने गथ्र्यो । त्यसबेला धेरै जसो युद्धहरू गाईको चोरीका कारण हुने गर्थे । त्यसैले ऋग्वेदमा ‘युद्ध’ को पर्यायवाची शब्दका रूपमा गविष्ठ (गाईको अन्वेषण) शब्द प्रयोग गरिएको पाइन्छ । वैदिक कालमा मृत्युदण्डको प्रथा थिएन । अपराधीहरूलाई शारीरिक दण्ड र जरिवाना तिराउने गरिन्थ्यो ।
वेदमा ब्रह्म र क्षत्रको सहकार्यबाट सर्वोदय एवं सर्वोन्नतिको परिकल्पना गरिएको छ । तसर्थ वेदले ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र आदि सबै वर्णका मानिसहरूको अभ्युदयको सरणि प्रस्तुत गर्दछ । ‘विश’ भन्नाले ग्रामभन्दा माथिल्लो संरचना बुझिने र त्यहाँ बस्नेलाई वैश्य भनिने सन्दर्भलाई विचार गर्दा पनि राष्ट्रमा वैश्य समुदायको सम्मानपूर्ण स्थानको झलक पाइन्छ । यसरी वैदिककालीन समाज व्यवस्थाको सर्वोच्च निकायका रूपमा राष्ट्रको उच्च प्रतिष्ठा रहेको र राष्ट्र भन्नासाथ सामूहिक प्रगतिको,  अझ व्यक्ति व्यक्तिको सिर्जनात्मक सहकार्यबाट सृजित र सङ्घटित जनसमुदायको झलक प्राप्त हुने कुरा स्पष्ट हुन्छ ।       
वैदिक वाङ्मयमा राष्ट्रविषयक चिन्तनको चर्चा गर्दा त्यतिखेरको समाजव्यवस्था, रीतिस्थिति र सांस्कृतिक पृष्ठभूमिको सामान्य जानकारी राख्नु आवश्यक हुन्छ । वास्तवमा मानिसको उत्पत्ति यसरी भयो,  उसको सभ्यताको विकास यसरी भयो र यस प्रक्रियामा उसले यस्ता–यस्ता चरणहरू पार गरेर आजको स्थितिमा आइपुग्यो भन्ने कुराका बारेमा जे–जति मन्थन भएका छन्,  ती सबै अनुमान वा विश्वासमा आधारित छन् । पुराणहरूमा बताइएझैँ विष्णुको नाभिकमलबाट उत्पन्न ब्रह्माजीले आफ्नो शरीरका दुई भागबाट जन्माएका स्वायम्भुव मनु र शतरूपाका सन्तान नै संसारका सारा मान्छे हुन् कि डार्बिनले भनेजस्तै भौतिक पदार्थमा विकार उत्पन्न हुँदै जाँदा चेतनतत्त्वको सृष्टि भएर त्यसैको विकासबाट मान्छेको उत्पत्ति भएको हो, यी दुई धारणाहरू दार्शनिक बहसका विषय बनिरहेका छन् । यसको उत्तर आ– आफ्नो आस्था र विश्वासका आधारमा खोजिँदै आएको छ र खोजिँदै जानेछ । यसको कुनै खास टुङ्गो लाग्ने देखिँदैन । 
वस्तुतः वैदिक कालभन्दा अगाडिको सृष्टिकालीन मानव–समाज यस्तो थियो भनेर यसै भन्न सकिने कुनै लिखित प्रमाणहरू उपलब्ध छैनन् । तर सृष्टिकालभन्दा धेरैपछिको मानव समाजको विकासबारे चाहिँ केही छिपछिपे जानकारीहरू फेला पर्छन् । वेद, उपनिषद्, ब्राह्मणग्रन्थ, स्मृतिशास्त्र र अन्य उपलब्ध पुरातात्त्विक सामग्रीका आधारमा हेर्दा मान्छेको इतिहासको सुरुवात अचम्मलाग्दो रहेको अनुमान गर्न सकिन्छ । कतिपयले त्यसबेला हाम्रा पुर्खाहरू बथान–बथानमा समुद्र वा नदी किनारका जङ्गली इलाकामा घुम्ने गर्थे भनेर लेखेको पाइन्छ । तर प्राच्य विद्वान्हरू हाम्रो सभ्यताको प्रारम्भमा जङ्गली युग थियो भन्ने कुरालाई त्यति विश्वास गर्दैनन् । जे भए पनि वैदिक कालमा सामूहिक भावनाको प्राबल्य रहेको पाइन्छ । वैदिक मानिसहरू सबै साथसाथै हिँड्थे, सँगै बस्थे र आहारा बटुली बराबर बाँडेर खाने गर्थे । त्यो सम्पूर्ण गणको आदर्श नै साझापनमा टिकेकाले साझाको भावनाबिना गण बाँच्न सक्दैनथ्यो । आपसमा मिलेर श्रम गर्नु उनीहरूको ‘कर्तव्य’ थियो भने बाँडचुँड गरेर बराबर उपभोग गर्नु उनीहरूको ‘अधिकार’ थियो । त्यहाँ जे–जे थियो सबै साझा थियो अर्थात् तेरो र मेरोको भावना थिएन । जनसङ्ख्या सानो थियो र सारा जङ्गल नै उनीहरूको घर थियो । नीलो आकाश छानो थियो अनि चन्द्रमा र सूर्य स्थायी बत्ती थिए । यिनै कारणले गर्दा त्यहाँ अन्याय र असत्यको नाम–निसान थिएन अनि न्याय र कानुनको पनि कुनै आवश्यकता थिएन । त्यतिखेर छुवाछुत, जातपात र वर्गभेद केही थिएन । 
त्यस युगमा व्यक्तिलाई सबैभन्दा ठूलो भय प्रकृतिको रौद्ररूपबाटै थियो । त्यहाँ अहिलेजस्ता राज्य थिएनन्, राजा थिएनन्, दण्डव्यवस्था थिएन र अदालत पनि थिएनन् । सबै जनता आफ्नै आत्मानुशासनद्वारा सञ्चालित थिए र यही आत्म अनुशासनलाई नै ‘धर्म’ भनिन्थ्यो । वेदकालीन समाजव्यवस्थालाई आधुनिक समाजशास्त्रीहरू आदिम साम्यवाद भन्दछन् । 
वास्तवमा वेदहरू आदिम समाजमा रहेका यस्तै सहकार्यका उपज हुन् । यसको कुनै निश्चित रचनाकार थिएन । त्यसैले आर्यहरूले वेदलाई अपौरुषेय,  ईश्वरप्रदत्त र अति पवित्र भनेर उच्च महत्त्व दिए भने पुर्खाले बोल्ने र देवकार्यमा समेत प्रयोग गरिने भाषा भएकाले संस्कृतलाई ‘देववाणी’, ‘देवभाषा’ नाम दिए । यो प्रवृत्ति संस्कृत भाषा र वैदिक आर्यसंस्कृतिका सन्दर्भमा मात्र होइन,  हरेक धार्मिक सम्प्रदायमा उस्तै देखिन्छ । तसर्थ वैदिक आर्यहरूले संस्कृतलाई देववाणी वा मूलभाषा मान्नु र वेदलाई सम्पूर्ण वाङ्मयको मूल मान्नु अस्वाभाविक होइन । तर आधुनिक भाषाशास्त्रीहरू कुनै पनि भाषालाई ईश्वरप्रदत्त मान्दैनन् र यस्तो मान्नु एक प्रकारको अन्धविश्वास मात्र हो भन्ने धारणा प्रकट गर्छन् ।
४. वैदिक सभ्यतामा राष्ट्र र राष्ट्रधर्म
समय र परिस्थिति सधैँ एकनास रहँदैन । आर्यहरूको पुरानो समाजव्यवस्था पनि त्यसै रूपमा अनन्तकालसम्म चल्नु सम्भव थिएन । त्यसैले समय बित्दै जाँदा समाजलाई अझ सुव्यवस्थित र अनुशासित तुल्याउन गणपतिको व्यवस्था गरियो । गणपतिको व्यवस्था वैदिककालभन्दा अगाडिदेखि नै अस्त्वित्त्वमा थियो । वैदिक कालमा आइपुग्दा उक्त गणपतिले इन्द्र अर्थात् राजाको स्वरूप लिइसकेको थियो र गणले पनि राष्ट्रका विशेषताहरूलाई  आफूभित्र हुर्काउँदै लगेको थियो । लोकमा अराजकता बढेर सर्वत्र भय उत्पन्न भएपछि स्वयं भगवान्ले राजाको सिर्जना गरिदिए भन्ने मनुस्मृतिको वचनबाट यही कुरा सिद्ध हुन्छ । यहाँनेर वैदिक सभ्यतामा राष्ट्र र राष्ट्रियताबारे व्यक्त गरिएका विचारधाराहरूको विश्लेषण गर्नुअघि राष्ट्र र राष्ट्रियताका बारेमा केही कुरा स्पष्ट पार्नु आवश्यक देखिन्छ ः
४.१ ‘राष्ट्र’ सम्बन्धी अवधारणा, ‘राष्ट्र’ को परिचय र परिभाषा 
व्यक्तिको सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक र राजनीतिक आदि विविध उन्नतिहरूको आधारशिला राष्ट्र हो । तसर्थ राष्ट्र व्यक्तिभन्दा महान् र उच्च छ । तर राष्ट्र र राष्ट्रबासी व्यक्तिबीच आपसमा परिपूरक सम्बन्ध पनि छ । एकातिर राष्ट्रको समुन्नतिमै व्यक्तिको उन्नति सन्निहित छ भने अर्कातिर चरित्रवान्, नैतिक र सुसंस्कृत नागरिकहरूले नै देशलाई समुन्नत बनाउन सक्छन् ।
यद्यपि वैदिक वाङ्मयमा चर्चा गरिएको राष्ट्रको अवधारणा र ‘राष्ट्र’  शब्दबाट बोध हुने आधुनिक तात्पर्यार्थमा थुप्रै भिन्नताहरू देखा पर्छन् । तर पनि ‘राष्ट्र’ को मूलभूत चरित्र वैदिककालमा जे–जस्तो थियो, आज पनि त्यसभन्दा खासै भिन्न छैन । सामान्यतया ‘राष्ट्र’  भन्नाले जनसमुदायसहितको थलो वा देशलाई बुझिन्छ । मनुस्मृतिमा स्वामी (शासक),  अमात्य (मन्त्री),  पुर (किल्ला),  राष्ट्र (जनतासहितको भूमि),  कोष (ढुकुटी),  दण्ड (सेना, प्रहरी र अदालत) र मित्र (मित्रराष्ट्र) लाई राज्यका सात अङ्ग मानिएको छ ।  
आधुनिक तात्पर्यमा चाहिँ ‘राष्ट्र’ भन्नाले निश्चित भूगोलमा बसोबास गर्ने आफ्नै पहिचान भएको र यही पहिचानले उनीहरूलाई  भूगोलसँग जोड्ने जनसमूह भन्ने बुझिन्छ । यस परिभाषाको तात्पर्य के हो भने ‘राष्ट्र’ बन्नका लागि त्यहाँ बस्ने जनताको भाषा, धर्म, इतिहास, संस्कृति, नैतिक आचार वा मूल उद्गममध्ये केही न केही कुरा मिल्नुपर्छ । यही साझा मिलनबिन्दुले उनीहरूलाई आपसमा जोडेर राख्छ र उनीहरू एउटै राष्ट्रका नागरिक बन्छन् । यसरी ‘राष्ट्र’ लाई बुझिने गरी एउटा त्यस्तो जनसमूहका रूपमा परिभाषित गर्न सकिन्छ, जो निश्चित भौगोलिक सीमाभित्रको एउटै देशमा बस्छ,  समान परम्परा, समान हित र समान भावनाले बाँधिएको छ र जसमा एकताबद्ध हुने उत्सुकता एवं समान राजनीतिक महत्त्वाकाङ्क्षा छ । 
राष्ट्रवाद चाहिँ एउटा विश्वास, सिद्धान्त वा राजनीतिक अवधारणा हो, जसका आधारमा एकजना राष्ट्रबासी व्यक्तिले आफ्नो परिचय दिन्छ र आफूलाई उक्त राष्ट्रसँग गाँसिएको अनुभव गर्छ । कतिपयले राष्ट्रवादलाई कुनै राष्ट्रको नागरिकले आफ्नो राष्ट्रलाई गर्ने माया वा त्यसप्रति देखाउने अपनत्वका रूपमा व्याख्या गर्ने गरेको पनि पाइन्छ । राष्ट्रवादको आधुनिक अवधारणा पाश्चात्य जगत्बाट पुष्पित र पल्लवित भएको हो । आधुनिक कालमा नवोदित राष्ट्रवाद अधिकरूपमा अङ्ग्रेजी शिक्षाको परिणाम हो र यसलाई अन्यथा भन्न मिल्दैन । अङ्ग्रेजी शिक्षाबाट प्राप्त सकारात्मक उपलब्धिमध्ये यसलाई पनि एउटा प्रमुख उपलब्धि मान्न सकिन्छ । राष्ट्रवादका निर्णायक तत्त्वहरूमा राष्ट्रियताको भावना सबैभन्दा बढी महत्त्वपूर्ण मानिन्छ । राष्ट्रियताको भावना कुनै राष्ट्रका सदस्यहरूमा पाइने सामूहिक भावना हो जसले उनीहरूको एकतालाई सुदृढ तुल्याउँछ । सारांशमा,  मानवको सहज सामुदायिक भावनाबाट समूहको जन्म भयो र यस्तै समूहको समुच्चयले कालान्तरमा राष्ट्रको रूप लियो । वैदिक सभ्यताको विकासयात्रामा राष्ट्र भन्नु तत्कालीन समाजका व्यक्तिहरूको तीव्र आवश्यकताबाट जन्मेको विशिष्ट ढाँचा थियो । वैदिक भावनाको तहमा पुगेर भन्ने हो भने आर्यहरूको परस्पर सहयोग तथा संस्कारित सहानुभूतिको भावना नै राष्ट्रिय सञ्चेतनाको प्रेरक हो ।
वैदिक वाङ्मयमा देश, जनपद, भूमि र राज्य आदि शब्दलाई राष्ट्रको पर्यायवाची शब्दका रूपमा प्रयोग गरिएको पाइन्छ । तर आधुनिक तात्पर्यमा देश र राष्ट्र भन्नाले उस्तै कुरा बुझिने भए पनि राष्ट्र र राज्यको अवधारणा चाहिँ अलिक भिन्न छ । अहिले एउटा ‘राष्ट्र’ भित्र अनेकौँ ‘राज्य’ हुन सक्छन् । तर वैदिक अवधारणामा चाहिँ राष्ट्र र राज्यबीच कुनै भिन्नता रहेको पाइँदैन । वैदिक राष्ट्रहरू आधुनिक गणराज्यजस्तै हुन्, जहाँ राजा वा राष्ट्रप्रमुख जनताद्वारा चुनिन्थे ।
वैदिक वाङ्मयमा ‘राष्ट्र’ शब्दको प्रयोग अनेकौँ ठाउँमा भएको पाइन्छ । यजुर्वेदको ‘राष्ट्रं मे देहि’, अथर्ववेदको ‘त्वा राष्ट्र भृत्याय’ आदि ठाउँमा ‘राष्ट्र’ शब्द समुदायका अर्थमा प्रयोग भएको पाइन्छ । अथर्ववेदको पृथ्वीसूक्तका हरेक मन्त्रले राष्ट्रभक्तिको पाठ पढाउँछन् । उपनिषद्मा पनि ‘उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत..’ आदि मन्त्रमा राष्ट्रप्रेमकै उदात्त दृष्टिकोण प्रकटित छ ।  
५. राष्ट्रवादको आधुनिक तात्पर्य र वैदिक वाङ्मय
राष्ट्रवाद भनेको एक विश्वास, मार्ग वा राजनीतिक विचारधारा हो, जसको माध्यमबाट व्यक्तिले आफ्नो राष्ट्रसँग आफूलाई गाँसेर हेर्छ,  आफ्नो परिचय प्रस्तुत गर्छ र एक प्रकारको लगाव प्रकट गर्छ । यस अवधारणामा राष्ट्रलाई सबैभन्दा धेरै प्राथमिकता वा महत्त्व दिइन्छ ।
राष्ट्रवाद र आधुनिक राज्यको इतिहासबीच नजिकको सम्बन्ध छ । सोह्रौँ र सत्रौँ शताब्दीतिर युरोपमा आधुनिक राज्यको उदय भयो, जसले राष्ट्रवादी भावनाको अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्यो । राज्यको यस्तो रूप पुरानो स्वरूपभन्दा भिन्न थियो । मध्ययुगीन युरोपमा राज्यसत्ता कुनै एक जना सम्प्रभु शासक या सरकारमा सीमित रहनुको सट्टा बाँडिएको हुन्थ्यो । तर आधुनिक राज्यमा यस्तो सत्ता केन्द्रीकृत, सम्प्रभु र अविभाजित बन्न पुग्यो । वस्तुतः राज्यसत्तासम्बन्धी आधुनिक विचारले सत्ताको यस्तो बाँडफाँडलाई समाप्त पारिदियो जसले गर्दा राष्ट्रलाई मूल ठान्ने भावनाको वृद्धि भयो । यसैलाई राष्ट्रवादी चिन्तनको जग ठानिन्छ । यसरी हेर्दा आधुनिक राष्ट्रवादी अवधारणाको विकास पाश्चात्य जगत्बाट भएको हो तर पूर्वमा विशेषगरी वैदिक साहित्यमा अभिव्यक्त राष्ट्रको तात्पर्य पनि आधुनिक राष्ट्रवादी अवधारणाजत्तिकै सबल र सार्थक देखापर्छ । 
राष्ट्रवाद त्यस्तो आस्था वा प्रेमपूर्ण बन्धनको नाम हो जसअन्तर्गत आफ्नो साझा इतिहास, परम्परा, भाषा, जातीयता र संस्कृतिका आधारमा मानिसहरू एकजुट हुन पुग्छन् । वस्तुतः राष्ट्रप्रतिको अपनत्व र प्रेमको शाब्दिक रूप नै राष्ट्रवाद हो । राष्ट्रिय सीमाभित्र रहने मानिसहरूलाई आफ्नो आफ्नो राष्ट्र (अर्थात् पहिचान) को अस्तित्व स्वाभाविक, प्राचीन, चिरन्तन र स्थिर लाग्छ । यसैका आधारमा बनेका राष्ट्रिय समुदायहरूले आफ्ना वर्गीय, जातीय र धार्मिक विभाजन वा पार्थक्यलाई नाघेर एउटै भावनाअन्तर्गत एकजुट हुन्छन् । उनीहरूले आफ्नो राष्ट्रलाई माया गर्छन्, राष्ट्रको कानुनको परिपालना गर्छन् र यसको आन्तरिक एवं बाह्य सुरक्षाका लागि प्राणको बलिदानसमेत दिन सक्छन् । यहाँनेर के कुरा स्पष्ट पार्नु जरुरी छ भने परस्परमा अनेकौँ समानताहरू भए पनि राष्ट्रवाद र देशभक्तिबीच केही भिन्नताहरू छन् । राष्ट्रवाद अनिवार्य रूपमा राष्ट्रवासीबीचको कुनै न कुनै कार्यक्रम वा योजनासँग वा आपसी हितको साझा भावनासँग गाँसिएको हुन्छ भने देशभक्ति वैयक्तिक अनुभूतिमा सीमित रहन्छ । देशभक्तिले राष्ट्रवादलाई बढाउँछ ।
यहाँनेर वैदिक राष्ट्रवादको सन्दर्भमाथि विचार गर्दा राष्ट्रवादको पश्चिमेली तात्पर्यलाई मात्र बुझेर पुग्दैन । युरोपबाट विकसित हुँदै आएको राष्ट्रवाद वस्तुतः राजनीतिक अवधारणा हो र पूर्वमा पाइने राष्ट्रवाद चाहिँ सांस्कृतिक धारणा हो । पश्चिमीभन्दा प्राच्य मुलुकको समाज परम्परागत रूपमा सांस्कृतिक, धार्मिक र भाषागत विविधताले युक्त छ । यस्तो समाजमा राष्ट्रवादको अनुभव पश्चिमी अनुभवभन्दा भिन्न हुनु स्वाभाविक पनि हो । यस्तो परिस्थितिमा कहिले राष्ट्रवादको सूत्रले पारस्परिक मेललाई अझ सुदृढ बनाउँछ भने कहिले उपराष्ट्रियता(अर्थात् भिन्न जातीय विश्वास) ले सङ्घर्ष र प्रतिस्पर्धा पनि निम्त्याइदिन्छ । खासगरी हाम्रो जस्तो बहुलतापूर्ण समाजलाई एउटा राजनीतिक समुदायका रूपमा विकसित तुल्याउन राष्ट्रवाद एउटा महत्त्वपूर्ण माध्यम बन्ने गरेको छ । समग्रमा पश्चिमी राष्ट्रवाद होस् या पूर्वी राष्ट्रवाद, दुवै परिस्थितिमा सांस्कृतिक र राजनीतिक राष्ट्रवाद एक अर्काका प्रतियोगी बन्दै र एक अर्कालाई परिपुष्ट तुल्याउँदै अगाडि बढ्ने गर्छन् । 
६. ऋग्वेदमा राष्ट्र–विषयक चिन्तन
ऋग्वेदकालमा आइपुग्दा ‘राष्ट्र’ को अवधारणाले सुदृढ र सबल स्वरूप प्राप्त गरिसकेको देखिन्छ । यसमा राजा अर्थात् शासकका कर्तव्य, प्रजा अर्थात् जनताका कर्तव्य, मानव कल्याणको भावना र उत्तम आचरणको शिक्षा पर्याप्त रूपमा अभिव्यक्त भएका पाइन्छन् । ऋग्वेदमा राजा (शासक) को कर्तव्यका बारेमा भनिएको छ–
       हे इन्द्र ! सूर्यसमान न्यायबाट प्रभावित राजाले आफ्नो बुद्धि र श्रेष्ठताद्वारा प्रजाको रक्षा गरून् । ब्रह्मचर्य र विद्याग्रहण गरेर पवित्र बनी युद्धभूमिमा दुष्टहरूको संहार गरून् । त्यसै राजाले राज्यका सम्पूर्ण अङ्गहरूलाई श्रेष्ठतापूर्वक ग्रहण गर्न सक्छ, जो राज्यको सीमा बढाउन समर्थ हुन्छ । 
       यसैगरी ऋग्वेदका ऋचाहरूले प्रजालाई समेत यसरी निर्देशित गर्छन्–
       हे इन्द्र ! प्रजाहरूले जो शक्तिशाली, विद्यानिपुण, विनयी, बुद्धिमान्, शूरवीर, न्यायवादी र धर्माचरणले युक्त व्यक्ति छ, उसैलाई राजा (शासक)बनाउनु पर्छ । 
       यस राष्ट्रमा ब्राह्मण सर्व तेजस्वी होऊन् । क्षत्रिय लक्ष्यप्राप्तिमा कुशल, दुष्टदमन समर्थ र पराक्रमी होऊन् । गाईहरू दुधालु, साँढेहरू भारवहनसमर्थ र घोडाहरू शीघ्रगामी एवं सर्वव्यापी होऊन् । महिलाहरू गृहस्थ धर्मपालिका र बुद्धिमती होऊन् । राज्यका रथारोही सभ्य धनीवर्ग समेत वीर र विजयशील होऊन् । हाम्रो राष्ट्रले कसैसँग ऋण लिनका लागि प्रार्थना गर्नु नपरोस् । राज्यमा जहाँ आवश्यक हुन्छ र हामीले जहिले चाहन्छौँ, वर्षा होस् । अतिवृष्टि र अनावृष्टिका कारण प्रजालाई कष्ट नहोस् । हामीकहाँ औषधिहरू अर्थात् दाल, तरकारी र अन्न प्रचुर मात्रामा सुलभ होऊन् ।          
७. यजुर्वेदमा राष्ट्र–विषयक चिन्तन
यजुर्वेद गृहस्थधर्म र त्यस सन्दर्भमा अपनाउनुपर्ने याज्ञिक कर्मसँग अधिक सम्बन्धित छ भन्ने कुरा माथि नै उल्लेख गरिसकियो । गृहस्थकाल र गृहस्थधर्म भन्नाले व्यापक परिप्रेक्ष्यलाई बुझिन्छ । गृहस्थीहरूकै समूहबाट समाज बन्छ । त्यसैले यजुर्वेदमा समाजलाई गतिशील बनाउन आवश्यक सबै कुरा कुनै न कुनै रूपमा प्रकट भएका छन् भन्दा अन्यथा हुँदैन । समाजलाई अनुशासित र मर्यादित बनाउन शासनको नियन्त्रण आवश्यक हुन्छ । यजुर्वेदमा यथास्थान राज्यव्यवस्थाको सर्वोच्च निकाय अथवा राजा (शासक), शासन सहयोगी र प्रजा अर्थात् जनताका कर्तव्य, अधिकार र अपेक्षाका बारेमा विविध वर्णनहरू गरिएको पाइन्छ । यजुर्वेदमा वर्णित राजा र राष्ट्रसँग सम्बन्धित केही सन्दर्भहरू निम्न छन्–
हे राष्ट्रनायक ! हामी प्रार्थना गर्दछौँ कि तपाईँ सधै जागरुक रहनोस्, जसबाट हामी आनन्दमग्न रहूँ । तपाईँ प्रमादरहित बनेर हाम्रो रक्षा गर्नोस् । हामी कहिल्यै पथभ्रष्ट भयौँ भने पनि तपाईँले हामीलाई पुनः चेतावनी दिनोस् ।
हे रुद्र ! तपाईँले तपाईँको राष्ट्रका प्रत्येक गतिशील प्राणी शारीरिक रूपमा सदा निरोगी र मनबाट सुमना रहने व्यवस्था गर्नोस् । 
हे राष्ट्रनायक ! तपाईँले आफ्ना प्रजाप्रति मनमा सधैँ कल्याणभाव राखेर शुभ वचन बोल्नोस्, किनकि तपाईँ नै आफ्ना प्रजाको धनसम्पत्ति बढाउन समर्थ हुनुहुन्छ ।
हे प्रजाजन ! तिमीहरू नै क्षेत्र अर्थात् राष्ट्रका आधार हौ र हे राजन् ! तिमी नै राष्ट्रका केन्द्र हौ । त्यसैले दुवैले यस्तो व्रत लिनुपर्छ कि म कहिल्यै तिम्रो हिंसा गर्ने छैन अर्थात् तिमीप्रति अन्याय,  अत्याचार गर्ने छैन । तिमीले पनि कहिल्यै मेरो हिंसा नगर्नू, मलाई धोका नदिनू । यदि यस्तो भावना रह्यो भने राजा र साम्राज्य दुवै दीर्घजीवी हुन्छन् ।
हे दुष्ट निवारक राजन् ! तिमीले हाम्रो राष्ट्रलाई यति बलियो बनाइदेऊ कि सबै राष्ट्रले हामीलाई आफ्ना मित्र बनाउन चाहून् । म सेनाध्यक्ष आथर्वणले पनि सबैप्रति मित्रवत् व्यवहार गरूँ ।
यसरी हामीले परस्परमा मित्रभाव बनाई राखौँ । तर यदि कसैले हामीसँग द्वेषभाव राख्यो, या हामीलाई बदनाम गर्‍यो या हामीमाथि धाक जमायो भने केन्द्रमा बसेका तिमी सेनाध्यक्षले ती सबैलाई भस्म पार । 
८. अथर्ववेदमा राष्ट्र विषयक चिन्तन
यद्यपि अथर्ववेदमा शान्ति, पुष्टि र अभिचारमूलक मन्त्रहरूको बाहुल्य छ भनिन्छ । विद्वान्हरू भन्छन् – अथर्ववेद रहस्य विद्या, तत्त्वज्ञान र जनकल्याणकारी कर्मको विद्या हो । यसको जनकल्याणकारी पक्षभित्र राष्ट्रविषयक चिन्तन पनि एक पक्ष हो । अर्थात्, राष्ट्रचिन्तनका दृष्टिले अथर्ववेद अत्यन्त उत्कृष्ट मानिन्छ । अथर्ववेदमा राजा अथवा शासकलाई देवताको स्वरूप मानिएको छ । शासकका सन्दर्भमा यस वेदमा राजाको कर्तव्य, राज्यको कर्तव्य, राज्यका भेद,  उत्तम राजाका गुण, राजाबाट गरिनुपर्ने व्यवहार, राजस्व, राजसभा, गाउँ समितिहरू,  स्वराष्ट्र शासन,  अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्र, क्षेत्र, विश, विश्पति, संसद् र गाउँसभा आदिको विकीर्ण वर्णन पाइन्छ । 
मातृभूमिको परिकल्पना अथर्ववेदमै पहिलो पटक गरिएको देखिन्छ । यस्तो कल्पना अथर्ववेदको पृथ्वीसूक्तमा देखा पर्छ । ‘माता भूमि, पुत्रोहं पृथिव्याः’ (मन्त्र १२, पृथिवी सूक्त) लाई राष्ट्रभक्तिको चरम अभिव्यक्ति मान्न सकिन्छ । हाम्रा राष्ट्रकवि माधव घिमिरेले यसैमा आधारित रहेर लेखे– ‘म पुत्र तिम्रो तिमी धर्तीमाता, अटुट माटो मुटुको छ नाता’ । एउटा बालकको आफ्नी आमासँग जस्तो सम्बन्ध हुन्छ,  हाम्रो पनि क्षमाशील जननी पृथिवीसँग त्यस्तै सम्बन्ध छ । पृथिवी माताको हृदय अमृतले भरिएको छ । यस्तो अमृत रस ती परमपिता परमात्माले दिएका हुन्, जुन समस्त विश्वब्रहृमाणमा फैलिएर रहेको छ । यसरी अथर्ववेदले राष्ट्रिय चिन्तनसँगसँगै विश्वचिन्तन अझ वसुधैव कुटुम्बकम्को भावनालाई समेत समाहित गरेको देखिन्छ । पृथिवी माताको मनुष्यप्रतिको कल्याणकर्मलाई उच्च महत्त्व दिँदै त्यसप्रतिको चरम कृतज्ञताको भाव नै पृथिवीसूक्तको मूलमर्म हो । अहिले संसारमा प्रकृतिप्रति देखाइने यस्तो कृतज्ञताको भावनाको खडेरी लागेको छ र यसैका कारण अनेकौँ विपत्तिहरू आइपरेका छन् ।
अथर्ववेदमा राष्ट्रको उत्पत्ति परमात्माबाट भएको कुरा बताइएको छ । राष्ट्रको स्थितिलाई सुदृढ र सुसम्पन्न बनाउन आवश्यक पर्ने नीतिहरूको विश्लेषण अथर्ववेदका अनेकौँ मन्त्रहरूमा गरिएको छ । राज्यमा सत्यकर्मी, सत्यज्ञानी,  जितेन्द्रिय,  ईश्वर र विद्वान्प्रति प्रेम राख्ने चतुर व्यक्तिहरूको खाँचो रहने कुरा यसमा बताइएको छ । यसको अभिप्राय हो, राष्ट्रलाई बलियो बनाउनका लागि उपरोक्त गुणहरू धारण गर्ने व्यक्ति हुनु अत्यावश्यक छ । जनताको तेजस्विता, वीरता, शौर्य,  श्रेष्ठ चरित्र र पुरुषार्थमै राष्ट्रको गौरव टिक्ने गर्छ र शासक अनि प्रजा दुवैको पारस्परिक सहयोगबाट राष्ट्रको अभ्युदय हुन्छ । 
अथर्ववेद भन्छ–  त्यही राष्ट्र उत्तम हो, जसमा नाना वर्ण,  जाति र धर्मका मानिसहरू एउटै परिवारका सदस्यझैँ मिलेर बसेका हुन्छन् (अथर्ववेद, १२/१/१५) । जुन राष्ट्रको समाज आफ्ना आत्मघाती दोषहरूलाई त्यागेर कृषि, वाणिज्य र उद्योगका क्षेत्रमा पुरुषार्थपूर्वक प्रवृत्त हुन्छ, त्यस्तो राष्ट्र सदैव श्रीसम्पन्न हुन्छ । अथर्ववेदमा देखापर्ने राष्ट्रपरक थप प्रसङ्गहरू निम्न छन्–
हे नागरिकहरू हो ! यस राष्ट्रको रक्षा गर । हे नागरिकहरू हो ! तिमीहरू सबै यस राष्ट्रमा सदा जाग्रत् (सावधान) रहू ।  गाईहरूको, मनुष्यहरूको र सम्पूर्ण संसारकै कल्याण होस् । हाम्रो विश्व ऐश्वर्यसम्पन्न, विवेकयुक्त र ज्ञानले परिपूर्ण होस् । इन्द्रको वज्रले राक्षसहरूलाई नष्ट पारोस् । राजाको अस्त्रशस्त्रले दुष्टहरूलाई समूल नष्ट पारिदेओस् । हे परम ऐश्वर्यशाली राजन् ! श्रद्धा र प्रेमरूपी हाम्रो आत्मसमर्पणलाई प्रेमपूर्वक कदर गरिदेऊ र हामीलाई अभीष्ट फल देऊ । हे जीव ! तँ आफ्नो शरीररूपी राष्ट्रमा आलस्य र प्रमादरहित बनेर सधैँ सावधान बनिराख् । खेत जोत्ने हली र किसानहरूलाई नमस्कार छ । हे मनुष्य ! तँ दूषित क्रिया र दोषहरूलाई नष्ट पार्न समर्थ छस् । हे मानव ! तँ वज्रको पनि वज्र होस् । हे मनुष्य ! तैँले आफूसमानका सबैलाई जितेर कल्याण प्राप्त गर् । हे मनुष्य ! तँ प्रगतिशील छस् र विरोधहरूका बीच पनि अगाडि बढ्न सक्छस् । संसारको कुनै पनि प्राणी भोको र प्यासो नरहोस् ।
९. वैदिक संस्कृतिमा पाइने राष्ट्र–चिन्तनको सारतत्त्व
वैदिक कालमा व्यवस्थाको प्रमुख राजालाई मानिएको देखिन्छ । राजा सर्वेसर्वा हुने राजतन्त्रको शैलीमा होस् अथवा प्रजातन्त्रको शैलीमा होस्, यसको प्रमुखलाई राजा भनिन्थ्यो । राजतन्त्रको अर्थ हो– जसमा राजा आनुवंशिक हुन्छ र राजा तथा उसको तन्त्र अर्थात् अधिकारी र कर्मचारीहरूको प्रधानता हुन्छ । यस तन्त्रमा प्रजाको आवाज गौण हुन्छ । जनताको सुख सुविधामा कम ध्यान दिइन्छ । प्रजातन्त्रको अर्थ हो– जसमा राजा प्रजाहरूबाटै चुनिन्छ र उसले प्रजाहरूको सुख सुविधामा पनि उत्तिकै ध्यान दिन्छ, जति आफ्नो वा आफ्नो तन्त्रका बारेमा चिन्तन गर्छ । वैदिक कालमा राजा निरङ्कुश नभएर प्रजाबाट अनुमोदित एवं स्वीकृत व्यक्ति नै हुने गथ्र्यो । तसर्थ त्यहाँ राजालाई परमात्माको प्रतिनिधि मानिएको छ । अर्थात् उसलाई परमात्मासमान न्यायकर्ता, प्रजाको सुखदुःखको द्रष्टा मानिएको छ । प्रजाहरूका अभाव र दुःख हटाएर, उनीहरूका लागि धेरैभन्दा धेरै सुख सुविधाको जुगाड गरेर राजाले आफ्नो देशलाई समृद्ध बनाउने प्रयास गर्नुपर्छ । उसले आफूलाई आफ्ना प्रजाहरूको शासक नमानेर मातापितासदृश आफ्ना हितहरूको उपेक्षा गरी प्रजाहरूको हितका लागि सबै कुरा त्याग गर्न उद्यत रहनु पर्छ । त्यसै कारण वेदका अधिकांश मन्त्रहरूको सामाजिक अथवा आधिभौतिक अर्थ गर्दै राजापरक अर्थ गर्ने गरिएको छ, जसको आध्यात्मिक या आधिदैविक दृष्टिले परमात्मापरक अर्थ गरिन्छ । त्यसैले परमात्माको प्रतिनिधि अर्थात् राजा वा शासकका बारेमा वेदले भन्छ– राजा सबै दृष्टिले मङ्गलकारी र मङ्गलकामी हुनुपर्छ,  जसबाट प्रजाहरू सधैँ उसकै प्रजा बन्न चाहून् र उसको शासनकालमा राष्ट्रको कुनै पनि किसिमले अवनति या पतन नहोस् । 
राजालाई परमात्माको अंश या प्रतिनिधि मान्नुको अनिवार्य सङ्केत के हो भने यदि राजाले आफ्ना कर्तव्यहरूको त्याग गरेर आफ्ना या आफ्नाहरूको स्वार्थसाधनमा लाग्यो भने उसलाई पदच्युत गरेर नयाँ नियुक्ति गर्ने व्यवस्था त्यतिखेर विद्यमान थियो । यसले वैदिक गणतन्त्रात्मक व्यवस्थातिर संकेत गर्छ । वेदमा भनिएको छ– जहिलेसम्म प्रजा सन्तुष्ट रहन्छन्, तहिलेसम्म राजाको प्रतिष्ठा रहन्छ । अथर्ववेदमा पनि एक प्रसङ्गमा यस्तै कुरा बताइएको छ । यस मन्त्रमा भनिएको छ– यदि राजतन्त्रको राजा हो भने मृत्युपर्यन्त अथवा शासनसामथ्र्यको अवस्थासम्म र यदि प्रजातन्त्रको राजा हो भने आफ्नो पूर्ण अवधितक पर्वतजस्तै अविचलित रहेर राष्ट्रको धारण गरिरहोस्, यस पदबाट आफ्नो अवधि नपुग्दै च्युत नहोस् । 
प्राचीनकालमा राजा सार्वभौम अर्थात् सर्वाधिकारसम्पन्न हुन्थ्यो । शासनका प्रत्येक विभागमा उसको इच्छा नै सर्वोपरि हुन्थ्यो । तर विस्तारै प्रधानन्यायाधीश, प्रधानसेनापति, संसद्को अध्यक्ष, मन्त्रीहरू आदि बनाएर राजालाई अनेक रूपमा विभक्त गरियो । शासकका के कस्ता गुण हुनुपर्छ र कस्तोलाई शासक बनाउनु पर्छ भन्नेबारेमा वेदमा बताइएका केही कुरा यस्ता छन्–
१. सबै मनुष्यहरूका लागि के कुरा उचित छ भने सुपात्रहरूलाई दान दिने, धनको अपव्यय नगर्ने, सबैलाई विद्याबुद्धि दिने, इन्द्रियलाई वशमा राखेको, योगका सबै अङ्गहरूको सेवनले प्रकाशमान्, सूर्यजस्तै शुभ गुण–कर्म र स्वभावले सुशोभित र पिताले जस्तै प्रजाहरूको पालन गर्ने व्यक्तिलाई राज्य गर्नका लागि स्थापित वा अभिषिक्त गर्नुपर्छ ।  
२. हे प्रजाहरू हो ! जो विद्वान् मातापिताद्वारा सुशिक्षित, कुलीन, उत्तम गुण–कर्म–स्वभावयुक्त, जितेन्द्रिय, ४८ वर्षसम्म ब्रह्मचर्य पालनद्वारा सुशिक्षित, सुशील, शरीर र आत्माद्वारा पूर्ण सबल, धर्मपूर्वक प्रजापालक, प्रेमल र विद्वान् छ, त्यस्तो राजालाई सभापति मानेर चक्रवर्ती राज्यको सेवन गर । 
३. पारङ्गत विद्वान्हरूमा जसले ४८ वर्षसम्म ब्रह्मचर्य व्रत पालन गरेको छ, त्यस्तो विद्वान् पुरुषलाई राजा स्वीकार गरेर सच्चा नीतिलाई बढावा दिनुपर्छ । यस मन्त्रबाट सामान्यतया राजाको नियुक्ति पचास वर्षभन्दा कम आयुमा हुनु हुँदैन भन्ने निष्कर्ष निस्किन्छ ।
४. जुन राजाले वरुणजस्तै न्यायकर्ता बनेर प्रजाहरूको पालन गर्छ, ऊ शुभ सङ्कल्प, सुमति र सत्कर्मद्वारा साम्राज्य सञ्चालन गर्न निकै लामो समयसम्म सिंहासनमा आरूढ हुन सक्छ ।   
५. हे राजन् ! तपाईँले झैँ कसैले पनि प्रजालाई सुख दिन सक्दैन । यो कुरा म सत्य भन्दैछु र म चाहन्छु, तपाईका बारेमा सधै यस्तै कुरा गर्न पाइयोस् । 
६. जसरी जीवले आफ्नो र शरीरको प्रेमपूर्वक रक्षा गर्छ, जसरी राजाले प्रजाको पालन गर्छ, जसरी सूर्यले वायु र विद्युत्लाई एकत्रित गरेर जलवर्षणद्वारा सबैलाई सुखी तुल्याउँछ, त्यसैगरी राजाले युद्ध साधनहरूको सम्पादन गरेर र शत्रुहरूको संहार गरेर प्रजाहरूलाई सुख दिनका निमित्त धर्मात्माहरूलाई अभय र दुष्टहरूलाई भय प्रदान गरोस् । 
७. ईश्वर जसरी पक्षपातशून्य सबैको सुहृद छ, त्यसैगरी सभापति धर्मानुवर्ती राजा बनेर प्रशंसनीयको प्रशंसा, निन्दनीयको निन्दा, दुष्टलाई दण्ड र श्रेष्ठको रक्षा गरी सबैको अभीष्ट सिद्ध गरोस् ।
८. जसको बोली सधैँ सत्य हुन्छ, उही राजा हुन लायक हुन्छ । जहिलेसम्म यस्तो हुन सक्दैन, तहिलेसम्म राजकर्मचारी र प्रजाजन विश्वस्त भएर पारस्परिक सुखलाई बढाउन सक्दैनन् ।
राष्ट्रको व्यवस्थालाई सुचारु रूपमा चलाउनका लागि अर्थको आवश्यकता पर्छ । यस्तो अर्थव्यवस्था कराधानबाट गर्ने गरिन्छ अर्थात् शासकले प्रजामाथि अनेकौँ करहरू लगाएर राष्ट्रिय आय वृद्धि गर्छ । यजुर्वेदका मन्त्रहरूमा स्पष्ट रूपमा कुनै पनि किसिमका करहरूको वर्णन गरिएको पाइँदैन । तर स्वामी दयानन्द सरस्वतीले आफ्नो वेदभाष्यमा मन्त्रहरूको भावार्थ लेख्ने क्रममा प्रायः सबै किसिमका करहरूको चर्चा गरेका छन् । राज्यव्यवस्थामा रहने प्रजाजनले आफ्ना पदार्थको कर चुकाऊन् र राजाले प्रजाको रक्षाका निमित्त दुष्ट जीव र मनुष्यहरूलाई दण्ड दिएर प्रजाधर्ममा प्रवृत्त गरून् । सायद त्यतिखेर अहिले जस्तो करको दायरा निकै विस्तृत र विविधतापूर्ण थिएन होला । त्यसैले त्यहाँ करको विस्तृत विवरण नदिइएको अनुमान गर्न सकिन्छ । तापनि वेदमा वर्णित करभित्र अहिले प्रचलित सबै किसिमका करहरू आयकर, धनकर, चुङ्गीकर, आयात–निर्यात कर, उत्पादन कर र कृषिकर आदिलाई परिगणित गर्न सकिन्छ । करका बारेमा वेदमा भनिएको छ–
    राजकर्मचारीलाई समस्त पदार्थहरूको यथायोग्य भाग दिनु प्रजाको कर्तव्य हो ।  जो राजपुरुषहरूले हामीसँग कर लिन्छन्, उनीहरूले निरन्तर हाम्रो रक्षा गरून् । यदि यसो गर्न सक्दैनन् भने उनीहरू कर नलेऊन् र हामीले पनि उनीहरूलाई कर दिँदैनौँ । 
राजकर्मचारीले अनीतिपूर्वक प्रजाहरूसँग कर नलेऊन्, बरू हामीले सधैँ तिमीहरूको रक्षा गर्छौँ भन्ने प्रतिज्ञा गरून् र दुष्टलाई दण्ड देऊन् ।  
१०. निष्कर्ष 
यस आलेखमा वैदिक संस्कृतिको आधाररूप वैदिक वाङ्मयमा देखापर्ने राष्ट्रचिन्तनको परिशीलन गर्ने प्रयास गरियो । विशाल वैदिक वाङ्मयभित्र डुबुल्की मारेर यससम्बन्धी समग्र चिन्तनको विश्लेषण गर्नु निकै कष्टसाध्य कुरा हो र त्यो कुरा यति सानो लेखमा सम्भव पनि छैन । वैदिक वाङ्मयमा विकीर्ण रूपमा देखापर्ने राष्ट्रपरक सन्दर्भहरूको गम्भीर आलोडन गर्ने हो एउटा विशिष्ट शोधग्रन्थ नै तयार हुन सक्छ । 
यहाँ गरिएको परिशीलनबाट राष्ट्र, राष्ट्रियता, राष्ट्रभक्ति र राष्ट्रवादसम्बन्धी जे–जस्ता चिन्तनहरू आज समग्र विश्वमा प्रचलित देखिन्छन्, तिनको मूलस्वरूप वैदिक संस्कृतिमा फेला पर्ने देखिन्छ । वैदिक संस्कृतिअनुसार राष्ट्र भनेकै त्यहाँ बस्ने नागरिकहरूबीचको आपसी भाइचारा, सहअस्तित्त्व र सहकार्यबाट सृजित हुने भावनात्मक सम्बन्ध हो र यस्तो सम्बन्धलाई कसरी सुरक्षित र सुदृढ तुल्याउन सकिन्छ भनेर चिन्तन गर्नु शासकहरूको कर्तव्य हो । जनता निर्भयतापूर्वक आफ्नो भौतिक एवं आध्यात्मिक उन्नतिमा लाग्न पाउने वातावरण बनाउनुलाई नै वैदिक संस्कृतिमा आदर्श राष्ट्रव्यवस्था मानिएको छ । राष्ट्रभित्र बस्ने सबैले धर्म, अर्थ, काम र मोक्षका उपायहरूको बिना अवरोध साधना गर्न पाउने यथोचित चाँजोपाँजो मिलाउनु नै वैदिक संस्कृतिमा राष्ट्रधर्मको मूल अभिप्राय देखिन्छ । वैदिक संस्कृतिअनुसार राष्ट्रिय कार्यकारीशक्ति धारण गर्ने व्यक्ति नववृत (नयाँ चुनिएको) वा आनुवंश्य (वंशपरम्परागत) जो पनि हुन सक्छ । यस्तो व्यक्तिले आफूमा निहित शक्तिलाई सज्जन एवं राष्ट्रभक्तहरूको रक्षा र दुर्जन एवं राष्ट्रविरोधीहरूको नियन्त्रणमा लगाउनु आवश्यक हुन्छ ।     

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल संस्कृत विश्वविद्यालयमा धर्मशास्त्रका प्राध्यापक साथै सेवा आयोग सदस्य  


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १६, २०७३  ०१:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC