site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बारा विपत्तिः फेरि यस्तो कथा लेख्न नपरोस्

दृश्य एक
\"\"‘सबै बर्बाद भयो । यस्तो विपत्ति कहिल्यै देखेका थिएनौं । सरकारले के गर्छ होला ?’ आइतबार साँझ आएको विनासकारी हुरीको स्थलगत रिपोर्टिङ गर्न बाराको परवानीपुर–४ चैनपुरमा पुग्दा ५७ वर्षीय उदय पटेलले जिज्ञासा राखे । अर्को प्रश्न आयो भीडबाट– भारतमा भएको भए त अहिलेसम्म के–के भैसक्थ्यो ! मैले उनको परिचय मागिनँ तर यत्ति भन्न सकें– सरकारले केही गर्छ होला । त्यसपछि उदय पटेलले आइतबार साँझको आधीको भोगाइ सुनाए । उनको भोगाइ र वर्णन गरेको दृश्यले ०७२ वैशाखको भूकम्प सम्झाइरहेको थियो । 

मानवीय क्षति चैनपुरमा भएको थिएन तर भौतिक संरचना भने ध्वस्त । बिजुलीका पोलहरु ढलेका, घर भत्किएका, पक्की घर चर्किएका । अझ ३० भन्दा बढी मालवाहक ट्रक तथा बस उडेर एक स्थानबाट अर्को स्थानमा पुगेको दृश्य कुनै साउथ इन्डियन एक्सन फिल्मको जस्तो लाग्थ्यो । 

पीडितहरुसँग कुराकानी गर्न भाषाको समस्या भइरहेको थियो । उनीहरुलाई नेपाली बुझ्न गाह्रो पथ्यो, आफूलाई भोजपुरी र मैथिली बुझ्न । पटेलले भने नेपाली बुझ््न सक्थे तर उनलाई काममा जान हतारो थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

भत्किएका घरहरु हेरौं न एकछिन भन्ने मेरो आग्रह स्वीकारे उनले र एकपछि अर्को घरमा लैजान थाले । बीचमा मैले प्रश्न गरें, पटेलजी, आँधीहुरी आउँदा कस्तो कस्तो भयो ? उनले जवाफ फर्काए, ‘कुरै नगर्नुस् हजुर, बादल गर्जिन थाल्यो, असिना बर्सिन थाल्यो । २ मिनेटमै घर भत्किन थाले । भागाभाग, चिच्याहट ! विदेशीले बम बर्साएजस्तो । लाग्यो, जिन्दगीको अन्तिम पल यहि हो । यस्तो प्रलय कहिल्यै देखेको थिइनँ ।’ 

पटेलले मलाई चैनपुर डुलाउँदै गर्दा पीडितहरु आफ्नो घर हेरिदिन र डायरीमा नाम टिपिदिन तानातान गरिरहेका थिए । मानौं, म सरकारको प्रतिनिधि हुँ र उनीहरुको समस्या हल गरिदिन्छु । मैले सबैका कुरा सुनें र डायरीमा टिपेँ । उनीहरुले सोधे– यो कुन चैनलमा आउँछ ? ‘बाह्रखरी डटकम अनलाइनमा’ मैले भने । उनीहरुले कुरा बुझेनन् सायद । भने– बिजुली छैन केमा हेर्नु ! जेहोस् हाम्रो कुरा राम्रोसँग भन्दिनुस् है । 

Global Ime bank

दृश्य दुई
\"\"चैनपुरबाट हामीले फेटा गाउँपालिका–१ भरवलियामा जाने योजना बनायौं । बाटो पहिल्याउँदै पुगियो, फेटा–गाउँपालिका–१ मा । त्यहाँ दलित बस्ती रहेछ । सानो एउटा टोल पूरै ध्वस्त । साँच्चिकै आकाशबाट बम बर्साएजस्तो । त्यहाँ पनि भाषाकै समस्या भयो । मैले एकजनालाई भनें– यहाँ नेपाली बुझ्ने को छ ? स्थानीय श्रीराम वैठा सहयोग गर्न तयार भए ।

उनले बस्ती घुमाउन थाले । त्यो गाउँमा ४ जनाको ज्यान गएको रहेछ । भत्किएको घरको छेउमा सेतो धोती बेरेका एकजना वृद्धसँगै केही आफन्त खाना पकाइरहेका थिए । खाना ठूलै भाँडोमा पाकिरहेको देखेपछि मैले सोधें, के–को भोज रहेछ ? वैठाले भने, भोज होइन, बिरजामहरा चमारको श्रीमती च्यापिएर मरेकी हुन् ? त्यसैको लागि हाम्रो परम्परा हो । 
त्यो दृश्यले मलाई तान्यो । मैले बिरजामहरासँग कुरा गर्न खोजें । एकमनले सोचें– यस्तो शोकमा रहेको व्यक्तिसँग के कुरा गर्नु । कसरी सोधुँ कि तपाईंकी श्रीमती कसरी बित्नुभयो भनेर । तरपनि पत्रकार भएपछि केही सोध्नैपर्ने । सोचें– यो कथा राम्रो हुनसक्छ । 

उमेरले ५७ पुगेका बिरजामहराले नेपालीमा सोधेको बुझेनन् । मैले भने, मलाई भोजपुरी आउँदैन, हिन्दी बोल्दा हुन्छ । उनले सहमति जनाए । मैले सोधें– आइतबार साँझ के–के भएको थियो ? उनले लामो सास फेर्दै भने, ‘के भनुँ, श्रीमतीले छाडेर गैहाली । न बास रह्यो न सास । कालगतिले गएको भए त चित्त बुझाउन हुन्थ्यो । तर अकालमै छाडेर गई । अन्तिम पलमा सँगै खानासम्म खान पाएनौं ।’ त्यसपछि उनी आफ्नो काजक्रियाको काममा व्यस्त भए । 

दृष्य तीन
\"\"उनी व्यस्त भएपछि मलाई स्थानीय गणेशरामले गाउँ घुमाउन थाले । उनी बेलाबेला भन्दैथिए, ‘साहब हेर्नुस् त अब कसरी बाँच्ने ? के खाने ? हामी दलितलाई कसैले हेरेन । राहत पनि हुनेखानेले नै पाउने । मुख्यमन्त्री आए, सबै हुन्छ भने तर केही भएन ।’ उनी बेलाबेला मेरो हात समात्दै भन्थे, ‘बाबु, यो खिच्नुभयो ? यो फलानाको घर । सबै गयो बाबु, सबै गयो ।’ सबै गाउँ घुमाएपछि उनले आफ्नो घर देखाए । श्रीमतीलाई भने, ‘सरलाई कुर्सी ल्याएर आऊ त ?’ मैले कुर्सी पर्दैन भुइँमै सुकुलमा बसौं न भने । गणेशरामसँगै उनकी श्रीमती पनि बसिन् । बीररामको घर अगाडिको भागबाट राम्रै देखिन्थ्यो तर पछाडिबाट पूरै भत्किएको रहेछ । मैले जिज्ञासा राखें– कहाँ सुत्नुहुन्छ राति ?

उनले भने– सडकमै सुत्छौं बाबु । बाबु, खाना बनाउन भनौं ? खाएर जानुस् । विपत्तिको पहाड आफूमाथि आइपर्दा पनि गाउँमा समाचारको खोजीमा आएका हामीलाई खाना खाऊँ भन्ने उनको मनकारी भावनालाई मैले नमन गरेँ र भनें– भर्खरै खाएर आएको ।

खासमा हामीले खाना खाएका त थिएनौं । उनले श्रीमतीलाई देखाउँदै भने, उसको पेटको अपरेसन गर्दा २ लाख खर्च लाग्यो ? मैले सोधें–पैसा कताबाट आयो ? उनले भने– यो घर भएको जमिन बन्धकी राखेर साहुबाट लिएको । अब त घरै भत्कियो । न साहुको पैसा तिर्न सक्छु न त घर बनाउन नै । बेलाबेला त मरिदिउँ जस्तो लाग्छ । 

गणेशरामको उमेर ६५ माथि हुँदो हो । उनको कुरा त सुनें तर मसँग बोल्ने शब्द थिएन ।  जवाफ थिएन । नाजवाफ भएर निस्कन लाग्दा मैले भने, ‘हामी जान्छौं है । तपाईंको कुरा सरकारलाई सुनाइदिऔंला ।’

दृश्य चार
\"\"आँधीले सबैभन्दा बढी मानविय क्षति गरेको ठाउँ थियो, फेटा गाँउपालिका–६ पुरैनीया । भरवलियाबाट पुरैनीया पुग्न १५ मिनेटजति लाग्यो मोटरसाइकलमा । सँगै रहेका फोटोपत्रकार सौरभ रानाभाटले धमाधम तस्बिर कैद गर्न थाले । तराईको प्रचण्ड गर्मी अनि दिनभरीको थकान । एकैछिनमा हल्ला चल्यो, पुरैनीयामा प्रचण्ड, शेरबहादुर देउवा आउँदैछन् ।

उनीहरु आए पनि । निकै थकित भएकाले म एकछिन भुइँमा थच्चिएँ । मेरो वरिपरि विभिन्न संघसंस्थाले दाल, चामल लगायतका खाद्यान्न बाँडिरहेका थिए । मैले बेलाबेला ती दृश्य मोबाइलमा कैद गरिरहेको थिएँ । त्यत्तिकैमा मेरो नजर एक भग्नावशेषमा पर्यो ।

त्यो भग्नावशेषमा थिए फैजुलहक मियाँ । म उनको नजिक गएर सोधें– किन यस्तो गर्मीमा यता बसेको ? उनले जवाफ फर्काए, ‘हम बेपनाह हो गए ।’ मेरो जिज्ञासा मेटिएन, फेरि सोधेँ– के भएको हो ? तपाइँको आफन्त गुमेको हो ? त्यसपछि उनले भने, मेरो श्रीमती र बुहारीलाई हुरीले लग्यो । फैजुलहक मियाँकी श्रीमती मुस्तकीमा र बुहारी बिबियालाई हुरीले लगेको रहेछ सधैंका लागि । हुरीआँधी चलेको साँझ उनी हरीपुरमा रहेछन् । एकछिनपछि गला अवरुद्ध पार्दै मियाँले भने, ‘‘हम बेपनाह हो गए, बीबी और बहुके सपना पूरा नही कर पाए ।’’

केही समयअघि पत्नी मुस्तकीमासँग भएको कुराकानी सम्झिए उनले । भन्छन्, ‘‘खाना खानु, आफ्नो ख्याल राख्नु । म केहीदिनमा घरमा आउँछु भनेको थिएँ ।’’ तर पत्नीसँगको उनको त्यो संवाद नै अन्तिम हुन पुग्यो । 

‘‘साँझ ८ बजेको थियो होला, मलाई मौलानाले फोन गर्दै भने, तुम्हारा घर गिरगया और तुम्हारी बीबी और बहु मरचुकी है । जल्दी घर आजाओ,’’ मियाँले मौलानाले भनेको कुरा सम्झिए र भावुक भए ।  त्यसअघि नै आफ्ना ६ छोरा र ३ छोरी गुमाएका फैजुलहकका लागि जीवनकै सबैभन्दा ठूलो बज्रपातको अन्तिम खबर थियो, आइतबार साँझको । भन्छन्, ‘‘८ सन्तान पहिल्यै गुमाएँ । हुरीले अन्तिम सपना पनि उडायो । म आफूलाई सम्हाल्न सकिरहेको छैन, २४ वर्षीय छोरा रहिस मलेसियामा छ ।’’

आफ्नो भाग्यलाई खुदाले लेखेको विश्वास गर्ने फैजुलहकले भने, ‘‘हामी बाउछोरा नै अभागी, न उसले आमा र पत्नीको अनुहार देख्न पायो न त मैले नै ।’’ विपत्तिको त्यो पापी क्षण बारा र पर्साबासी सम्झिन चाहँदैनन् । वर्षौं पसिना बगाएर बनाएका घरमात्रै भग्नावशेष भएका छैनन्, दुई मिनेटको आँधीले प्रियजनलाई सधैंका लागि उनीहरुबाट चुँडेर लगेको छ । राहत घोषणा गर्ने र बाँड्नेहरुको लर्को छ । एक नेपाली दुःखमा पर्दा अर्को नेपाली कसरी सुखले बस्न सक्छ र ? प्रधानमन्त्रीले भनेझै समृृद्ध नेपाल सुखी नेपालीको अभियान बारा र पर्साबाटै सुरु गर्ने कि ?

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC