site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्पताल नै नभएको ठाउँमा खटाइएका डाक्टर 
SkywellSkywell

भिमफेदीमा अजङ्गको पहाड अगाडि उनी उभिए । जीवनमा पहिलो पटक पहाड देखिरहेका थिए उनी । अब यिनै पहाडहरु छिचोलेर नेपाल (काठमाडौं) पुग्नु छ । काठमाडौं जानैका लागि अनेक गरेर उनी जनकपुरको इकराहीबाट भिमफेदी आइपुगेका थिए । 

वरिष्ठ शल्यचिकित्सक प्रा.डा. सुदीपकुमार भट्टाचार्य (८३) का अनुुसार काठमाडौंमै सरकारी सेवामा रहेका उनका जेठा बा हेमचन्द्र भट्टाचार्यले उनलाई एमबीबीएसको कोटा सिटका लागि अन्तरवार्ता दिन आऊ भनेर दुई दिनभित्रै बोलाएका थिए । 

त्यो समयमा जनकपुर नजिकको गाउँ इकराहीबाट दुई दिनमा काठमाडौं आइपुग्ने अवस्था नै थिएन । प्लेन र बस केही चल्थेन । सायद नआओस् भनेरै पनि हुनसक्छ, दुई दिनको छोटो म्याद दिइएको । 

KFC Island Ad
NIC Asia

तर खबर पाउनासाथ उनले धोती, कुर्ता, हाफ पाइन्ट, कमिज अनि गम्छा झोलामा कोचेर रक्सौलको बाटो समाए । भारत हुँदै रक्सौल पुगेपछि उनले राहदानी लिए । त्यसबेला काठमाडौं छिर्न राहदानी चाहिन्थ्यो । त्यसपछि अमलेखगञ्ज अनि त्यहाँबाट ट्रकमा चढेर भिमफेदी पुगे । जहाँ उनले पहिलो पटक पहाड देखे ।

भोलिपल्ट बिहानै काठमाडौैं उक्लनु पर्ने थियो । पहाडै पहिलोपटक देखेका उनले पहाडी बाटो पहिल्याउन सक्ने कुरै थिएन । कसैले सल्लाह दिए तामदान लिएर जाउ भनेर । उनले पनि चौबीस रुपैयाँमा तामदान तयार गरे । र, तामदान नचढेर भरियाहरुसितै गफिँँदै हिँड्न थाले, चिसापानी चित्लाङको बाटो ।

Royal Enfield Island Ad

गतसाता कुपण्डोलस्थित आफ्नो निवासमा कुरा गर्दै प्रा.डा. भट्टाचार्य भन्दै थिए, ‘कसरी तामदान चढ्नु ! मैले त बाटो चिनेको मानिसको साथमात्रै खोजेको थिएँ । त्यसैले म पनि उनीहरुसितै हिँडे । थानकोट पुगेपछि भरियाहरुलाई मैले पैसा दिन खोजे । तर आश्चर्य, उनीहरुले पैसा लिनै मानेनन् । ‘तिमी चढेकै छैनौ कसरी लिने’ पो भन्छन् । कति इमानदार मानिस । अनि मैले एक छिन् चढाइदेउ भने । तिनले त्यहीँ थानकोटमा केहीबेर घुमाए । त्यस पछि मात्रै उनीहरुले पैसा लिए ।’ 

थानकोटमा ओर्लिएका उनी एउटा थोत्रो जीप चढेर काठमाडौं पुगे । रात परेको थियो । कहाँ जाने । त्यो बेला पारस होटल थियो न्युरोडमा । जीपमा सँगै रहेका एकजना भारतीयले त्यसै होटलमा लगे । तर एक रात सुतेको पन्ध्र रुपैयाँ लाग्ने भयो । पैसा भएपनि पन्ध्र रुपैयाँ खर्च गर्न मनले मानेन । उनी केहीबेर भांैतारिए । पछि रञ्जना गल्लीमा रहेको एउटा सानो होटलमा छिरेर सुकुलमा सुते, एक मोहर तिरेर । त्यो रात उनले सुत्ने काम गरेनन् । मात्रै उपियाँको टोकाइ सहेर बसे । उपियाँको झुण्डमा के निदाउन सकिन्थ्यो ।

बिहान उनी जेठा बाको घर खोज्दै बानेश्वर पुगे । उनका जेठा बा बाटोमै भेटिए । उनलाई देखेर उनका जेठा बा नै चकित परे । दुई दिनमा भतिज काठमाडौं कसरी आइपुग्यो ! 

