साहित्य
–पुनम डीसी
केटाकेटी उमेरमा एकदमै जिद्दी, चकचके र चञ्चले स्वभावकी उनको काम हिलो–मैलोमा दलिने र पुतली समाएर हिँड्ने हुन्थ्यो । उनी अचेल केटाकेटी छैनन् । ‘रकस्टार’ भइसकिन् । उनका गीतहरू सुन्नेहरू यत्तिकै बस्नै सक्दैनन् । कम्मर मर्काइहाल्छन् ।
अहिलेकी ‘चल्ती’की इन्दिरा जोशी तिनै हुन्, जसले संगीतबजार मात्रै होइन, देश–विदेशका मञ्च तताइरहेकी छन् ।
सुरिलो आवाज, रहरलाग्दो ज्यान र छमछम नाच्न सक्ने प्रतिभा ! यिनै गुणले इन्दिरालाई बहुप्रतिभाशाली बनाएका छन् । इन्दिरा भनेपछि ‘मरिहत्ते’ गर्नेहरू तमाम छन् । तर, उनीचाहिँ कसलाई मरिहत्ते गर्छिन् ? खोइ कुन्नि !
० ० ०
नेपाली सांगीतिक क्षेत्रमा दिनहुँ एक न एक गायक÷गायिका आउँछन् । अनि अर्को दिनबाट उनीहरूको नामोनिसान देखिँदैन । हराएर अलप हुन्छन् ।
त्यो भीडमा पर्ने गायिका होइनन् इन्दिरा ।
नेपाल टेलिभिजनको कार्यक्रम ‘नेपाली तारा’मा टप–५ सम्म पुगेर बाहिरिएकी इन्दिरा अहिले संगीत बजारकी ‘सेलेबल’ गायिका हुन् । उनी ‘सेलेबल’ किन छिन् भने उनले गीतमात्रै गाउँदिनन्, स्टेजमा यसरी नाच्छिन् कि नलठ्ठिने कोही हुँदैन । गीत पनि उनका फरक–फरक शैलीका हुन्छन् । एउटै रिदममा गाएर स्रोतालाई दिक्दार बनाउने कोटीकी गायिका होइनन् उनी ।
अनेकन् गीतमा ‘भर्सटायल’ आवाज दिइसकेकी यी ‘क्लासिक’ गायिकालाई स्टेज सोमा, एल्बममा र चलचित्रमा गीत गाउन भ्याइनभ्याइ छ । फुर्सदिली रहनै दिँदैन यिनलाई आफ्नै प्रतिभाले !
० ० ०
सानैदेखि गीत–संगीत मन पराउँथिन् उनी । उत्तिकै सुन्थिन् पनि । घरमै गीतको कलेक्सन टन्नै थियो । बुबा गीतका पारखी । त्यसैले समयअनुसारका सबै गीतको कलेक्सन गरिहाल्थे । त्यसको ठप्पा पनि लागेको थियो उनको बाल मष्तिष्कमा ।
यावत् कुराले उनलाई नाच्न, गाउन खुबै मन पथ्र्यो । परिवारका सदस्यले नाइनास्ती पनि नगरिदिने । हौसला त्यहीँबाट बिस्तारै मिलिरहेको थियो ।
सानैदेखि परासीको बाल मन्दिरमा जान्थिन् र गीत गाउँथिन् । त्यहाँ उनले ‘लौ न आऊ मेरा भाइबहिनी’ बोलको गीत गाएकी थिइन् । त्यो नै उनले गाएको पहिलो गीत थियो । उनी त्यो क्षण कहिल्यै बिर्सिन सक्दिनन् । विद्यालय तथा अन्य क्षेत्रमा हुने प्रायः गीत गाउने प्रतियोगितामा उनी भाग लिन्थिन् र सबैलाई पछि पार्थिन् ।
गायिका बन्ने उनको जिन्दगीको ठूलो सपना थियो । त्यो सपना अहिले राम्रो आकारमा हर्लक्क भएको छ ।
गाउने नशा बस्दा इन्दिरालाई लता मंगेशकरका गीत खुब मन पर्थे । उनकै गीत गाउने कोसिस गर्थिन् । तर, लताजस्तो गाउनचाहिँ लताबाहेक अरू कसले सक्ने ? तर, आफूले गाउने जस्तो पनि अरूले गाउन सक्दैनन् भन्ने इन्दिरालाई थाहा थियो ।
आफ्नो गायकीका लागि कुनै प्लेटफर्म खोजिरहेकी थिइन् उनी ।
करिब १३ वर्षअघि नेपाल टेलिभिजनको कार्यक्रम ‘कोभन्दा को कम’मा भाग लिइन् । सबैलाई उछिनेर पहिलो भइन् । उनका दिदीहरू सबै काठमाडौंमै थिए । त्यसैले उनी पनि उच्च शिक्षाका लागि भनेर काठमाडौं आएकी थिइन् । काठमाडौं नौलो पनि थिएन । पढाइ र गीत–संगीतलाई सँगसँगै लैजाने योजनाअनुसार यतै बस्न थालिन् ।
