काठमाडौंमा सभा, जुलस धर्ना गर्ने ठाउँ खुम्चँदै गएकाले होला, आन्दोलनजति माइतीघर मण्डलाकै थाप्लोमा परेको छ । शीतयाम शुरू हुन पाउँदैन, माइतीघरलाई आन्दोलनकारीको भीडले गुम्स्याइहाल्छ ।
केही समयअघि माइतीघरले ‘जनयुद्ध’का घाइते लडाकुहरूलाई स्याहार्यो । पुसको ठिहिरोमा पाँच दिनसम्म निराहार कठ्याङ्ग्रिएपछि सरकारको कानमा बतास लाग्यो । उनीहरू वीर अस्पताल पुर्याइए र तत्कालका लागि त बचाइए । तर, भित्रभित्रै उकुच पल्टिइरहेको ‘जनयुद्ध’को निको नहुने घाउले कतिबेला प्राण हर्ने हो ? टुंगो छैन । ‘जनयुद्ध’का घाइते, अपाङ्गता भएकालाई सरकारले उपेक्षा गर्दा तिनका परिवार, आफन्तजन अवर्णनीय पीडामा छन् । आँसुको खोल्सोमा जिन्दगी बगाउन अभिशप्त छन् । र त उनीहरूको पीडा जतिबेलै सरकार र सत्ताका लागि ‘विस्फोटक’ बन्न सक्छ ।
अहिले माइतीघर मण्डलाको शीताम्य भुइँमा उस्तै पीडित तर विपरित मोर्चामा रहेर लडाईंमा सामेल भएकाहरू पलेँटी कसेर धर्ना बसिरहेका छन् । बम–बारुदको आगाले पिल्स्याएको हात तेस्र्याउँदै सरकारसँग न्यायको याचना गरिरहेका छन् । अधिकारको भिख माखिरहेका छन् । भिन्न ‘आर्क’मा रहेर आमुन्नेसामुन्ने भए पनि यी दुवैका व्यथा विपरित छैनन् । पीडाको रङ्ग एकैनासे छ ।
द्वन्द्वपीडित सुरक्षाकर्मीका लागि ‘युद्ध’ रहर थिएन । न कुनै आवश्यकता नै थियो । तर, सरकारको नुन खाएकाले प्रतिरक्षा गर्नु र लडाईंको भँगालामा हेलिनु एककिसिमको बाध्यताजस्तै थियो । मर्नेहरू त मरेर गइहाले, पीडाबाट मुक्ति नै मिल्यो भनौँ । जनयुद्धमा ‘मर्न नपाएका’, शरीरमा ‘जनयुद्ध’का गोली दागिएका र छर्राले क्षतविक्षत तुल्याएका आलो घाउहरू माइतीघरमा छटपटाइरहेका छन् । आहत हुँदै सरकारसँग न्यायको बिन्ती बिसाइरहेछन् ।
सशस्त्र संघर्षमा ज्यान गुमाएकाका आफन्तजन, ‘जनयुद्ध’ले टुहुरो तुल्याएका बालबच्चा, अनाथ तुल्याएका लालाबाला र अबला तुल्याएका स्त्रीहरूको कारुणिक चित्कार बटुवाहरूको उछिनपाछिन र गाडीको कर्कशलाग्दो आवाजभन्दा बडो विद्रूप छ । र, निर्निमेष धारेहात लगाइरहेछ– सिंहदरबारलाई ।
० ० ०
“द्वन्द्वपीडित सुरक्षाकर्मीको परिवारको भरणपोषण गर् !”
“द्वन्द्वपीडित सुरक्षाकर्मीका बालबच्चालाई उचित शिक्षा–दीक्षाको प्रवन्ध गर् !”
भक्तपुर, छालिङका रैथाने कृष्णभक्त लागेजुले यसरी माइतीघरमा चिच्याउन थालेको आज पाँचदिन बित्यो । नगरकोटको डाँडोमा घामले मुन्टो नउठाउँदै उनी सखारै माइतीघर आउँछन् र बैशाखी छेउमा लापरवाहीसँग मिल्काएर नारा लगाउन थाल्छन् । कतिदिन यसरी कौलासेपछि सरकारले मागको सुनुवाई गर्छ ? अहँ, उनलाई थाहा छैन । बरु छेउमा राखेको बख्तरबन्द गाडी र आफ्ना माग तितरवितर तुल्याउन तम्तयार दमकल र सम्भावित पानीका फोहोरा देखर आङ सिरिङ्ग हुन्छ, बेलाबखत ।
काँठका मूलबासी भए पनि गरिबीको चक्रव्यूहमा परेको परिवार हो उनको । आयस्ता कम हुनाले उपत्यकाको काँठ क्षेत्र र जागिर एकअर्काको पर्याय जस्तै थियो । अद्यपर्यन्त छ ।
“घरतिर यसरी बरालिने होइन, बरु प्रहरीमा भर्ती हो, अहिले मनग्गे आम्दानी नभए पनि भविष्य सुरक्षित हुन्छ,” प्रहरीमै रहेका काकाले यसो भने पछि जागिरप्रतिको मोह झाँगियो ।
“काकाले भनेजस्तै प्रहरीमा भर्ती खुलेको रहेछ, आवेदन दिएँ,” सुगठित शरीरका लागेजु भर्ती हुँदाको समय सम्झन्छन् । पुलकित हुँदै सुनाउँछन् ।
०४९ सालमा प्रहरी सेवामा प्रवृष्ट भए । भर्खरै प्रजातन्त्र पुनर्स्थापना भएर बहुदलीय व्यवस्थाको अभ्युदय भएको । युद्धको डढेलोको कल्पना पनि गर्न सकिँदैनथ्यो । तर, समय सधैँ एकनास रहेन । ०५२ साल फागुन १ गतेबाट माओवादीले सशस्त्र सङ्घर्षको घोषणा गर्यो, तीननाल भरुवा बन्दुकको सहायतामा ।
“देशमा माओवादी आयो भन्छन्, जागिर छाडेर घरै बस्,” रेडियोमा फाट्फुट्ट माओवादीको विद्रोह वीजारोपणको समाचार आउँदा परिवार अताल्लिन्थ्यो । तर, दुई नम्बर गण महाराजगञ्जमा कार्यरत लागेजुको दिमागमा ‘जनयुद्ध’को आगो देशव्यापी हुन्छ र आफ्नै जीउ सल्काउन आइपुग्छ भनेर शायदै कल्पना गरे । र त, परिवारको आग्रह बारम्बार नकारिरहे ।
नसोचेको भयो । ०५५ पुस १८ गते माओवादी जनयुद्धको निशानामा परे । युद्धको आगोले निल्न त सकेन तर जीवन सदाका लागि खँजाहा भयो ।
‘जनयुद्धमा मरेर बाँचे, गणतन्त्रमा बाँचेर मरेँ’
यस्तै शिशिरमा हो उनको जीवन खण्डहर भएको । सपना विकलाङ्ग भएको । ललितपुर भट्टेडाँडाको स्थायी प्रहरीचौकीमा उनको दरबन्दी थियो । ललितपुर जिल्ला भए पनि उपत्यकाको कुइनेटोमा थियो भट्टेडाँडा । बत्तीमुनिको अध्यारो भट्टेडाँडाको नियति थियो । ‘जनयुद्ध’को फिलिङ्गाले आगाको रूप धारण नगरिसकेकाले निश्चिन्त थियो, विकटवर्ती ललितपुर ।
सशस्त्र द्वन्द्वले चौँथो वार्षिकी मनाउने तरखर गर्दैथियो । भोक र अभावले मात्रै होइन सत्ताले किनारमा धकेलेका सवाल्टर्नहरू ‘जनयुद्ध’मा गोलबन्द हुनेक्रम दक्षिणी ललितपुरमा पनि तीव्र रूपमा बढेको थियो । जनयुद्धका राता छापामारहरू ललिपुरका झुप्रा–झुपडीमा सेल्टर लिएको सूचना चौकीसम्म त आइपुग्थ्यो । भूमिगत आन्दोलन चौकी आक्रमण नै गर्न सक्नेगरी विकसित भइसकेको छ भनेर कसरी अन्दाज गर्नु ?
पुस मास भएकाले हुनुपर्छ घाम डुब्नेबित्तिकै अँध्यारोको साम्राज्य खडा भइहाल्थ्यो । ९ जनाको दरबन्दी त्यसदिन सात जनामात्रै चौकीमा थिए । एकजना बाहिर सेन्ट्री बसेर बाँकी ६ जना भात खानमात्रै बसेका थिए । हातमा पिस्तोल र थ्री नट थ्री राइफल बोकेका पन्ध्र–बीस जना छापामारको दस्ता बाटामा देखा परे ।
भर्खर भाग बसेको छ, माओवादी छापामार आए कि, गाउँले हुन् ? सोच्न भ्याउँदा नभ्याउँदै ड्याङ्ग.. आवाज आइहाल्यो । ढोका सेन्ट्री बसेको सिपाही रगताम्य भएर बाटामा ढलिहाल्यो ।
जुरुक्क उठ्न खोज्दैथे लागेजु, थ्री नट थ्री राइफलको गोलीले उनको बाँया तिघ्रा छेड्यो । ऐया... पनि भन्न भ्याएका थिएनन् । अर्को छापामारले उनको पिठ्युमै पेस्तोल दाग्यो । गोली मेरुदण्डमा अड्किएछ । बायाँ शरीर चल्न छाड्ल्यो । मुढो झैँ नचल्ने भए । निःचेष्ट भए हातगोडा ।
होस नगुमेकाले माओवादी गए कि भनेर दायाँबायाँ आँखा डुलाउँथेँ उनी । शरीर पक्षघात भएकाले दुखाइको अनुभूति भएन । माओवादी गए भने गाउँलेले बचाउँछन् भन्ने लाग्थ्यो । मूलबाटातिर आँखा सोझ्याउँथे । पेस्तोल र थ्री नट थ्री राइफलबाहेक अरू हतियार नभएकाले माओवादीले सबैको ‘सफाया’ गर्न सकेका थिएनन् ।
चौकीसँगै माओवादीले हातहतियार पनि कब्जा गर्यो र प्रहरीतिर नाल तेर्स्यायो । तर, हतियार चलाउन जान्ने लडाकु नपरेकाले निशाना चुक्यो । एकजना हवल्दार र एकजना सिपाही मारिए, ५ जना सख्त घाइते भए ।
“मलाई पनि मर्यो भनेर जंगलमा ल्याएर फाले । त्यतिले पनि चित्त नबुझेर चौकीभित्रका लत्ता–कपडा बाहिर ल्याएर आगो लगाए । मलाई त्यही आगोमा मिल्काएर हिँडे,” सुन्दा पनि आङ सिरिङ्ग हुने घटना वर्णन गर्छन् उनी ।
आगाले हात–पाखुरा जलायो । मुढोजस्तो बनेको जीवन जलाउन सकेन । दैवसंयोगले नै भनौँ न, बाँचे उनी ।
तर, बाँचेपछिको जीवन पो अत्यास र कहालीलाग्दो भयो ।
“बरु उतिबेलै मरेको भए सजिलो हुन्थ्यो, यति दुःख त पाउनु पर्दैैनथ्यो,” आफ्नो विकलाङ्ग जीवन देखेर विरक्तिन्छन् उनी ।
आक्रमणलगत्तै अस्पताल पुर्याइएकाले प्राण त जोगियो । उपचार गर्दागर्दा परिवारको आर्थिक अवस्था थिल्थिलिएको छ । खुसीको आँकुरा नपलाउनेगरी मरूस्थल बनेको छ– पारिवारिक जीवन ।
“झन्डै चार वर्ष अस्पताल बस्दा झन्डै चार लाख ऋण लागेको छ । उपचारको बन्दोवस्त त सरकारले गर्यो । उपचारपछि सरकारले अशक्त अवकासको प्रमाणपत्र थमाएकाले बेकार बाँचेछु जस्तो लाग्छ,” उनका आँखाका छेउकुना रसाउन थाल्छन् ।
गोलीले छेडेको खुट्टामा स्टिल राखेकाले अतिशय पीडा हुन्छ । मेरुदण्डमा गोली अड्किएकाले शरीर जतिबेलै थला बस्न सक्छ । बेलाबखत सोच्छन्– शल्यक्रिया गरेर गोली निकालूँ, जीवनको जोखिम कम गरूँ । तर, चिकित्सकले गोली निकालेपछि शरीर सदाका लागि नचल्ने हुनसक्छ भनेकाले भयले मुटु कुँजो हुन्छ । त्योभन्दा ठूलो छ जिन्दगीले दिने पीडा ।
परिवारको आडभरोसा नै घाइते भएपछि बालबच्चाको भविष्यले बाटो पाएको छैन । क्रमशः अँध्यारोतिर अभिमुख छ ।
“बालबच्चाको पढाइमा सरकारले सहयोग गर्दिए तिनीहरूले बाटो देख्थे कि !,” सरकारसँग उनको ठूलो माग छैन । र त, ‘सरकारले बरु गोली हानोस्, माग पूरा नभई रित्तो हात फर्कन्नँ’ भनेर माइतीघरमा धर्ना बसेका छन्, लागेजु ।
पतिको शवको तस्बिर बोकेर सडकमा
काठमाडौंको माइतीघर ‘विद्रोही मञ्च’ भइसक्यो । एकातिर आन्दोलन गरिरहेका स्वास्थ्य सहायकहरू, अर्कोतिर न्याय नपाएका द्वन्द्वपीडित सुरक्षाकर्मी र तिनका परिवारको विद्रूप रोदन देखिन्छ त्यहाँ ।
उदास अनुहार, चिसा सपना र कलेटी परेका ओठ लिएर भीडमा मिसिएकी छन्– सुमित्रा तामाङ ।
उनी एक हातमा ‘प्ले कार्ड’ र अर्को हातमा युद्धकालमा मारिएका श्रीमानको विदारक फोटो बोकेर सडकमा भौँतारिइहेकी छिन् ।
“पन्ध्र वर्ष भयो हजुर यसरी भौँतारिएको, अहिलेसम्म न्याय पाएको छैन,” उनी बिलौना गर्छिन्, “साढे सात लाख पाउँछौ भनेर युद्धको आगामा होमे । मारिएपछि सोधखोजसम्म गर्न आएनन् ।”
उनका श्रीमान् कुमार तामाङसँग माओवादी विद्रोहसँग कुनै वैरभाव थिएन । न विद्रोहीले परिभाषित गरेजस्तो ‘दुस्मन’ नै थिए उनका श्रीमान् ।
तर सरकारले दिएको जिम्मेवारी निर्वाह गर्दा विद्रोहीको बन्दुकको निशानामा पर्नुप¥यो । भोजपुरको दूरसञ्चार केन्द्रको टावरको सुरक्षामा खटिएका थिए उनका श्रीमान् । माओवादीले टावरमा कब्जा जमाएपछि उनले पनि आत्मसमर्पण गरेका थिए । तर, तत्कालीन विद्रोहीले युद्ध नियमको कुनै ख्याल गरेन । हात पछाडि बाँधेर तड्पाइतड्पाइ जीवनको इहलिला समाप्त पारिदियो ।
जीवनको सहारा युद्धले निले पनि शव गाउँमै दाहसंस्कार गर्ने उनको इच्छा थियो । ‘लोग्नेको लाश गाउँ ल्याउने भए तीन आमाछोरी र तेरो पनि चिता तयार पार्न लगाउनू’ भनेर विद्रोहीले धम्क्याएपछि उनले इटहरीमै सत्गद गरिन् । त्यसपछि उनी फर्किर गाउँ जान सकेकी छैनन् ।
“जागिर खाएको १७ वर्ष ३ महिना ३ दिन भएको थियो, माओवादी आन्दोलनबाट हार मान्नु भइसकेको उहाँले जागिर छाड्ने मनस्थिति पनि बनाइसक्नुभएको थियो । तर, सात लाख पाउँछौ भनेर युद्धमा होमे,” उनको गुनासो एउटै छ ।
युद्धको आगामा शेष बनेका उनका श्रीमानमात्रै होइनन् । झन्डै १७ हजार नागरिकले मृत्युवरण गरेका छन् । तर, त्यही आन्दोलनको जगमा गणतन्त्र आएकाले घाइते, अपाङ्गता भएकालाई नहेरेको गुनासो उनको छ ।
“सुरक्षाकर्मी सबैका साझा हुन् । हिजो युद्धकालमा पो ‘दुस्मन’ थिए । आज तिनै सुरक्षाकर्मीलाई हिजोका ‘विद्रोही’लाई सुरक्षा प्रदान गरेका छन्, सरकारले दिएको जिम्मेवारी शिरमा राखेर हिँड्ने र ज्यानको बाजी थापेर कर्तव्य पालना गर्नेहरूलाई सधैँ किनारामा धकेल्ने हो कुनचाहिँ सुरक्षा अंग र तिनका सदस्यले दृढ मनोबलका साथ काम गर्न सक्छन् ?,” उनको प्रश्न छ ।
हिजो सुमित्रा एक्लै थिइन् । विस्तारै द्वन्द्वकालमा ज्यान गुमाएका ‘अमर प्रहरी’ का परिवार र घाइतेहरू जोडिँदै गए । त्यसरी संगठित हुनेको संख्या ८ सय पुग्यो । अहिले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका समेत गरी झन्डै ४ हजार पीडितहरू एकट्ठा भएका छन् र सरकारको ध्यानाकर्षण गराउनका लागि माइतीघरमा धर्ना बसेका छन् ।
“सरकारसँग हाम्रो ठूलो माग छैन । द्वन्द्वकालमा ज्यान गुमाएका सुरक्षाकर्मीलाई सरकारले सहिद घोषणा गरिसकेकाले सहिदले पाउने सेवासुविधा देओस्, काखापाखा नगरोस्, दुईतिहाइको सरकारलाई निर्वाध अघि बढ्न हामी तगारो बन्दैनौँ,” यसपछि सुमित्राको अनुहारमा बाक्लो सन्नाटा छाउँछ । र, पुनः नारामा मिसिन्छिन्– “दुईतिहाइको सरकार हाम्रो माग पूरा गर । असक्षम गृहमन्त्री राजीनामा दे ! तीनवटै आईजीपी राजीनामा दे ! जनयुद्ध धनयुद्ध बनाउन पाइँदैन ।”