विशेष
काठमाडौं । तिहार लक्ष्मीपूजाको दिन नेपाल विद्युत् प्राधिकरण व्यापार विभाग प्रमुख प्रवल अधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने– “नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकालगायत काभ्रेको बनेपा, धुलिखेल र पाँचखालसम्मलाई विद्युत्भार कटौती अर्थात् लोडसेडिङमुक्त बनाउने तयारी गरेको छ । यो कामको सुरुवात आजैदेखि भएको छ ।”
उनले भनेकै दिनदेखि काठमाडौं उपत्यकासहित काभ्रेका तीन सहर पनि लोडसेडिङमुक्त भएका छन् । तर, अहिले जनमानसमा जबरजस्त रूपमा एउटा प्रश्न उठेको छ– कहिलेसम्म टिक्ला प्राधिकरणको यो योजना ?
बाह्रखरीले यो प्रश्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्लाई गर्दा उनको जवाफ थियो “अहिले हामीले लोडसेडिङमुक्त गरेका छौं । अब यसलाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारेमा अध्ययन गरिरहेका छौं । यसका लागि विज्ञ समितिले पनि काम गरिरहेको छ ।”
उनले उपत्यकासहित बाहिरका तीन सहरलाई लोडसेडिङमुक्त बनाउनका लागि तिहारअघि नै आवश्यक गृहकार्य अघि बढाएका थिए ।
घिसिङले प्रसारणलाइन निर्देशनालयका उपकार्यकारी निर्देशक राजीव शर्माको संयोजकत्वमा एक उच्चस्तरिय विज्ञ समिति गठन गर्दै एक साताभित्र प्रतिवेदन पेस गर्न निर्देशनसमेत दिएका थिए ।
समितिमा योजना निर्देशनालय, वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक, विद्युत् व्यापार विभागका प्रमुख, प्रणाली सञ्चालन विभाग प्रमुख छन् । विज्ञ समूहले अहिले पनि आवश्यक गृहकार्य गरिरहेको प्राधिकरणले जनाएको छ ।
त्यसपछि प्राधिकरणको योजना सफल भएको हो ।
प्रसारण प्रणालीमा १ सय मेगावाट बिजुली थप भएपछि पछिल्लो समयमा नेपाल विद्युत प्राधिरकरणले काठमाडौं उपत्यकासहित बाहिरका केही सहरलाई विद्युतभार कटौती (लोडसेडिङ) मुक्त बनाउन सफल भएको हो ।
भारतबाट ७५ मेगावाट आयात बढेको, माथिल्लो मस्र्याङ्दी ए बाट २५ र दरौंदीबाट ६ मेगावाट थप भएको, अन्य आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आएको र काठमाडौंमा विग्रिएको आपूर्ति सन्तुलनमा ल्याउँदा उपत्यकालाई लोडसेडिङमुक्त बनाउन सकिएको विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख विष्णु श्रेष्ठले बताए ।
उनले काठमाडौंमा मात्र नभई केही सहरमा लोडसेडिङ हटेको जानकारी दिए । “भारतबाट आपूर्ति बढेको, नयाँ आयोजना सञ्चालनमा आएको र राजधानीमा आपूर्ति व्यवस्थापन गर्दा लोडसेडिङ हटेको हो,” उनले भने “यसलाई निरन्तरता दिन भारतबाट थप बिजुली आयात गर्नुपर्छ ।”
अहिले विद्युत् प्राधिकरणले भारतबाट समेत गरी विद्युत आपूर्ति साढे ९ सय मेगावाट गरिरहेको छ । माग १ हजार ३२५ मेगावाट छ । प्रणालीमा अझै पनि ४ सय मेगावाट आपूर्ति कम भएको उनले जानकारी दिए । तिहारमा माग बढेर १ हजार ४४४ मेगावाट पुगे पनि अहिले घटेको उनले बताए । तिहारदेखि उपत्यकामा लोडसेडिङ हटेको उनले जानकारी दिए ।
