ब्लग
नेपालका ख्यातिप्राप्त पर्यटन उद्यमी तथा लेखक कर्ण शाक्यले हालै गरेको ट्विट निकै विवादास्पद भयो । उनले व्यंग्य गर्दै लेखेका थिए - बन्दुक चलाउने र कलम चलाउनेहरू पलायन भएर केही हुँदैन । काम गर्ने पौरखी हात र दिमाग गयो भने डराउनु पर्छ ।
उनको आशय जे भए पनि यसले सोझै तीन वर्ग, बन्दुक चलाउने अर्थात् तत्कालीन माओवादी लडाकू वा नेपालका प्रहरी, सेना वा सशस्त्र प्रहरीमा रहेका सुरक्षाकर्मी तथा कलम चलाउने अर्थात् लेखक, पत्रकारलाई लक्षित गरेको देखियो । बन्दुक चलाउने होस् वा कलम चलाउने जो पलायन भए पनि प्रतिभाको पलायन हो । ऊ समाजमा टिक्न नसकेर हिँडेको हो । यहाँ बन्दुक चलाउने भनेर राजनीतिक टिप्पणी गर्न खोजिएको हो । अपराधीले देशै छोडे त फरक नपार्ला तर बन्दुक समाउँदै अएका सुरक्षाकर्मीसमेतको पलायन भने अर्को गम्भीर विषय हो ।
कलम चलाउने पलायनका प्रसंग हालका चर्चित टेलिभिजन पत्रकार प्रेम बानिया अमेरिका आउने खबरप्रति व्यंग्य हुनुपर्छ । तै पनि लेखकका रूपमा नाम चलेका व्यक्तिको टिप्पणी हलुका नै हो ।
यो पंक्तिकार पनि नेपालको स्थापित मूलधारको पत्रकारिता पेसा, परिवार र देश छाडी १७ वर्षअगाडि अमेरिका आएको हो । कसैले पलायन भएको भने पनि कुनै गुनासो छैन । अहिले पछाडि फर्केर हेर्दा गलत गरेछु भन्ने पछुतो पनि छैन । किनभने त्यतिखेर नेपालमा व्यावसायिक पत्रकारिता निकै कठिन अवस्थामै थियो ।
हिजोआज आप्रवासन शब्दले चर्चित भइरहेको बसाइँसराइका कारकहरूमाथि एक पटक विचार गरौँ । मानिसले बसाइँ सर्नुपर्ने कारणहरू या त राजनीतिक हुन्छन् नभए अर्थिक वा सामाजिक । अहिले युरोपमा शरणार्थी समस्या केही समयदेखि निकै चर्केको छ । त्यो राजनीतिक कारणले हो । आर्थिक तथा सामाजिक सुरक्षाका खोजीमा दशकौँदेखि मानिसहरू आफ्नो थातथलो छाडेर अर्को देशमा बसाइँसराइ गर्दै अएका छन् । यसरी बसाइँ सर्नेमा त विश्वचर्चित अन्वेषक कोलम्बसदेखि वैज्ञानिक अइन्टाइनसम्म पर्छन् ।
मान्छे जन्मजातरूपमै बसाइँ सर्ने प्राणी हो । आफ्नो प्रतिभा निखार्न र अवसर सुरक्षित गर्न मान्छे गाउँबाट सहर, सहरबाट अर्को देशमा अर्को क्षेत्रमा बसाइँसराइ गरी नै रहेको हुन्छ । यसरी बसाइँसराइ गर्दा उनीहरूले अवसरबाट लाभ उठाउँछन् र प्रगति पनि गर्छन् भने थातथलो नछाड्नेहरूको आर्थिक, सामाजिक स्थिति जस्ताका त्यस्तै हुने गर्छ । त्यसैले नेपालबाट भइरहेका बसाइँसराइ अनौठो विषय होइन । नेपाल बाहिर बसे पनि नेपालको सेवा गर्न सकिन्छ । चीनको उदाहरण लिने हो भने १९८० को दशकभन्दा अगाडि चीन छाडेका प्रतिभाहरूले ८० को दशकपछि देश फर्केर त्यहाँको विकासमा योगदान दिएका थिए ।
