site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पक्षप्रतिपक्षको भूमिका र आजको अपेक्षा

स्थिर सरकारको उपस्थितिसँगै नेपाली जनतामा आशाका नयाँ तरंग देखिएका थिए । सानो आकारमा खुम्चिएको प्रतिपक्षले बलियो सरकारका काम कारबाहीमा अबरोध ल्याउन सक्ने हैसियत नै राख्तैन । उसले त ध्यानाकर्षण गर्ने र गलत हुनथालेमा त्यस्ता क्रियाकलापलाई जनताका सामु लैजानेमात्र हैसियत राख्छ ।  सरकार अहिले आफ्नो लक्ष्यमा पुग्न कुनै नियमकानुनले रोक्यो भने त्यसलाई संशोधन गरी सजिलै अनुकूल बनाउनसक्ने अवस्थामा छ । यसैले सरकारको गति र परिणाममुखी कर्मको जनअपेक्षा गलत थिएन । 

परन्तु, सरकार यो बाटोमा जान सकिरहेको छैन । दण्डहीनताको संस्कृति तोड्न नसक्दा र बिचौलियाहरुको प्रभाववाट मुक्त हुन नसक्दा सरकार आफैँले बनाएको गोलचक्करभित्र रुमल्लिएको छ । त्यसैगरी दुई तिहाइ बहुमतको दम्भले पनि सरकारको गतिमा समस्या निम्त्याएको छ । आलोचनामात्र हैन, सामान्य टीकाटिप्पणीसम्म पनि सुन्न नसक्ने मनोग्रन्थी सरकारको नेतृत्वकर्ताहरूमा तीव्रगतिमा बढ्दैगएको छ । 

निर्मला हत्याकाण्डमा अपराधी बचाउने प्रयत्नलाई विफल बनाउन सरकार लागेको भए उसले स्याबासी पाउने थियो । उल्टै सरकार अपराधी जोगाउने खेलको गोलचक्करमा फस्यो । सुनकाण्डको छानबिनलाई निष्कर्षमा पुर्‍याउनबाट पनि सरकार पछि हट्यो । तस्कर र बिचौलियाको प्रभाववाट सरकार मुक्त हुन नसकेको देखियो । यातायात सिन्डिकेट हटाउने प्रयत्न उतिखेरै फासफुस भएको थियो । त्यहाँ पनि बिचौलियाकै प्रभाव बलियो देखियो । 

Prabhu Bank
Agni Group
NIC Asia

सत्ता सञ्चालनको प्रारम्भमा बेथितिविरुद्ध साहसी भएर प्रस्तुत नहुने हो भने सरकारलाई बिचौलिया, माफिया, स्वार्थी समूहलगायतले रनभुल्लमा पार्ने र अलमल्याउने गर्छन् । यो प्रवृत्ति नेपाली राजनीतिमा बलियोसँग स्थापित हुँदैगएको छ । सत्तामा पुर्‍याउने र त्यहाँबाट बहिर्गमन गर्ने क्रममा समेत यस्ता समूहको प्रभावकारी भूमिका देखिँदै आएको हो । कमजोर सत्ताले केही गर्न सक्तो रहेनछ र बलियो सत्ता चाहिदो रहेछ भनेर बहस प्रारम्भ हुनुको एउटा कारण यो पनि थियो । कसैको भूमिकाले सत्ता त्यति सहजै नढलिहाल्ने अवस्थामा त्यस्ता समूहहरुलाई वेवास्ता गर्दै उच्च नैतिक साहसका साथ सरकार अगाडि बढ्न सक्थ्यो । केही गरौँ भन्ने नेतृत्वका लागि त्यो अवस्था अवसरका रुपमा उपस्थित हुन्छ भन्ने विश्वासका आधारमा बलियो र स्थिर सरकारको आवश्यकतामा एकमत देखिएको हो । नेपाली जनताको यही मानसिकताको उपज हो– दुई कम्युनिस्ट पार्टीको चुनावी मोर्चाबन्दी र एकीकरण । त्यसैको परिणाम हो कम्युनिस्ट पार्टीको बहुमत । यो बहुमतलाई दुई तिहाइ बनाउन मधेसी दलहरुले सघाउनुको पृष्ठभूमिमा पनि जनस्तरमा उठेको बलियो सरकार निर्माणको चाहना नै हुनुपर्छ । दुई तिहाइको सत्ता सञ्चालनमा सहयोगी बन्दा जनताको सहानुभूति बढ्छ कि भन्ने लोभ मधेस केन्द्रित दलका नेतालाई लाग्नु देखिनु अन्यथा पनि होइन । 

