site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीलाई चिठ्ठी– टहरामै प्राण जाने भो सरकार !
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
सम्माननीय प्रधानमन्त्रीज्यू !
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौं, नेपाल
‘बा ! सरकारले खातामा पैसा हाल्द्यो ? अनि घडेरी खार्नुभो ?’ एकाबिहानै मलेसियाबाट छोराले छिमेकमा फोन गरेर सोध्यो ।
मुखभरिको जवाफ दिन मन लागेको थियो, तर यतिमात्रै भनेँ, ‘तिमी बजियाहरूलाई घर चाहिएन, पाखुरामा बल भएकालाई त धुरी लडेको वास्ता छैन भने हामी डाँडा पारिकालाई के मतलब ? बारिको पाटाको त्यही पालकै ओतमुनि छु ।’
अरु दोहोरो कुरा नगरी घत्रक्क फोन राखिदिएँ ।
छोरालाई तीतो पोखे पनि मनमा तिल जौ छड्कन कम्ती भएको थिएन, ‘टहरामै पो बित्ने भो त प्राण, धत् !’
गोजीमा गाँठ नभए पनि मनले आँट्न मात्रै सकेको भए उहिल्यै जग खनिसक्थेँ । सरकारको भर पर्नु मर्नु बराबर हो भन्ने नबुझेको थिएँ र !
उमेर घर्किएपछि बल पनि तर्किइहाल्दो रहेछ ! बाउले पाँच वटा घरको धुरी मारे, मैले पनि तीनवटासम्म ठड्याएकै हुँ, छोराहरू के भएका हुन्, दुई वर्ष बित्न लाग्दा पनि घर बनाउने कुरै झिक्दैनन् बा ! यही पीरले आफ्नो झिमिक्क आँखा नपारी रात बित्छ ।
दुई वटा छोरामध्ये एउटा बाहिर भइगो, अर्को सहरतिरै बस्छ । दसैं–दसैंमा आउँछ, टहरामै टिको लाउँछ । त्यसपछि फर्केर आउँदैन ।
यता बूढी क्याउँ–क्याउँ गर्छे, ‘आज बनाउलान् भोलि बनाउलान् भन्दाभन्दै दुई वर्खा कटाए । यी बाउछोराले घर नबनाएर यो हिउँद पनि यही पालमुनि राख्लान्जस्तो छ, दमले माघ काट्न देलाजस्तो छैन, प्राणचाहिँ सजिलोसँग गइदिए हुन्थ्यो !’ 
चिसोसँग दमको दुस्मनी छ । हुस्सु बढ्नेबित्तिकै जहानलाई अप्ठ्यारो पारिहाल्छ ।
जे भए पनि दुःखमै बूढोलाई त हो नि । दुवैजना बूढाबूढी बिरामी परेको दिन त पानी तताएर दिने मानिस पनि भेट्न मुस्किल छ । पखेटा लागेका छोराहरूले दैलो नाघिहाले !
दसैंताका हुनुपर्छ, एकजना पत्रकार नानी आइपुगिर’थे । के कसो छ भन्दै थिए, पालमुनिको रित्तो भकारी देखाइदिएँ । सास बढेकाले कुनामा बूढी घ्यार्र घ्यार्र गर्दै थिई । पालबाट टहराभित्र शीत तप्किएको उनैले देखे । मैले केही भन्नै परेन ।
मुलाको साग ओइलाएजस्तो अनुहार पारे । काठमाडौँमा बसेर लेखापढी गरेर मात्रै कहाँ देखिन्छ र गाउँको दुःख ? यहाँ आएपछि ती तीनछक परेछन् !
मैले नै भनेँ, ‘समाचार लेख्नेमात्र होइन बाबु, प्रचण्डलाई म बूढाको गुनासो पनि पुर्‍याइदेऊ । लेख्न जान्दिनँ । म भन्छु, तिमी आफैँ लेखिदेऊ है ।
के भनूँ सरकार ! अचेल गाउँहरू ‘वृद्ध घर’ मा परिणत भएका छन् । कपाल फूलेका बूढाखाडाबाहेक गाउँमा अरु मानिस देख्नै मुस्किल छ । खुट्टा लागेका जति लाखापाखा लागेकाले गाँवै शून्य छ भन्दा पनि हुन्छ । भूकम्पपछि त बस्ती पूरै निर्जन भइसकेको छ, भिषण बमबारी पछि मानिसहरू थातथलो छाडेर भागेजस्तो !
