काठमाडौं । आईजीपी प्रकरणमा असहमति जनाउँदै डीआईजी नवराज सिलवालले राजीनामा दिए । डीआईजीबाट राजीनामा दिएपछि उनी ललितपुरबाट नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को टिकटमा चुनाव लड्दै प्रतिनिधिसभा सांसदमा निर्वाचित भए ।
२०७४ मै आईजीपीको प्रतिस्प्रर्धामा रहेका अर्का डीआईजी रमेश खरेलले पनि राजीनामा दिए । सर्वेन्द्र खनाललाई सरकारले आईजीपीमा नियुक्त गरेपछि उनले प्रहरी सेवा त्यागेको घोषणा गरे । सिलवाल र खनालको राजीनामाको कारण आफु आइजीपी बन्न नपाएकै थियो । २०७४ मै प्राविधिक तर्फकी डीआईजी शिला कंशाकार कार्कीेले व्यक्तिगत कारण देखाउँदै जागीर छाडिन् ।
२०७४ सालमा एकैवर्षमा ३ जना डीआईजीले आफ्नो पदबाट राजीनामा दिए ।
त्यसपछि एकैवर्षमा तीनजना डीआईजीले राजीनामा दिएका थिएनन् । चारवटै सुरक्षा निकायमध्ये जनतासँग प्रत्यक्ष जोडिएको नेपाल प्रहरीमा पछिल्लो समय विभिन्न कारणले जागिर छाड्ने क्रम बढ्दो मात्रामा छ । जागिर छाड्नेमा तल्लो दर्जाका प्रहरी बढी छन् । ०७१ सालमा एकजना एसएसपीसहित १७ सय २३ जनाले जागिर छाडे । जसमा ६ जना डीएसपी, २० जना इन्स्पेक्टर, १ सय ११ जना सइ, ३३९ जना असइ, ८ सय ४७ जना हवल्दार, ३ सय ६८ जना जवान र ३१ जना प्रहरी कार्यालय सहयोगी गरी १७ सय २३ जनाले राजीनामा दिए । ०७२ सालमा ३ जना डीएसपी, १९ जना इन्स्पेक्टर, १०३ जना सइ, २८६ जना असइ, ४ सय ७० जना हवल्दार, ३ सय २१ प्रहरी जवान र ४२ जना कार्यालय सहयोगी गरी १२ सय ५२ जनाले राजीनामा दिए । ०७३ सालमा एकजना एसएसपी, एकजना डीएसपी, ५ जना इन्स्पेक्टर, ८४ जना सइ, ३ सय ४ जना असइ, ५ सय ३५ जना हवल्दार, १ सय ३५ जना जवान र ३५ जना कार्यालय सहयोगी गरी ११ सय ६० जनाले राजीनामा दिए । यस्तै ०७४ सालमा ३ जना डिआईजी, २ जना एसपी, एकजना डीएसपी, ५ जना इन्स्पेक्टर, ६३ जना सइ, २०२ जना असइ, १२ सय ५६ जना हवल्दार, २ सय ११ जना जवान र १८ जना कार्यालय सहयोगी गरी १७ सय ८१ जनाले राजीनामा दिँदै जागिर छाडे । यसरी ०७१ देखि ०४ सम्म आइपुग्दा झण्डै ६ हजार अर्थात ५ हजार ९ सय १६ जनाले प्रहरीको सेवा त्यागे । ०७५ मा पनि प्रहरीमा राजीनामा दिनेहरुको क्रम बढ्दो छ ।
प्रहरीभित्र सिनियर प्रहरी अधिकृतबाट हुने व्यवहार ओभरटाइम ड्युटी, सेवा सुविधा, मुल्यांकनलगायतका कारण जुनियर प्रहरीहरुले राजीनामा दिने गरेको पाइएको छ ।
तर राजीनामा पत्रमा भने सबैले व्यक्तिगत कारणले नै संगठनबाट राजीनामा दिनुपरेको उल्लेख गर्ने गरेका छन् । नसिहत, स्पष्टिकरण, ग्रेड रोक्का लगायतका कारणले पनि जागिरबाट राजीनामा दिने क्रम बढेको हो । हाल नेपाल प्रहरीमा ७५ हजारको दरबन्दी कायम छ । राजीनामा दिएका अधिकांश जुनियर अधिकृत वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ ।
‘‘प्रहरीका प्रमाणपत्र वैदेशिक रोजगारीको माध्यम बनेका छन् संगठनले तल्लो दर्जाको मर्म नबुझ्दा पनि यस्तो समस्या आएको हो । प्रहरीमा १०–१५ वर्षभन्दा बढी सेवा गरेको व्यक्तिले बीचैमा राजीनामा दिनु राम्रो होइन,” एक प्रहरी अधिकृत भन्छन् । तर नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्री भने संगठनमा सानो हिस्साले राजीनामा दिनुलाई स्वभाविक मान्नुपर्ने बताउँछन् ।
‘‘धेरैका व्यक्तिगत कारण नै हुन्छन् । राजीनामा दिनेहरु संगठनको ३ प्रतिशत पनि छैनन्, यो जहाँ पनि हुन्छ,’’ क्षेत्रीले भने । परिवर्तित व्यवस्था, बदलिँदो संगठनको स्वरुपमा कतिपयले आफुलाई रुपान्तरण गर्न नसक्दा पनि राजीनामा आउने गरेको उनको भनाइ छ ।
तस्बिरः नेपाल प्रहरीको फेसबुक पेजबाट