संघीयमात्र हैन ७ मध्ये ६ प्रदेशका सरकार पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेतृत्वमा छन् र बलिया छन् । उनीहरुले पनि आफ्ना गतिविधि जनअपेक्षाअनुसार अगाडि बढाउन सकेनन् । मुख्यमन्त्रीहरु आफूलाई साझा बनाउँदै प्रदेश सरकारप्रति जनताको विश्वास बढाउने र त्यो सरकारको शासन स्वीकार्ने मानसिकताको विकास गराउनेतर्फ भन्दा पनि दम्भका साथ प्रतिपक्षीलाई गाली गर्ने प्रतिस्पर्धामा होमिएका छन् । एकजना मुख्यमन्त्रीले त प्रतिपक्ष सडकमा जानु नै हुँदैन, प्रतिपक्षले विरोध गर्दा हामीले केही गर्न सकिरहेका छैनौ, प्रतिपक्षले जितेका स्थानीय तहमा मात्र कर बढेको छ र त्यही आधारमा कम्युनिस्ट सरकारमाथि प्रहार गरिएको छ भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै हिडेको समेत पाइयो । 

Global Ime bank

प्रतिपक्ष सडकमा जान पाइँदैन भन्नु अधिनायकवादी मानसिकता हो । प्रतिपक्ष निकै कमजोर भएको र कुनै कार्यक्रमै दिन नसकिरहेको अवस्थामा प्रतिपक्षको विरोधका कारण काम गर्न नसकेको भन्नु त आफ्नो कमजोरी ढाक्ने प्रयत्नमात्र हो । प्रतिपक्षले जितेको स्थानीय तहमा मात्र कर बढाएर सरकारको आलोचना गर्ने बाटो खोलिदिएको भन्ने भनाइ त झन् पुष्टि हुनै नसक्ने ‘सफेद झुट’ हो । 

संघीय सरकार कमजोर हुँदा प्रदेश सरकारहरु पनि प्रभावकारी बन्न त सकेनन् नै उनीहरुले आफ्नो कामको पहिचान गर्न समेत छाडेको जस्तो देखिएको छ । कर्मचारीतन्त्र संघीय प्रणालीलाई सहयोग गर्ने गरी प्रस्तुत हुनसकिरहेको छैन भन्ने टिप्पणी सरकारको नेतृत्वकर्ताहरुबाटै आइरहेको छ । आवश्यक नियम बनाएर र असहयोग किन ? भन्ने सबालको जवाफ पहिचान गरेर अगाडि बढ्ने सुविधा आफैँसँग छ भन्ने पनि नबुझे झैँ गर्नु सरकारको अकर्मण्यता हो । कानुन बनाउने, संशोधन गर्ने र कडाइका साथ कार्यान्वयन गर्ने हैसियतको सरकारको यस प्रकारको निरीहतालाई नेतृत्वकर्ताको अक्षमता भन्ने कि यसमा कुनै रहस्य लुकेको ठान्ने ?

जनता बलियो सत्ताबाट शासित हुन चाहन्छन् र दैनिक जीवनमा देखापर्ने परिणामको अपेक्षामा रहेका छन् । निर्वाचनपूर्व नै जनस्तरमा चलेको बहस यही हो । आज पनि जनताको चाहना र अपेक्षा त्यही हो । तर, सरकार त्यस बाटामा लागेकोसम्म  देखिएको छैन । बरु, भ्रष्टाचार बढाउने अपारदर्शीं संस्कृतिको विकास गर्दैछ । विकास योजनाको प्राथमिकीकरण गर्न पूर्णरुपमा चुक्दै छ । बिचौलियाहरुको प्रभाव र सञ्जाल तोड्नुको साटो त्यसैमा बेरिँदै छ । यस अवस्थामा प्रतिपक्ष दल बेखबर भएजस्तै आफैँभित्र अलमल गरिरहेको छ ।

सरकारमा देखिएको दम्भ र विकास हुँदै गएका नयाँ अपसंस्कारहरुले लोकतान्त्रिक मान्यता र मर्ममाथ दूरगामी प्रकृतिको प्रहार गर्ने प्रष्टै छ । यसतर्फ प्रतिपक्ष मौन बस्नु जनमतको अपमान पनि हो । यो सत्तालाई जनताले अपेक्षा गरेझै परिणाम दिनसक्ने गरी सहयोग गर्नु र गलत कार्यहरुको खुलेर खबरदारी गर्नु प्रतिपक्षको यतिबेलाको प्रथम दायित्व हो । धेरैपछि लोकतान्त्रिक प्रक्रियाद्वारा निर्माण भएको बलियो सत्तालाई परिणाम दिने सरकारका रुपमा उपस्थित गराउन नसक्ने हो भने लोकतान्त्रिक सरकारप्रतिको जनबिश्वास उठ्दै जानेछ र त्यसको फाइदा कुनै नवतानाशाहले उठाउनेछ । आज प्रतिपक्षमा रहेको लोकतान्त्रिक दलले सरकारको गतिहीनतालाई र प्रभावहीन सत्तालाई खुच्चिङ मात्र गरेर बस्ने हो भने त्यसको परिणाम लोकतन्त्रप्रतिको विश्वास बलियो बनाउने प्रक्रियामा नकारात्मक हुन जानेछ ।

नेपाली कांग्रेसले लोकतान्त्रिक पद्धतिप्रतिको निष्ठा अझ गहिरोसँग प्रकट गर्दै लोकतन्त्र सुदृढ बनाउन प्रतिपक्षमा बसेर कस्तो भूमिका खेल्नु पर्दोरहेछ भनी देखाउने बेला यही हो । यस अबसरलाई उसले गुमायो भने त्यो नेपाली लोकतन्त्रकै लागि हानिकारक हुनेछ । 
सरकारको गति र प्रभावकारी प्रस्तुति एवं प्रतिपक्षको सहयोगी खबरदारी भूमिका अहिलेको आबश्यकता हो । दुवै पक्ष आफ्ना यी भूमिकामा धन्यवाद पाउने गरी प्रस्तुत हुनसकिरहेका छैनन् । अर्को पक्षको कमजोरीलाई नै आफ्नो सफलताको आधार ठान्ने मानसिकता नेपाली राननीतिक नेताहरुमा विगतदेखि नै देखिँदै आएको छ । नेपाली लोकतन्त्र संस्थागत हुन नसक्नु र बलियो थिति बस्न नसक्नुको मुख्य कारण यही हो । अब यो संस्कृतिलाई तोड्दै लोकतान्त्रिक पद्धति, प्रक्रिया र संरचनालाई बलियो बनाउनेतर्फ नेताहरु अग्रसर हुन जरुरी छ । यसो हुँदामात्र सरकार बलियो हुँदो रहेछ । दुई तिहाइको संख्यालाई पनि माफिया, बिचौलिया र स्वार्थी समूहले धारे हात देखाएर आफ्नो अनुकूलतामा सहजै रुपान्तरित गर्दा रहेछन् भन्ने नयाँ अनुभव नेपाली राजनीतिले यो एक वर्षको अवधिमा हासिल गरेको छ ।

तसर्थ अब संख्याको धाक हैन थिति बसालेर लोकतान्त्रिक प्रक्रिया अगाडि बढाउने र लोकतन्त्रको लाभ जनताले प्राप्त गर्ने परिस्थितिको सुनिश्चितता गर्ने अर्को मार्गमा पदार्पण गर्नु जरुरी देखियो । यो बाटोमा यात्रा प्रारम्भ गर्ने दायित्व कुनै एक पक्षकोमात्र हैन सबै राजनीतिक दल, सत्ता पक्ष र प्रतिपक्षको समेत हो । 

निर्मला हत्याका अपराधी, सुन तस्करहरु र सिन्डिकेटविरुद्ध कारबाही गर्न साइत हेरेर बस्नुपर्ने अवस्था थिएन । यी र यस्ता घटनाहरु हाम्रा समाजमा भइरहेका छन् । अपराधीको अनुहार हेरेर, राजनीतिक वा अन्य कुनै सम्बन्धको खोजी गरेर कारबाही गर्ने हो भने दण्डहीनतालाई प्रश्रय दिएको ठहरिने छ । अहिले त्यही भैरहेको छ । दण्डहीनता लोकतान्त्रिक मर्मविरुद्धको विषय हो । यस्ता सबालमा सरकारलाई प्रतिपक्षले खबरदारी गर्नसक्नु पर्छ । यहीँबाट नयाँ बाटाको आरम्भ हुनसक्यो भने लोकतान्त्रिक मर्मअनुसार शासन गर्न राज्य प्रेरित हुन्छ र त्यो मर्मलाई पछ्यायो भने सरकार साच्चिकै दुई तिहाइको जस्तो बलियो र आँटिलो रुपमा प्रस्तुत हुन्छ । आजको अपेक्षा दम्भी र अरुको आलोचना गर्ने सरकार हैन, व्यवहारमै प्रभावकारी र आँटिलो सरकारको हो ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५  १०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC