site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम

सोल, दक्षिण कोरिया (रासस/सिन्ह्वा) । दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले शनिबार उत्तर कोरियाद्वारा आणविक हतियार तथा क्षेप्यास्त्र परीक्षणलाई रोक्ने घोषणालाई कोरियाली प्रायद्वीपको समस्या समाधानको ‘अर्थपूर्ण प्रगति’को बाटो भएको जनाएको छ । 

राष्ट्रपतिको कार्यालयका प्रेस सेक्रेटरी यू योङ चानले शनिबार एक विज्ञप्ति जारी गरी भनेका छन्, ब्लु हाउसले उत्तर कोरियाको हतियार परीक्षण रोक्ने घोषणाको स्वागत गरेको बताए ।

उनले भने, “उत्तर कोरियाको निर्णय कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्ने बिषयमा भएको सार्थक प्रगति हो । यो सम्पूर्ण विश्व समुदायको चाहाना थियो ।”

“यसले अमेरिका, दक्षिण कोरिया र उत्तर कोरियाबीच निकट भविष्यमा हुने भनिएको निशस्त्रीकरणको कदमका लागि सकारात्मक सन्देश दिनेछ, ” यूले भने ।
उत्तर कोरियाली उच्च नेता किम जङ अनले वर्कर्स पार्टी अफ कोरियाको सातौ केन्द्रीय समितिको तेस्रो बिस्तृत बैठकका अवसरमा आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता नदिने घोषणा शुक्रबार गरेका थिए ।
पार्टीको शुक्रबार बसेको बैठकका अवसरमा नेता किमले उक्त घोषणा गर्नुभएको कोरियाली केन्द्रीय न्यूज एजेन्सीले शनिबार जनाएको छ ।

किमको घोषणा दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँग कोरियाली सीमाक्षेत्रमा रहेको पानमुनजोम गाउँमा हुँने पहिलो शिखर सम्मेलनको समयभन्दा ठीक एक हप्ता अगाडी आएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०७५  ०६:१७
प्रतिक्रिया दिनुहोस्