चिठ्ठी नं. १
आदरणीय बा-आमा !
सादर ढोग । अरबको बसोबास पनि आज ५ वर्ष पुग्यो । यतिका दिनसम्म अरबको रेगिस्तानी घाममा रगत पगालेका उपलब्धिहरु धेरै नभए पनि साहूको ऋण चुक्ता भयो, एकपटक बिदा आउँदा सबै सँगै बसेर गरेको रमाइलो क्षणको सँगालोबाहेक हाथमा फुट्टी कौडी बचेन । अब अझै यो तातो रापमा पोलिने मन छैन मेरो । त्यसैले मैले फर्किने निधो गरें । बा, आउने महिना घर फिर्दै छु । म अझै पनि शारीरिक र मानसिक रुपले स्वस्थ छु र आफ्नै माटोमा केही गर्न सकिन्छ कि भनेर मेरो आशा जीवितै छ ।
हजुरहरुको सल्लाह अपेक्षा गरेको छु ।
- सन्तबहादुर
जवाफ :
प्रिय छोरा सन्ते
चिरन्जीवी भएस्
चिठ्ठी पाएँ, तेरो सकुशलताको खबर पाउँदा मन खुसी भएको छ, आमाले नि आशीर्वाद भनेछिन् । आउने महिना बिदामा आउने कुराले सबै खुसी छन् । घरको छानो चुहिने भएको छ, खरले छाउन धेरै महँगो र झिझलो हुन्छ । बरु एकै पटकको दु:खले कर्कट हाल्दा नि हुन्थ्यो, सबैले पक्की घर बनाउने सल्लाह दिन्छन् । तँ नि यतै आउँदैछस् तर अब तेरो यहाँको आम्दानीले के पक्की घर बनाउन पुग्ला र ! एउटा ओत त जसरी नि चाहिन्छ, तैपनि आफैं विचार गर्नू ।
इति:
चिठ्ठी नं. २
आदरणीय बा-आमा
सादर ढोग । अरबको रेगिस्तानी बसोबास १० वर्ष पुग्यो । अब मेरो घर फर्किन मन छ । पक्की घर नि बनिसक्यो, बरु मसँग अलि बचत पनि छ । घर खर्चलाई ट्याक्सी चलाउने विचार गरेको छु । अब यो उखरमाउलो गर्मीदेखि आजित भइसकेको छ यो मन, अघिल्लो महिना आउने विचार गरेको छु ।
हजुरहरुको सल्लाह अपेक्षा गरेको छु ।
- सन्तबहादुर
जवाफ :
प्रिय छोरा सन्ते,
चिरन्जीवी भएस्
तेरो सकुशलताको खबर पाउँदा मन खुसी भएको छ । हाम्रो जीवनयापनको निम्ति तँलाई मात्रै सानैदेखि धेरै दु:ख भयो, यतिका दिनसम्म बाहिर बसिस्, सबै घर-व्यवहार चलाइस् । एउटा कुरा बरु तँलाई थाहा भयो कि नाई, हुन त कसले भनोस् र ! गएको महिना बहिनीलाई माग्न केटा आ’को थियो । केटो असल छ, हामीलाई मन पनि परेको छ । बहिनीको नि उमेर बढ्दो छ, अब आउने २ महिनामा २० लाग्छे । हामी बूढो ज्यानको अब के भर छ र ! कन्यादान गर्न पाए वैतरनी तरिन्थ्यो । बिहा खर्चको जोहो कसरी हुने होला भने चिन्ता नलिएस् तर अरू उपाय पनि त छैन । अरु अब तँ नै जान्ने छस्, विचार गर् के कसरी मिलाउने हो । हाम्लाई तँ आउँदैछस् भन्ने थाहा पाएर एकदम खुसी लाएको छ ।
इति:
चिठ्ठी नं. ३
प्रिय पार्वती,
सौभाग्यवती भएस् । आदरणीय बा-आमालाई सादर ढोग सुनाइदिनू । १४ वर्षे रेगिस्तानी बसाइले सबथोक पुग्यो, बहिनीको विवाह, घरआँगन, भगवानको कृपाले सबथोक भयो । अब अरु शरीरले साथ दिन गाह्रो होला जस्तो छ । पथपरहेजले ब्लडप्रेसर त कन्ट्रोल नै छ तर मधुमेहले गर्दा बेला-बेला ज्यानलाई असहज हुँदै गा’छ । उतै आयुर्वेदिक उपचार गराउने मन छ । अबको दुई हप्तापछि आउने विचार गरेको छु, सानोतिनो व्यापार व्यवसाय उतै गर्नुपर्ला ।
आफ्नो विचार लेखी पठाउनू ।
- तिम्रै सन्तु
जवाफ :
ज्यू हजुरमा ढोग छ ।
बा-आमा सन्चै हुनुहुन्छ, हाम्रो पीर नलिनु होला । हजुर आउने कुरा सुनेर मेरो खुसीको सिमाना नै छैन । विवाह गरेको साढे दुई वर्ष भइसक्यो, भोलिपर्सि बालबच्चा होलान् । हाथमा जगेडा दुई पैसा भएन भने उनीहरूको भविष्य के होला ? यहाँको कमाइले घर त जसोतसो चलाउँला, आफैंलाई चाहिने पथ, बूढा बा-आमाको औषधि त कसरी पुग्ने होला ! तैपनि हजुर पीर नलिनुस्, भगवानले केही न केही उपाय लगाउनुहुन्छ । हजुर चाँडै आउने कुराले हामी सबै हर्षित छौं ।
हजुरकै पारु !
चिठ्ठी नं. ४
प्रिय पार्वती,
सौभाग्यवती भएस् । अब २९ वर्ष पूरा भयो यो अन्कन्टार रेगिस्तानमा । अब त ज्यानलाई पनि खान्कीभन्दा दबाई-दारु धेरै चाहिने रहेछ । भगवानको कृपाले अब सबथोक पुग्यो हामीलाई । मेरो कम्पनीबाट अलिअलि पैसा नि आउँछ, अब उतै केही गर्नुपर्ला । अब घरै बस्छु, परिवार, बालबच्चा, इस्टमित्र, नातागोता मैले केही नि थाहा पाउन सकिनँ, केहीको अनुभव गर्न सकिनँ । अब भो, म आउँछु चाँडै । तिम्रो अनि बच्चाहरुको अनुहार हेरेर बाँकी जीवन कटाउँछु ।
- सन्तबहादुर
जवाफ :
ज्यू हजुरमा ढोग छ ।
हजुर आउने कुराले एकदम खुसी लाइराखेको छ । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला । छोराको आगुम एसएलसी छ, फेरि अर्को वर्ष कान्छी नि । लगालग क्याम्पस पठाउनुपर्ने होला । पढ्न जान्ने छन्, केटाकेटीलाई पुर्याउन त जसरी पनि सक्नुपर्यो नि, पछि काठमाडौं पढ्ने खर्च के गरी पुर्याउने होला । यही कुराले अलि मन कटकट खा’को मात्रै हो । हजुर आउने घडीको हामी प्रतीक्षा गर्दै बसिरा’छौं ।
हजुरकै पारु ।
चिठ्ठी नं. ५
प्रिय पार्वती,
घर जाने बिदा पाकेको महिना ४० साल पूरा हुन्छ । अब त खै घामले नि पोल्न छोड्यो, मनले मात्रै पोल्छ । छोरा इन्जिनियर भएछ, देशमा कुनै काम नपाएर अरबतिर नै आउने भनेछन् । अम्रिका पठाउने हाम्रो भाग्य कताबाट होस् । ठीकै छ नि छोरोले नि हेरोस् बाउ कस्तो ठाँउमा बस्थे । नातिको मुख हेर्ने साइत पो कहिले होला, छोरी बडो न्यास्रो मानेकी थिइन् पोहोर बिहाको बेला गर पुग्न नसेकोमा ।
जेहोस् सब राम्रै भो भगवानको कृपाले । अलि दमले दु:ख दिन्छ एसीको चिसोमा । बातरसको त चिन्ता छैन, तोरी तेलमा मेथी पकाएर अलि मालिस गरेपछि सन्चो हुन्छ ।
० ० ०
सन्तबहादुर त्रिभुवन विमानस्थलबाट बसपार्कको होटल पुगेपछि ट्याक्सीलाई पैसा दिन खल्तीमा हात हाल्दा पैसासँगै एउटा नखोलिएको चिठ्ठी देख्यो । २ महिनाअघि हात परेको सम्झियो । घरबाट आएको चिठी नपढी उसले पर्समा कोचेर राखेको थियो । मनले मानेन, खोलेर पढौंझै लाग्यो । त्यही भुइँमा थचक्क बस्यो, मोडिएको चिठ्ठी हातमा खेलाउँदै बस्यो धेरैबेर !
गोजीबाट लाइटर झिक्यो र चिठीको पुछारबाट सल्कायो । छिनभरमै पुत्ताउँदै खरानी भयो । हावाले खरानी उडाएर पर पुर्याइसक्दा ऊ होटलको भर्याङ उक्लिसकेको थियो !