दाङ । सल्यानको एउटै गाउँमा १२ क्वीन्टल शंखेकिरा संकलन गरिएको छ । जिल्लाको शारदा नगरपालिका ६ बरलामा एउटै गाउँमा १२ क्वीन्टल ४ केजी शंखेकिरा संकलन गरिएको हो ।
जाईन्ट अफ्रिकन स्नेल अर्थात् ठूलो आकारको शंखेकिराले किसानले लगाएको तरकारी बाली, धानबाली, मकैँबाली आदिमा क्षति पुर्याउन थालेपछि स्थानीय सरकारको पहलमा बरलाको करिब २० देखि २५ हेक्टरमा रहेको शंखेकिरा नियन्त्रण गर्न सुरु गरिएको हो ।
एक केजी किरा संकलन गरेबापत ५० रूपैयाँ दिएर हिजो, अस्ति र आज गरी तिन दिनको समयमा किरा संकलन गरिएको हो । शारदा नगरपालिकाको आर्थिक सहयोगमा संकलन गरिएको किरालाई अहिले आयोडिन नुन छर्केर राखिएको छ ।
आयोडिन नुनले नै उक्त किरा मर्ने भएकाले यस्तो गरिएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत अम्मर राज घिमिरेले बताए ।
उक्त ठूलो शंखेकिरा नेपालमा पहिले नभएको तर पछिल्लो समय विभिन्न खानेपानीका योजना अनुसार ठूला पाइपहरु विदेशबाट भित्र्याउदा पाइप भित्र किरा पसेर आएको हुन सक्ने घिमिरेले बताए ।
यो किराले एकपटकमा १६ सय अण्डा पर्ने भएकाले व्यापक फैलने र यसले जुनुसुकै अन्नबाली पनि उम्रनेबित्तिकै नस्ट गर्ने घिमिरेको भनाइ छ । यसरी जिल्लाका अन्य गाउँ घाउँमा शंखेकिरा देखिएमा तत्काल सामूहिक रूपमा नस्ट गर्न पनि उनले अन्य किसानहरूलाई आग्रह गरेका छन् ।
यो पटक उक्त १२ क्विन्टल किरा समात्न नस्ट गर्न लगाएतको खर्च करिब ७० हजार रुपैयाँ हुने शानपा ६ का वडा अध्यक्ष भिकराज बुढाथोकीले बताए । किरा मार्ने अभियान यो पहिलो चरणको भएकाले फेरी दोस्रो चरणमा पनि अभियान चलाउने उनले बताए । गत वर्षदेखि देखा परेको यो किराले यो वर्ष किसानको बालिनालिमा धेरै क्षेती पुर्याएको उनको भनाइ छ ।
आफूले बारीमा लगाएको करिब ६० हजार बराबरको तरकारी शंखेकिराले नस्ट गरिदिएको स्थानीय किसान भिम बहादुर बढाथोकीले बताए । उनले भने, “किरा मार्न अनेकौं प्रयास गरियो तर सफल भइएन, यो किराले कुनैपनि तरकारी बालि काट्न छोडन ।” यतिमात्रै संकलन गरेर शंखेकिरा किरा नस्ट नहुने भन्दै उनले फेरि यो अभियान चलाएर पूरै किरा नस्ट गर्नुपर्ने बताए ।