पुने । गत शुक्रबार भारतको पुने नगर प्रहरीले चार जना आरोपितलाई थप ९० दिन हिरासतमा राख्ने अनुमतिका लागि विशेष अदालतमा निवेदन दियो । प्रतिबन्धित भारतीय कम्युनिष्ट पार्टी माओवादी (भाकपा माओवादी)का चार जना नेतालाई अदालतमा लग्ने क्रममा प्रहरीले उनीहरुलाई सीमा क्षेत्रबाट नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टी (माओवादी)का एक जना वरिष्ठ नेताले हतियार सप्लाइमा सघाएको जनाएको छ ।
इन्डियन एक्सप्रेसका अनुसार भारतीय प्रहरीले पक्रेका चार जनामा सुधा भारद्वाज, पी भराभरा राव, अरुण फेरिएरा र भर्नोन गोनसाल्भेज रहेका छन् । उनीहरु गौतम नौलखासहितका व्यक्तिसँगै गएको अगष्ट २८ मा पक्राउ परेका थिए ।
अदालतमा प्रहरीले दिएको आवेदनमा अहिले पक्राउ परेका र पहिला पक्राउ परेका आरोपितहरुबीच नियमित सम्पर्क हुनुका साथै भूमिगत नक्सलाइटसँग समेत उनीहरुको सम्पर्क भइरहेको जनाइएको छ । कमरेड एमडी सिराज भन्नेले हतियार आपूर्तिका लागि सीमा क्षेत्रमा डिल गरेका थिए । उनलाई हालै नेपालमा स्थापित क्रान्तिकारी कम्युनिष्ट पार्टी (माओवादी)का सचिव कमरेड वसन्तले सो काममा सघाएको भारतीय प्रहरीले प्रहरीमा हालेको आवेदनमा उल्लेख छ ।
पत्रमा ४ लाख खोकासहितको एम—४ हतियारको सप्लाईका लागि ८ करोड रुपैयाँ लाग्नेसमेत उल्लेख गरिएको छ । प्रहरीका अनुसार सोसम्बन्धी विवरण सन् २०१७ अप्रिल १८को बरामद पत्रबाट खुलेको हो । सो पत्र आरोपित रोना विल्सनको ल्यापटपमा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले जनाएअनुसार सोही पत्रमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या राजीव गान्धीको शैलीमा गर्नेबारेमा पनि खुलासा गरिएको थियो । सोही पत्रले अप्रिल २०मा ‘कमिटी फर द डिफेन्स एण्ड रिलिज अफ जीएन साइबाबा’ भन्ने ब्यानरमा अर्को कार्यक्रम गर्न लागिएको पनि खुलासा भएको थियो ।
सो पत्रको बारेमा थप बुझ्न पुने प्रहरी प्रेस क्लब अफ इण्डियाको नयाँ दिल्लीस्थित कार्यालयमा पनि गएको जुलाई महिनामा भ्रमण गरेको थियो । प्रहरीले त्यहाँ दिल्ली विश्वविद्यालयका प्राध्यापक साइबाबाको रिहाइका लागि पत्रकार सम्मेलन गर्न गरेको बुकिङ्ग स्लिप र अन्य कागजात लिएको थियो । प्रहरीका अनुसार विल्सन उक्त कमिटीका सदस्यहरु मध्येका एक हुन्, जसले त्यहाँ पत्रकार सम्मेलन गर्न लागेको थियो । प्रहरीका अनुसार भाराभारा राव नेपाल र भारतकै मणीपुरबाट हतियार तस्करीका लागि जिम्मेवारी प्राप्त व्यक्ति हुन् ।