काठमाडौं । धादिङकी मेनुका बस्नेतलाई छाति दुख्ने, खाना खान मन नलाग्ने, बेलुकीपख ज्वरो आउने, खकारमा रगत देखिने गरेको थियो । उनी यस्तो समस्या देखापरेपछि तुरुन्त अस्पताल गइन् । उनलाई चिकित्सकले क्षयरोग भएको बताए । उनी भन्छिन्, “चिकित्सकले क्षयरोगको औषधी ६ महिनासम्म नियमित सेवन गरेमा निको हुने बताए । औषधी सेवन गरेको करिब दुई साताबाट रोग निको हुँदै गयो ।” त्यसपछि उनले औषधी सेवन गर्न छोडिन् । करिब १८ महिनापछि पहिलाको जस्तै लक्ष्ण देखापर्यो । उनी तुरुन्त अस्पताल गइन् । पुनः क्षयरोग बल्झेको रहेछ । उनी अहिले चिकित्सकको सल्लाहबमोजिम नै औषधी सेवन गरिरहेकी छिन् ।
त्यसैगरी, कालिमाटीका हरिलाल दासलाई बेलुकी समयमा ज्वरो आउने, छाति दुख्न खोकीे लाग्ने हुन्थ्यो । उनले नजिकैको फार्मेसीबाट औषधी किनेर खाए । त्यो औषधीले सेवन गरेको केही समयसम्म रोग निको भयो । केही महिनामा पुनः पहिलाजस्तै वेलुकीको समयमा ज्वरो आउने, छाति दुख्ने, लगातार खोकी लाग्ने भएपछि टेकुस्थित सरुवा रोग अस्पताल उपचारका लागि गए । अस्पतालमा खकार परिक्षण गर्दा क्षयरोग भएको रहेछ । उनले भने, “अस्पतालबाट निःशुल्क रुपमा औषधी लिएँ । औषधी खाएको केही दिनदेखि नै सबै लक्षणहरु हराउँदै गएपछि औषधी सेवन गर्न छोडें ।”
क्षयरोगको औषधी ६ महिनासम्म चिकित्सकको निगरानीमा खानुपर्ने हुन्छ । तर क्षयरोगका बिरामीहरु पूरा समय औषधी सेवन नगर्ने, बीचैमा छोडिदिने गरेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ अनुप बास्तोलाले बताए । उनले भने, “क्षयरोगको औषधी प्रयोग गरेकोे २ सातासम्म काम गर्न थाल्छ । बिरामीहरु २ सातामा नै रोग निको भयो भनेर बीचैमा औषधी सेवन गर्न छोड्छन् । पूरा समय औषधी सेवन नगर्दा पछि रोग बल्झने हुन्छ ।”
रोग लुकाउने र औषधी छाड्ने बिरामीहरु छाति बिग्रेको र निमोनिया भएको अवस्थामा अस्पताल पुग्ने गर्छन् । उनले भने, “घरायसी र जागिरका कारण आउन नभ्याउँने भन्दै बिरामी १ महिनासम्मको औषधी लिएर जान्छन् पुनः फर्केर आउँदैनन् ।”
क्षयरोगका हराइरहेका विरामीहरु खोजेर उपचारको पहुँचसम्म ल्याउन चुनौति देखिएको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक राजेन्द्र पन्तले बताए । उनले भने, “सामाजिक अपहेलना र अन्धविश्वासका कारण विरामी अस्पताल नजाने गरेको पाइएको छ ।” अब सरकारले क्षयरोगका विरामी खोज्ने काम स्थानिय तहलाई जिम्मा दिएको समेत उनले जानकारी दिए ।
काठमाडौं जनस्वास्थ्यका पुष्कर विजुक्छेले जथाभावी एन्टिवायोटिकको प्रयोग बढेका कारण क्षयरोगका विरामी हराउने गरेको बताए । उनले भने, “सामान्य ज्वरो रुघाखोकी लागेमा पनि कडा प्रकारका एन्टिबायोटिकको प्रयोग निजी अस्पताल र क्लिनिकले गर्ने गरेका छन् । त्यो रोकिएमा सजिलै क्षयरोगका विरामीहरु हराउने गरेका छन् ।”
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार नेपालमा प्रत्येक वर्ष ४५ हजार क्षयरोगी थपिने गरेका छन् । २०१६ को स्वास्थ्य प्रतिवेदनअनुसार छिटै मृत्युको मुखमा पुयाउने रोगमा क्षयरोग एक हो । राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांकअनुसार नेपालमा नयाँ र पुराना २८ हजार अझै विरामी लुकेर बसेको पाइएको छ । नेपालमा झण्डै ७ हजारले हरेक वर्ष क्षयरोगका कारण ज्यान गुमाउने गरेका छन् । विश्वमा क्षयरोगबाट सबैभन्दा बढी एचआईभीका विरामी प्रभावित हुने गरेका छन् । सरकारले क्षयरोगको उपचार २० महिनासम्म सेवन गनुपर्नेलाई घटाएर ६ देखि १२ महिनामा झारेको छ ।
नेपालमा गत वर्षमात्र ३१ हजार ७ सय ६४ जना क्षयरोगी उपचारको दायरामा आएका थिए । क्षयरोगीको पहिचान प्रभावकारी नहुनु, निजी अस्पतालबाट सेवा लिइरहेका बिरामीको सही आकडा सरकारले संकलन गर्न नसक्नु र उपचारमा आएका बिरामीलाई पनि टिकाउन नसक्नु जस्ता कारणले नेपालमा क्षयरोगको जोखिम कम गर्न नसकिएको हो । काठमाडौमा १ सय १५ डट सेन्टर छन् । देशैभर ९६ वटा डट सेन्टरबाट परामर्श र निःशुल्क औषधी लिइरहेका छन् ।
हाल सरकारले क्षयरोगको सम्पूर्ण उपचार निःशुल्क र उपचारमा आएका लागि ३ हजार पोषणभत्ता दिने गरेको छ । औषधि प्रतिरोधी क्षयरोगीलाई आवाससहित उपचार कार्यक्रम सञ्चालनमा गरेको केन्द्रले जनाएको छ । सरकारले सन् २०३५ सम्ममा क्षयरोगले मृत्यु हुनेको संख्या ९५ प्रतिशतले कमी ल्याउने लक्ष्य राखेको छ ।
कुन क्षयरोगका लक्षण कस्ता हुन्छन् ?
फोक्सोको क्षयरोगका लक्षणहरू
दुई साता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु, शरीरको तौल घट्नु, खासगरी बेलुकापख ज्वरो आउनु, छाति दुख्नु, खाना अरुची हुनु, खकारमा रगत देखिनु आदि ।
हाड तथा जोर्नीको क्षयरोग क्षयरोग लक्षणहरुमा हाड वा जोर्नी दुख्ने, हाड जोर्नी चलाउन गाह्रो हुने तथा सुन्निने, पछि छालामा प्वाल बनी पीप निस्कने आदि ।
पेटको क्षयरोग भएमा पेट दुख्ने, दिसा पातलो हुने, दुब्लाउँदै जाने, पेटमा छाम्दा डल्लो फेला पर्ने, मन्द ज्वरो आउने तथा खाना रुची नहुने आदि ।
ग्रन्थीको क्षयरोग भएमा खण्डमा ग्रन्थीको आकार बढ्ने, ग्रन्थीमा तातोपन नहुने, सुन्निने ग्रन्थी नदुख्ने आदि ।