‘नेपाली तारा’को यात्रा
०६० सालको एउटा घुर्मैलो दिन ।
पत्रिकामा ‘नेपाली तारा’को अडिसनसम्बन्धी विज्ञापन देखिन् । मुटु फुल्ने गरी खुसी भइन् उनी, त्यत्ति देखेरै । किनभने, त्यो प्रतियोगिताको ऐनामा उनले आफूलाई देखिसकेकी थिइन् ।
उनी अडिसन हुने ठाउँ पछ्याउँदै गइन् । फर्म भरिन् । अडिसन काठमाडौंमै थियो । ७५ वटै जिल्लाका सहभागी थिए । उनी यस मानेमा दंग थिइन् कि उनको गीत गाउने सपना पूरा हुँदै थियो । अडिसनका लागि हजारौं लाइन बसेका थिए । त्यी हजारमध्ये एक थोपा आफू पनि भइरहँदा उनको ढुकढुकी बढिरहेकै थियो ।
कार्यक्रममा भाग लिइन् । चुनिइन् पनि । ‘नेपाली तारा’को उपाधि नै पाउने उनको सपना त थिएन । आफूमा भएको प्रतिभा कसरी दर्शकलाई देखाउने ध्याउन्नमात्रै थियो । आफूमा गाउने कला छ भनेर सबैलाई देखाउन मन थियो उनलाई । यत्ति !
टप–५ मा उनको पनि नाम आयो ।
उनी अलि जिद्दी र हक्की स्वभावकी थिइन् । टप–५ भए पनि उनको मन ‘नेपाली तारा’ भइछाड्ने संकल्पले घर बनाइसकेको थियो । एकपटक भएन भने पनि अर्को पटक हुन्छ भन्ने आत्मविश्वास थियो उनमा । सकारात्मक सोच राख्थिन् । उपाधि जित्न नसके पनि ‘नेपाली तारा’ले उनको गीत–संगीततर्फको ढोका खोलिदियो ।
यतिन्जेल उनी संगीतको नशाले चूर भइसकेकी थिइन् । कुनै हालतमा पनि गायिका बन्ने भूत सवार भइसकेको थियो । यतिसम्म कि आफूलाई गायिका बनाउने सूरमा अन्य सहभागीलाई प्रतिस्पर्धीको रूपमा पनि हेरिनन् । ‘नेपाली तारा’मा भाग लिइरहेका बेला पनि उनी आफूसँग मात्र प्रतिस्पर्धा गरिरहेकी हुन्थिन् ।
“सधैं मिलेर गीत गाउने प्रयास गरिरहन्थ्यौं । कहिल्यै कसैसँग पनि प्रतिस्पर्धा गर्दैनथ्यौं,” इन्दिरा भन्छिन् ।
त्यतिबेला दीपक लिम्बू नेपाली तारा बने । “उपाधि नजित्दा केही दुःखी भए हुँला । अलिकति दुःखको मात्रा कसको मनमा नहुँदो होला र !” उनी भन्छिन्, “मभित्र धुकधुक गरिरहेको धड्कनले पनि त्यही भन्यो । म केही दुःखी भएँ ।”
तर, उनका लागि त्यही पनि ठूलो बरदान सावित भयो । त्यसैमा टेकेर यहाँसम्म आइपुगेकी छन् ।
२०८ प्रतिस्पर्धीलाई उछिनेर उनी टप–१० हुँदै टप–५ मा उक्लिएकी थिइन् । त्यतिबेला उनलाई नेपाली गीत पनि राम्रोसँग गाउन आउँदैनथ्यो । तराईमा जन्मेर त्यतै हुर्केकाले उनलाई हिन्दी गीत बढी आउँथ्यो । ‘तराई हेर कति राम्रो नेपाली हुनाले’ बोलको गीतमात्रै उनलाई राम्ररी आउँथ्यो ।
‘नेपाली तारा’को टप–५ मा पर्नु नै उनका लागि सरमाथाको शिखर चुम्नुजस्तै थियो ।
त्यो बेला ‘नेपाली तारा’ हेर्ने प्रायःले इन्दिराको प्रस्तुति अहिलेसम्म पनि बिर्सेका छैनन् । उनी महिलातर्फ उत्कृष्ट नै थिइन् । क्लासिक मन्त्रमुग्ध आवाजको अवार्डसमेत जितेकी थिइन् ।
‘लाइफ इज अ स्ट्रगल’
‘लाइफ इज अ स्ट्रगल, वि निड टु किप अन वाकिङ !’
