देश
तनहुँ । छोरीमैया श्रेष्ठ स्मृती प्रतिष्ठान, कोटेश्वर काठमाडौँले तनहुँ जिल्लाको रिसिङ रानीपोखरी गाविसस्थित दीपक माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर प्रदान गरेको छ । विद्यालयमा डिजिटल पुस्तकालय संचालन गर्न प्रतिष्ठानले कम्प्युटर उपलब्ध गराएको हो ।
प्रतिष्ठानका उपाध्यक्ष राजकुमार श्रेष्ठले बुधबार विद्यालयका प्रधानाध्यापक विश्वराज गैह्रेलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् । विद्यालयमा डिजिटल पुस्तकालय संचालन हुदाँ विद्यार्थीहरुले पुस्तकको ज्ञानलाई प्रविधीसँगै जोडेर आफ्नो अध्ययनलाई अघि बढाउने मौका पाउने प्रधानाध्यापक गैह्रेले बताए ।
विद्यार्थीहरूको अध्ययनशैलीलाई आधुनिक युगसँगै विकास गर्ने उद्देश्यले विद्यालयमा इलाइबेरीको अवधारणा अनुरुप कम्प्युटर वितरण गरिएको छोरीमैया श्रेष्ठ स्मृती प्रतिष्ठानका उपाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानले जनशक्ति प्राथमिक विद्यालय छाङ्गलाई समेत १ थान कम्प्युटर प्रदान गरेको थियो । जर्मनस्थित अर्काडिज इन्टरनेशनल स्कूलले कम्प्युटरका लागि सहयोग गरेको प्रतिष्ठानले जनाएको छ ।
त्यसैगरी छोरी मैया श्रेष्ठ स्मृती प्रतिष्ठानले तनहुँका ७ विद्यालयमा अध्ययनरत ४६ विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । प्रतिष्ठानले जनज्योती उच्च माध्यमिक विद्यालय, धर्म मा.वि, बाल शैक्षणिक आधारभुत माध्यमिक विद्यालय, विद्याश्रम प्रावि, दीपक मावि, जनज्योती निमावि र जनज्योती प्राविका विद्यार्थीलाई विद्यालय पोशाक, स्टेशनरी, जुत्ता लगायतका सामाग्री वितरण गरेको हो ।
प्रतिष्ठानले गरिब र विपन्न अवस्थाका जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको प्रतिष्ठानकी अध्यक्ष सुजाता श्रेष्ठले बताइन् । प्रतिष्ठानले विगत ८ वर्षदेखी विपन्न परिवारका विद्यार्थीहरुको अध्ययनमा सहयोग गर्दै आएको छ । प्रतिष्ठानले द एसिया फाउण्डेसन मार्फत प्राप्त पुस्तकहरू धर्म माध्यमिक विद्यालय र दिपक माध्यमिक विद्यालयलाई प्रदान गरेको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७३ १२:०६
प्रतिक्रिया दिनुहोस्