भुइँचालो गएको १८ महिना बित्यो । सुरुका दुई–चार महिना त राहतको ओइरो नै लाग्यो । त्यसपछि भने भूकम्पका गाउँ बस्तीमा मानिसहरू आउनै छाडे । गाविस सचिव र आक्कलझुक्कल आउने इन्जिनियर ओभसियर साबबाहेक सरकारका मानिसको नाकमुख देख्न पाएका छैनौँ हामीले ।
सरकारले घर बनाउन दिने सहयोग सम्झौता गरेको ६ महिनापछि अस्ति बल्ल बल्ल पहिलो किस्ता पाएँ । त्यो लिन जाँदाको दुःख कसरी सुनाऊँ !
यहाँबाट बजार जान म बूढोलाई ठ्याक्कै आठ घण्टा लाग्यो । उकालो पायक परेकाले त्यहाँबाट फर्कन त झनै दोब्बर । बजार पुगेर यहाँ आउन तीन दिन लाग्यो मलाई । तीन दिन माया मार्दा पैसा सुविस्ताले पाएको भए त हुन्थ्यो नि ! 
बैंकका कर्मचारी उस्तै रुखा ! ‘यति पनि जान्नुहुन्न, त्यति पनि आउँदैन’ भनेर अरिंगालले झैँ छोप्छन् । बूढाबूढीलाई कस्तो व्यवहार गर्नुपर्छ । नजान्नेलाई सिकाउनुपर्छ भनेर तिनमा कुनै चेत हुँदो रहेनछ । पढेर मात्रै कहाँ बुद्धि आउँदो रहेछ र बाबु ! यो देशमा कस्ता कर्मचारी ! यो कागज भएन त्यो कागज भएन भनेर पैसा निकाल्न दिनभरि नै पो लगाइदिए ।
बजार उस्तै महँगो ! खाँदाबस्दा र कागजात मिलाउँदा झण्डै १५ हजार सकियो । ५० हजार लिन १५ हजार खर्च गर्न परेपछि बाँकी पैसाले कसरी जग खन्ने सरकार ? यति पैसा पाउन पनि दुई वर्ष कुर्नुपर्‍यो । बाँकी पैसा पाउन कति वर्ष कुर्नुपर्ने हो हामीलाई क्यै थाहा छैन सरकार ।
टीभी त भए पो हेर्न पाउनु ? भइदिएको भए नेता र सकारमा बस्नेको अनुहार एक पटक हेर्न मन थ्यो । सरकारमा पुगेपछि कस्ता हुँदा रहेछन् ती ?
एउटा मजत्तिकै बूढो रेडियो छ घरमा । त्यसले भनेको सुन्दा अब केही दुःख छैन जस्तो ! आफ्नो दुःख देख्दा लाग्छ, यस्तो दुःख पाउनुभन्दा खोलामा हामफाल्नु वेश ! तर, निर्धनलाई त कालले पनि छल गर्दोरहेछ सरकार !
३५ हजार च्यापेको आज ३५ दिन बितिसक्यो । भत्किएको घर पन्छाएर जग खन्ने मान्छे पाएको छैन । दश गाउँ चहार्दा पनि ज्यामी मिस्त्री पाइँदैनन् । सबैका घर भत्किएका छन् । कसलाई भन्नू, ‘मेरो घर बनाउनुप¥यो ओइ आइजो त !’
प्रधानमन्त्रीज्यू, हिजो भूमिगत हुँदा तिम्रा कायकर्तालाई दिनहुँ पाल्ने मै बूढो हुँ । यति दुःख गरेका छन्, सत्तामा पुगे भने केही त पक्कै गर्लान् भन्ने आश मलाई पनि थियो । त्यसैले आफू भोकै सुतेर पनि तिनीहरूको पेटमा तातो लगाउँथें । त्यतिबेला माओवादीका कार्जेकर्ता भन्थे– हामी सत्तामा पुगेपछि यस्तो दुःख पाउनुपर्दैन, नेताहरूको अनुहार हेर्न काठमाडौँ धाउनुपर्दैन बा !
