site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डको टाउकोको मूल्य
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
“मिडिया र सामाजिक सञ्जालहरूमा प्रतिगामीहरूले (शायद एमाले भन्न खोजेका होलान्) एके फोर्टी सेभेन र मेसिनगनबाट प्रहार गरिरहेका छन् । हाम्रा मान्छेहरूचाहिँ कटुवा पेस्टोल र एकनाले भरुवा बन्दुकले डिफेन्स गरिरहेका देखिन्छन् । यसरी पुँजीवादी युगको न ब्याटल प्लान राम्रो बन्न सक्छ, न एसल्टमा खटेर/टिकेर लड्न सकिन्छ । त्यसैले हाम्रो पार्टी पंक्तिले यस्ता चिजमा बढ्ता ध्यान दिन आवश्यक छ ।”
एकै आखरमा यति लामो विश्लेषण गरेपछि प्रधानमन्त्री प्रचण्ड मसक्क मस्किए । र, थपे, “उहिले–उहिलेको जस्तो छैन अहिलेको लडाइँ । अहिले सुरुङ युद्ध भने पनि, छापामार युद्ध भने पनि, आधार इलाका निर्माण र घोषणा भने पनि वा भूमिगत युद्ध भने पनि मिडिया र सामाजिक सञ्जालमै छ । त्यो छ नि फेक आईडी भन्ने ! हो, त्योचाहिँ भूमिगत युद्ध हो भन्ने लाग्छ । प्रचण्डले यो गर्यो, त्यो गर्यो, ह्यान गर्यो, त्यान गर्यो, आफैंलाई अचम्म लाग्छ । कहिलेकाहीँ साथीहरूले रिपोर्टिङ गर्छन्, कस्तो भन्दा प्रचण्डले कल्पनै नगरेको विषयमा नानाथरी फूलबुट्टा भरेर हो कि जस्तो बनाउछँन् ।”
र, म मुस्कुराएँ । 
असोज अन्तिम साताको बिहान बालुवाटारको एउटा कोठामा एक्लै पत्रिका पढेर बसिरहेका थिए प्रधानमन्त्री प्रचण्ड । अगाडि सानो टेबुल । सुकेको काठको टुक्रा र पात राखिएको झैँ देखिने काँचको गिलासबाट बाफ उडिरहेको थियो । शायद ‘दालचिनी चिया’ भन्छन् त्यसलाई । एक सुरुप चिया तानेर अगाडि हेर्दा प्रमले मलाई देखे र नजिक बोलाए । म लुरुलुरु गएर आडैको सोफामा बसें । 
प्रचण्ड र पंक्तिकारको बारम्बार भेट भइरहन्छ । ‘यो निसानी केटालाई बालुवाटार बोलाऊ’ भन्ने आदेश पाएपछि ज्यादै नम्र भएर सचिवालयका सरहरूले टेलिफोन गर्छन् । कुरो के रहेछ भनेर म हस्याङफस्याङ गर्दै जान्छु । मेरो पनि आफ्नै हैसियत छ, कर्म छ, योगदान छ । तर, मेरो आफ्नो कुनै शक्तिकेन्द्र छैन । शक्तिकेन्द्रउपर कहिल्यै विश्वास पनि गरिनँ । आवश्यक परेको खण्डमा भेटघाट गर्ने वा नम्बर दबाउने विषय अलग छ ।
प्रचण्ड एक्लै बसिरहेका बेला के सोचिरहेका हुन्छन् होला ? अडियो भिडियोको रूपमा बाहिर अखबारमा आएका बाहेक खासमा प्रचण्डको दैनिकी, उनको राजनीतक गतिविधिहरू कस्ता हुन्छन् होला ? सामान्यतया यो चासोको विषय हुन्छ । कुनै बेला टाउकोको मूल्य तोकिएका व्यक्ति आज प्रधानमन्त्रीको रूपमा सरकारी निवासमा छन् । टाउकोको मूल्य तोकिएको त्यो समय जताजतै जगजगी थियो । तत्कालीन (शेरबहादुर) देउवा सरकारले प्रचण्डको टाउकोको मूल्य निर्धारण गरेको थियो । 
