काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सरकारसँगको सम्झौता पालनाको माग गर्दै विगत १४ दिनदेखि आमरण अनशनमा रहेका डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारेमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले त्रिवि शिक्षण अस्पताल पुगेर आफूले डा. केसीको स्वास्थ्य अवस्थाबारेमा अनुगमन गरिरहेको मंगलबार एक वक्तव्य जारी गरी जनाएको छ ।
वक्तव्यमा चिकित्सा शिक्षा जस्तो आधारभूत मानवअधिकारको विषयमा संवेदनशील हुनपनि आयोगले सबैमा आग्रह गरेको छ ।
डा. केसीसँग विगतमा भएका संझौताहरुमा गम्भीर हुँदै उहाँको जीवन रक्षाका लागि हर सम्भव प्रयास गर्न सरकारको ध्यानकर्षण गराएको छ । आयोगका सचिव बेद भट्टराईको हस्ताक्षरित वक्तव्यमा आपसी विमतिका विषयमा वार्ता र संवाद मार्फत समाधान गर्न समेत आयोगले सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।