एजेन्सी । पछिल्ला दिनहरुमा उत्तर र दक्षिण कोरियाका साथै बेइजिङ र टोकियोबीचको कूटनीतिक सम्बन्ध पनि बदलिँदो अवस्थामा रहेको छ । यस्तोमा बुधबार चिनियाँ प्रधानमन्त्री लि केक्वाङकोको जापान भ्रमणपछि जापान र चीनबीचको सम्बन्धले नयाँ रुप लिएको सिएनएनले जनाएको छ । किनकी विगत् ८ वर्षमा चीनका कुनैपनि उच्च राजनीतिज्ञले जापान भ्रमण गरेका थिएनन् ।
अहिले चीन र जापान दुवैलाई कोरियाली प्रायद्विपमा अघि बढिरहेको वार्ता र शान्ति स्थापनाको कार्यक्रमबाट आफूलाई किनारा लगाइनेप्रति चिन्ता रहेको छ भने अर्कोतर्फ राष्ट्रपति ट्रम्पले उत्पन्न गराएका नयाँ आर्थिक चुनौतिले पनि दुवै देशलाई समस्यामा पारिरहेको छ । यसैकारणले पनि लामो समयदेखिका शत्रु चीन र जापानसँग अहिले एक हुन धेरै कारणहरु रहेको बताइन्छ ।
कोरियाली प्रायद्विपको मुद्दामा जापान र चीनले प्रत्यक्ष सहभागीता नजनाएपनि दुवैलाई यस विषयमा उत्तिकै चासो रहँदै आएको छ । जापानलाई उत्तर कोरियासँगको वार्ता र शान्ति सम्झौतामा आफ्नो देशका समस्याहरुबारे उल्लेख नगरिने सम्बन्धि चिन्ता रहँदै आएको छ भने चीनले पनि उत्तर कोरिया र किममाथिको आफ्नो प्रभाव कम हुन नदिन लगातार प्रयास गरिरहेको छ ।
चीन र जापानबीच दोस्रो विश्वयुद्धको समयदेखि सुरु भएकोे विवादास्पद सम्बन्ध पूर्वी चिनियाँ समुद्रमा चीनको बढ्दो सैन्य क्रियाकलापपछि झनै बिग्रिन पुगेको थियो । तर पछिल्लो वर्ष प्रधानमन्त्री आबे र राष्ट्रपति जिङपिङबीच पहिलोपटक फोनवार्ता भएपछि भने दुवैको कूटनीतिक सम्बन्धमा धेरै सुधार आएको देखिएको हो ।
यस्तोमा बुधबार बिहानको तीनपक्षीय बैठकमा चिनियाँ प्रधानमन्त्री लिले आबेका साथै दक्षिण कोरियाका राष्ट्रपति मुन जेइनसँग पनि भेट गरेका हुन् । गत अप्रिलमा उत्तर कोरियाली शासक किमसँग भएको ऐतिहासिक बैठकबारे छलफल गर्दै तीनै राजनीतिज्ञहरुले यस विषयमा आगामी प्रक्रियाबारे लामो कुरा गरेका हुन् । यसै वार्तापछि मूनले भने, ‘पुरै विश्वभरको नजर अहिले कोरियाली प्रायद्विप र उत्तरपूर्वी एसियातर्फ रहेको छ । त्यसैले मलाई विश्वास छ कि शान्ति र समृद्धिका निम्ति तीनैवटा देशहरुबीचको सहकारिता अझ बढ्दै जानेछ ।’ प्रधानमन्त्री लि अझै दुई दिनसम्म जापानमै रहनेछन् भने राष्ट्रपति मूनचाहिँ दिउँसो नै फर्किने बताइएको छ ।