डाक्टर भट्टाचार्यले मिठो हाँसो हाँस्दै भने, ‘मलाई देख्दा जेठा बालाई कुनै भूत देखे जस्तो लागेको थियो होला । त्यस्तो छक्क पर्नुभएको थियो ।’

जेठा बाले उनको सामान त्यही नजिकैको एउटा घरमा राख्न लगाएर भतिजालाई सँगै सिंहदरबार लगे । सिंहदरबार जाने बाटो थिएन । बानेश्वरबाट खेतैखेत सिंहदरबार जानु पर्दथ्यो, पैदलै ।

उनले आइएससी कलकत्ताबाट गरेका थिए । आइएससीमा फिजिक्स, केमेस्ट्रि र म्याथम्याटिक्स विषय लिएर पास भएका थिए । अतिरिक्त विषयमा बायोलोजी पनि थियो । 

उनी फस्र्ट डिभिजनमा पास भए । उनले कलकत्तामा रहँदा नै सोचे, अब इन्जिनियर बन्नुपर्छ । त्यसका लागि कलकत्तामै भर्ना हुने तारताम्य पनि मिलाए ।

त्यसपछि इकराही फर्किए । उनका पिताजी नेपाल जनकपुर जयनगर रेल्वेका डाक्टर थिए । पिताजीले उनलाई भने, ‘अब डाक्टर पढ्ने होइन ?’

पिताजीको भनाइ उनले काट्न सकेनन् । भने, ‘हुन्छ, डाक्टरी नै पढ्ने ।’

\"\"

उनका जेठा बाले भतिजा फस्र्ट डिभिजनमा पास भएको थाहा पाएपछि एमबीबीएसका लागि शिक्षा मन्त्रालयबाट पाउने स्कलरसीप कोटाको फर्म भरिदिएका थिए । जसको जानकारी डा. भट्टाचार्यलाई थिएन । उनलाई त सिधै अन्तरर्वार्ताका लागि बोलाइएको थियो ।

जेठा बासित सिंहदरबार पुगेका उनी अन्तर्वार्तामा सरिक भए । एकदम सुकिला–मुकिलाहरुको ठाउँमा उनी धोती कुर्ता लगाएर पुगेका थिए । यद्यपि पढाइमा अब्बल थिए । त्यसैले उनको अन्तर्वार्ता राम्रो भयो । सफल भए । फस्र्ट डिभिजन हुने तेजलाल श्रेष्ठ र उनलाई कलकत्ता अनि लखनउ मेडिकल कलेजका लागि पढ्न पठाइने भइयो । 

उनको चाहना थियो, कलकत्ता मेडिकल कलेजमा सिट पाए हुने । उनले कलकत्ता मेडिकल कलेजमा सीट नपाएपछि उनका जेठा बा रिसाएछन् । तर तत्कालिन शिक्षा मन्त्रीले कलकत्तामा स्कलरसीप नपाउने, लखनउमा स्कलरसीप १ सय ५० रुपैयाँ पाउने भनेपछि उनका जेठा बाले उनलाई सोधे । यो थाहा पाएपछि उनी लखनउमा पढ्नका लागि राजी भए । 

डा. भट्टाचार्य भन्छन्, ‘मेरा लागि १५० रुपैयाँ ठूलो कुरो थियो । मैले आइएससी पढ्दा महिनाको ३२ रुपैयाँ खर्च हुन्थ्यो । त्यसको तुलनामा १५० रुपैयाँमा त म राजा हुन्छु भन्ने लाग्यो । म लखनउ जान राजी भएँ ।’ 

उनी एमबीबीएस गर्न लखनउ गए ।

०००

जनकपुरबाट रेलको यात्रा गर्दै जयनगर जाने बाटोमा पर्ने महिनाथपुर रेल्वे स्टेशनबाट करिब साढे एक माइल भित्र पर्ने इकराही गाउँमा डा. भट्टाचार्यको जन्म भएको हो । तत्कालिन समयमा पठनपाठनका लागि स्कूलको व्यवस्था थिएन त्यहाँ । त्यसैले उनी स्कूली शिक्षाका लागि दरभंगा पुगे । पिताजी रेल्वेका डाक्टर । छोराहरुलाई राम्ररी पढाउनुपर्छ भन्ने सोचबाट प्रेरित थिए । त्यसैले उनले आफ्ना दुबै छोरालाई दरभङ्गा पठाए । उनीहरु हाइस्कुलमा भर्ना भए । 

डा. भट्टाचार्य भन्छन्, ‘हामी होस्टलमा नभएर होटलमा बस्दथ्यौं । होटलको एउटा खाटमा म र मेरा दाजु सुत्दथ्यौं । अर्को खाटमा एउटा ट्युसन पढाउने मास्टर राखि दिनुभएको थियो पिताजीले । ती मास्टरले धेरै पिट्थे हामीलाई । खुब दनक दिन्थे । म अलिक कम पिटाइ खान्थे । दाजु धेरै खान्थे ।’

दरभङ्गाबाट म्याट्रीक पास गरेपछि उनी कलकत्ता पुगे आइएससी पढ्न । कलकत्ताको चर्चित रामकृष्ण मिशन कलेजमा उनले भर्ना लिए । मेधावी छात्रहरु मात्रै कलेजले भर्ना लिन्थ्यो । उनका एक जना दाइ पनि त्यहीँ पढेकोले पनि उनको एडमिसन त्यस कलेजमा हुन सकेको थियो । उनको नतिजा राम्रो भए पनि त्यस कलेजमा भर्ना पाउन गाह्रो थियो । तर गाह्रो हुँदाहुँदै पनि भर्ना भए । 

उनको सोचाई इन्जिनियर पढ्ने थियो । त्यसैले आइएससी सकिनासाथ उनले कलकत्ताकै इन्जिनियरिङ्ग कलेजमा एडमिशनका लागि तारतम्य मिलाएका थिए । आइएससीमा फस्ट डिभिजनमा पास भएका उनी केही दिनका लागि घर फर्किए । 

यता आउँदा उनले आफ्ना पिताजीको इच्छालाई नकार्न सकेनन् । र मेडिकल साइन्सका विद्यार्थी भए ।

०००

चिकित्सा विज्ञानमा एमबीबीएस गरेर मात्रै हुँदैन । माथि उक्लिनका लागि विशेषज्ञता हासिल गर्नु आवश्यक मानिन्छ । त्यसैले पनि डा. भट्टाचार्य बेलायतबाट एफआरसीएस गर्ने सोचाइ बनाइरहेका थिए । तर त्यसका लागि केही वर्ष सरकारी सेवामा सेवारत रहनै पर्दथ्यो ।

\"\"

उनी स्वास्थ्य मन्त्रालयको चक्कर लगाउन थाले । उनलाई त बेलायतबाट एफआरसीएस गर्ने धुन सवार थियो । तत्कालिन स्वास्थ्य मन्त्री काशिनाथ गौतमले उनलाई तिमी पहाड जाउ, यसले तिम्रो एफआरसिएसको थप अध्ययनका लागि सजिलो गर्छ भने । उनले पहाड नगए थप पढ्न पठाउन नसकिने कुरा गरेका थिए । 

उनी पहाड जान राजी भए । र, २०१६ सालमा डा. भट्टाचार्यलाई भोजपुर अस्पतालमा काम गर्ने गरि नियुक्ति दिइयो । भोजपुर जानलाई पैदल यात्रा बाहेक विकल्प थिएन । गाडी चल्थेन । 

धनकुटा भएर जाँदा लामो बाटो पथ्र्यो । त्यसैले उनले दुई दिने छोटो बाटो समाए चतरा भएर । भरखर एमबीबीएस पास गरेर आएका डा. भट्टाचार्य युवा थिए । जोश जाँगर थियो । खेलाडी पनि थिए । त्यसैले उकालो ओरालो भनेनन्, भीर पाखा गनेनन्, अनेक खोला र जङघार तर्दै दुई दिन नबित्दै उनी भोजपुर पुगे । त्यसबेला आफू भूत जस्तै हिँडेको उनी सम्झिँदै थिए् ।

भोजपुर पुगेर उनले सरकारी कार्यालय गोश्वारामा सम्पर्क गरे । हाकिमलाई भेटे । 

डाक्टर भट्टाचार्य हाँसे । भन्न थाले, ‘गोश्वारामा मलाई भोजपुर आउने कारण सोधे । मैले ‘म डाक्टर हो । मलाई अस्पतालमा काम गर्ने गरी सरकारले खटाएको हो’ भनेँ । गोश्वाराका मानिसले भने ‘अस्पताल ? कहाँ छ भोजपुरमा अस्पताल ?’ मेरो कुराले उनीहरु छक्क परे । तिनका कुराले म ।’

डाक्टर भट्टाचार्य सुनाउँदै थिए भोजपुरको कथा । भएको के रहेछ भने केही वर्ष अगाडि राजा महेन्द्र पूर्वी क्षेत्रको भ्रमण गर्दै भोजपुर पुगेका रहेछन् । भोजपुरबासीहरुले राजासँग भोजपुरमा अस्पताल स्थापना गर्नुपर्ने माग गरे । राजाले पनि भोजपुरमा अस्पताल खोल्ने भनिदिए । 

सिंहदरबार स्थित स्वास्थ्य मन्त्रालय रहेको भवनको माथिल्लो तलाको एउटा कोठामा नेपालको नक्सा थियो । सो नक्सामा पनि भोजपुरमा चिन्ह लाग्यो अस्पताल खोल्नका लागि । जब भोजपुरका लागि डा. भट्टाचार्यलाई नियुक्त गरियो, नक्सामा हरियो रंग पोतियो । यस्तै चलन रहेछ त्यसबेला । जबकी त्यहाँ अस्पताल नै थिएन । 

त्यसपछि डा. भट्टाचार्यको काँधमा भोजपुरमा अस्पतालको स्थापना गर्नुपर्ने जिम्मेवारी थपियो । उनले अस्पताल स्थापनाका लागि हल्लीखल्ली गरे । त्यसबेला आकाशवाणी थियो । त्यसैबाट सूचना आदान प्रदान हुन्थ्यो । 

उनले आफ्ना परिचित रुद्रप्रसाद गिरी र सरोज कोइरालालाई खबर गरे । त्यस पछि मात्रै तीन महिनाको लागि घर भाडावापत चार सय पचास रुपैयाँ निकासा भयो । निकासापछि उनले भोजपुर बजारमा घर खोजे । 

बजारमा रहेका घरहरु मध्येकै एउटा घर अस्पतालका लागि भाडामा लिए । बुइगलको कोठालाई आफू बस्ने कोठा बनाए । बाँकीका कोठामा अस्पतालको व्यवस्था गरे । 

उनी भन्दै थिए, ‘छ महिनाका लागि भनेर मलाई अस्पताल नै नभएको ठाउँमा पठाइएको थियो । त्यही भोजपुरमा म दुई वर्ष बसेँ । अस्पतालको स्थापना गर्नुका साथै त्यसलाई व्यवस्थित पनि गरेँ । त्यस पछि मात्रै मेरो त्यहाँबाट सरुवा भयो ।’

भोजपुरमा दुई वर्ष बिताएका डा. भट्टाचार्य केही समय स्थानीय हाई स्कूलको सञ्चालक समितिमा पनि सक्रिय रहे ।

०००

छ महिनालाई पहाड पठाइएका उनी दुई वर्ष पहाडमा बसे । दुई वर्षपछि उनको सरुवा हुँदा उनी पहाडबाट सिधै जङ्गलमा पुगे । उनको सरुवा बुटवलमा भयो । बुटवलको बीचबाटै महेन्द्र राजमार्ग बन्दै थियो । त्यहाँ जंङ्गल फडानी गर्दै बाटो बनाइँदै थियो । 

त्यही जङ्गल बीचमा रहेको अस्पतालमा काम गर्न उनी बुटवल पुगेका थिए । उनी सम्झिन्छन् त्यो दिन, ‘बुटवल पूरा डरलाग्दो इलाका थियो । सर्प, किरा फट्याङ्ग्रा, बाघ भालु, केके केके । जंगलको बीचमा अस्पताल थियो । अस्पतालमा गए मान्छे मर्छ भनेर कोही मानिस आउँथेनन्, अस्पताल ।’

उनका अनुसार बिरामी पाउनै गाह्रो अवस्था थियो । त्यसबेला उनलाई सहयोग गर्ने एकजना ड्रेसर थिए बुद्धलाल श्रेष्ठ । एक जना पियन पनि थिए । तर बिरामी थिएनन् । अस्पताल कुर्ने काममात्रै थियो । बिरामी आए पनि फाट्टफुट्ट मात्रै आउँथे । 

एकदिन अचानक एउटी बुढी महिला आइन् अस्पतालमा । तिनको पेट ठूलो थियो । ती महिला बिरामीले डा. भट्टाचार्यलाई आफ्नो पीडा सुनाईन् । उनले भनिछन् ‘गाउँलेहरुले मलाई यो उमेरमा पेट बोकिस् भनेर गिल्ला गरिरहेका छन् । मलाई देखेर हाँस्छन् ।’ 

उमेरले साठीभन्दा माथि पुगेकी ती महिलाको कुरा सुनेर उनले ती महिलाको जाँच गरे । उनले महिलाको पेटमा ट्युमर भएको ठम्याए । ती महिला आफ्नो उपचार गर्न गोरखपुरदेखि तानसेनसम्म पुगेकी रहिछन् । तर कतै तिनले उपचार पाइनन् । 

डा. भट्टाचार्यले लखनउ मेडिकल कलेजमा काम सिक्दा (इन्टर्न गर्दा) उनलाई सर्जरीले बढी तानेको थियो । सर्जरीका काम उनले धेरै गरेका थिए लखनउमा । त्यसैले पनि यी महिलाले स्वीकृति दिए अपरेशन गरेर ट्युमर निकाली दिने निर्णयमा पुगेका थिए उनीे । उनले ती महिलालाई भनेछन् ‘तिम्रो अपरेशन त गर्छु तर आठ आनामात्रै चान्स छ । आठ आना बाँच्न सक्छौ आठ आना मर्न सक्छौ’ ।

ती महिलाले पनि भनिछन् ‘मरे मर्छु, म लाजले बाँच्नै सकिन । मरे डाक्टरकै हातबाट मर्छु’ ।

यसरी महिलाले स्वीकृति दिएपछि उनी अपरेशनको व्यवस्था मिलाउन लागे । बुटवलमा अपरेशन गर्ने सुविधा त थिएन । त्यसैले उनले भैरहवामा रहेका आफ्ना लखनउ मेडिकल कलेजका सहपाठी डा. विष्णु रजौरियालाई आफूलाई सहयोग गर्न भने । उनले पक्लिहवा क्याम्पबाट अपरेशनका लागि चाहिने केही सामानहरु लिएर आए । 

त्यो क्षण सम्झिए डा. भट्टाचार्यले । भने, ‘बीपी शाह बुटवल क्षेत्रका इन्जिनियर थिए । रविन्द्रनाथ शर्मा पनि त्यतै थिए । यी दुवैसँग मेरो राम्रो सम्वन्ध र सम्पर्क थियो । त्यसैले मैले यी दुवै साथीलाई बोलाएर भने ‘मलाई चाहिएको बेलामा औषधि हालीदिने काममा मद्दत गर्नुपर्यो’ । उनीहरु राजी भए । डा. रजौरिया पनि थिए । ड्रेसर भइहाले । सबैले मद्दत गरे । एनिस्थिसियाको इन्जेक्सन मैले आफै दिएँ । र अपरेशन गरेर ती महिलाको दश सेर जतिको ट्युमर निकालेँ । दश दिनमा त ती महिला हिँड्न तयार भइन् । तिनको अपरेशन सक्सेस भएपछि बुटवलमा बिरामीको भीड लाग्न थाल्यो । चारैतिरबाट बिरामी आउन थाले ।’ 

०००

उनको अभिष्ट थियो बेलायतबाट सर्जरीमा एफआरसीएस गर्नु । त्यसैले उनी बुटबलबाट काठमाडौं आए । एफआरसीएसका लागि तयारीमा पनि लागे । तर कुनै न कुनै किसिमबाट उनले दुःख पाइरहे । 

यसरी उनलाई छ वर्ष झुलाईयो । उनी भन्दै थिए, ‘म एफआरसीएस गर्नैका लागि पहाड र जंङ्गलमा गएको थिएँ । तर जहिले सप्तऋषिहरुले मलाई दुःख दिए । मेरो मार्कसिट पनि लुकाइदिएका थिए । मैले मरेर काम गरेको हँु । मेरो काम सबैले देखेका नै थिए । तर मलाई एफआरसिएस गर्न नजाओस् भनेर अनेक रंगको नाटक गरे ।’ 

ती सप्तऋषिहरुको नाम भने उनले बताउन चाहेनन् ।

त्यसैबेला वीर अस्पतालमा रेसिडेन्सियल मेडिकल अफिसर (आरएमओ) भइदिने प्रस्ताव भट्टाचार्यलाई आयो । उनले आरएमओको काम सुरु गरे । उनका लागि वीर अस्पतालमै बस्ने क्वाटरको व्यवस्था थियो । 

डा. भट्टाचार्य आरएमओ हुुँदा इमरजेन्सीमा कहिलेकाही रातीर बिरामी आउँथे । त्यसो त खासै बिरामी हुन्थेनन् । सायद त्यसैले पनि आरएमओलाई राती सुत्ने डाक्टर भनिएको होस् । कहिलेकाहीँ प्रहरीले समातेको जड्याहालाई पनि लिएर पनि आउँथे र भन्थे ‘यसले रक्सी खाएको छ कि छैन, जाँची दिनु पर्यो डाक्टर साहब ।

त्यसबेला जुकाले, टीबीले पनि बिरामी मर्थे । त्यस्ता केस पनि उनले ह्याण्डिल गरे ।

\"\"

आरएमओ भएर उनले तोकिएको काम मात्रै गरेनन्, उनी भरखरै बेलायतबाट एफआरसीएस गरेर फर्किएका डा. अञ्जनीकुमार शर्मालाई पनि सर्जरीको काममा सहयोग गर्न थाले । 

त्यसको केही वर्ष पछिमात्रै उनले एफआरसीएस गर्ने मौका पाए र बेलायत गए । तीन वर्षका लागि बेलायत पुगेका उनले साढे एक वर्षमै एफआरसीएस सक्याए । केही समय बेलायतमै काम सिके र फेरि फर्केर वीरमै काम गर्ने प्रयासमा लागे ।

त्यो बेलाको वीर अस्पतालमा सेवा सुविधा केही पनि थिएन । राम्रो ट्वाइलेट पनि थिएन । डा. भट्टाचार्य भन्दै थिए, ‘वास्तवमा त्यसबेला वीर अस्पताल भगवान भरोसे चलिरहेको थियो । सिंगो अस्पतालमा अक्सिजन सिलिण्डर एउटा मात्रै थियो । उपचार गर्ने पर्याप्त उपकरहरु थिएन ।’

एफआरसीयस गरेर आइसके पछि उनलाई बाहिर जान भनियो । तर उनी काठमाडौंमा नै बस्ने विचारमा थिए । एक दिन एउटा घटनाले उनलाई राजधानी बाहिर जाने मनस्थितिमा पुर्यायो । एकदिन उनी आफ्ना हितैसी डा. सच्चेकुमार पहाडीसँग एउटी राणा खलककी महिलाको उपचारका लागि गएका थिए । बिरामी हेर्ने क्रममा डा. भट्टाचार्यले ती महिलालाई हातको घाउ देखाउन, हात तलमाथि गर्न भने । तर तिनले हात चलाइनन् । उनले कुरा नबुझे जस्तै गरिन् । जब डा. पहाडीले ‘एक फेर हात चलाईबक्सियोस् हजुर’ भने, त्यसपछि तिनले हात चलाएर घाउ देखाइन् ।

त्यसैबेला उनले काठमाडौं बाहिर जाने निश्चय गरे । उनी डाक्टर पहाडीलाई लिँदै स्वास्थ्य विभागको हाकिमलाई भेट्न पुगे । उनले बाहिर जाने कुरो बताए । स्वास्थ्यका हाकिम पनि दङ्ग परे । तत्काल उनको सरुवा विराटनगर भयो । 

करिब सात वर्ष विराटनगर बसेर प्रा.डा. सुदीपकुमार भट्टाचार्य वीर अस्पतालमै फर्किए । त्यसबेलासम्म वीर अस्पतालमा अर्को भवन बनिसकेको थियो । त्यो समयमा सर्जरी विभागमा डा. अञ्जनीकुमार विभागीय प्रमुख थिए । सर्जरीको युनिट टु को इन्चार्ज डा. डीएन गोंगल थिए । र युनिट थ्रीको जिम्मेवारी डा. भट्टाचार्यले सम्हाले । 

‘यसरी वीर अस्पतालको सर्जरी विभाग बलियो हुँदै गयो । राजपरिवारले पनि नेपालकै सर्जनहरुलाई विश्वास गर्दै गए ।’ यसोभन्दै प्रा.डा. सुदीपकुमार भट्टाचार्यले कुराकानीको बीट मारे । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०७५  ०७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro