काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा सहभागी हुन शनिबार अमेरिका जाने भएका छन् । अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा हुने महासभामा सहभागी हुन २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेका हुन् । “प्रधानमन्त्रीज्यू राष्ट्रसंघको महासभामा सहभागी हुन शनिबार साँझ (असोज ६ गते) अमेरिका जाँदै हुनुहुन्छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, “राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि अमेरिकाबाटै ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकाको पनि भ्रमण गर्ने तयारी भइरहेको छ ।”
राष्ट्रसंघको महासभा मंगलबारबाट न्यूयोर्कमा सुरु हुने भएपनि उच्चस्तरीय पाहुनाको सहभागीता भने असोज ८ गतेबाट हुनेछ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले महासभालाई सम्बोधन गर्ने कार्यक्रम असोज ११ गते रहेको छ । यसपटकको महासभामा नेपालले अतिकम विकसित राष्ट्र (एलडीसी) र अतिकम विकसित भूपरिवेष्ठित राष्ट्रको हित, जलवायु परिवर्तन, गरिबी निवारणलगायतका मुद्दालाई प्राथमिकताका साथ उठाउने जनाइएको छ ।
न्यूयोर्कमा हुने महासभाको साइडलाइनमा केही महत्वपूर्ण देशका समकक्षीसँग द्विपक्षीय वार्ताका लागि गृहकार्यसमेत भइरहेको स्रोतको दाबी छ ।
“भारत, चीन लगायतका देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ताको गृहकार्य भइरहेको छ । को–कोसँग भेटवार्ता हुन्छ भन्ने एक–दुई दिनमै टुङ्गो लाग्छ,” स्रोतले भन्यो । अमेरिकामा रहँदा प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै, प्रधानमन्त्री ओलीको कोस्टारिका भ्रमणको तयारी पनि सँगसँगै भइरहेको स्रोतले बतायो । अमेरिकामा राष्ट्रसंघको महासभामा सहभागी भएपछि त्यहींबाट कोस्टारिका जाने तयारी अहिलेदेखि नै गरिँदैछ । कोस्टारिकाका राष्ट्रपतिको औपचारिक निमन्त्रणा प्राप्त भएपछि भ्रमणको तयारी सुरु गरिएको स्रोतको दाबी छ ।
फाइल तस्बिर