संयोग भनौं, अहिले उनै देउवाको समर्थनमा प्रचण्ड देशको प्रधानमन्त्री बनेका छन् ।
दुश्मनजस्तो एक दिन
मैले प्रचण्डको राजनीतिक जीवनको दैनिकी लेख्न खोजिरहेको होइन यो लेखमा । र, त्यो रुचि अनि हैसियत पनि म राख्दिनँ । प्रचण्डका अनेक आयामबारे लोकबासी जानकार छन् । खाली प्रचण्डका पछिल्ला दिन कसरी बितिरहेका छन्, दिमागमा के कुरा खेलिरहेका होलान् भन्ने विषयको सामान्य पाटोलाई प्रष्ट्याउन मात्रै खोजिरहेको छु । यो मेरो प्रयासमात्रै पनि हुन सक्छ । 
केही समयअघि कफी गफमा एकजना कांग्रेसका मित्रले भनेका थिए, “हेर्नुस् मित्र, नेता शशांक कोइरालाको घरबाहिर एकाबिहानै जानुभयो भने पनि करिब २ दर्जन चप्पल र १ दर्जनभन्दा बढी जुत्ता देख्न सक्नुहुन्छ । कामै नभए पनि उनको घरमा नपुगेसम्म दिनको सुरुवात भएको नठान्ने कार्यकर्ता पनि छन् । यो त कांग्रेसको लिगेसीजस्तै भइसक्यो ।”
ती मित्रको कुरा सय प्रतिशत सत्य हो । 
कांग्रेसमा जस्तै कम्युनिस्ट कल्चरमा पनि निवासमै पुगेर चाकडी गर्ने प्रथा त छैन तर आजकल बालुवाटरको ढोकामा धेरै आशावादी मानिसहरू ओहोरदोहोर गर्ने गरेका देखिन्छन् । 
प्रचण्डको हरेक बिहान एउटा समूहसँग भेटघाट गरेर सकिन्छ । जस्तोः बाढीपीडित, भूकम्पपीडित, आगलागीपीडित, द्वन्द्वपीडित, वैदेशिक रोगजारीका पीडित, मुक्तकमैया, भूमिहीन सुकुम्वासी, सहिद परिवार, घाइते तथा अपांग, पूर्वसांसद मञ्च, पूर्वकर्मचारी मञ्च, विस्थापित परिवार, जनआन्दोलनका घाइते, एनआरएनका मान्छे आदि । यसका अतिरिक्त अरु जो छन्, ती त नियमितजस्तो नै छन् । 
एकबिहान मैले सुझाव दिएँ, “जे भयो, भयो । अब भूकम्पपीडितलाई हेलिकप्टरबाट पैसा बाँडौं । गाउँमा बैंक पनि छैन । भए पनि सबै एमालेजनका भाटहरू मात्र छन् । एक त ती गाउँमा नै जान्नन् र गए पनि गडबड गर्छन् । दोस्रो, पीडितहरू दुर्गममा बस्छन्, ती सहरमा पैसा लिन आउँदा, होटलमा बसेर रक्सीपानी पिउँदा र फर्केर त्रिपालमुनिसम्म पुग्दा पहिलो किस्ता सकिन्छ । यसैगरी दोस्रो किस्ता पनि सकिन्छ ।”
प्रचण्डले गम्भीर हाउभाउमा टाउको हल्लाए । भोलिपल्ट टिभीमा घोषणा गरे । अनि नेपालमा हंगामा भयो । 
मेरो त सामान्य नेपाली नागरिकको हैसियतमा गरेको भलाकुसारी थियो त्यो । माओवादीका कट्टरपन्थी खेमाका सदस्यहरू र प्रचण्डकै मानो खानेहरू आवेशमा बोल्छन्, “प्रचण्डका सल्लाहकारहरू गतिला छैनन् ।” मलाई त लाग्छ कि प्रचण्डका सल्लाहकारहरू नै छैनन् । जो छन्, ती नाममात्रका । प्रचण्डले भोलि के गर्छन्, आज के गरे, तिनलाई थाहै हुन्न । यसर्थ प्रचण्डका दुश्मनहरू छैनन् ।
दुश्मन हुनका लागि हैसियत चाहिन्छ । प्रचण्डसँग दुश्मनी लिन सक्ने हैसियत नेपालमा कोही कसैसँग छैन । यदि प्रचण्डका दुश्मन कोही छन् भने उनी आफैं हुन् ।
कर्म थालनीको हरेक बिहान उनको दुश्मन हो ।
प्रचण्डमाथिको प्रेसर
संविधान घोषणापछि बीबीसी नेपाली सेवासँग कुरा गर्दै प्रचण्डले ‘अब त म मरे पनि खासै केही फरक पर्दैन, मेरो एउटा सपना पूरा भयो’ भनेका थिए । त्यो भनेको संविधानसभाबाट संविधान घोषणा गर्ने नेपाली जनताको वर्षौंदेखिको सपना पूरा भएको थियो । त्यसैले प्रचण्ड उत्साहित हुनु, भावुक हुनु, रुनु, हाँस्नु, गम्भीर देखिनु र स्वाभविक र सामान्य प्रक्रिया नै थिए । 
तर, संविधान घोषणासँगै मधेसवादी दल र जनताको विरोधका स्वर चुलिएपछि नाकाबन्दी भयो । कैयौं सुरक्षाकर्मी र आन्दोलनकारी मरे । आफू मरे पनि खासै फरक पर्दैन भनेका प्रचण्डको नयाँ राजनीतिक उतारचढाव सुरु भयो । यो उतारचढाव राष्ट्रघात र राष्ट्रवादको बहसमा केन्द्रित भयो । बेलाबेलामा प्रचण्ड भन्थे, “मेरो कालखण्डमा बुद्ध जन्मेको भए बन्दुक बोकेर हिँड्थे होला, अहिले लाग्छ कि यस्तो परिवेशमा महात्मा गान्धी नेपालमा जन्मेर नेतृत्व गरेको भए राष्ट्रघाती नै हुन्थे ।”
प्रचण्डको गुनासो छ, “अक्सर जाँडरक्सी खाएर रामरमितामा भुलिरहेका जनजाति आदिवासीहरूको दिमागमा चेतना हाल्यौं हामीले । मन्दिर र पँधेरोमा जान डराउने दलित समुदायको मन मुटुमा आँट र साहस भरिदियौं । भूमि भए पनि भूमिहीन बनेका मधेसीहरूको आँखामा चेनता पनि भरिदियौं । यो देशको विकासको बाधक जातीय केन्द्रिकृत राज्यसत्ताका विरुद्ध, पहिचानसहितको बहुजातीय, भाषिक, धार्मिक सामाजसहितको संघीयताको नारा उठायौं । अनि म नै राष्ट्रघाती ?”
दिल्ली प्रस्थान गर्दा उज्यालो चेहरामा गएका प्रचण्ड भ्रमणबाट फर्केपछि तनावमा देखिए । भ्रमणमा जानुभन्दा अघिल्लो रातको छलफलमा उनी आफूले मोदी सरकारसँग कुनै पनि नयाँ सन्धि–सम्झौता नगर्ने भन्दै सम्बन्ध सुधारका लागिमात्रै जान लागेको बताएका थिए र भयो पनि त्यस्तै । तर, दिल्लीबाट फर्केको एक हप्तापछिको भेटघाटमा प्रचण्ड अप्रत्याशित तनावमा देखिए ।
“फास्ट ट्र्याक बुझाउन लाग्यो भनियो– झुटो । उपल्लो कर्णाली भारतलाई दिने भयो भने– झुटो । हिन्दी भाषालाई सरकारी भाषा बनाउन लाग्यो भने– झुटो । चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित गरिदियो भने– झुटो । अंगीकृत नागरिकलाई राज्यको मुख्य पद सुम्पिन संविधान संशोधन गर्ने भने– झुटो । लोकमानसँग प्रचण्डले कुरा मिलाइसक्यो भने– झुटो । सबै झुट । योभन्दा बरु मेरो टाउकोको मूल्य नै तोके सहन सजिलो हुन्छ,” प्रचण्ड जंगिए ।
“पहिलो पटक प्रधानमन्त्री हुँदा कटवालले मार्न नै खोजेका हुन् तपाईंलाई । रणनीति र कूटनीति राम्रो हुँदा तपाईं र पार्टी जोगियो,” मैले भनें ।
प्रचण्डको मुहारमा मुस्कान छाउँदै गरेको बेला मैले फेरि थपें, “प्रचण्ड कति टिक्छन् वा उनको पार्टी कति बिक्छ, त्यो मुख्य कुरा होइन । मुख्य कुरा यो हो कि राज्यमा चरम विभेद रहेसम्म विद्रोह त हुन्छ, हुन्छ । त्यो प्रचण्डकै नेतृत्वमा पूरा हुनुपर्छ भन्ने के छ ? हो, अथक प्रयासचाहिँ गर्ने हो ।”
मन्तव्यको बिट मारे उनले, “प्रचण्ड मरेपछि पनि सामाजको गति त अगाडि नै बढ्छ । यहाँ हजार प्रचण्ड जन्मिन्छन् ।”
माथिको आदेश
त्यो दिनको भेटघाटमा म छक्कै परें । 
तल्लो स्तरमा धेरै कर्मचारीहरूले ‘माथिको आदेश छ’ भन्दै जनताले गर्न चाहेका, बोल्न चाहेका कुराहरूमा रोक लगाउँछन् । सुरक्षा अंगहरूमा यो झन् धैरै लागू हुन्छ । राजनीतिक पार्टीहरूको लिगेसी पनि माथिल्लो तहका नेताले निर्णय गरेका छन् भने तलको मनोभाव वा तर्क जेसुकै होस्– चुपचाप मौनधारण गरेर बस्ने प्रचलन छ । प्रशासानिक रूपमा वा रणनीतिक रूपमा माथिको पनि बाउ माथिको प्रधानमन्त्री हुन्छन् ।
हालको हर्ताकर्ता प्रधानमन्त्री वा त्यस्तो किसिमको माथिको आदेशयुक्त भाषा बोल्न सक्ने व्यक्ति प्रचण्ड त्यो पदमा छन् । त्यसैले ‘प्रचण्डले कति धेरै निर्देशन दिएको यार’ भनेर हँसीमजाक गर्ने ‘लाउके’ जमात पनि छ यहाँ । वास्तवमा ‘आदेश’को ठाउँमा प्रगतिशील शब्द ‘निर्देशन’ले स्थान ओगटेको मात्रै हो । नेपालको इतिहासमा धैरै व्यक्तिहरू माथिको आदेश दिने ठाँउमा पुगे । र, आफैं माथिको आदेशले तल झरे ।
दुई हप्ताअघि प्रचण्ड र म संवादमा थियौं । खासगरी विचारमा भन्दा पनि भावनामा बग्ने गणेशमानका जनतालाई हल्लै भए पनि यो, यो कुरा गर्दा खुसी हुन्छन् भनेर फेहरिस्त सुनाउँदै थिएँ म । हो पनि । वास्तवमा विचार, योजनाशून्य जनतालाई साहित्यिक लवजका श्लोकहरू भनिदिए पुग्छ, विकास चाहिँदैन । बीपी कोइरालाको लिगेसी बेचेर नेपाली कांग्रेस आफैं उम्रिरहेछ, अरुलाई जस्तो रोप्नुपरेको छैन ।
संवादकै क्रममा प्रचण्डको मोबाइल बज्यो । उताबाट बोलिरहेको थियो, “लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने प्रस्ताव दर्ता भयो, सभासदहरूको हस्ताक्षर पनि आइसक्यो ।”
“हँ ! के भन्नुहुन्छ ?” प्रचण्ड झस्किएर भने, “हाम्रो पार्टीको सल्लाह हुँदैछ, डिसिजनमा पुगिसकेका छैनौं है ।”
फेरि उताबाट जवाफ आयो, “तपाईंको पार्टीका सभासदहरूको हस्ताक्षर पनि आइसक्यो ।”
त्यसपछि ‘ल, इमर्जेन्सी पो भयो’ भन्दै प्रचण्ड सोफाबाट जुरुक्क उठे । 
मलाई लाग्यो– यहाँ त प्रचण्डभन्दा पनि माथि रहेछन् मानिसहरू । यो ‘माथि’ भन्ने त केवल भन्ने कुरा न रहेछ ।
म बालुवाटारबाट बाहिर निस्कँदै गर्दा मनभरि कुरा खेलाउँदै कोठामा आइपुगें ।
हैन यी मानिसहरू त सुरा हुन् गाँठे, प्रचण्डलाई थाहा नै नदिई यति ठूलो निर्णय लिन सक्ने सांसदहरू, त्यो पनि माओवादीका । लोकमानलाई महाभियोग लगाउने कुरा सही नै छ भने पनि पार्टीको विधि, पद्धति त हुन्छ नि । माओवादी आलोचित हुनुमा यस्तै प्रवृत्तिको भूमिका बढी देखिन्छ ।
भोलिपल्ट अखबारमा आयो, “प्रचण्डलाई त्यो रात निद्रा लागेनछ, सोच्दै जाँदा राजीनामा दिने मुड आएछ ।”
प्रचण्डको टाउकोको मूल्य
नेपाली जनता वर्षौंदेखि उत्पीडनमा छन् । सामन्ती राज्यव्यवस्थाका कारण उत्पीडनका रूपहरू धेरै किसिमका छन् । ती निकै गम्भीर छन्, जसलाई जनयुद्धको नारामार्फत अगाडि बढाउन खोज्दा प्रचण्डको टाउकोको मूल्य तोकियो । लाग्छ–अहिले संविधान संशोधनमा पहिचानलगायतका मुद्दाहरू निकै संवेदनशील बनेर उपस्थित छन् । नयाँ पुस्ता र पुरानो विचारको टक्कर परेकै छ ।
मानौं यो कुनै पुस्ता र विचारको लडाइँ होइन । प्रचण्डको टाउकोको मूल्यको महत्व अझै बढेर गएको छ । बाटोमा पुरानो बोरा बोकेर हिँड्ने पागलको टाउकोको मूल्य त तोकिन्न, जसको मगजमा केही न केही छ, उसैको खोजी हुन्छ । सकभर टाउको काटेर अपराधीको दण्डित गरेको सावित गराउन खोज्छन्, नसके मूल्य त फिर्ता गर्छन् । यस्तो लाग्छ कि प्रचण्डको टाउकोको मूल्यमाथि अहिले बार्गेनिङ चलिरहेछ ।
विगतमा नश्लवादी राज्य व्यवस्थाले जातिहरूको भाषिक अधिकार खोस्यो, सांस्कृतिक रूपमा तिनीहरूलाई छिन्नभिन्न बनायो । एकै धर्म, एकै भाषा, एकै वेशलाई राष्ट्रिय महत्व दिँदा अन्य नागरिकले आफू उत्पीडनमा परेको महसुस गरेका छन् । होनहार युवाहरू बिदेसिएका छन् । जोत्नेको जमिन छैन । गरिबका नानीहरू पढ्न पाएका छैनन् । यस्तो अवस्थामा माओवादीप्रति उत्पीडित वर्गको आँखा जानु स्वाभाविक थियो ।
र स्वाभाविक थियो, सामन्तवादीहरूको आँखा प्रचण्डको टाउकोतिर जानु ।
वास्तवमा प्रचण्डको विचारधाराप्रति मेरो आँखा जानु पनि कारण यिनै थिए । एकदिन गरिबको आँगनमा खुसीको किरण झल्किएला र तिनका नानीहरू पनि स्कुल जान पाउलान् भन्ने सुनौला सपनाहरू थिए । यिनै सपनालाई विपनामा साक्षात् प्राप्त गर्नका लागि भएको बलिदानीपूर्ण यात्रालाई मैले नजिकबाट नियालें । प्रचण्डपथमा केही ढुंगाहरू मिलाउने काम गरें, माटोहरू मिलाएँ ।
माओवादी शान्ति प्रक्रियामा आइपुगेपछि मलाई लाग्छ, प्रचण्डको आलोचनाको युग सुरुवात भएको हो । हिजो युद्ध लड्न ढुंगा, माटो, रुख र हावा तयार थिए । शान्तिकालमा प्रचण्डलाई आलोचना गर्न युद्ध लड्न ढुंगा, माटो, रुख र हावासमेत उपस्थित भए । फरक यत्ति हो, प्रचण्डसँग शान्ति, संविधान, संघीयता, गणतन्त्र थियो । जनतासँग अभाव, पीडा, आँशु, सपना र रगतका छिटाहरूमात्र थिए ।
प्रचण्डको राजनीतिक कार्यदिशा सही छ भन्नेहरू छन्, प्रचण्डको राजनीतिक कार्यदिशा गलत छ भन्नेहरू पनि छन् ।
एउटा मान्छेको टाउकोले कति फरक पार्दछ जिन्दगीमा ... !
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७३  ०८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro