काठमाडौं । कांग्रेसका अवरोधका बीच चिकित्सा विधेयक पास भएपछि सत्तापक्षले डा. गोविन्द केसीको शतप्रतिशत जित भएको बताएका छन् । विधेयक पारित भएपछि प्रतिक्रिया दिँदै सत्तारूढ दल नेकपाका सांसद योगेश भट्टराईले डा. केसीको सत्याग्रहले जितेको बताएका छन् ।
“हामी यहीँबाट भन्न चाहन्छौँ, डा. केसी तपाईं अनसनबाट उठेर काममा जानूहोस् । तपाईंको अनसनले जितेको छ । यतिमात्रै होइन डा. केसीले अब कहिल्यै अनसन बस्नु पर्दैन ।” त्यस्तै भट्टराईले चिकित्सा शिक्षा विधेयकका पास भएपछि चिकित्सा शिक्षाका क्षेत्रमा क्रान्तिकारी फड्को मारेको बताएका छन् । उनले विधेयक पारित गर्दा सबै दलको सहमतिमा यो विधेयक पास हुने अपेक्षा गरिएको भए पनि त्यसको हुन नसकेको बताउँदै प्रमुख प्रतिपक्षी दलको विरोध गर्न पाउने अधिकारको सम्मान गर्ने धारणा राखे । “यो विधेयक पास गरेर नेपालका विद्यार्थी र जनतालाई फाइदा भएको छ, घाटा भएको छ भने विदेशी व्यापारीलाई भएको छ,” उनको भनाइ थियो ।