दाङ । दाङमा खानेपानीको समस्या समाधान हुन सकेको छैन । नागरिकको पहुँचमा शुद्ध खानेपानीको दर झनै घटेको छ । खानेपानीमा सबै नागरिकको सहज पहुँच पुर्याउनका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिएपनि समस्या समाधान हुन नसकेको जिल्ला खानेपानी डिभिजन कार्यालयको तथ्यांकले देखाउँछ ।
जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको तथ्यांकमा ७५ प्रतिशत नागरिक खानेपानीको पहुँचमा भएको भन्ने थियो । तर सो तथ्यांक घटेर अहिले ५५ मा झरेको छ ।
पहिले धारा, इनार, ह्याण्ड पाइपका माध्यमवाट पानी आपूर्ति गरिएकोमा पछिल्लो समयमा ह्याण्ड पाइप प्राणली विस्थापित भएका कारण खानेपानीमा नागरिकको पहुँच प्रतिशत घटेको हो ।
पहिले बिभिन्न माध्यमवाट आपूर्ति पानीको पहुँच प्रतिशत गणना गरिएको भएपनि अहिले धेरै जसो नागरिकहरु पाइप प्रणालीको खानेपानीको पहुँचमा आएका छन् । योसँगै पुरानो परम्पराका रुपमा रहेका कुवा, इनार, ह््याण्ड पाइप प्रणाली विस्थापित हुँदै गएका छन् ।
पहिले पानीको मुहानहरु प्रशस्त भएका कारणले समस्या नहुने भएपनि अहिले जलवायू परिवर्तन जस्ता कुराले खानेपानीमा समस्या बढ्दै जान थालेको छ ।
जिल्लामा पानीको समस्या समाधानका लागि केन्द्रिय र प्रदेश अन्तर्गतका खानेपानीका क्रमागत योजनाहरु संचालन भैरहेका छन् । केन्द्रिय कार्यक्रम अन्तर्रगतका केही समय अगाडी संचालित योजना केन्द्रिय, प्रदेश तथा स्थानीय तहमा बिभाजन भैसकेपछि अहिले खानेपानीका योजनाहरु केन्द्रिय, प्रदेश अन्तर्रगत चलिरहेको धितालले वताए ।
दाङमा क्रमागत योजना अन्तरर्गत केही बर्ष अगाडीबाट तराई–मधेस सुधार खानेपानी आयोजना अन्तर्रगतका ५२ वटा आयोजनाका कामहरु चलिरहेका छन् । यि आयोजना तीन चार बर्ष अगाडीवाट चल्दै आएको योजनाहरु हुन् । जसअनुसार गत बर्ष यो आयोजनाका लागि १५ करोड ९६ लाख बजेट भएकोमा १३ करोड ५४ लाख ४२ हजार रुपैँया बजेट खर्च भएको छ ।
उच्च प्रबिधियुक्त खानेपानी आयोजनाका अन्तरर्गतका ४३ वटा आयोजनाहरु संचालन भैरहेका छन् । गत बर्ष सात करोड ६० लाख सात हजार बजेट बिनियोजन गरिएकोमा ६ करोड ७९ लाख ६५ हजार रुपैँया खर्च भएको डिभिजन प्रमुख धितालले जानकारी दिनुभयो ।
जिल्लामा सह–लगानी खानेपानी आयोजना अन्तर्गतका तीन वटा योजना संचालन भएका छन् । दाङको नारायणपुर क्षेत्रमा १५ करोड १४ लाख, सर्रामा १६ करोड ५० लाख तथा भरतपुरमा करिव १८ करोडको स्टिमेट तयार भएका छन् । यी मध्य नारायणपुर र सर्रामा आयोजनाका काम भइरहेको छ । भने घोराहीको भरतपुरमा डिपिआर तयार गरी फाइल बिभागमा पेश गरिएको छ ।
धितालले खानेपानीका समस्या समाधानका लागि तराई क्षेत्रका नदीहरुवाट जिल्लामा पानीको अभाव पूर्ति गरिने वताए ।