नयाँ दिल्ली । भारतमा निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामा छातीमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।
उनको एक्कासी छातीमा समस्या देखिएपछि मंगलबार राति नयाँ दिल्लीस्थित एक अस्पतालमा भर्ना गरिएको सिएनएनले जनाएको छ । उनलाई थप दुई दिन अस्पतालमै राखिने भएको छ ।
नयाँ दिल्लीमा युवाहरुसँगको एक छलफलपछि घर फर्किएका लामाको छातिमा समस्या देखिएको थियो । अहिले उनको स्वास्थ्यमा सुधार आइरहेको लामाका निजी प्रवक्ता तेन्जिन ताक्लाले सिएनएनलाई बताएका छन् ।
प्रवक्ता ताक्लाका अनुसार लामालाई स्वास्थ्यमा केही अप्ठ्यारो महसुस भएपछि विमानमार्फत् हिमाँचल राज्यको धर्मशालाबाट दिल्ली ल्याइएको थियो । उनले भारतलाई नै आफ्नो घर बनाएका छन् भने भारतले उनलाई एक विशिष्ट पाहुनाको रुपमा सम्मान गरेको छ ।
दलाई लामा नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत व्यक्तित्व समेत हुन् । एजेन्सी