साहित्य
माधव दाहाल
जहाँ सगरमाथालाई झुक्याउनेहरु,
भ्रम उमार्छन् र त्यसैको बाली लगाउँछन् ।
वेश्यागमनका पारखीहरु,
ब्रह्मचर्यको पाठ पढाउँछन् ।
जहाँ मुर्कुट्टाको माला लगाउनेहरु,
शान्ति र सद्भावको रामनामी ओढेर
ब्यासमा बसेको ब्रह्मण जस्तै
धर्म र पापको प्रवचन दिन्छन् ।
त्यसैले त यहाँ,
सगरमाथाको शिर झुकेको छ ।
स्वयंम्भूका आँखा रसाएका छन् ।
नाकाबन्दीको डढेलोले नपग्लेको मेरो मन
तिम्रो अट्टहासका कारण
ज्वालामुखी भएको छ ।
हेर त
स्यालको एकोहोरो कराइसँगै
सिङ उम्रँदै छ तिम्रो कनपट्टीबाट
तिमी बाघ हैनौ ।
मेरो भ्रमको पर्दा हटिसकेको छ ।
किनभने स्यालहरु
बिहानको भालेको डाँकसँगै
जंगल पस्नेछन् ।
त्यसैले त तिम्रा निर्लज्ज अनुहारहरु,
बिहानीको आभासँगै परास्त हुनेछन् ।
मलाई थाहा छ,
तिमी औषधि र पलमपट्टी खोस्नेका वीर्य हौ ।
उसैले ‘साँध’ लगाएको थियो ।
उसैले ‘पाइन’ हालेको थियो ।
उसैबाट ‘दीक्षा’ ग्रहण गरेका थियौ ।
तिमीलाई हेक्का नै छ होला,
मेरो बुद्घभूमिमा तिम्रा भगवानले पाइला टेक्दा,
मेरो नालापानी धर्धरी रोएको थियो ।
तर खबरदार सगरमाथाका टोपी खोस्नेहरु !
तिमीहरु भुस्याहा कुकुर हौ ।
तिमीहरूको बन्ध्याकरण गर्नुपर्छ ।
– टोरोन्टो, क्यानडा
प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७३ ०८:२९
प्रतिक्रिया दिनुहोस्