ब्लग
“किन ल्याउनुभयो यो पंखा ? जे मन लाग्यो, त्यही गर्न तपाईंको घर हो र यो ? अस्पतालमा जे छ, त्यही सुविधा उपयोग गर्नूस् ।”
परिचारिका यसो भनेर कड्किनासाथ वार्डमा उपचाररत बिरामी कालोनीलो भइन् र अक्षम्य अपराध गरेझैं घोसेमुन्टो लगाइरहिन् ।
धनकुटाको सवारी दुर्घटनामा परी गम्भीर घाइते उनी केही दिनअघिमात्रै त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्जमा आइपुगेकी हुन् ।
घाउमा संक्रमण हुने डरका कारण उनलाई पंखा नभई नहुने रहेछ । तर वार्डको पंखा बिग्रिएकाले जसोतसो उनका कुरुवाले पंखाको प्रबन्ध मिलाएका रहेछन् ।
नजिकै थिएँ म । बिरामीसँग मित्रवत् व्यवहार गर्नुपर्ने पढाइएका अस्पतालका परिचारिकाको रुखो व्यवहार देखेर मेरो मन भरंग भो ।
० ० ०
हाइड्रोसिलको शल्यक्रिया गर्नुपर्ने भएकाले ससुरालाई टिचिङमा भर्ना गरिएको थियो । यो अस्पतालमा बिरामीलाई राम्रो गरिँदैन भन्ने सुनेको थिएँ । दिदीलाई भनें, “यहाँ उपचार नगरौँ, राम्रो हेरचाह हुन्न ।”
दिदीले भनिन्, “पैसा छैन बाहिर लैजान । हामीजस्ता गरिबका लागि यही ठीक छ ।”
यति सुनेपछि मन नलागी–नलागी बिरामी लिएर म टिचिङ पुगेको थिएँ ।
ससुराको तत्काल शल्यक्रिया गर्नुपर्ने थियो । डक्टरले आकस्मिक उपचार कक्षमा भर्ना पनि गरे । हामीले बुझेका थियौं– आकस्मिक उपचार कक्षमा जतिबेला पनि चिकित्सक उपलब्ध हुन्छन् । चाहिएको सेवा तत्कालै उपलब्ध हुन्छ । बिरामीको प्रकृति हेरेर अस्पतालले द्रुत गतिमा सेवा उपलब्ध गराउँछ । सामान्य वार्डमा जस्तो अप्ठ्यारो भोग्नु पर्दैन ।
तर, त्यसो होइन रहेछ । ठीक उल्टो भोगें ।
आकस्मिक उपचार कक्षका डक्टर खोज्न क्यान्टिन र बरन्डामा नपुगी नहुने । ल्याबका प्राविधिक कता गफिएर बसेका छन्, खोज्दै हिँड्नुपर्ने !
बिरामी र तिनका आफन्तहरू हत्तुहैरानै रहेछन् ।
कतिले गुनासो गर्दै थिए– यो अस्पताल हो कि पार्टी ? बिरामी उपचारका लागि आएको हो कि आराम गर्न ? कुनै वास्ता नै छैन त बा !
आकस्मिक उपचार कक्षमा बिरामीको उपचार भइरहेको छ, केही तलबितल परे बिरामीको ज्यान जान सक्छ । तर, आकस्मिककै बिरामीको रगतलगायत परीक्षण गर्न सवा घण्टा लाइन बस्नुपर्छ । फेरि समयमा रिपोर्ट आए त हुन्थ्यो ! अर्को ढेड घण्टामा बल्ल कर्मचारी आइपुग्छन् ।
यता बल्लबल्ल शय्यामा आइपुगेका चिकित्सक चिच्याउँछन्, “खै रिपोर्ट ?”
उता ल्याबका प्राविधिक भन्छन्, “भन्नेबित्तिकै रिपोर्ट कहाँ आउँछ ? चाहिएकै टाइममा रिपोर्ट पाउन, सजिलो गरी उपचार गर्न त निजी अस्पतालमा जानुपर्छ !”
निजीमा प्रशस्त पैसा खर्चिएर उपचार गराउन सक्ने हैसियत भइदिएको भए त्यस्तो हन्डर, ठक्कर बेहोर्दै घण्टौं लाइन बसेर टिकट काटी उपचार गर्न शिक्षण अस्पताल किन पुग्नुपथ्र्यो ?
मेरो मन अमिलो भयो ।
आकस्मिक उपचार कक्षको त यस्तो हालत, अरु वार्डको के होला ?
० ० ०
दिदीले अस्पतालको ‘बेड कभर’ राम्रो हुँदैन भनेर घरबाट ल्याउनुभएको रहेछ । त्यो हामीले देखाएका थिएनौँ ।
पछि अपरेसन थिएटरका कर्मचारीले आफैं भने, “बुझ्नुभो, योभन्दा राम्रो बेड कभर चाहिए आफैँ बन्दोबस्त गर्नू ।”
‘बेड कभर’समेत घरबाट ल्याउनुपर्ने यस्तो पनि अस्पताल ?
कर्मचारीलाई मुखभरिको जवाफ दिन मन लागेको थियो, बोलिनँ ।
म बोलेर पूरै सिस्टम फेरिनेवाला पनि थिएन । लेखें भने त संसारले थाहा पाउँछ ।
० ० ०
शल्यक्रियापछि बिरामीलाई राम्रो भनिएको क्याबिनमा सारियो । त्यहाँ पुग्दा मेरो होसै हरायो ।
दुर्गन्धले नाक थुन्नुपर्ने ! कुकुरले दिसापिसाब गरेको र पान खाएर थुकेकाले होला– भित्तो इच्द्रेणीझैं रंगीन थियो । मनको श्यामश्वेत दुःख त्यही इन्द्रेणीमा मिसियो ।
हाम्रो आग्रहमा कर्मचारीले सफासुग्घर गर्न थालिन् । दिदीले पनि सघाउँदै थिइन् । सरसफाइमै खटिएकी अर्की कर्मचारीले भनिन्, “यो तिम्रो घर हो र यसरी मरिमेटेर सफा गछ्र्यौ ? अलिअलि सफा गरे त भइहाल्छ नि ! आखिर निको हुनै लागेका बिरामी हुन् क्यारे, केही दिन बसेर गइहाल्छन् !’
अपरेसन गरिएको बिरामी । घाउ निको नहुन्जेल जतिबेलै संक्रमणको खतरा रहन्छ । सरसफाइप्रति कति असंवेदनशील कर्मचारी !
कर्मचारीको दादागिरी उस्तै । डक्टरदेखि सरसफाइमा खटिने कर्मचारीसम्म सोच्दा रहेछन्–– हामीले जे गरे पनि हुन्छ, हामी नै सर्वेसर्वा हौँ र हामीले भनेकै अन्तिम निर्णय हो । तिमीहरू चुपचाप आऊ र चुपचाप जाऊ ।
पहिले बानी थियो होला, अहिले स्वभाव बनिसकेछ ।
० ० ०
अस्पताल बसाइ मेरो पहिलो पटक भने थिएन । बुबा क्यान्सरको बिरामी हुनुहुन्थ्यो । मेडिकेयर हँुदै ओम अस्पतालमा लगातार तीन वर्ष बिताएँ । उपचारका क्रममा सय पटकभन्दा बढी अस्पताल ओहोरदोहोर गरेँ होला । महिनौंसम्म अस्पतालमै बास भयो तर यस्तो लापरवाही भोगेको थिइनँ ।
निजीमा लाखौं रुपैयाँ सकिएर झन्डै घरखेत गएकाले टिचिङमा सजिलै गएको हुँ । तर, टिचिङको ढोकाभित्र पसेकै बेलादेखि मलाई थकथक भयो– बेकार ल्याएछु भन्ने भयो ।
हामी घर जाने अन्तिम दिनमा दाङबाट आएका एक बिरामीको मृत्यु भयो । साहुको बगैँचामा आँप टिप्न जाँदा लडेर उपचारका लागि त्यहाँ ल्याएका बिरामी थिए ती । श्रीमती सुनाउँदै थिइन्– पैसा पनि थिएन, उपचारका लागि विभिन्न अस्पताल चहार्दा–चहार्दै श्रीमान्को ज्यान गयो । बेलैमा उपचार गराउन ल्याउन सकिएको भए बाँच्थे कि ! पैसा नभएकाले यहाँ पनि डक्टरले राम्रोसँग हेरिदिएनन् ।
हुन त मृत्युभन्दा माथि को हुन्छ र ! तर पनि उनको वेदनामा न डक्टर, न नर्स– कसैले च्वच्व गरेनन् ।
तीन तलामाथि वार्डमा रातको दुई बजे उनको मृत्यु भएछ । मृत्यु भएपछि शवगृहमा राख्न भनेर भुइँ तलामा झारियो । तर, कर्मचारी सुतेकाले ती महिला छिँडीमा एक्लै रातभरि शव कुरेर बसिन् । उज्यालो भएपछि हामीलाई बोलाइन् र सोधिन्, “दाइ, मरेको मान्छे बोक्ने गाडी कता पाइन्छ ?”
हामीले कर्मचारीलाई बोलाइदियौँ । उनी झर्किएर बोले, “ह्या, दाङ लैजान महँगो पर्छ, यतै जलाऊ ।”
महिला रुन थालिन् । दयाको ‘भीख’ मागिन् ।
कर्मचारी अझै चर्किए, “केको दया ? यस्तो त दिनकै आउँछन्, कतिलाई दया गर्नू !”
उनले ‘कति दिने ?’ भन्दै बार्गेनिङ पो गर्न थाले ।
महिला भन्दै थिइन्, “साहुकोमा काम गर्दा लडे पनि साहुले उपचार गरिदिएनन् । ३० हजार सापटी मागेर उपचार गर्न यहाँ आएका हौं । २० हजार त उपचार गर्दै सकियो, १० हजारमात्र बाँकी छ, यति पैसाबाटै सबै भ्याउनुपर्छ ।”
उनी धर्धरी रोइन् ।
सवारी शाखाका ती कर्मचारीले १० हजारमा बल्लतल्ल माने । अझ भन्दै थिए, “२० हजार नभए त मलाई केही बस्दैन ।”
अस्पतालको तलब खाने कर्मचारीलाई के ‘बस्नुपर्ने’ हो, हामीले केही बुझ्न सकेनौँ ।
० ० ०
देशको नाम चलेको टिचिङ अस्पताल ।
राम्रो सेवासुविधा पाइन्छ भनेर प्रायःको रोजाइ यही टिचिङ हुन्छ । तर, उपचारका क्रममा सात दिन, सात रात बिताएको मलाई अस्पतालको लापरबाही देख्दा अहिले पनि जिउमा काँडा उम्रिन्छ ।
सिंहजस्तै गर्जिने त्यहाँका कर्मचारीको आवाज अझै कानमा ठोक्किएझैँ लाग्छ । कुरुवाको त त्यस्तो हालत हुन्छ भने बिरामीको अवस्था र तिनले पाउने उपचारको हविगत के होला ? बारम्बार मनमा कुरा खेलिरहन्छ ।
प्रकाशित मिति: शनिबार, भदौ २५, २०७३ ०८:३६
प्रतिक्रिया दिनुहोस्