site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
राजतन्त्र र हिन्दु राज्यका पक्षमा गतिविधि तीव्र, वामपन्थी र कांग्रेस निकटस्थहरु पनि अभियानमा नजिकिँदै
SkywellSkywell

काठमाडौं । मुलुकमा दुईतिहाइको सरकार रहेका बेलामा हिन्दु राज्य र राजतन्त्र पुनस्र्थापना हुनुपर्छ भनेर अभियान चलाउने विभिन्न दल र संघसंस्थाहरुले आफ्नो गतिविधिलाई तीव्र पार्न थालेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह तराईका जिल्लाहरुमा सक्रियताका साथ भ्रमण गरिरहेको बेलामा राजधानीमा पनि विभिन्न संघ संस्थाहरु सक्रिय बन्न थालेका हुन् । पूर्वराजा अहिले झापामा छन् । उनी आइतबारदेखि इलाम र पाँचथरको भ्रमणमा निस्कन लागेको जनाइएको छ ।

यता राजधानीमा पनि राजतन्त्र र हिन्दू राज्य पुनस्र्थापनाको माग गर्ने विभिन्न संघ संस्थाहरुले आफ्नो दायरालाई फराकिलो बनाउने प्रयास थालेका छन् । यस अन्तर्गत पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको प्रमुख आतिथ्यतामा आज राजधानीको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रम गर्न लागिएको छ । 

राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनको नाममा गर्न लागिएको सो कार्यक्रममा पूर्वप्रधानमन्त्री चन्द समेत राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमसेर राणा, सोही पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री केशरबहादुर बिष्ट, नेकपा मालेका महासचिव सीपी मैनाली, नेपाली कांग्रेस (बीपी) का अध्यक्ष हरिबोल भट्टराई, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिका महासचिव अस्मिता भण्डारी लगायतले बोल्ने निम्तो पत्रमा उल्लेख गरिएको छ । निम्तो पत्रमा उल्लेख नभएपनि राप्रपाका अध्यक्ष कमल थापा र बीपी कोइरालाका पुत्र प्रकाश कोइरालाले पनि कार्यक्रममा आउने बचन दिएको सो गठबन्धनका महामन्त्री चक्रदेव जोशीले शुक्रबार जानकारी दिए ।

Dabur Nepal
NIC Asia

‘राष्ट्रियता, प्रजातन्त्र, राजसंस्था, हिन्दु राष्ट्र र एकता आजको आवश्यकता’ भन्ने विषयमा सो गोष्ठी गर्न लागिएको हो । 

सो कार्यक्रममा जाने भनिएका झापा आन्दोलनका नेतामध्येका एक सीपी मैनाली पनि राजतन्त्र पुनस्र्थापनाको पक्षमा लागेकाहरुको कार्यक्रममा सहभागी हुन लागेको प्रसंगलाई धेरैले अनौठो मानेका छन् । यसबारेमा स्वयम् मैनालीसँग कुरा गर्दा उनले भने, ‘‘हामी राजतन्त्र वा हिन्दु राज्यकै पक्षमा लाग्न लागेको होइन । तर, देशभक्तहरुले गर्ने काममा हाम्रो साथ रहन्छ । देशभक्तको रुपमा पूर्वराजापनि हामीसँग आउँछन् भने हामी समेट्छौं ।”

आफु अहिले विराटनगरमा रहेकोले आजको कार्यक्रममा चाहिँ जान भ्याइने नभ्याइने प्रष्ट नभएको बताउँदै मैनालीले भने, ‘‘हामी राजतन्त्र चाहिन्छ भन्ने पक्षमा पनि छैनौं र हिन्दु राज्य हुनुपर्छ पनि भन्दैनौं । तर, धर्म निरपेक्षताको पक्षमा पनि छैनौं । अहिलेको सरकारमा भएका मान्छेहरु किन धर्म निरपेक्षताको पक्षमा लागेका रहेछन् भन्ने कुरा ‘होली वाइन’ काण्डले प्रष्ट भइसकेको छ  ।’’

उनले देशमा भ्रष्टाचार बढेको र यही बेलामा लगानी सम्मेलन गर्न लागिएको चर्चा गर्दै देश जोगाउनका लागिपनि राष्ट्रभक्तहरु एक हुनुपर्ने अवस्था आएको जनाए ।

राजा र हिन्दु राज्य हुनुपर्छ भन्ने गठबन्धनको संयोजन किशोरी महतोले गरेका छन् । सो गठबन्धनमा विभिन्न राजनीतिक दल तथा धार्मिक र सामाजिक संस्थाहरु रहेको विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिका महासचिव अस्मिता भण्डारीले बताइन् ।

राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै बिहीबार मात्रै राजधानीमा शाही युवा शक्ति, नेपाल नामको संगठनले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । सो संगठनले यही चैत २१ गते गणतन्त्रको विरुद्धमा काठमाडौंमा बृहत शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ ।

आफ्नो स्थापनाको सातौं वार्षिकोत्सवको अवसर पारेर गणतान्त्रिक व्यवस्थाको विरुद्धमा र राजतन्त्रको पुनस्र्थापनाको माग गर्दै काठमाडौंको भृकुटीमण्डपस्थित् प्रदर्शनीमार्गमा बृहत प्रदर्शन गर्न लागिएको सो संगठनका अध्यक्ष पशुपति खड्काले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

कार्यक्रममा बोल्दै उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली गणतान्त्रिक व्यवस्थाका अन्तिम प्रधानमन्त्री हुने दाबी समेत गरेका थिए । 

उनले भनेका थिए,‘‘मैले यो कुरा पहिलेपनि भनिसकेको छु, अब केपी ओली गणतन्त्रका अन्तिम प्रधानमन्त्री हुन् । मुलुकको राष्ट्रियता नै खतरामा परेको छ । त्यसैले राजा नआई देशको अस्तित्व जोगिँदैन । हामीलाई अहिले लाखौं जनताको साथ र सहयोग छ ।’’
खड्काले हत्या, हिंसा र युद्वको माध्यमबाट राजनीतिमा स्थापित भएकाहरुले नै मुलुकलाई एकतावद्ध बनाउने धरोहर र राष्ट्रनायकका शालिक ढालेर सुख–सयल गरेको आरोप समेत सो अवसरमा लगाएका थिए । 

उनले चैत २१ गतेको बृहत शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा काठमाडौंका विभिन्न ठाउँमा कोणसभा तथा भेला आयोजना गरिएको जानकारी दिए । 

कार्यक्रममा केही युवाहरुले आफूलाई शाही युवा शक्ति, नेपालका केन्द्रीय प्रवक्ता गोविन्द ढुंगाना, केन्द्रीय सदस्यहरु प्रदिप सिंह थापा र राजकुमार महर्जन र ललितपुर जिल्ला सल्लाहकार मुस्कान कार्की भन्दै चिनाएका थिए । उनीहरुले चैत २१ गते आयोजना गरिने शक्ति प्रदर्शनको लागि तत्कालै घरदैलौ कार्यक्रम सञ्चालन गर्ने पनि जानकारी दिएका थिए  । शाही युवा समूह भने आज कार्यक्रम गर्न लागेको गठबन्धनमा नरहेको बताइएको छ ।

उता राप्रपाका अध्यक्ष कमल थापाले पनि यसअघि एउटा कार्यक्रममा बोल्दै गणतन्त्र आएको १२ वर्षको अवधीलाई समीक्षा गर्नुपर्ने बेला भएको बताएका थिए । सो पार्टीले हिन्दु राज्य र राजतन्त्र पुनस्र्थापनाको माग गर्दै देशव्यापी रुपमा विविध कार्यक्रम अहिलेपनि चलाउँदै आएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०७५  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro