site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फेरि भेटौंला ! 

नेपालबाट फर्केको एक महिनानाघे पनि मन उतै डुलिरहेको छ । नेपाल छँदा के गर्ने ? कहाँ कहाँ जाने ? ककसलाई भेट्ने ? के के किन्नेजस्ता कुरा पहिल्यैदेखि दिमागमा खेल्दा रहेछन् । त्यसैअनुरुप सानोतिनो योजना दिमागमै भए पनि बन्दो रहेछ । वर्षाैंपछि स्वदेश फर्कन पाउँदाको उत्साह, चाडबाडको उमंग र साथीभाइसँग गरिने हाँसखेलको हुटहुटी कसैलाई नहुने कुरै भएन । 

करिब एक महिनाको अवधिमा परिवारजन, आफन्त, साथीभाइ, पूर्वसहकर्मीलगायतसँग भेट्ने मन अवश्य हुन्छ । सकेसम्म धेरैलाई भेट्न पाए मन खुसी हुन्छ । आफ्ना कुरा धेरैलाई सुनाउन पाए उनीहरु रमाउँछन् । अनि अरुका हालखबर सुनेर चारपाँच वर्षयताको न्यास्रो मेटाउने चाहना हुनु स्वाभाविकै हो । 

मध्यदसैंको दिन नेपाल ओर्लेपछि मन पूरै बालापनको रोमाञ्चमा फर्किने नै भयो । त्यो बालापनको दसैं तिहार कसको पो मन मस्तिष्कबाट हराउन सक्छ र ? जो जहाँ र जस्तो भए पनि बालालपन त सबैको उसैगरी हरक्षण नशानशामा रगतसँग बगिरहेकै हुन्छ । आफ्नो बाल्यकाल र त्यो बेलाका दौँतरी हरेकका लागि स्मरणीय लाग्छन् नै । त्यही बालापनमा भुलाउने घर, आँगन, खेतबारी, पाखो, पँधेरोमा केहीदिन पूर्वस्मृतिहरु केलाउँदै बिताउनै पर्यो । त्यति नगरे आफू जन्मे, हुर्के र खेलेको ठाउँको त्यही स्वाद यो मुटुमा फेरि कसरी सँगाल्नु ?  

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि बल्ल आफन्त, साथीभाई र अरु अरुका याद आउने हुन् सायद । झन्डै आधा महिनापछि आँगन छोडेर सहर छिरेपछि बल्ल साथीभाइ र आफन्त भेटघाटको चाँजो मिल्दै गयो । मानव चोला स्थिर कहिलै रहन सक्तैन । समयको गतिसँगै तीमध्ये कोही कता, कोही कता हुने नै भए । अझ कोही त कतै खोज्न र भेट्न नमिल्ने अनन्त यात्रामा निस्किसकेका थिए । 

फोन, म्यासेन्जरलगायत माध्यम प्रयोग गरेर सम्भव भएसम्मका आफन्त र साथीभाइको खोजी सुरु भयो । त्यसमध्ये पनि कोही सम्पर्कमा आए, कोही आएनन् । अत्यन्त व्यस्त तालिका भए पनि पुराना याद सँगाल्दै सबैसम्म पुग्ने प्रयास नहुने हैन । तर, सबैले उसैगरी कुरा चैं बुझिदिन गाह्रो पर्ने रहेछ । सबैका लागि भेट्ने त एकैदिन वा एकैछिन मात्रै न हो । आफ्नो हरदिन वा भनौ हरक्षणको हिँडाइ, भेटघाट अनि बसाइको तालिका त आफ्नैमात्रै हो नि । अरुले त एकदिन पनि बस्दैनस् ? सजिलै भनिदिन सक्छन् । कसैले अझ एक दुई घन्टा त बस् पनि भनिरहन्छन् । त्यस्तै घन्टाघन्टा गरेर कैयौं दिनहरु फुत्तै कटिरहेका छन् । अब फर्कने दिन पनि धेरै टाढा छैन । 

Global Ime bank

ओहो, किनमेल पूरै बाँकी छ । बच्चाहरुलाई चिडियाखाना वा फनपार्क पनि लैजान पाएको छैन । उनीहरु हाम्रा स्वार्थ अनुकूलका भेटघाटमा जानी नजानी, मनले मानी नमानी कुदिरहेका छन् । तिनलाई यस्तो लागिरहेको होला उनीहरुका कुनै इच्छा छैनन् यहाँ । न भनेको बेला खेल्ने अवस्था छ । न निन्द्राले झ्याप्प हुँदा सुत्ने ओछ्यानै छ । गाडीमै यसोउसो चलेर बालक्रिया पूरा गर्नुपरेको छ । गाडीमै बांगोटिंगो पल्टिएर अधकल्चो निद्रा मार्नु परेको छ । तरै पनि जहाँ पुग्यो त्यहीँ रमाउन भने छोडेका छैनन् । गाई देख्यो त्यसै दंग । भैंसी देख्यो उसका आँखा हेरेर सझंग । कुकुर र बिराला देखेर उसै मख्ख । अनि बाख्रा देखेर तिनका पाठाझैँ सँगसँगै उफ्रिरहेकै हुन्छन् । 

फेरि अर्काे ठाउँको यात्रा सुरु । प्रायः सबैतिर उही । उही पुरानो ट्याक्सी । घामले तातेको टिनको डब्बाजस्तो । झ्याल नखोली धरै छैन । झ्याल खोले कुइरीमण्डल धुलोधुवाँ नखाने कुरै छैन । उकुुसमुकुस जति भए पनि बच्चाले छीछी.. दूरदूर..कहिलै गरेनन् । कुनै गुनासो गरेर दिक्दारी पनि पोखेनन् । सबैभन्दा ठूलो कुरा कष्टकर लाग्ने कैयौं यस्ता यात्रा भए तर तिनले कुनै क्षण खोकेनन् । सिँगान बगाएनन् । किनभने लुगा धुलाम्मे भए पनि वा कपाल सेतै पाउडर छरेजस्ता भए पनि तिनले मुखमा मास्क लगाउन कुनै क्षण बिराएनन् । 

आफन्तको सबै लर्काेसम्म पुग्ने सामथ्र्य र समय दुवै हामीसँग हुने कुरै थिएन । जति सकियो त्यति पुगियो भनेर मन बुझाउन बाहेक बाँकी विकल्प भएन । साथीसँगीको सर्कलमा पनि कुरा त्यही हो । समय कसैको मिल्छ, कसैको मिल्दैन । एकदिन कसैका लागि छुट्याएको समय उसलाई आज मिलेन भनेर फेरि अर्काे दिन त मिलाउनै सकिँदैन । केहीको हदमा यो पुरापुर लागु भो । 

तिहारको रमाइलोले बजार पुरै भिडभाड हुन थाल्यो । कहिँ कतै भनेको समयमा पुग्न महाभारतै हुँदै गयो । अहो ! यो काठमाडौंमा मान्छे कति ? सवारी कति ? किनमेलको लर्काे कति ? जताततै मान्छे मान्छे । मान्छेका हातमा झोलैझोला । गाडी नै गाडी । सडक पेटीतिर पनि पसलै पसल । न हिँड्न सजिलो, न गुड्न सजिलो । अवस्था कस्तो भइदियो भने घरबाट निस्कनु नै बेकार जस्तो !    

कस्तो सवारी जाम भने कुरै नगरौं ! मान्छेहरु त्यसैत्यसै आजित देखिन्थे । अगाडि बढ्नु कि फर्कनुको अवस्थामा धेरैपटक परियो । न अघि बढ्ने अवस्था न फर्कनै मिल्ने ठाउँ । पूरै एकदिन हिँडे पनि कतै पुगिन्नजस्तो पूरै ठप्प । गाडी नै चढे पनि जहाँको त्यहीँ अड्किएजस्तो पूरै ठप्प थियो । यस्तो अस्तव्यस्त ट्राफिकले दिक्दार नहुने कुरै भएन । सबै निधारको पसिना पुछ्दै आआफ्नो गच्छेअनुसार कोही सकैलाई लक्षित गर्दै सत्तोसराप गरिरहेका हुन्थे । उनीहरुमा यो बेथिति र अव्यवस्थाप्रति आक्रोश थियो । समयअनुकूल प्रणाली र थिति नबसाल्ने नीति निर्माताप्रति चरम गुनासो पनि थियो । 

किनमेल गर्न बजार निस्कन पनि हार मान्नुपर्ने अवस्था पो भयो अब त । के किन्ने, कहाँ किन्ने भनेर नियन्त्रण गर्नुपर्योे आफैँले । सकेसम्म कम किन्ने र सकेसम्म नजिकैको बजारमा किन्ने अवस्था बन्यो । आखिर यो किनमेल भन्ने कहिलै सकिने र पुग्ने कुरा पनि होइन । यसमा धेरै समय लगाउन उचित पनि लागेन । उचित लागे पनि अब त समय छैन भन्ने निचोडमा पुग्नै पर्यो ।

तिहारको भाइटीका पाँच वर्षपछिको विशेष हुने नै भयो । दिदीबहिनीको हातबाट सप्तरंगी टीका र मखमली माला लगाएपछि अरु के चाहियो ? त्यसमाथि सेलरोटीसहितका मिठाइको थाली । भाइमसलाका भिन्नभिन्न प्याकेट । अनि विदेशको हिउँ पर्ने जाडोमा लाउन उलनको न्यानो स्वेटर पाएपछि नेपाल बसाइको पूरै एक महिना सार्थक र पूर्ण भइहाल्यो । मुखमा मिठाइ राखे पनि बिदावारीको क्षणले मन भनें अमिलो बन्दै थियो ।

निधारको सप्तरंगी टीका र मखमली मालासहित साँझ विमानस्थल पुग्दा एक महिना पनि एकैदिन मात्र जस्तो भो । एक महिनामा के के गरेँ भनेर सम्झन खोजे पनि एक दिनमात्रै याद  आउन थाल्यो । क्यालेन्डरमा एक महिना देखिए पनि साँच्चै नेपाल बसाइ त एक दिनजस्तै छोटो लाग्दो रहेछ । 

जाउँला भनेको कति ठाउँमा जान सकिएन । भेटौंला भनेका कति साथीसँग भेट्न पाइएन । पर्खेर बसेका कति आफन्तसँग देखभेट नै भएन । आफूले काम गरेको अफिस फेरि देख्नै पाइएन । ती अग्रज, सहकर्मी र सम्पादकसँग पहिलै झैं भलाकुसारी गरी एक कप चिया पिउने मन अधुरै रह्यो । त्यो मन अधुरो मात्र भएको हो टरेको हैन । अझै मन त्यही हालतमा छ । ती एक एक अग्रज जसले करियर बनाउन एक हात समाएर अघि बढाउन सहयोग गरे । ती एक एक सहकर्मी जसले काम गर्दा हरक्षण साथ दिए । अनि ती सम्पादक जसले मेरो १२ वर्षे पत्रकारिता यात्राभर माया र भरोसा राखिराखे । उनीहरुका ती साथ, सहयोग र मार्गदर्शन कहिलै भुल्न सकिने छैनन् । यसपटक भ्याइएन त, के भो ? अर्काेपटक छँदैछ नि । 
(बोस्टन, अमेरिका ।)

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०७५  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC