site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
उत्प्रेरक विनय 
Sarbottam CementSarbottam Cement

विनोद नेपाल


त्यसो त म्यानमार सधैँजसो अशान्त नै रहन्छ, केही समययता झनै अशान्त छ । त्यहाँको सेनाले लोकतान्त्रिक सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्नेमा निर्वाचन परिणाम अस्वीकार गर्दै सत्ताकब्जा गरी संकटकाल घोषणा गरेपछि प्रदर्शनहरू भएका छन् । प्रदर्शनमाथि सेनाले नृशंसता देखाएको छ । थुप्रै नागरिक मारिएका र हजारौँ सैन्य नियन्त्रणमा छन् ।

यस्तै अवस्थामा मेरो सम्झनामा आयो ठ्याक्कै दुई दशकअघि प्रकाशित विनय रावलको यात्रा संस्मरण ‘ठुल्दिदीको देश’ । लेखकका यात्रा अनुभूतिसँगै म्यानमारको इतिहास र प्रजातन्त्रवादी नेतृ आङ सान सु कीका बारेमा समेत विस्तृत जानकारी संकलित उक्त पुस्तक किताबहरूको भिडबाट निकालेँ । यसका अक्षरहरूमा फेरि घोत्लिन मन लाग्यो । र, हालैको एक बिहान एउटै बसाइमा विनयको यात्रा संस्मरण पढेर सकेँ ।

Prabhu Bank
Agni Group
NIC Asia

पुस्तक पढ्दै गर्दा कृतिकार विनय रावलको निधन यही महिनामा भएको स्मरण भयो । 

०००

Global Ime bank

माध्यमिक तहमा पढ्दै गर्दा नै म फाटफुट कलम चलाउँथेँ । प्रमाणपत्र तहमा पढिरहँदा चाहिँ रचनाहरू प्रकाशित हुन थाले । स्नातक तहमा अध्ययन गर्दैगर्दा समसामयिक विषयमा पनि कलम चलाउन थालेँ । यसै क्रममा २०४२ साल माघमा गोरखापत्रमा पहिलो लेख प्रकाशित भयो । त्यसपछि त के चाहियो, किशोर मनोविज्ञानले ठूलै लेखक बनिस् भन्न र लेखनलाई अझै गति दिन दबाब दिन थाल्यो ।

२०४५ सालमा जागिरे जीवन प्रारम्भ भयो । सुरुमै नेपालगन्ज पुगियो । पश्चिमको प्रमुख नाका रहेको यो सहर त्यति बेला काठमाडौंबाट निकै टाढा थियो । पहिलोपटक नेपालगन्ज पुग्दा म अत्तालिएको थिएँ । असोज महिनाको मध्यतिर पुग्दा पनि उखर्माउलो गर्मी र लामखुट्टेको चपेटामा पर्नुपरेको आज पनि सम्झना हुन्छ !

साँघुरा सडक र गल्ली, साइकल र रिक्साको ठेलमठेल, खुला ढलहरू, यत्रतत्र फोहर देख्दा र उस बेलाको त्यो सहरको परिवेश, मानिसहरूको बोलीचाली र लवज, पहिरन आदि हेर्दा–सुन्दा कहाँ आइपुगेँजस्तो लाग्थ्यो । साँच्चै भन्नुपर्दा पाल्पामा जन्मे–हुर्केको मलाई कहिलेकाहीँ त म आफ्नै देशमा त छु ? भन्नेजस्तो पनि लाग्थ्यो ।

संयोग नै भनौँ, त्यहाँ धेरै समय बस्नु परेन । केही महिनामै त्यहाँबाट अझ पर पुगियो, बर्दियाको गुलरिया । जहाँ पुग्न त्यो बेला भारतीय भूमिको प्रयोग गर्नुपथ्र्यो । झन्डै चार वर्ष पश्चिमको बसाइपछि स्याङ्जाको गल्याङबजार सरुवा भयो ।

जागिर सुरु गरेपछि म पहिलोपटक २०५० साल माघमा काठमाडौं आएँ । एक त दूरीको कुरा, अर्को खर्चको कुरा पनि हुन्थ्यो । चाकडी गर्ने स्वभाव र रिझाउन सक्ने कला अनि हैसियत नभएकाले पनि ठ्याक्कै पाँच वर्ष काठमाडांै आइएन । तर, केन्द्रले तालिममा सहभागी हुन बोलाएपछि नै काठमाडौंको यो यात्रा जुरेको थियो ।

सम्बन्ध र सम्पर्कका लागि त्यसताका न अहिलेजस्तो मोबाइल फोन थियो न त सामाजिक सञ्जाल नै । टेलिफोन सबैको पहुँचमा थिएन । त्यसैले आफ्नै संस्थाका पनि सीमित व्यक्तिहरूसँग मात्रै परिचय हुनसकेको थियो ।

तालिमका लागि आएको म केन्द्रीय कार्यालय पुगेँ । त्यसै क्रममा टंगालस्थित केन्द्रीय कार्यालयमा कवि÷लेखक विनय रावलसँग पहिलोपटक भेट भयो । माध्यम हुनुहुन्थ्यो मित्र बुद्धिराज पाण्डे, जसलाई मैले गल्याङबाट बिदा गरेको थिएँ ।

जब रावलकहाँ पुगियो, परिचयपश्चात् उहाँले मसँग चिरपरिचितजस्तो व्यवहार गर्नुभयो । पहिलो भेटमै उहाँको मप्रतिको व्यवहार देखेर म अनौठो मानिरहेको थिएँ । अन्तर्मुखी र हत्तपत्त कसैसँग घुलमिल हुन नसक्ने स्वभावको म आश्चर्यमा परेजस्तो महसुस गर्नुभएछ क्यारे, उहाँले । तत्कालै प्रस्ट भन्नुभयो, “तपार्इं त लेखक हो नि, हाम्रो संस्थाको अर्को एउटा लेखक । लेख्नुपर्छ है, छाड्नु हुन्न ।”

उहाँबाट यत्ति सुनिसकेपछि मलाई लाग्यो, उहाँ मेरा बारेमा जानकारी राख्नुहुन्छ । तर, वास्तवमा कार्यालयको जिम्मेवारी तथा अनुकूल वातावरणको अभावमा त्यसताका मेरो लेखन सुस्ताएको थियो । यसैले मैले असहज मान्दै भनेँ, “लेखक त कहाँ हुनु र सर, अलिअलि कलम चलाउँछु ।”

उहाँले भन्नुभयो, “लेख्ने हरेक व्यक्ति लेखक हो । यो अद्भूत क्षमता हो । बोल्न त जो पनि बोल्छ, कलम चलाएर आफ्नो विचार सार्वजनिक गर्ने क्षमता जो कसैमा हुँदैन । त्यस्तो सामर्थ्य र कला हुनेजति सबै लेखक नै हुन् । फेरि, लेखक ठूलो र सानो हुँदैन, लेख्नेजति सबै समान हुन्छन् ।”

विनय सरको यस अभिव्यक्तिबाट मैले हौसला प्राप्त गरेँ । एउटा स्थापित लेखकले त्यसरी उत्साहित तुल्याउनु आफैँमा गजब थियो । ममा उहाँको त्यो प्रभाव गाढा भएर रह्यो ।

गल्याङबजारबाट सरुवा भएर चितवन पुगेपछि संस्थाका धेरैजसो अग्रज, समकालीन र अनुजहरूसँग परिचित हुने मौका मिल्यो । एकातिर काठमाडौं आउन–जान सजिलो, अर्को काठमाडौंबाट बाहिर जिल्लातिर जानेहरू प्रायः चितवन भएर हिँड्ने र बाटोमा पर्ने भएकाले हाम्रो कार्यालयमा पस्थे ।

विनय रावलको हकमा पनि उहाँ घरायसी कामले पैतृक थलो वीरगन्ज जानुपर्दा होस् वा कार्यालयको कामले जिल्लातिर जानुपर्दा नै किन नहोस्, बाटो पर्ने भएकाले उहाँसँग बारम्बार भेट हुन थाल्यो । फोनमा सम्पर्क गर्ने र केही नयाँ कुरा छ कि भनेर सोध्ने वा उहाँ स्वयम् पनि ‘ल यस्तो छ है’ भन्ने गर्नुहुन्थ्यो । यसरी चितवन हुँदै कतै जाँदा भरतपुर पुगेपछि मलाई खोज्नुहुन्थ्यो र भेटघाट हुन्थ्यो ।

उहाँसँग सहकर्मीको सम्बन्ध त थियो नै, म यदाकदा साहित्यसँगसँगै पत्रपत्रिकामा समसामयिक विषयमा लेख लेख्ने भएकाले पनि उहाँ मलाई  माया गर्नुहुन्थ्यो । त्यसैले काठमाडा आउँदा उहाँको कार्यालय कोठामा पुग्थेँ । नपुगे मलाई कतै देख्नासाथ ‘मकहाँ आउनु है विनोद’ भन्नुहुन्थ्यो ।

चेम्बरमा गएपछि छेउमा रहेको चाङबाट पत्रपत्रिका, पुस्तक आदि निकालेर दिने र त्यहाँ अन्य कुनै साहित्यकार उपस्थित भए तिनीहरूसँग परिचय पनि गराउने गर्नुहुन्थ्यो ।

एउटा यस्तै भेटमा उहाँले भन्नुभएको थियो, “पत्रिकाको कटिङहरू राखिराख्नु है, पछि चाहिन्छ । अहिले लेखेको कुराको महत्व पछि हुन्छ । पछि त्यो इतिहास हुन्छ । त्यसैले आफूले लेखेका, चाहे प्रकाशित हुन् वा अप्रकाशित, सबै सामग्री जतन गर्नुपर्छ । तिनैबाट छानेर राम्रालाई पछि पुस्तकाकार दिनुपर्छ ।”

त्यसो त म आफैँ पनि यस मामिलामा सजग थिएँ । २०४० सालदेखि नै रचनाहरू प्रकाशित हुन थालेका र तीमध्ये प्रायः सबै नै मसँग सुरक्षित रहेकाले म भन्थे, “धन्दै नमान्नुस् सर, राखेको छु । राख्छु पनि । तर, पुस्तक निकाल्न सकिने पो कहिले हो !”

मैले यसो भनिरहँदा विनय सर हौस्याउनुहुन्थ्यो, “सकिहालिन्छ नि । निकाल्नुपर्छ । म छु, सकेको सहयोग गरिहाल्छु ।”

एउटै संस्थामा कार्यरत र आफूभन्दा माथिल्लो ओहदामा रहनुभएकाले मैले सम्बोधनमा उहाँलाई ‘सर’ नै भन्थेँं । उहाँचाहिँ मसँग हाकिम होइन, दाजुको व्यवहार गर्नुहुन्थ्यो । उहाँ मसँग यति प्रष्ट, खुलस्त र आत्मीय हुनुहुन्थ्यो, देखेर म आफैँ छक्क पर्थेँ !

मैले जागिरे जीवनका १० वर्ष चितवनमा बिताएँ । यस अवधिमै बैंकबाट कर्मचारी सुविधाअन्तर्गत घर निर्माण सापटी आएकोले म चितवनमै चारकोठे बास बनाएर बस्न थालेको थिएँ । त्यसताका जग्गाको मूल्य बढ्दो थियो र देशकै केन्द्रमा रहेको चितवनको आकर्षण पनि बढ्दो थियो ।

एकपटकको भेटमा चितवनमा कार्यरत हामी शुभेच्छुकहरूले उहाँलाई भन्यौँ, ‘चितवनमा घडेरी किन्नुप¥यो सर’ । आश्चर्य वा खुसीका समयमा  आफ्नै खालको हाँसो हाँस्ने उहाँले हाँस्दै भन्नुभयो, “कहाँबाट किन्नु यार । सके त किन्नुहुन्थ्यो नि यस्तो चल्तीफिर्तीको ठाउँमा ।” 
अनि, हामीले भन्यौँ, “तपाईँ कति निकाल्न सक्नुहुन्छ निकाल्नुस् । नपुगेको थपथाप हामी गरौँला । बिस्तारै दिँदै गर्नुहोला ।”

हामीले यत्ति भनेपछि उहाँ अघि बढ्नुभयो । हाम्र्रै बलमा उहाँले मेरै टोलमा एक कट्ठा जमिन किन्नुभयो । जग्गा किन्दा नपुग रकम हामी साथीभाइले सापटी दिएका थियौँ ।

तर, त्यो विषयलाई कताकता फरक ढंगले चर्चामा ल्याइएछ । खै के भयो, जग्गा किनेको केही समयपछि नै उहाँले त्यो जग्गा बिक्री गर्न चाहेजस्तो गर्न थाल्नुभयो । थामथुम पार्दै तीन वर्षजति त राखियो । तर, त्यसपछिचाहिँ एउटा भेटमा उहाँले भन्नुभयो, “तपाईँहरूको सापटी पनि फिर्ता गर्नुछ, बेचौँ भो विनोदजी त्यो घडेरी । ऋण बोकेर जग्गा के राख्नु ।”

त्यसताका जग्गाको मूल्य घट्दो थियो, नाफा हुने अवस्था त थिएन । घाटा लाग्नेजस्तो अवस्था थियो । मैले प्रष्ट भनेँ, “यतिखेर जग्गाको मूल्य छैन, ब्याज पनि उठ्दैन सर, के गरौँ ? अलि समय राखे ब्याजसम्म त उठ्थ्यो कि !”
उहाँले भन्नुभयो, “भो छाड्नुस्, किन्दा, पास खर्चसमेत लागेको मूल्य उठ्छ भने तपाईँ नै बेचिदिनुस् ।”