यस्तै छठको बेला तराईका सबै जिल्लालाई लोडसेडिङमुक्त गराएको उनले बताए । श्रेष्ठका अनुसार औद्योगिक क्षेत्रमा पनि दैनिक १४ घण्टा हाराहारीमा बिजुली आपूर्ति भइरहेको छ । साँझ उद्योग नचल्ने भएकाले घरायसी प्रयोजनमा बिजुली आपूर्ति बढेको उनको भनाइ छ । प्राधिकरणले साँझमा केही घण्टा कुलेखानी आयोजना पनि सञ्चालनमा ल्याएको छ ।
लक्ष्मीपूजाको दिन आइतबार उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका अतिरिक्त बनेपा, धुलिखेलदेखि पाँचखालसम्म ३१० मेगावाट बिजुली आपूर्ति गरेर लोडसेडिङमुक्त गरिएको थियो ।
कुलेखानी, हेटांैडामा रहेको डिजल प्लाण्ट, कालिगण्डकी लगायत निजी क्षेत्रका सबै आयोजना पूर्ण क्षमतामा सञ्चालन गरेका कारण प्राधिकरण तिहारको बेला लोडसेडिङमुक्त गर्न सफल भएको हो ।
नेपाल विद्युत् प्राधिकरणले अघि सारेको योजनाअनुसार एक सातादेखि काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, धुलिखेल र पाँचखालमा लोडसेडिङ भएको छैन ।
प्राविधिक समस्याका कारण कुनै क्षेत्रमा केहीबेर बिजुली आपुर्ति हुन नसके पनि तत्काल समस्या समाधान गरिएको प्राधिकरणले जनाएको छ ।
यी क्षेत्रमा लोडसेडिङको अहिले कुनै तालिका नरहेको प्राधिकरणले जनाएको छ ।
“माघ र फागुनमा विद्युत् उत्पादन कम हुन्छ,” प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बाह्रखरीसँग भने, “यो दुई महिना लोडसेडिङमुक्त कसरी गर्ने भन्ने योजनामा छौं । सफल भयौं भने वर्षैभरि लोडसेडिङमुक्त गर्न सक्छौं ।”
उपत्यकामा कुनै फिडरमा माग बढी तर आपूर्ति कम, कुनैमा माग कम तर आपूर्ति बढी रहेकाले त्यसको व्यवस्थापन गर्ने काम पनि प्राधिकरणले जारी राखेको छ ।
यसको व्यवस्थापन गर्न सके पनि धेरै सहज हुने प्राधिकरणले जनाएको छ ।
भारतबाट ल्याइँदैै, नेपालमा पनि थपिँदै
नेपालले भारतसँग ६ सय मेगावाट बिजुली आयातको तयारी गरेको छ । हिउँदमा लोडसेडिङ कम गर्न सन् २०१७ देखि भारतबाट करिब ६ सय मेगावाटसम्म बिजुली आयातको तयारी गरिएको हो । त्यसका लागि ढल्केवरमा २२० केभीको सबस्टेशन निर्माणाधिन अवस्थामा छ । कुसाहा–कटैया १३२ केभी र रक्सौल–परवानीपुरको १३२ केभी प्रसारणलाइनको क्षमता अभिवृद्धि गर्ने काम जारी छ ।
यो काम पुसको दोस्रो सातासम्म सकिने प्राधिकरणले जनाएको छ । ऊर्जामन्त्री जनार्दन शर्मा भदौको पहिलो साता ढल्केवर पुगेर सबस्टेशनको काम छिटो सक्न निर्देशन समेत दिएका थिए ।
यसैबीच नेपालमा निर्माणाधीन अवस्थामा रहेका मादी २५ मेगावाट र काबेली २५ मेगावाट गरि ५० मेगावाट बिजुली पनि तत्काल थप हुँदैछ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३ १५:१४
प्रतिक्रिया दिनुहोस्