बलिउडका कलाकारहरु अमेरिका नजाने कुरा आएन, तर साहरुख खानको अमेरिका यात्रा भने कहिलेकाहीँ रोचक बन्ने गर्छ । कयौ पटक साहरुखलाई त्यहाँको अध्यागमन विभागले समातेर सोधपुछ गरेको छ । यसो हुनुमा २ वटा कारण हुन सक्छन् । एक- साहरुखले अमेरिका चिने पनि अमेरिकीहरु उनलाई चिन्दैनन् । र, दुई- जतिसुकै ठूला प्रोफाइल बटुलेका व्यक्ति भए पनि शंका लागेमा छानबिन गर्न अमेरिका 'कम्प्रमाइज' गर्न जान्दैन ।
साहरुखमाथिको त्यस्तो अपमानजनक व्यवहारका खबरहरु प्रकाशित भएपछि बलिउडप्रेमी सिंगो भारतीय जनताले एकमुखले विरोध जनाउँछन् । मिडियाहरुले राम्रो साथ दिन्छन् । फलत: अमेरिकाको अध्यागमन प्रतिनिधिले साहरुखसमक्ष माफी मागे भन्ने पनि सुनिन्छ । तर्क गर्नेहरुले 'खान' भन्ने जात मुस्लिम हो र मुस्लिमका गतिविधिसँग अमेरिका डराउँछ भन्छन् । मलाईचाँहि यो तर्क 'अर्धसत्य' लाग्छ ।
भट्टराई 'जात'सँग हङकङ डरायो होला भन्ने मलाई लाग्दैन । गोर्खाका पण्डित पुर्खा रहेको उनको खलक यसै पनि काटमारमा विश्वास राख्दैनन् । तर, बाबुरामको हकमा खलकको उदाहरण काम लाग्दैन । उनको प्रोफाइल 'स्टडी' गरे भने मानिसहरु डराउन सक्छन् । यद्यपि, तत्कालीन माओवादीको शीर्ष नेता, 'जनयुद्ध'को योजनाकार भएकै कारण सदैव उनको मनमा ढुकचुक ढुकचुक रहिरहन्छ । हङकङ अध्यागमनले उनको 'हुर्मत' काढ्यो ।
हङकङको अध्यागमनले गरेको अपमानको गाथा बाबुराम स्वयंले पर्दाफास गरेपछि केहीबेर हाँसो लाग्यो । किनभने आजभोलि बाबुरामको काम भनेको आफ्नो संस्मरणमा भए जतिका हरेक घटनाक्रमको पर्दाफास गर्दै जानु पनि हो । आखिर मानिस जे कुरा गर्दा खुसी हुन्छ, त्यही नै गर्ने हो । आफूले भोग्नु परेका अपमानहरु 'गुपचुप' राख्ने जमातको भिडमा तिमी 'एक्लेवीर' भएर निस्कियौ । स्याबास् लालध्वज !
कलाकारिता र राजनीति भन्ने जिनिस आकाश जमिन हुन् भन्ने लाग्छ । हङकङको अध्यागमनमा बाबुरामले झेल्नु परेको दु:ख, साहरुखको अमेरिका यात्रासँग मिल्दोजुल्दो भएकाले 'बलिउडको' नाम उच्चारण गरेको हुँ । र, बलिउडकै शैलीमा बाबुरामले 'वाट डु यु मिन, सरी ?' भनेर अंग्रेजीमै थर्काउन भ्याएछन् हङ्कङ अध्यागमनका कर्मचारीहरुलाई । ती डरले लगलग काँपेपछि बाबुरामले मुख चुच्चो परेको रेल चढे ।
बाबुरामको निधारमा 'यिनी नेपालका पूर्वप्रधानमन्त्री हुन्' लेखको छैन । लेखेको हुन्थ्यो भने विमानस्थलमै स्यालुट खान नि सक्थे । तर, उनले त्यो दिन किन रातो राहदानी बोकेनन् ? उनीसँग कसरी दुईथरी राहदानी भए ? राहदानीसम्बन्धी जानकार राख्ने व्यक्ति होइन म । तर एक व्यक्तिले दुईवटा राहदानी एकैसाथ होल्ड गर्न सक्छ होला भन्ने लाग्दैन ।
फेरि हाम्रा सभासदहरु कूटनीटिक राहदानी बेचेर पेट पाल्छन्, मानव तस्कर गर्छन् । आफ्नो फोटोमा अर्काको फोटो चिप्काइदिने यिनीहरुको बुद्धि हुन्छ । यो वास्तविक कुरा हो, स्वाभिमान झुकाएको होइन ।
हङकङको अध्यागमन विभागले बाबुरामलाई 'अस्थायी कस्टडी'मा लगेर राख्यो, जुन संसारका हरेक विमानस्थालमा आधारभूत संरचनाकै रुपमा तयार गरिएको हुन्छ । अध्यागमनका कर्मचारीलाई विशेष सूचना प्राप्त भए उनीहरुको प्रथामिकतामा नपरेको देशका यात्रुहरुको प्रवेश अनुमति 'भिसा' ठीक छ कि छैन भनेर उनीहरुले कडा जाँच गर्छन् । बाबुराम त्यही जाँचमा परेका हुन्, जुन अस्वाभाविक जाँचले अक्सर नेपालीहरुलाई पिरोल्छ ।
हङकङ अध्यागमनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहनु परेको अपमानबारे नेपालको मिडिया र सामाजिक सञ्जालमा सहानुभूति देखिएन । बरु उल्टै आम नेपाली नागरिकले हरेक दिन भोगेको पीडा आज नेताले भोग्नुपर्यो भन्दै खुसी व्यक्त गरे । पत्रकार स्वभावका बाबुरामले रोइलो गर्न भने छाडेनन् । के कति कारणले नेपाली अपमानित हुनुपरेको छ भन्ने कुरा बुझ पचाए उनले । तर, आर्थिक क्रान्ति भन्ने शब्द उच्चारण गर्न भने छाडेनन् ।
बाबुराम नेपालका पूर्वप्रधानमन्त्री भएकाले उनको भ्रमणको सन्दर्भमा सम्बन्धित देशमा कार्यरत भई कूटनीटिक काम गरिरहेका वाणिज्य दूत, राजदूत वा त्यस्तै किसिमका कर्मचारी चनाखो हुनुपर्ने थियो । तिनले के लाकुरीको रुख हेरेर बसेका थिए ? किनभने बाबुरामले आफ्नो भ्रमणबारे परराष्ट्रलाई जानकारी गराएकै हुनुपर्छ । नेपालको कानुनले वरिष्ठको विदेश भ्रमणबारे जानकारी गराऊ भन्छ ।
हरियो राहदानीको पीडा
हरियो राहदानीले नेपालको आफ्नै विमानस्थालमा अपमानको शृंखला सहँदै अन्तिम गेट बल्लबल्ल पार गर्छ । विदेशी र स्वदेशीका लागि अलग-अलग लाइन हुन्छन् । अझ अरबतिरको भिसा रहेछ भने ज्यादै अपमान हुन्छ । रातो राहदानी भएका भाग्यमानी एनआरएन सदस्य र नाफाका शुक्रकिट लाहुरेका सन्ततीहरु भने सम्मानित पात्र हुन्छन् । मनौं कि त्यो एकथान हरियो राहदानी सम्पूर्ण लज्जाबोध देखाउनको निम्ति जारी गरिएको हुन्छ ।
र, लज्जाबोधसँग ठिंग उभिएको हुन्छ एउटा अभागी । विदेशका विमानस्थालमा ऊ र कुकुरबीचमा कुनै फरक व्यवहार गरिन्न । बरु कुकुरलाई 'पप्पी' भनेर मायाले बोलाइन्छ तर मान्छेलाई घृणा गरिन्छ । त्यो पनि नेपाली लवजको मान्छेलाई । हरियो राहदानी होल्डिङ गरेको कारणमात्र होइन, नेपाली भएका कारण पाकिस्तानीले पाउने 'अनअराइभल भिसा'को सुविधा नेपालीले पाएका छैनन् ।
विदेशका अध्यागमनका कर्मचारी 'कन्फ्युज' भएका कारण हाम्रा भीआईपी र भीभीआईपीले एकछिन दु:ख पाउने कुरा स्वाभाविक हो । तर, आम नेपाली नागरिकको हैसियतबारे कोही कतै पनि कन्फ्युज छैनन् । तिनले धेरै टाढाबाट 'ओ नेपाली यता आइज' भनेर डाक्छन् । यस्तो लाग्छ कि नेपाली हुनु भनेको कुनै सामन्तवादीले आफ्नो मनोरञ्जनका खातिर घरमा पालेको 'जनावर' हो ।
औसत नेपालीहरुको आर्थिक वृद्धिदर कति हो, आम्दानी कति हो, उनीहरुले थेग्न सक्ने सेवा-सुविधाहरु के-के हुन्- सारा संसारलाई थाहा छ । हामीले लुकाउन खोजे पनि संसारसँग आँकडाहरु छन् । हरियो राहदानीको अपमान सहन नसकेर नै नेपालका धैरै पत्रकार, कर्मचारी, व्यापारी, नेता, नायक, नायिका, गीतकार, संगीतकार, कथाकार, आर्मी, पुलिस, गायक, गायिकाको हातमा ग्रिनकार्ड छ ।
ग्रिनकार्ड नै छैन रहेछ भने पनि कम्तीमा ऊसँग रातो राहदानी छ । संसारका सुन्दर विमानस्थलमा पुगेर भनोस् न म नेपाली होइन, यूकेको नागरिक हुँ । उसको छाती फुलेर बेलुनभन्दा ठूलो हुन्छ । यो सम्पूर्ण भेदको खुलासा लालबाबु पण्डितले गरिसके । अब हाम्रो बीचमा खुलासा हुन बाँकी के नै रह्यो र ? हामीसँग राष्ट्रिय गीतबाहेक बाँकी के नै छ र ?
बाबुराम दु:खी आत्मा हुन्
आफू अपमानित हुनु परेपछि डा. बाबुरामले ठूलै हंगामा मच्चाए । नेपाली सामाजको चरित्रको महान व्याख्याता हुँ भन्ने अनि खासगरी युवाहरुको सुन्दर भविष्यको खातिर मीठा प्रवचन दिने डाक्टर साहेबलाई हरियो राहदानीको कथा, व्यथा थाहै रहेनछ । मानौं उनी नेपालीमूलका बेलायती नागरिक हुन् । त्यस्ता नागरिकहरुलाई नेपालमा हिमाल, पहाड, खोलानालाहरु छन् भन्नेबाहेक अरुथोक थाहा हुन्न । ती दु:खी आत्मा हुन् ।
बाबुराम दु:खी आत्मा बोकेर छट्पटाइरहेका होलान् भन्ने ठानेको थिइनँ । लाखौँ नेपाली युवायुवतीले हरेक दिन भोग्नुपरेको दासको जस्तो अपमानिम र अमर्यादित व्यवहार बाबुरामले केवल एकदिन, एक घण्टा भोगेका मात्र हुन् । छाँगाबाट खसे जस्तो महसुस गर्न सजिलो छ, वास्तवमै खस्नचाँहि मुस्किल छ । हङकङ ट्रान्जिट भएको समयमा बाबुराम छाँगाबाट खसेको महसुस गरे, खसिहालेका छैनन् । यो सुन्दर पक्ष हो ।
नेपालमा पुलिसलाई फोन गरेर थर्काए जस्तो कहाँ हुन्छ र गगनचुम्बी महलहरु भएको देशमा । बाबुराम हुन् कि धनीराम हुन्- कानुन सबैलाई बराबर लाग्छ । तर डा. बाबुराम भट्टराई नेपालका पूर्वप्रधानमन्त्रीसमेत हुन् । उनी अपमानित हुनु भनेको उँट हेर्न र हाउसमेड बस्न हिँडेका कामदार अपमानित भएजस्तो होइन । देशै हाँक्ने लिडरसँग स्वाभाविक रुपमा देशको प्रतिष्ठा, गरिमा, स्वाभिमान पक्कै जोडिन्छ ।
तर, नेपालीलाई आधुनिक दास हुनबाट जोगाउन विगत दुई दशकमा बाबुरामले के-के गरे ? हरेक जनताको जनजिब्रोमा झुन्डिएको प्रश्न हो यो । हरियो राहदानीको अपमान आफूले भोगेपछि मात्रै चेत खुलेको हो भने उनले बेरोजगार युवाहरुको पीडालाई गम्भीर भएर बुझेकै रहेनछन् । केवल गाँस, बास र कपासका लागि काम गर्नुमात्र रोजगारी पाउनु होइन । रोजगारीको प्रश्न स्वाभिमानसँग गाँसिएको हुन्छ, जोडिएको हुन्छ ।
ग्लोबोलाइजेसनको दुनियाँ छ । मानिसहरु एक देशबाट अर्को देशमा जाने, उतै बस्ने, काम गर्ने भन्ने कुरा सामान्य भइसक्यो । स्वाभाविक रुपमा आफूलाई जहाँ सेवा-सुविधा मिल्छ, सजह अनुभूत हुन्छ, त्यहाँ नै व्यवस्थित भएर बस्न चाहन्छ मान्छे । कृषिप्रधान नाराबाजी भएको देशमा आज हाम्रा गाउँघर रित्ता छन् । खेतमा तीतेपाती फुलेको छ । खोलानाला, पहाड र रनवनहरु चुपचाप छन् ।
गाउँमा चौरासी पूजा गरिसकेका बाजेबजै, अपांग, अशक्त, असहाय र छोराछोरीले हेला गरेका बुबा-आमाबाहेक कोही पनि छैन । आजको कतार नेपाली कामदारले बनाएको हो भन्दा यो अतिवादी सोच हुन सक्ला तर वास्तवमै नेपाली कामदारको पसिना कतारका हरेक गगनचुम्बी महलमा पोतिएको छ । हाम्रो काठमाडौंको हालत हेर्यो भने २ दशकअगाडि भित्ताहरुमा 'यहाँ पिसाब नफेरौं' लेखिएको थियो, त्यो अझै मेटिएको छैन ।
नेपाली युवाहरुको काम भित्तामा पिसाब फेर्नेमात्र हैन । यो कुरा काठमाडौं र बाबुरामहरुले बुझ्न सकेनन् । बिल्कुल सकेनन् । बडो दु:ख लाग्छ । सही समयमा सही मार्गदर्शन पाए नेपालमै बन्न सक्छ आणबिक बम पनि । जम्मु-काश्मिरको स्याउदाना टोकेर स्वस्थ हुन्छु भन्ने हाम्रा पित्रहरुलाई मुस्ताङ र जुम्लाको स्याउ चखाउन पाएका छैनौं । कारण- हरियो राहदानी । अपमान र पलायनको एउटा परिचयपत्र । नाथे, हरियो राहदानी ।
आफ्नै अनुभव
खै किन हो किन, हरियो राहदानी र दु:खी आत्मा उस्तै-उस्तै लाग्छ । राहदानी नामको जिनिस हवाईजहाज चढ्दामात्रै परिचय बोकेर उड्दैन । यो जिनिसले देशको वर्तमान, विगत र भविष्यको अस्तित्वसमेत बोकेर उड्ने रहेछ । हामी उडिरहेका छौं । संयोगवश बाबुरामले रातो राहदानी बोकेका रहेनछन् त्यो उडानमा । उनलाई आम नेपालीको पीडा भोग्न लेखको रहेछ । यस अर्थमा अलिअलि खुसी हुनुपरेको छ भन्नुस् ।
म यूएईमा नोकरी गरिरहेका बेला अफगानिस्तान र हङकङ नै जाने अवसर पाएको छु, कामको सिलसिलामा । ट्रान्जिटको रुपमा बहराइन र कतारको विमानस्थलमा लामो समय पर्खेको छु । सामान्य कामदार (लेबर) पोजिसन लेखिएको त्यो हरियो राहदानीले भोग्नु परेको सास्ती सम्झँदा मलाई यस्तो लाग्छ कि त्यो राहदानीको परिचयमा 'रेबिज रोग लागेको भुस्याहा कुकुर' भनेर लेखिएको रहेछ क्यारे ।
विदेशीहरु एउटा लाइनमा तर हामी नेपालीहरु चाहिँ अर्को छुट्टै लाइनमा उभिएर सुरक्षा जाँच गर्नुपर्दा लाग्छ– नेपाल आमाको कोख कामदार उत्पादन गर्ने कारखाना हो !
"ए नेपाली बाबु, तिमी त यो लाइनमा हो उभिने, किन त्यहाँ गएको ?"
यस्ता अनेकौं वचन सुनेपछि म ट्वाइलेटभित्र गएर रोएको थिएँ । गफ होइन- यो साहित्यिक मन रोई पनि हाल्छ । पहिले-पहिले बाबुराम पनि रुन्थे ।
नेपाली नागरिकको पोजिसन के हो ? यो प्रश्न बाबुरामको लागि मात्र होइन, ठूला-ठूला सपना देखाएर स-साना कुरामा विवाद गरेर अल्झिने नेताज्यूहरुको लागि पनि हो । यो सतही र केटाकेटी प्रश्न नि होइन, गम्भीर र जटिल प्रश्न हो । हाम्रा झुपडीहरुमा आगो नबल्ने कहिलेसम्म ? हाम्रा यी भोका पेटहरुले ढुक्कसँग एकछाक खान नपाउने कहिलेसम्म ? मरूभूमि र जुठेल्नाहरुमा सिंगो जीवन अर्पण गर्नुपर्ने कहिलेसम्म ?
अपमानको भारी भोकेर यो दु:खी आत्मा कहिलेसम्म कहाँ-कहाँ भौतारिने ? यस्तो लाग्छ- अब त यो हरियो राहदानी उँटले पनि चिन्न थाल्यो । अध्यागमनको कुरा छाडौ- उँटले समेत अपमान गर्छ ।
त्यसै पनि वर्षौदेखि जुठेल्ना, बगैंचा र पाइखानाको अपमान सहेरै जीवन धानेका छौं बाबुरामजी ।
अन्तिममा फेरि मेरो नाम किन घुसायो यो पाखण्डीले भन्नुहोला ! 'आँशुमिश्रित करूणाको ध्वनिमा' तपाईंको नाम युगौं-युगसम्म घुसाउन मन लाग्छ ।