यति भन्नुभएपछि म जग्गा बिक्री गरिदिने निर्णयमा पुगेँ । उहाँको स्वामित्वमा रहेको जमिन पछि मैले नै ग्राहक खोजेर परल मोलमै बिक्री गरिदिएँ । सो जमिन किन्दाको मेरो र अरू साथीहरूसँग लिएको सापटी पनि उहाँले त्यसै बेला फिर्ता गर्नुभयो । 
घडेरी बिक्री भइसकेपछि उहाँ भन्नुहुन्थ्यो, “धन्यवाद विनोदजी, मेरो टाउको हलुंगोे बनाइदिनुभयो ।”

यसरी छिमेकी बनिसकेका रावल छिमेकबाट टाढा हुनुभयो । तर, हाम्रो सम्बन्ध भने गाढा नै रह्यो । यस्तैमा म पनि केन्द्रीय कार्यालयमा सरुवा भएर आएँ । त्यही समयमा उहाँ नेपालगन्ज क्षेत्रीय कार्यालयतिर लाग्नुभयो ।

त्यस बेला बैंकको व्यवस्थापन विदेशी व्यवस्थापको जिम्मामा आएको थियो । एक प्रकारले भन्नुपर्दा बैंकको आन्तरिक व्यवस्थापनमा निकट रहेर काम गर्दै आउनुभएका विनय रावल सर नयाँ व्यवस्थापन समूहको प्राथमिकतामा पर्नु भएन ।

जागिर खाँदाखाँदै साहित्यिक क्रियाकलाप र पत्रकारिताका क्षेत्रमा सक्रिय रहनुभएका उहाँ त्यसपछिका दिनमा यस क्षेत्रमा झनै बढी सक्रिय हुनुभयोे । त्यसअघि नै उहाँ साझा प्रकाशनको सञ्चालक समिति सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यसैबीच, २०६२ साल जेठ २५ गतेका दिन साहित्यिक यात्राकै क्रममा उहाँको भारतीय भूमिमा दुर्घटनामा परी निधन भयो ।

कवि विनय रावलको निधन हुँदा परिवारले आफ्नो अभिभावक गुमायो, एउटै संस्थामा काम गर्ने हामीले एउटा अग्रज सहकर्मी गुमायौँ । साहित्य र पत्रकारिता क्षेत्रले एउटा सक्रिय सर्जक गुमायो । देशलाई त उनको मृत्यु एकजना नेपालीको मृत्युभन्दा बढ्ता हुने कुरो भएन । तर, नेपाली साहित्यले एउटा होनहार सर्जक र सक्रिय स्रष्टा असमयमै गुमाएको थियो ।

यतिखेर कवि साहित्यकार विनय रावललाई सम्झिरहँदा उहाँको दृढनिश्चयी स्वभाव सम्झिन मन लाग्छ । उहाँको लोकतन्त्रप्रतिको आस्था, प्रतिबद्धता र समर्पण सम्झन मन लाग्छ । र, व्यक्तिगत रूपमा भन्नुपर्दा (मेरो हकमा) विनय रावललाई मेरो लेखनको एक उत्प्रेरकको रूपमा स्मरण गर्न मन लाग्छ ।

विनय रावल बितेको १६ वर्ष भइसक्दा पनि कानमा बेलाबखत उहाँको जोसिलो स्वर र मिठो हाँसो गुञ्जिरहन्छ । असाध्य मनपरेको उहाँकै योे कविता अंशमार्फत स्वर्गीय विनय रावलप्रति हार्दिक श्रद्धाञ्जली !

विनय रावल आफ्नो कविता ‘मलाई तिमी आफूजस्तै बनाऊ’मा लेख्नुहुन्छ—
विसंगति हेरेर बस्नु यहाँको नियति भैसक्यो
नराम्रो खबर सुनेर बस्नु यहाँको परम्परा नै भैसक्यो
छातीभित्र आक्रोश थिचेर बस्नु यहाँको बाध्यता भैसक्यो ।

हे ईश्वर !
किन मलाई आँखा चाहियो ?
किन मलाई कान चाहियो ?
किन मलाई मुख चाहियो ?

मलाई दया गर,
मलाई तिमी आफूजस्तै बनाऊ ।

(पोखराथोक, माडी, पाल्पा)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  ०८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC