साहित्य
काठमाडौं । हल र सार्वजनिक स्थलमा पोस्टर टाँसेर सुरु भएको चलचित्र प्रचारको स्वरूप समयको गतीसँगै फेरिँदै गएको छ । नेपालमा सरुआतका वर्षमा पोस्टरसँगै भित्ते लेखनसम्म गरेर सिनेमाको प्रचार गरिन्थ्यो ।
भित्ते लेखनको प्रचलन अन्त्य नै भएको छ भने अझै पनि कतै कतै पोष्टर टाँस गरेर चलचित्रको प्रचार प्रसार गरेको पाइन्छ ।
त्यसका अलावा इलेक्ट्रोनिक तथा छापा माध्यममा पनि विज्ञापन गर्ने प्रचलन बढेर गयो । पत्रपत्रिका तथा रेडियो टेलिभजनसँगै अहिले सामाजिक सञ्जाल चलचित्रको विज्ञापन गर्ने साधन भएका छन् ।
फेसबुक, ट्वीटरमा सिनेमा निर्माणको घोषणा हुँदा देखि सुरु गरिएको प्रचार हलबाट सिनेमा नबाहिरिएसम्म हुने गर्छ ।
सामाजिक सञ्जालमा पैसा नलाग्ने भएपछि यो ट्रेन्ड बसेको मात्रै छैन मौलाएको नै छ । निर्मातादेखि कलाकारसम्मका फेसबुक र ट्वीटरका भित्तामा चलचित्रको प्रचार मात्रै देखिन्छ । यति मात्रै होइन, युट्युव च्यानलमा समेत टिजर, ट्रेलर रिलिज गरेर विज्ञापन गर्ने प्रचलन बढ्दै गएको छ । युट्युव च्यानलमा अपलोड गरिने टिजर र ट्रेलर टेलिभिजनमा बजाइने प्रोमोको विकल्पको रुपमा देखिएका छन् । तर, पनि अझै टेलिभिजनमा पनि प्रोमो भने बजिरहेका छन् । इन्टरनेटको पहुँच बाहिर रहेका दर्शकका लागि प्रोमो प्रभावकारी हुँदै आएको छ ।
युट्युव च्यानलमा टिजर, ट्रेलर मात्रै होइन अब चलचित्रका आकर्षक डाइलगका क्ल्प्सि जोडेर अपलोड गरेर दर्शकको ध्यान खिच्न थालियो । यो पनि निकै प्रभावकारी हुने देखिएको छ । यो भने त्यती धेरैले प्रयोग गर्ने गरेको पाइदैन । नेपाली चलचित्र ‘जात्रा’ले बाट सिनेमाका आकर्षक डाइलग जाडेर छोटो क्ल्पिस बनाएर युट्युवमा अपलोड गरेको छ ।
जात्राका निर्देशक प्रदीप भट्टराई आफ्नो फेसबुक एकाउन्टमा ‘नेपाली सिनेमा जात्रा हेर्न उत्साहित बनाउने ९ डाइलग, जसले दर्शकलाई लोभ्याएको छ’ लेख्दै ९ वटा आकर्षक डाइलग युट्युवमा अपलोड गरेर त्यसको लिंक सेयर गरेका छन् ।
निकै आक्रामक बजार प्रचारमा रहेको ‘जात्रा’ले लिड रोलमा रहेका कलाकारसँग डेटिङको अफरसमेत ल्यायो । यसरी एकपछि अर्को गर्दै प्रचारका नयाँ शैली आइरहेका छन् । राम्रो सिनेमा बनाएर मात्रै हुँदैन, चलाउन विज्ञापन नै गर्नुपर्छ ? भन्ने प्रश्नको जवाफमा निर्देशक प्रदीप भट्टराई भन्छन्, “बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने त उखानै छ नि त्यसैले मेरो चलचित्र यस्तो छ है भनेर दर्शकलाई जानकारी त दिनै पर्छ । यसका लागि विज्ञापन त गर्नैपर्छ ।”
जात्राका मुख्य भूमिकामा रहेका विपिन कार्की बाहेक सबैका फेसबुक प्रोफाइलमा जात्राको पोस्टर छ ।
अर्का निर्देशक रामबाबु गुरुङको पनि सिनेमाको प्रचारका विषयमा प्रदीपको जस्तै धारणा छ । “बजारमा कुन चाउचाउ आएको छ भनेर जानकारी नदिएसम्म उपभोक्ताले कसरी थाहा पाउने, उसलाई जानकारी नभएसम्म त्यो चाउचाउ ग्राहकले किन्दैन,” गुरुङ भन्छन्, “कस्तो चलचित्र छ र लक्षित समूह कुन हो भनेर जानकारी दिन पनि चलचित्रको विज्ञापन गर्नु आवश्यक छ ।”
गुरुङ निर्देशित चलचित्र “पुरोनो डुङ्गा” यही मंसिर १० गते रिलिज हुँदैछ । गुरुङ ट्रेलरलाई पनि विज्ञापनको रूपमा लिन सकिने बताउँदै भन्छन्, “ट्रेलरलाई चलचित्रको अनुहारका रूपमा लिन सकिन्छ, यसको लोकप्रियतालाई लिएर सिनेमा कस्तो जान्छ भनेर पूर्वानुमान लगाउन सकिन्छ । तर, केही सिनेमाका ट्रेलरले भनेर दर्शकलाई झुक्याएका पछि यो प्रवृत्ति गलत हो ।”
यी सँगै अर्को पनि छ प्रचारको नयाँ शैली, त्यो हो–गीतको कभर डान्स । ‘रेशम फिलिली’ देखि यो प्रचलन ह्वात्तै बढेको छ । चलचित्रको गीत सार्वजनिक गर्ने र त्यसमा कभर डान्सका लागि अफिसियल रुपमै आह्वान गर्न थालिएको छ । ‘पुरोनो डुङ्गा’को ‘निर जैले रिसाउने....’ बोलको गीतकाम ५० भन्दा धेरै कभर डान्स युट्युवमा आधिकारिक रुपमै पोष्ट भएको निर्देशक गुरुङ बताउँछन् ।
अर्का निर्देशक ऋषी लामिछाने पनि राम्रो सिनेमा मात्रै बनाएर नहुने बताउँछन् । सिनेमाको प्रचार पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ । भन्छन्, “सिनेमा पनि उद्योग हो । सिनेमा एउटा प्रोडक्ट हो । यसलाई निर्माताले बेच्ने हो । त्यसैले सिनेमा राम्रो मात्रै भएर पुग्दैन । यसलाई बेच्न पनि जान्नुपर्छ ।” ‘पुरोनो डुङ्गा’को विज्ञापन अहिले अनलाइन पत्रिकातिर बाक्लै रुपमा देख्न सकिन्छ ।
चलचित्र वितरक गोपाल कास्यथ पनि चलचित्र विज्ञापन नगरी नचल्ने धारणा राख्छन् । “कम्तिमा एउटा दशर्कले ५० औं पटक एउटा सिनेमाको प्रोमो हेरेपछि चलचित्र कस्तो रहेछ हेरौं न त भन्ने हुन्छ र हलसम्म जान्छ,” कायस्थले भने, “हिन्दी सिनेमामा ठूलो रकम विज्ञापनमा खर्च गर्छन् तर यहाँ विज्ञापनका लागि लोभ गरिन्छ । यही कारण कतिपय राम्रा नेपाली सिनेमा पनि चलेका छैनन् । नेपाली सिनेमाले विज्ञापनमा लगानी बढाउनै पर्छ ।”
उनले पछिल्लो समय सिनेमाको विज्ञापनका लागि युट्युव सबैभन्दा राम्रो विकल्प बनेको बताए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३ १५:२७
प्रतिक्रिया दिनुहोस्