इन्दिराको मष्तिष्कमा यो अंग्रेजी उद्धरण गूँदझैं टाँसिएको छ । संघर्ष गरेकी इन्दिरालाई संघर्षको अर्थ पनि राम्ररी थाहा छ । आफूलाई थोरबहुतले चिन्न थाल्दा उनी संघर्ष गरिरहेकी थिइन् ।
‘टुट्यो तारा आकाशमा’ गजल पहिलो पटक गाएर उनी चर्चामा आएकी हुन् । उनको पहिलो गीत नै निकै चलेको थियो । त्यसपछि उनी झन् हौसिइन् ।
आफ्नै एल्बम कम निकालेकी उनले जिंगल्स र रिमिक्स गाउँथिन् । त्यहाँबाट आएको पैसाले नयाँ एल्बम निकाल्ने सोच थियो । आफ्नो स्वर निखार्न दुई वर्ष शास्त्रीय संगीतको शिक्षा पनि लिइन् । कलेक्सन एल्बमका लागि पनि थुप्रै गीत गाइन् ।
पहिलो एल्बम ‘डान्स विथ मी’ निकाल्नका लागि उनले आमाको गहना बैंकमा धितो राखेकी थिइन् । त्यो गीतबाट उनले सफलता पनि पाइन् । उनलाई पारिवारको आडभरोसा थियो । धितो राख्न बैंकमा गहना लिएर जाँदा उनको मन गह्रुँगो भएको थिएन । बरू, आत्मविश्वासले बुरुक्–बुरुक् भएकी थिइन् । किनभने, उनले जीवनमा सबैभन्दा धेरै विश्वास गर्नेमध्येको एक सिद्धान्त ‘बी अप्टिमिस्टिक’ भन्ने थियो ।
० ० ०
‘नेपाली तारा’मा सहभागी भएपछि उनलाई थुप्रै गीत गाउने अफर आए । त्यसपछि उनले ‘माछी मार न’ बोलको गीत गाइन् । ‘लूट’ फिल्ममा राखिएको ‘उध्रेको चोली’ खुब हिट भयो । गीत त्यति हिट होला भन्ने उनलाई लागेकै थिएन । रोशन थापाले कम्पोज गरेको गीत गाउनलाई उनलाई फोन आयो । नाइँ भन्न नसकेर गीत गाउन सहमत भएकी थिइन् । तर, आशा गरेको भन्दा बढी चर्चा कमायो यो गीतले ।
इन्दिराको प्रतिभा उनका फरक–फरक गीत सुन्दामात्रै पनि थाहा हुन्छ । जस्तोसुकै गीत गाउन सक्छिन् उनी । पप, आधुनिक तथा चलचित्रका गीतमा गाएकी छन् ।
‘फन्को’ चलचित्रको गीतमा डान्स पनि गरेकी छन् । स्वदेश तथा विदेशमा समेत आफ्नो गायनबाट दर्शकको मन जित्दै आएकी इन्दिरालाई ‘स्टेज क्विन’ पनि भनिन्छ ।
अहिलेसम्म एउटा एल्बममात्रै बजारमा ल्याएकी छन् ‘डान्स विथ मी ।’ यो गीत सुनेर कैयौँ स्रोताले कम्मर ठिम्क्किै पारे ।
‘चौबन्दी चोली मेरो रातो घाँघर’ गीत र भिडियोपछि उनको ‘डिमान्ड’ ह्वात्तै बढ्यो ।
उनी काममा मात्रै हरबखत एकोहोरो लाग्दिनन् ।
घुम्न, कोठामा एक्लै नाच्न, चलचित्र हेर्न र किताब पढ्न खुब मन पर्छ उनलाई । अहिले घनश्याम खड्काको उपन्यास ‘निर्वाण’ पढिरहेकी छन् ।
० ० ०
उनी आँटिली छिन् । आँटलाई आफ्नो प्रतिभाले टेको पनि लगाएको छ । गीत गाएरै खान सक्छु भन्ने आँट उनमा छ । ‘नेपाली तारा’पछि निरन्तर रूपमा गायनमा अगाडि बढिरहेकी इन्दिरा गाएरै राम्रोसँग जीवन चलाइरहेकी छन् ।
“नेपाली संगीत बजार सानो भए पनि संगीत क्षेत्रमा पैसा छ । सबैले भएका नियम–कानुन पालना गर्ने हो भने गीत गाएर सबैले खान सक्छन्,” उनी भन्छिन्, “रोयल्टीमा ‘घपला’ नगर्ने हो भने हाम्रो संगीतको स्तर धेरै माथि उठ्छ ।”
फिल्म खेल्ने अफर
मिलेको ज्यान, जोसिलो डान्स अनि हिस्सी परेको अनुहार देख्ने जोकोहीको नजर इन्दिरामाथि पर्छ । कुनै नायिका वा मोडलभन्दा कम नदेखिने उनको हाउभाउले अझै अरुलाई आकर्षित गथ्र्यो । उनलाई फिल्ममा खेलाउन चाहने धेरै थिए । उनमा पनि राम्रो मोडल तथा नायिका बन्न सक्ने गुण थिए । तर, फिल्मी हिरोइन तथा मोडल बन्ने आफ्नो कुनै सोच नभएको बताउँछिन् ।
भन्छिन्, “म नायिका होइन, गायिका हुँ । मलाई फिल्म खेल्ने कुनै रहर छैन ।”
आफूलाई सुहाउँदो राम्रो कथावस्तु भएको चलचित्रमा अफर आए पनि नखेल्ने उनको अठोट छ ।
“मोडलिङ पनि आफ्नै गीतमा मात्रै गर्ने हो,” उनले बडो आत्मविश्वासका साथ भनिन् ।
लोकप्रिय भएपछि हलिउड वा बलिउडका सेलिब्रिटीसँग नाम जोडिदिने हाम्रो परम्परा नै छ । इन्दिरालाई भने यस्तो मन पर्दैन । भन्छिन्, “तुलना गर्नु नराम्रो होइन तर नामले नै बोलाउनु गलत हो ।”
उनलाई कसैले इन्दिरा नभनेर साकिरा भनिदिन्छन् । त्यो मन पराउँदिनन् ।
साकिराको स्टेप मन पराउने इन्दिरा सुरु–सुरुमा केही स्टेपको नक्कल गर्ने प्रयास पनि गर्थिन् । त्यसो गर्दा उनी स्टेजमा पनि खुब जमिन् । उनलाई रमाइलो पनि लाग्न थालेको थियो । पछि आफैं महसुस गरिन् र आफ्नै पहिचान दिन थालिन् ।
‘बिहे ?’
“बिहे कहिले गर्ने ?” धेरैजसो फ्यानले नै सोध्छन् ।
“बेला भएको छैन ।” उनी मुस्कुराउँदा फ्यान पनि खुसी हुन्छन् रे !
सबैको चासोको विषय बन्ने गरेको छ उनको विवाह । उनलाई मनमटुमा सजाउने र बेहुली बनाउने धेरैको चाहना पनि होला । ‘नेपाली तारा’कै बेला पनि उनलाई थुप्रै प्रेम प्रस्ताव आएका थिए ।
“यतिसम्म क्रेजी थिए कि रगतले चिठी लेखेर पठाउँथे,” उनले सम्झिइन् ।
कहिले साथीको हातबाट त कहिले म्यासेज, ई–मेलबाट पनि प्रेम प्रस्ताव आइरहने ।
इन्दिरालाई ‘स्टेज क्विन’ होइन, ‘स्टेज प्रिन्सेस’ भन्ने हो कि ?
आवरण तस्बिर : इन्दिराको फेसबुक पेज
प्रकाशित मिति: शनिबार, साउन ८, २०७३ ०९:००
प्रतिक्रिया दिनुहोस्