site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
ढाडे

– प्रमोद प्याकुरेल


निर्मला ठूलै तपस्यापछि सरकारी सेवामा प्रवेश गरेकी थिई । कुनै सरकारी कामले केही दिनका लागि उसलाई हेटौंडा जानु पर्ने भयो । जाने अघिल्लो दिन बेलुका ऊ घरधन्दासँगै बन्दोबस्तीका सामान मिलाउँदै थिई । बुहारीले जागिरकैै कारण एक्लै जिल्ला जान लागेको कुरा आमा–बुवालाई चित्त बुझेको थिएन । हुन पनि म बेरोजगार नै भए पनि नपुग्दो केही थिएन । पैतृक सम्पत्ति प्रशस्तै थियो । घरभाडाले गर्जो टार्न यथेष्ट पुग्थ्यो । बुहारीको कमाइमा रमाउने कुल थिएन मेरो । मभित्र पनि एक किसिमको काँठे मानसिकता गाँजिएको थियो । आफ्नो जीवनमा के कुराको कमी देखि कुन्नि ? ज्यानै फालेर पढी र जागिर खाई ।

छोरी निर्मलासँगै टाँसिएकी थिई । एक कक्षामा पढ्थी । म टेलिभिजन हेर्दै थिएँ । ठूलो पेट भएको बिरालो घरभित्र पस्यो । छोरी डरले निर्मलासँग अझै सक्दो लिप्सिई । मैले बिरालोलाई लखेटें ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यस्को ब्याउने बेला भयो । ठाउँ खोज्दै हिँड्या छ,” आमाले भन्नुभयो ।

राति सुत्ने बेला निर्मलाले छोरीलाई सामान्य व्यवहारका कुरा सिकाई, “... आमा, बुवा, बाबा कसैलाई पनि नपिराउनू । ज्ञानी हुनू । भनेको मान्नू । स्कुलबाट आएपछि पहिले होमवर्क गर्नू... मामु फ्राइडे आउँछु । आउँदा पापा ल्याइदिन्छु । हस् ?” संस्कारी छोरीले सहमतिको टाउको हल्लाउँदै आफ्नी आमालाई बिदा दिई । बिहान छोरी उठ्दा निर्मला हिँडिसकेकी थिई ।

आँखा मिच्दै उठेकी छोरीले सोधी, “... मामु गैस्यो बाबा ?”

मैले गह्रौं मन बनाएर भनें “... गई !”

छोरीले स्कुल जानुअगाडिका आफ्ना सबै कर्म आफैं सक्काई । बेला भएपछि खाना खान बसी, लुगा लगाई र स्कुल गई । बेलुका टोलको चियापसलबाट म लुडो खेलेर फर्किंदा छोरी आफ्ना सबै कर्म सक्काएर एक्लै पुतली खेल्दै थिई । त्यसअघि आफ्नी आमासँग टाँसिएर खेल्थी । घरभित्र पसेर मैले टेलिभिजन खोलें । पुतली खेलाइमा छोरीको एकाग्रता थिएन । ऊ कसैको आधार खोजिरहेकी थिई । मैले उसको भाव बुझें ।  छोरीलाई बोलाएँ । खुशी हुँदै आएर मसँग टाँसिई । फेरि बिरालो देखाप¥यो । मैले लखेटें ।

“अब ढोका खुल्ला छोड्न भएन । घरभित्रै ब्याउला,” बुवाले भन्नुभयो ।

आमाचाहिँ हिँडेको दुई दिनमात्र भएको थियो । पहिलोपटक आफ्नी आमासँग बिछोडिएकी छोरीको हुटहुटी बढ्दो थियो । घरि बाहिर निस्किन्थी, घरि भित्र पस्थी । सधै व्यवस्थित पाराले बोकीहिँड्ने पुतली पनि हातमा जबर्जस्ती झुन्डिएको थियो । आमाप्रतिको छोरीको न्यास्रो पराकाष्टामा पुगेको थियो । कोठाभित्रबाट आमा एक्कासि कराउनुभयो, “... यो लुगा कस्ले खसाल्या ?”

म आमाको आवाज पछ्याउँदै गएँ । लुगा राख्ने दराज खुल्ला थियो । केही लुगाहरू बाहिर छरिएका थिए । छोरी पनि आइपुगी । डराउँदै प्रतिरक्षा गरी, “मैले त होइन बाबा !”

“तैले नभए कस्ले त ?” मैले हप्काएँ । छोरीको अनुहारमा डरको बादल मडारियो । नीलो अनुहार लगाएर उभिइरही ।

“लौन नि ! बिरालो पो छ त,” आमाले भन्नुभयो । मैले मोबाइलमा बत्ती बालेर दराजभित्र प्रकाश छरें । दराजको तल्लो खण्डमा ढोकापट्टी ढाड फर्काएर लमतन्न सुतेको बिरालो टाउको उठाएर हामीलाई हेर्दै थियो । दुइटा साना आँखा नखुलेका बच्चाहरू अगाडिका खुट्टा माउको शरीरमा टेकाएर चढ्न खोज्दै थिए ।

“भित्रै ब्याएर मरेछ । खत्तम भैगो नि,” मैले भनें ।

“के भयो बाबा ?” छोरीले जिज्ञासा राखी ।

“दराजभित्र बिरालोले बच्चा पाएछ । हेर्छेस् ? ल हेर् !” मैले नजिकै लगेर छोरीलाई बिरालाका माउ र बच्चा देखाइदिएँ । मेरो पाइन्ट दुवै हातले समाउँदै उत्सुकतापूर्ण भावले खुसी हुँदै छोरीले बिरालाका माउ र बच्चा हेरी । आमासँग छुट्टिएपछि पहिलोपटक छोरी यत्ति खुसी देखिएकी थिई ।

छोरीले बेलाबेलामा उसकी आमालाई पिराउँथी, “पप्पी पालौ न मामु ।”

“हुन्न फोर गर्छ । ... त्यसको रौं झर्छ । खानेकुरामा पर्छ ।”

“...नभए खरायो पालौं न त ।”

“खरायो त झनै हुन्न ! त्यसको मुटु साह्रै कमजोर हुन्छ । बाटोमा टायर पड्किँदा, बिजुलीको ट्रान्सफर्मर पड्किँदा, पटाका पड्काउँदा पनि तर्सेर मर्छ ।”

“....उसो भए सुगा पालौं...”

छोरी कुनै न कुनै विकल्प अघि सारिरहन्थी । हात र शरीर केही न केही काममा व्यस्त गरिरहेकी आमाचाहिँ टारिरहन्थी । म सोफामा बसेर टेलिभिजन हेर्दै सुनिरहन्थें । त्यस्ता रहर छोरीमा मात्र होइन, आमामा पनि थियो । वैवाहिक सम्बन्धका शुरूवाती दिनमा यस्तै प्रस्ताव मलगायत आमा–बुवासँग बारम्बार राखिरहन्थी । कसैले रहर पूरा गरिदिने छाँट नदेखाएपछि जबर्जस्ती दबिएकी मात्र हो ।

बिरालो ब्याएको दुई दिन भइसकेको थियो । बिरालोले छरेका लुगा भुइँमै अलपत्र  थिए । छोरीको दिनचर्या फेरिएको थियो । बिरालो भएको कोठावरिपरि नै डुलिरहन्थी । कुनै नौलो मान्छे भेटे फुर्ती लाइहाल्थी, “हामीकाँ त बिरालो पाल्या छ, बाबाले ल्याइसेको, एउटा मामु दुइटा बेबी ।” हामी भने बिरालोले घरभित्र जमाएको डेराप्रति सोचमग्न थियौं । 

“पहिले–पहिले त बिरालोले बच्चा सारिरन्छ भन्थे । खोई यस्ले त सार्दा पनि सारेन,” आमाले दिक्क मान्दै भन्नुभयो ।

“ढाडेले बच्चा खाला भन्ने डर भए पो सार्नु, सुरक्षित ठाउँमा राख्न पाएको छ । के साथ्र्यो,” बुवाले थप्नुभयो ।

“... ढाडे भन्या के ?” छोरीले सोधी ।
“ढाडे भनेको त्यो बच्चाहरूको बाबा हो । त्यसले भेट्यो भने बच्चाहरूलाई खाइदिन्छ,” आमाले विस्तार लाउनुभयो । छोरीका मनमा अनेकौं भयमिश्रित जिज्ञासाहरू भररर्र उब्जिएको प्रष्ट देखिन्थ्यो । तर, ती जिज्ञासाहरूलाई तत्काल प्रश्न बनाउने कला र हिम्मत जुटाइन छोरीले ।

“एउटा कार्टुन ल्याएर बच्चाहरू त्यसमा राखिदिनुप¥यो । कति दिन दराजभित्र पाल्नु त्यस्का डाम्नालाई,” उपाय सुझ्यो ।

हामीले एउटा बोरा कार्टुनको पिँधमा ओछ्यायौं र दराजकै छेउमा राख्यौं । माउ आहारा खोज्न गएको मौका छोपेर दुइटै बच्चाहरू टिपेर कार्टुनभित्र राखिदियौं । छोरी सबै गतिविधिहरू चुपचाप हेरिरहेकी थिई । एकछिनमा माउ आएर सरासरी दराजभित्र गयो । बाच्चा नदेखेपछि एकछिन ङ्याउङ्याउ गर्दै यताउति डुल्यो र कार्टुनभित्रका आफ्ना मुटुका दुई टुक्रा फेला पा¥यो । फेरि एकैछिनमा निस्किएको बिरालो निकै बेरसम्म हरायो । ढिला गरी फर्किएको बिरालोले आफ्नो मुखले बच्चाहरूका घाँटीमा समातेर झुन्ड्याउँदै एक–एक गरेर अन्तै कतै सा¥यो । हामीले सन्तोषको सास फे¥यौं । आफूलाई प्रिय लागेको वस्तु गुमाउनु पर्दा छोरी रून मात्र सकिन । शायद उसकी आत्मीय आमा सँगै भएकी भए रोइसक्थी । रूने साहससमेत जुटाउन नसकेर निरीह उभिइरही ।

निर्मलाको फर्कने दिन । मेरी आमाको पाँच दिनको घरधन्दाबाट थाकेको शरीरले आराम पाउने दिन । बिरालाका बच्चाहरू ओझेल हुँदाको पीडा र आमाको न्यास्रोको मिश्रण छोरीको व्यवहारमा छताछुल्ल थियो ।

“कहाँ आइपुग्यौ ? ए ! ल ल !! सिस्नेरीबाट त दुई घण्टा त हो नि !” आमाले निर्मलालाई फोन गर्नुभयो । ५ बजिसकेको थियो । खाना बनाउने तरखर गर्नुभयो । हेटौंडाबाट काठमाडौं जम्मा चार घण्टाको बाटो । खासै यात्राको थकान नहुने भएकोले आएर पकाउँछे कि भन्ने आमाको मनसाय थियो ।

“बिरालोले बच्चा कता लगेछ ? देखिँदैन त !” खाना खाँदै बुवाले भन्नुभयो ।

“खाइहाल्यो नि ढाडेले । माथि कौशीमा दुइटा टाउका मात्रै गुडिरको छ,” आमाले भन्नुभयो । हामीले बिष्माद गरेनौं । सुनेर छोरी भने पिलपिलाउन थाली । बुवाले गाली गर्नुभयो, “चुप लाग् ! बिरालाको जातै त्यस्तै हो ।”

छोरी चुप लाग्न बाध्य भई । हामी सबैले खाना खाइसकेका मात्र थियौं, निर्मला आइपुगी । छोरीले रूँदै गएर निर्मलालाई अँगालो हाली । तर, निर्मलाको प्राथमिकतामा छोरी पर्न पाइन ।

“बाटो धेरै नै बिग्रएको रेछ । ६ घण्टा लाग्यो । ढिला भयो,” निर्मलाले डराई–डराई स्पष्टीकरण दिँदै सबैलाई पालैपालो ढोग दिई । हामीले खासै प्रतिक्रिया जनाएनौं । आमा–बुवा आफ्नो कोठाभित्र पस्नुभयो । म हातमा मोबाइल खेलाउन थालें । डाइनिङ टेबलबाट जुठा भाँडा उठाउँदै गरेकी निर्मलालाई छोरीले कुरा लगाई, “था छ मामु ? बिरालोको बेबीहरूलाई ढाडेले पकाएर खायो नि ! बाबाहरूले दराजबाट निकालिदिएर त हो नि !” कुरा नसकिँदै डाँको छोडी । निमर्लाले छोरीलाई केही भनिन । सुम्सुम्याई मात्र ।

“... बढ्ता हुन्छेस् !” मैले छोरीको झाँको झार्न खोजें । तर, निर्मलाको भरोसा पाउने आशाले छोरी मैतिर आइलागी । रुँदै भनी, “हो त के । बाबाकै मिस्टेक त हो नि । बाबाले नै किट्टीलाई दराजबाट बाहिर निकालिसेको त हो नि !”

मेरो घरमा कसैलाई आडभरोसा दिने हैसियत नाथे बुहारीको छैन भन्ने कुरा छोरीले अझै बुझेकी थिइन । मैले आफ्नो पुरुषवादी अहंकारको डाम उसको बाल मानसिकतामा गड्ने गरी छोरीको गाला चड्काएँ । छोरी ट्याक्कै रून छोडेर चुप लागी । दौडिँदै गएर निर्मलालाई अँगालोमा कस्दै भक्कानिएर रोई । शायद उसले बुझेकी थिई— छोरीको सवालमा प्रत्येक बाबु ढाडे हो, जोगिएर बसेकै राम्रो !

निर्मलाचाहिँ बिरालोले खसालेका लुगाहरू दराजमा मिलाउँदै थिई । म राति अबेर कतिखेर निदाएँ, त्यो त थाह भएन तर ननिदाउँदासम्म छोरीको घुँक्क–घुँक्क मेरो कानमा ठोक्किँदै थियो । त्यस दिनपश्चात् मेरी छोरीले मसँग अनौपचारिक संवाद गर्ने दुस्साहस आजसम्म गरेकी छैन । मैले आफूलाई साँच्चैको ढाडे सिद्घ गरें ।
 

प्रकाशित मिति: शनिबार, असार १६, २०७५  ०६:३७
प्रतिक्रिया दिनुहोस्