अहिले सत्तामा छन्, खै त भूकम्पपीडितलाई हेरेको ? सरकार चाहिने भनेको यस्तै गाह्रो–साह्रो पर्दा हो । सधैँ चुल्हो बालिदेऊ त हामीले पनि भनेका छैनौं नि !
हाम्रो घर बनेन भनेर के गुनासो गर्नू ? सरकारले आँगनकै सम्पदा त बनाउन सकेको छैन रे । सुन्दैछु– त्यो पनि विदेशीलाई बनाउन जिम्मा दिने रे । देशको सम्पत्ति बनाउन विदेशीको मुख ताक्न लाज नमान्ने गतिछाडा सरकारले हाम्रो घर बनाइदिएन भनेर के गुनासो गर्नु !
मेरो बिन्ति लाग्छ भने सरकार, भत्किएका ती सम्पदा छिटो बनाऊ । पर्यटक आएर हुने देशको आम्दानीमा अरू हानी नपुगोस् । सम्पदा देशको सम्पत्ति हो । समयमै बनेन भने पुर्खाको सम्पत्ति पुस्तालाई कसरी दिने ? 
रेडियोमै सुनेको हुँ– टीभीमा हँसाउने कलाकारको एक जोडीले दुईटा बस्ती उभ्यायो ! एक वर्षमा ८५–८६ वटा घर बनायो । सामान्य कलाकारले त्यत्रो असामान्य काम गर्न सक्छ भने देशको साँचो नै कम्मरको जनैमा भिरेकाले त जादुकै भरमा बस्ती उभ्याइसक्नुपर्ने होइन र सरकार ? तर, तिम्रो चालचुल देखिँदैन ! सरकार जिउँदै छ कि छैन हामीले चालै पाएनौँ ।
भन्नु त धेरै थियो सरकार । दुई बर्खा र एक माघ टहरामै बितायौँ । जंगलको छेउ छ, बाघभालुले खाइदिने हुन् भन्ने डर लागिरहन्छ । डरैडरमा तिम्रो भर परेका छौँ सरकार !
यो हिउँदमा जसरी पनि घर बनाउनुपर्छ । नत्र हामी बूढाबूढीलाई बाँच्नै मुस्किल हुन्छ ।
किस्ता–किस्तामा पैसा दिँदा किस्ता–किस्तामै दुःख पाइन्छ । पैसा दिने नाउँमा यस्तो सास्ती दिनुभन्दा बरु सुरक्षा निकायको सहयोगमा गाविस सचिवले गाउँ–गाउँमै पैसा बाँड्ने प्रबन्ध मिलाए अलि सजिलो हुन्थ्यो कि । 
अघि नै भनिसकेँ, गाउँमा सिकर्मी, डकर्मी छैनन् । घर बनाउने मान्छे नै नपाइएपछि बास कसरी बनाउनु ? अतः भूकम्पपीडित गाउँमा अन्यत्र भूकम्पले क्षति नपुर्‍याएका ठाउँबाट काम गर्ने मान्छे पठाउने हो कि अरू उपाय खोज्ने हो, छिटो ध्यान पुर्‍याउनु पर्‍यो सरकार । 
यस्तो पानी मारको घट्टझैं चालाले कहिले सकिन्छ पुनःनिर्माण । पुनःनिर्माण ढिला भयो, जनताले दुःख पाए भनेर नै सरकार फेरेका होइनौँ तिमीले ?
फगत कुर्सीकै तातो आलु खेलेर बसिरहनुभन्दा देश बनाउनेतिर पनि ध्यान जाओस् । नत्र हामी बूढाखाडाले मात्रै होइन, छोरानातिले पनि सरकारलाई सरापिरहनुपर्ने छ ।
 
अक्षर काकाको सहयोगमा सिन्धुपाल्चोकबाट भूकम्पपीडित रामवीर तामाङ
मिति २०७३/०७/२६
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro