‘कोरियाना’ र शब्दको यात्रा

‘कोरियाना’ र शब्दको यात्रा

– भरत ढुंगाना


आँखाका अघिल्तिर थिए, बाटोजस्तै अक्षरहरू । थाहा थिएन तिनीहरूसँग आस्था जोडिने हो कि होइन ! के थाहा— मन नपरे आधा पढेर पनि छोड्न सकिन्थ्यो । तर, जोडियो आस्था । मोडिए आँखा पन्नातिर । शायद पुग्न नसकिने कति ठाउँमा अक्षरले पुर्‍याउँछन् । र, न भयो मनभित्र नयाँ अनुभूति !

अनुमान लगाएझैं शब्दभित्र निहित काव्यिकता सुन्दर लाग्थ्यो । पुस्तकमा छरिएका अक्षरहरू समय–असमय मनमा तरंग लिई आउँथे ।

“सिरेटो हरेक शहरको मौलिक सम्पदा हुन्छ, जसलाई रैथाने लवज, स्थानविशेषको बनोट र विमान वा वायुपंखी चराहरूले काट्ने वेगहरूको बान्कीले बनाएको हुन्छ ।”

एकातिर समय हुन्छ, समयसँगै भोगाइहरू हुन्छन् र भोगाइ जीवनको अनुभूति बन्छ । एउटा लेखक यात्राका अनुभूतिहरूलाई पुस्तकमा रुपान्तरित गर्छ अनि कोही पढेर त्यही संसार निर्माण गर्छ । कस्तो असामञ्जस्य सम्बन्धमा रहन्छ लेखक ! शायद त्यही असामञ्जस्यताका कारण पाठकलाई भुलेर अनावश्यक ठट्टा पनि गर्छ लेखक । हुन त यो पुस्तकको अन्तर्यले पढूँ–पढूँको भावमा नै पाठकलाई अगाडि लैजान्छ ।

यात्रा, प्रेम, सम्झना, समाज र राजनीति सबै पक्ष सटिक रूपमा पुस्तकका विषयवस्तु बनेका छन् । त्यतिमात्र होइन, विकसित समाजका आजका समस्याहरू पनि यहाँ पढ्न पाइन्छ । जस्तोः ‘निश्चल निद्रा आज संसारको सबैभन्दा लोपोन्मुख परिघटना हो ।’ आज विकसित भनिएको समाजको बाटो कता हो ? अनि विकास र विनाशको दूरी कति हो ? सवालहरू पनि तत्कालै उठिसक्छन् ।

कुनै पनि नयाँ कुरामा मान्छे उत्साहित हुन्छ । शायद यात्राको त्यही उत्साह लेखकले लेखिसकेर मात्र सकिएन किनकि पाठकको रूपमा म पनि उत्ति नै उत्साहित हुन्थें पढिरहँदा । परिघटनाहरू भोगिरहँदा जसरी रोमाञ्चित हुन्थे लेखक, त्यसरी नै पढिरहँदा म पनि रोमाञ्चित हुन्थें ।

यो अनन्त दुनियाँ, यो दुनियाँका उपर हाम्रो आफ्नै दृष्टि हुन्छ र त्यो स्वायत्त दृष्टि जब कुनै माध्यमबाट प्रकटित हुन्छ, तब त्यो मत अस्तित्वगत तथ्य बन्छ । त्यतिमात्रै के, संसारका सयौं मान्छेहरूको साझा मान्यता पनि बन्न सक्छ । अनि प्रमाणहरू पनि त छन् नि ! यो दुनियाँमा प्रचलित वादहरू के एक–एक व्यक्तिका दृष्टिकोणहरू होइनन् ?

पुस्तक पढिरहँदा लेखकका मतहरू आफ्नै मनको आवाजझैं लाग्थे । जस्तो किः “कहिलेकाहीँ आँखाले हेर्न पनि सोध्नू । यस्तै बेला महसुस हुन्छ– अरूका आँखामात्र राम्ररी पढ्न सक्ने भए मैले विश्व धेरै बुझ्न पाउने थिएँ ।”

हर कुराको एउटा लय हुन्छ, ताल हुन्छ, गति र फैलावट पनि । कफीगफको पनि सुन्दर लय किताबको सुन्दर लाग्ने पक्ष हो । किनकि, भोगाइका हर उतारचढावलाई सुन्दर ढंगले पुस्तकमा समावेश गरिएको छ । जसअनुसार— “डसना विगत हो भने सिरक आगत । हामी फगत तथागत ।” समयको वहावमा मान्छेको नियतिको एउटा ठूलो भाग कहिलेकाहीँ छोटा वाक्यहरूले समेट्न सक्छन्, जसको प्रमाणमा माथिका वाक्यलाई लिन सकिन्छ ।

संसारमा मान्छेमात्र यस्तो प्राणी हो, जो कुनै न कुनै रूपमा आफ्नो आदर्श र मान्यता अरूमाथि लाद्न खोज्छ र चाहन्छ । र, यो शाश्वत स्वभावलाई पूरा गर्न मान्छे जीवनपर्यन्त लागिरहन्छ । शायद त्यही भएर सबै मान्छे आफूअनुरूपको सत्ता खोज्छ । अनि के पुस्तक पढ्नु पनि सत्ताकै खोज हो ? भन्न त भन्छन् ज्ञानीहरू कि संसारमा गरिने सबै कृत्यमा मान्छे आफ्नो अहमको रक्षा गर्न चाहन्छ । त्यसकारण अहम पनि कुनै न कुनै रूपमा अस्तित्वकै विम्ब हुनुपर्छ । अहम, आदर्श र अस्तित्वको खोजमा मान्छे सिर्जनीशल वा हिंस्रक बन्छ ।

कविहरू कविता लेख्छन्, समालोचकहरू समालोचना गर्छन् । तर, ‘कोरियाना’का लेखक भने सटिक रूपमा कवि र काव्यविम्बउपर छोटै हरफमा सुन्दर आलोचना प्रस्तुत गर्न भ्याउँछन् ।

“उनीहरू चराको निहुँमा हामीसँग किन निहुँ खोज्छन् ?”

“कविहरू कविताको शक्ति प्रयोग गर्दै हामीमाथि अन्धविश्वास लाद्न खोज्छन् भने हामी एक स्वरमा कराउनुपर्छ । प्रतिवाद गर्नुपर्छ ।”

समाज, राजनीति, साहित्य र तिनका विभिन्न पक्षहरूको चित्रण पनि ‘कोरियाना’भित्र भेटिन्छ । 

पुस्तक पढ्दै जादाँ कताकता अनियन्त्रित प्रवाहमय शैली पाइन्छ । म कुन विधाको पुस्तक पढिरहेको छु भनेर समय–समयमा अन्योलसमेत पैदा हुन्छ । तथापि विषयवस्तुले खिच्न भने छोड्दैन । किनकि, बोटविरुवाको संवेदनामाथि पनि सुन्दर शब्दमार्फत लेखक यसरी प्रस्तुत हुन्छन्—

“हामी रुखपात हुर्काउँछौं, काट्छौं, कुर्सी बनाउँछौं, ढोका ठड्याउँछौं, दलान हाल्छौं । उसकै छातीलाई टेबल बनाएर उसैमाथि कम्प्युटर राखीवरि उसकै कथा लेख्छौं । उसको दृष्टिमा मानिस अत्यन्त चतुर, अधैर्य र स्वार्थी हुनुपर्छ ।”

जीवन, जगत् र यहाँका विविध रहस्यहरू अनि मान्छेको जिज्ञासु स्वभाव— हामी आजको क्षणसम्म आइपुग्न यिनै तत्वहरूले आधारभूत रूपमा काम गरेका छन् । र, यिनै तत्वहरूले समाजलाई निरन्तर अगाडि पनि लैजान्छन् ।

दुनियाँमा कति धेरै मान्छेहरू अक्षरमा जीवित छन् आज र रहिरहनेछन् भोलि पनि । त्यसकारण संसारमा अक्षरहरू पनि महत्वपूर्ण छन् । शायद त्यसैले हुनुपर्छ— अक्षरहरूको महत्वमाथि पनि बोल्छ ‘कोरियाना’—

“अक्षरहरू हाम्रा क्षणका साक्षात् प्रमाण हुन् । कति त भन्छन्– म लेख्छु किनभने नत्र जिन्दगीका दुःख सम्झेर टोलाइरहने थिएँ ।”

त्यतिमात्र होइन, अक्षरहरू त इतिहासका निशानी पनि हुन्, जहाँ अटाएका हुन्छन्— ठूला– ठूला सभ्यताका कथाहरू पनि ।

यात्रा आफैंमा बहुआयामिक हुन्छ किनकि यात्राका माध्यमबाट नै मान्छेले कुनै परिवेशको खास यथार्थ पत्ता लगाउँछ । दुनियाँका अनौठा र आवश्यक तथ्यहरूको खोजी पनि यात्राका माध्यमबाट गर्न सकिन्छ । त्यसकारण यात्रासँग सम्बन्धित पुस्तकहरू तत्कालीन समाज, मानव जीवन, सामाजिक विकास र त्यहाँ उपभोग भइरहेको विज्ञान–प्रविधि र त्यसबाट उत्पन्न संवेदनहीनताका बारेमा बोल्छन् । ‘कोरियाना’ पनि यी विषयमा आफ्ना मत प्रकट गर्छ—

“आज हाम्रा हाँसो, ठट्टा, वेदना, उच्छवास, उमंगसहित सबै मनोभावका स्टिकरहरू बनिसकेका छन् । मनोभाव अनुहारमा आउनु पर्दैन, न आँखामा— औंलाले नै फत्ते गरिदिन्छ, स्टिकरले ।”

खासमा जगतका कुरा, जगत यानेकि संसारका कुरा, संसारमा आज भइरहेका गतिविधिहरू— मान्छे र मानवता, प्रेम र अस्तित्व, समाज र राजनीति र तिनकै वरिपरि  भइरहेका विकास र विनाश, युद्घ, वातावरण परिवर्तन थोरबहुत सबै पक्ष यो पुस्तकका खुराक बनेका छन् ।

संसारको व्यापकता, मान्छेको उत्सुकता र विवेकको योगमा शायद मान्छे यात्री बन्छ । यात्राकै प्रतिफलस्वरूप आज हामीले देख्न, सुन्न र भोग्न पाइराखेका छौं । तर, सबै संसारको सबै यात्रा सबै मान्छेले गर्न सक्दैन । यसर्थ मान्छे पुस्तक पढेर पनि यात्राका बाँकी प्यास मेटाउन चहान्छ । त्यस्तै प्यास मेटाइदियो ‘कोरियाना’ले । आफूसँगै हामीलाई पनि यात्रामा डोर्‍याउने नारायण वाग्लेलाई धन्यवाद !

प्रतिकृया दिनुहोस
ad