बसाइँसराइका कारणलाई अझ केलाउँदा देशभित्र भएका द्वन्द्वका कारण जीवनमै संकट आइलाग्ने, खराब राजनीतिक प्रणालीले जीवनयापन कठिनाइ हुनेजस्ता राजनीतिक कारण हुन् भने अवसर कम उपलब्ध हुनु, वृत्ति विकासकत्र अवसरमा अवरोध आउनु, कम आय र पारिश्रमिक पाउनु, समान पदमा काम गर्नेबीच विभेद हुनुजस्ता कारण आर्थिक हुन् । यसैगरी न्यूनतम मानवोचित जीवन यापनको वातावरण नहुनु, स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रका कमजोर अवस्था सामाजिक कारण हुन् । बाढीपहिरो, आगलागी, भूकम्प, खडेरीजस्ता वातावरणीय कारणले पनि मानिस बसाइँसराइ गरिरहेका हुन्छन् ।
यस्तै मानिस स्वेच्छाले पनि बसाइँ सर्छ भने जर्बजस्ती पनि बसाइँसर्न बाध्य तुल्याइन्छ । माओवादी द्वद्न्द्वकालमा करिब १२ लाख नेपाली आफ्नो थालथलो छाड्न बाध्य तुल्याइएका थिए । स्वेच्छाले बसाइँसराइको उदाहरण झोडा फडानी गरेर बस्न आउनु हो । राजमार्गको विकासपछि कुनै समयमा औलो लाग्ने भनेर राणाशासकहरूले मृत्यूदण्ड दिन निर्वासनमा पठाउने अनकन्टार तराईका क्षेत्र अहिले आर्थिक केन्द्र बनेका छन् । अर्को शब्दमा धकेल्ने (पुस) र तान्ने (पुल) तत्त्वले बसाइँसराइलाई प्रभावित तुल्याइरहेका हुन्छन् । नेपालमा लामो समयदेखि कायम राजनीतिक अवस्था, रोजगारीको अवसरको अभाव, थोरैमात्र आयका अवसर, अभाव, सँधैको समस्या धकेल्ने तत्त्वहरू हुन् भने अमेरिका वा अरू विकसित मुलुकमा उपलब्ध हुने अवसर, त्यहाँ प्राप्त हुने सुविधा र अवसर तान्ने तत्त्व हुन् ।
हालसम्म करिब दुई सय जना जति सक्रिय पत्रकार नेपालमा हुँदाखाँदाको पेसा छाडेर अमेरिका आएको देखिन्छ । अन्य देशमा जानेको संख्या पनि ठूलै होला । नेपालमा भइरहेको पेसा छाडेर यहाँ अरू नै पेसा गरे पनि अफ्नो पुरानो पेसाप्रतिको निष्ठा वा धङधङीले गर्दा प्रायः सबैले आफूलाई सामाजिकरूपमा पत्रकार भनेरै चिनाउँछन् । यस्तै पत्रकारहरूले नेपाल-अमेरिका पत्रकार संघ पनि खोलेका छन् । यो पंक्तिकार पनि पहिला त्यस्तै धङधङीले त्यो संस्थाको सदस्य थियो । तर केही वर्ष भयो त्यो संस्थामा छैन ।
को को पत्रकार छन् त अमेरिकामा ?
अमेरिकामा हुने नेपाली पत्रकारका सूची खोज्ने हो भने निकै लामो बन्नसक्छ । सर्सती हेर्दा कान्तिपुरका संस्थापक सम्पादक योगेश उपाध्याय, सोही पत्रिकामा लामो समय बिजनेस ब्युरो प्रमुख भएका विजय घिमिरे, सोही पत्रिकाकै आङछिरिङ शेर्पा, कान्तिपुर टिभीका तोया दाहाल, कुनै समय नेपालका नाम चलेका आर्थिक पत्रकारहरू नारायण सापकोटा, विष्णु शीतल, रामचन्द्र भट्ट, मधुकर अधिकारी, यदु देवकोटा, कमला थापा, सुदर्शन वलीदेखि गिरीश पोखेरल, गौतम दाहाल, भोला अचार्य, जोसिला देवकोटालगायतका पत्रकार अहिले अमेरिकामा छन् ।
अध्ययन, प्रशिक्षण वा अन्य अवसरका क्रममा अमेरिका आए पनि पछि नेपालमै फर्केर अहिले पनि त्यहीँ सक्रिय पत्रकारिता गरिरहेका किशोर नेपाल, प्रतीक प्रधानसहितका केही औँलामा गन्न सकिने पत्रकार पनि छन् । अर्कातिर, नेपाल फर्केपछि पुनः मन फेरिएर अमेरिकै आएका डा. प्रदीप भट्टराईसहितका केही पत्रकारहरू पनि छन् । र, मैले चिनेका नेपाल फर्केका केही मित्रहरूले मन डुलाएको पनि मैले पाएको छु ।
संयोगले भनौ म नेपालमा हुँदा कार्यरत समाचारपत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठलाई केही वर्षअगाडि बोस्टनस्थित मेरो निवासमा डिनरका लागि आमन्त्रण गर्नै मौका मिल्यो । त्यस बेला उहाँले दिलै खोलेर भन्नुभयो, विमलजी पहिला तपाई समाचारपत्र छाडेर आउँदा त मेरो चित्त दुखेकै हो, तर साँच्चै भन्नुपर्दा तपाईले ठीकै गर्नु भएछ, देशमा बस्ने अवस्थै छैन ।
त्यसबखत माओवादीले हैरान पारेकाले उहाँ पनि करिब ६ महिना अमेरिका बस्नुभएको थियो । उहाँका छोरा दिरेकलाल श्रेष्ठ अमेरिकामा अध्ययन गरेर अहिले नेपाल फर्केर कामना प्रकाशनको व्यवस्थापन हेर्दैछन् ।
प्रसंग प्रेम बानियाबाट अरम्भ भएकाले उनलाई अहिले सामाजिक सञ्जालमा उनले चलाउने कार्यक्रम 'जय स्वाभिमान'सँग जोडेर आलोचना गर्ने वा त्यसको प्रतिरक्षा गर्ने काम भइरहेको छ । अवसरका खोजीमा अमेरिका आउँदैमा देशभक्ति र स्वाभिमान घट्ने होइन, तर नेपालमा दक्षता र ख्याति कमाइसकेका पत्रकारले धमाधम देश छाड्दा भने त्यसका पक्कै केही असर पर्ने नै छन् । नेजामा सदस्य रहेकामध्ये झन्डै एक दर्जनजति नेपालका आर्थिक पत्रकारहरू रहेका देखियो । तिनले नेपालका आर्थिक क्षेत्रका विभिन्न पक्षमा कुनै न कुनै ज्ञान हासिल गरेकै थिए ।
एकताका नेपालका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डीभी र पीआरधारी कर्मचारीमाथि कारबाहीका कुरा निकै उचाले । एक हदसम्म उनले उठाएका कुरा ठीकै पनि देखिन्थे । पदमा बहाल रहेका कर्मचारीले यताका ग्रिनकार्ड वा बेलायत, अष्ट्रेलियाको पीआर लिनु अमिल्दै कुरा थियो । तर, किन उनीहरू देश छाड्न लालायित भए भन्ने विषयबारे भने कमै बहस भयो । देशभित्रै अवसरका सिर्जना भयो, पर्याप्त आय हुन थाल्यो, उचित सामाजिक सुरक्षा प्राप्त भयो भने कसले पो देश छाड्छ र?
प्रकाशित मिति: सोमबार, असोज १७, २०७३ १२:४०
प्रतिक्रिया दिनुहोस्