दाङ । दुई दिनदेखि अविरल रूपमा पानी परेको हुँदा बबई र राप्ती आसपासका सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले बबई र राप्तीमा पानीको बहाव बढेको हुँदा बाढी तथा पहिरोको जोखिम बढेको भन्दै सचेत रहन मोवाइलमार्फत् सन्देश पठाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति दाङले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाका ३५ स्थानलाई बाढी तथा पहिरोको उच्च जोखिमको रूपमा राखेको छ । त्यसबाट करिब १ हजार घरधुरी प्रभावित हुन सक्ने अनुमानसहित उच्च सतर्कता अपनाइएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत खिलानाथ दाहालले वताए ।
दाङको राप्ती तटीय क्षेत्र अर्थात् देउखुरी क्षेत्रको राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, तुलसीपुर क्षेत्रको दंगीशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिकामा बाढीको उच्च जोखिम रहेको दाहालले बताए । लमही नगरपालिका र तुलसीपुर उपमहानगरपालिकाको तीन दर्जन वडाहरूलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा राखेर तयारी गरिएको छ ।
जिल्लाको भालुवाङ, तुलसीपुरको उरहरी र घोराहीमा जिल्ला प्रशासन कार्यालयमा खोज उद्धार सामग्रीसहित एकरएक वटा रवर बोट र खोज उद्धार टोली तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । उनले जिल्लाको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाका र शान्तिनगर गाउँपालिकाको वडानम्वर १ र ३ लाई पहिरोको उच्च जोखिम क्षेत्रकारुपमा तोकिएको बताए ।
पहिरोको मध्यम जोखिम क्षेत्रकारूपमा बबई गाउँपालिका वडानम्वर २ र ३, बंगलाचुली गाउँपालिका वडानम्वर १,२ र ८, तथा राप्ती गाउँपालिकाको वडानम्वर ९ रहेका छन् । दाङमा राप्ती नदीले चार वटा स्थानीय तहहरू राजपुर, गढवा, राप्ती र लमही नगरपालिकाका दुई दर्जन वडाहरूलाई प्रभावित बनाउने उल्लेख छ । त्यसबाट एक हजार घरधुरी प्रभावित हुने तथा झन्डै १० हजार मानिस प्रभावित हुने जिल्ला विपत् व्यवस्थापन समितिले जानकारी दिएको छ ।