विराटनगर । अनियमितता गरेको आशंकामा प्रदेश १ मा असार मध्यतिर सुरु भइ असार ३० मा सम्पन्न मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको विषयमा सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको छ ।
समितिको बिहीबार प्रदेशसभामा बसेको बैठकले असार ३० मा सम्पन्न भएको मुख्यमन्त्री खेलकुद कपमा खर्च गर्दा अनियमितता भए नभएको भन्ने विषयम छानबिन गर्ने निर्णय भएको समितिका सभापति शिवनारायण सिंह गन्गाईले जानकारी दिएका छन् । उनले भने,‘‘सदनमा उठेका र समितिमै निवदेन परेका विषयमा छानबिन गर्न लागेका हौं ।’’ उनले सदनमा सांसदहरुले उठाएको विषयलाई समेत समितिले गम्भीर रुपमा लिएको बताए ।
बैठकले प्रदेश नम्बर १ मा सम्पन्न भएको प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा प्रक्रियागत त्रुटी भएको भन्ने विषय सदनमा समेत आवाज उठेकोले उक्त खेलकुद समितिका संयोजक किरण राईलाई आवश्यक खर्चको विवरणसहित अर्को बैठकमा उपस्थित हुन निर्देशन दिएको छ । राई अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य तथा प्रवक्ता हुन ।
मुख्यमन्त्री कप फुटबल प्रतियोगिता असार १६ गते सुरु भई यसको फाइनल खेल असार ३० गते सम्पन्न भएको थियो । खासगरी ‘असार महिनाको मध्यमा बजेट सक्नका लागि प्रतिस्पर्धा आयोजना भएको’ भन्ने टिप्प्णीमाझ प्रतियोगिता सम्पन्न भएको थियो । यसका लागि प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले एक करोड बजेट विनियोजन गरेको थियो । एन्फाले ३३ लाख छुट्याएको थियो । एन्फा केन्द्रीय सदस्य राईले प्रतियोगिता गर्ने सिजनको विषयमा अर्को पटक भने विचार गरिने बाह्रखरीसँग बताएका छन् ।
मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा ‘ठूलो आर्थिक चलखेल र अनियमितता भएको’ भन्दै कांग्रेस सचेतक सूयर्माराज राईले सदनमै प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । लेखा समिति संयोजक गन्गाईले भने,‘‘छोटो अवधिमा निकै ठूलो बजेट खर्च भएको प्रतियोगिताबारे टिकाटिप्पणी भएपछि हामीले यसबारे छानबिन गर्न लागेका हौं ।’’
प्रतियोगितामा समेल तेह्रथुमका खेलाडीले प्रतियोगितामा ‘अनियमित तवरले चाहेको टिमलाई जिताउने काम भएको’ भन्दै असन्तुष्टि जनाएको थियो । समितिले पूर्वपश्चिम राजमार्गको विभिन्न खण्डमा संघीय सरकार मातहतको सडक मर्मतका नाममा कालोपत्रे गर्दा समेत ‘अनियमितता भई गुणस्तरहीन काम भएको’ भन्ने समितिमा निवेदन परेकोले त्यसबारे पनि बुझ्न आगामी साउन १७ गते बस्ने बैठकमा संघीय सरकारको सडक डिभिजन कार्यालय मोरङका प्रमुखलाई बोलाउने निर्णय गरेको छ ।
बुढीखोला, गछिया पुलमा भएको कालोपत्रे भत्किएको तथा गछिया खोलादेखि खोसार्नेसम्म कालोपत्रे गरेको पूर्वपश्चिम राजमार्गमै ठूलाठूला खाल्डा परेकोले गुणस्तरहीन काम भएको सदनमा समेत आवाज उठेको समितिले जनाएको छ । यो कामबारे बुझ्न र छानबिन गर्न प्रदेश सांसदले निवेदन दिएको समितिका अध्यक्ष गन्गाईंले बताएका छन । समितिले असार २३ गते आयोजना गरेको अन्तरक्रियात्मक गोष्ठीबारे पनि बैठकमा समीक्षा गरिएको छ ।