यता राष्ट्रपतिको पूरा सानसौकतका साथ राता पोसाक र झल्लरे टोपी लगाएका ठूला घोडामा आसीन रिसल्ला अघिपछि लगाएर ठूलो लिमोजिन कारभित्र सानसँग शीतल निवासबाट संसद् भवनतिर सवारी चलाइयो । उता, काठमाडौंको अति व्यस्त सडकमा एक स्थानबाट अर्कोतिर जान हतारिएका सवारी साधन गुफामा चमेरो झुत्तिएझैँ सडकमा चेपिए । घन्टौं एक इन्च टसमस गर्न नपाएर आफ्ना जरुरी काममा पुग्न नपाएका, छोराछोरीलाई लिन समयमै स्कुल पुग्न नसकेका, बिरामी लिएर डाक्टर देखाउन हिंँडेका सबैथरी यात्रुमा ठूलो रोष उत्पन्न भयो । सबैको मुखबाट एउटै कुरा निस्क्यो – ‘गणतन्त्रमा चल्यो मौसुफको सवारी ।’
भन्नु परोइन, जति सानका साथ सवारी चलाइयो उत्तिकै सानका साथ फिर्ती सवारी पनि भयो । सवारी हुँदा एकथरी जाममा परे, फिर्ती सवारी हुँदा अर्काथरीले मौसुफको सवारी बारेमा टिप्पणी गरे । ट्विटरमा, फेसबुकमा धेरैथरी ह्यासट्याग बने त्यसमध्ये कसैले लेखे, ‘#मौसुफको सवारी ।’
एकजना युवा पत्रकारलाई राष्ट्रपतिको सवारी देखेर पटक्कै निन्द्रा लागेनछ । राति बाह्र बजे नेकपा (एमाले)लाई अहिलेको स्थानमा पुर्याउन सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रपति विद्यादेवी भण्डारीका पति स्वर्गीय कमरेड मदन भण्डारीको पुरानो भाषण खोजेछन् र सुनेछन् । आफूले सुनेर नपुगेर युट्युबमा पनि लोड गरेछन् । उक्त भाषणमा मदन भण्डारी भन्छन् – ‘आदरणीय जनसमुदाय एकजना राजा रहने कुराले त्यत्रो ठूलो कुनै आपत्ति गर्दैन तर सामन्तवाद, दलाल, नोकरशाही, पुँजीवाद र साम्राज्यवादको शोषण रह्यो भने राजा नरहे पनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन । प्रमुख शत्रुलाई निमिट्यान्न पारे पनि मुलुकको आधारभूत स्थितिमा परिवर्तन भएन भने जनता र राष्ट्रको जीवनमा खुसहाली आउन सक्तैन ।’ ती पत्रकार भन्छन् व्यवस्था परिवर्तन हुँदैमा अवस्था परिवर्तन हुँदैन भन्ने मदन भण्डारीको भनाइ प्रमाणित भएको छ ।
हुन पनि बिहीबार राष्ट्रपतिको संसद् आगमन राजतन्त्र फ्याँकेका जनतालाई पाच्य भएन । राजा गए के भयो र नयाँ राजा आएछन् भन्ने गुनासो सर्वत्र सुनियो । अब प्रश्न उठ्छ, के राष्ट्रपतिले त्यस्तो तामझाम गर्नै पर्छ । तामझाम गरेन भने जनताको मनमा राष्ट्रपतिको इज्जत कम हुन्छ ? यसको लागि हामीले अलिकति शासक र शासितको मानसिकताको विवेचना गर्नुपर्ने हुन्छ । पुराना शासकलाई आफू देवताको अंश भएको वा साधारण मानिसभन्दा निकै शक्तिशाली भएको देखाउनुपर्थ्यो । मानवको सभ्यताको विकास क्रममा शासकले शासितलाई आफ्नो प्रभाव देखाउन टाउकोमा अनेक प्रकारको टोपी लगाउने गर्थे । कतिपय पुराना सभ्यतामा बाघ वा सिंहको टाउकोको शिरपोस बनाएर शासकले लगाउने र उनको भेषभूषाले समेत शासित नतमस्तक हुने गर्थे । जनतालाई भगवानको कोप, प्राकृतिक विपत्ति र अन्य प्रकारको समस्याबाट जोगाउने सामर्थ्य भएको भान पार्न पनि यस्तो प्रकारको भेषभूषाको आवश्यकता थियो ।
आधुनिक युगमा राम्रा कपडा, रंगीन धागा, श्रीपेच, मुकुट आदिजस्ता पहिरनले जनतालाई प्रभाव पार्ने काम भयो । राम्रा कपडाको उत्पादन प्रविधि विकसित देशमा मात्र हुने कारणले पनि जसले राम्रो कपडा लगाउँछ उसलाई साधारण जनताले शासक मान्न थाले । कतिपय तानाशाह र स्वेच्छाचारी शासकले बढीभन्दा बढी आधुनिक हतियारले सुसज्जित सुरक्षाकर्मी वरिपरि राखेर आफ्नो शक्तिको परिचय दिन्छन् । नेपालमा अहिले देखिएको तामझाम सिधै शाहकालीन राजतन्त्रबाट अनुकरण गरिएको हो । शाह र राणा शासकले यो परम्परा बेलायती, स्पेनी आदि साम्राज्यवादी शक्तिबाट अनुकरण गरेका हुन् । यी साम्राज्यवादीहरू अत्यन्त आक्रामक शैलीमा शासन गर्थे । शासितमाथि अन्याय, अत्याचार गर्नुपर्ने र आफू अति प्रभावशाली देखिनुपर्ने हुनाले साम्राज्यवादी शक्तिले यस्ता मुकुट, श्रीपेच, ह्याट, अनेक थरीका फित्ता, तासको कपडा लगाएर जनतामा देखिन्थे । घोडा, बग्गी, रिसल्ला आदि पनि त्यही मनःस्थितिका उपज हुन् । प्रविधिको विकाससँगै मोटर र मोटरसाइकल पनि त्यही तामझाममा थपिए । घोडा त गएनन् तर मोटर साइकल थपिए । बग्गी पनि कतिपय स्थानमा कायमै भए, कहीँ भएनन् ।
समग्रमा भन्दा जनताको शक्तिबाट आफ्नो इज्जत, मान, प्रतिष्ठा सिर्जित भएको भन्ने सोच राख्ने शासक हो भने यस्तो आडम्बरी तामझाम र नक्कल चाहिँदैन । तर, राष्ट्रपति, प्रधानमन्त्रीलाई सुरक्षा पनि चाहिन्छ र अलिअलि तामझाम पनि चाहिन्छ भन्नेमा भने विवाद छैन । किनभने, त्यस्ता धुमधामको नक्कलबाट प्रभावित हुने जनताको संख्या विकसित देशमा त छन् भने नेपालमा नहुने कुरै भएन । तथापि जनपक्षीय शासकले बिस्तारै यस्ता नक्कल, आडम्बर र राष्ट्रिय ढुकुटीको अनावश्यक खर्च कटौती गर्दैगएका छन् ।
नेपालकी राष्ट्रपतिको संसद्सम्मको भ्रमणमा अगाडि रातो रंगका कोट लगाएका, रातै झल्लरे टोपी र झन्डा हल्लाएका रिसल्ला चडेका अरबी खैरा घोडा १४ वटा थिए । त्यसको पछाडि ११ वटा पाइलट मोटर साइकलले घेरिएको राष्ट्रपतिको जगुवार लिमोजिन अनि पछाडि फेरि १३ वटा उस्तै घोडा थिए ।
सवारी चलाउनेले सकभर अगाडि १४ खैरो घोडा र पछाडि १३ सेतो घोडा राख्ने कोसिस गरेको पनि देखिन्छ तर सेता घोडा आठवटामात्र रहेछन्, बाँकी पछाडिको लाइनमा खैरा घोडा नै देखिन्छन् ।
।
राजा भएर पनि साइकलमा हिँड्ने भनेर प्रख्यात नर्वेका राजा यस्तो कार्यक्रममा कसरी जान्छन् भनेर तुलनात्मकरूपमा हेर्न पनि सकिन्छ । नर्वेका राजा संसद् गएर फर्कदाको एउटा भिडियो युट्युबमा राखिएको छ ।
यो सन् २०११ को राजाको औपचारिक भ्रमणमा नर्वेमा पनि बाटो बन्द गरेर नै सवारी चलाएको देखिन्छ । तर, राजा धेरै नजिकसम्म आउन्जेलसम्म पनि सर्वसाधारणलाई बाटो काट्न दिइएको छ । नेपालमा जस्तो घोडा र रिसल्ला छैनन् । भन्नुको मतलब नर्वेका राजाले समेत त्यति कम गर्छन् भने हाम्रोजस्तो नयाँ गणतन्त्रमा राष्ट्रपतिको यत्रो तामझामको के औचित्य ?
यो विषयमा राष्ट्रपति वा सरकारको सोच नपुगेकोमा शंका छैन । तर, तिनलाई मात्र दोष दिएर पुग्दैन । राष्ट्रपतिको मान, सम्मान र इज्जत घटाउनु पक्कै पनि हुँदैन । परन्तु, यसलाई समयानुकूल कसरी बनाउने र यो पदको साख कसरी बढाउने भन्ने विषयमा भने सोच्नै पर्छ । राजाको सवारी चलाएको सुरक्षा निकायले आफूले जसरी जानेको छ त्यसरी नै कार्य गर्छ । नेपालमात्र होइन भारतले समेत बेलायती परम्पराको अनुसरण गर्न छाडेको छैन । फेरि जनताको नेतालाई पनि कुनैरूपमा आफूलाई राष्ट्रले इज्जत दिएको महसुस गर्न मन पनि लाग्दो होला र यो चाहना सम्पूर्णरूपमा गलत पनि नहोला । तर, अब समय फेरियो भन्ने हेक्का रह्यो भने केही परिवर्तन गर्न सकिन्छ ।
राष्ट्रपतिको भ्रमणमा सम्पूर्ण सवारी साधन रोक्ता हुने जनताको समय र इन्धनको बर्बादीको हिसाब गर्ने हो भने राष्ट्रपतिलाई यस्तो कार्यक्रममा सेनाको हेलिकप्टरबाट परिवहन गर्नु अत्यन्तै सहज र सस्तो पनि पर्छ । राष्ट्रपतिलाई संसद् भवनसम्म हेलिकप्टरमा लगेर त्यहाँ एक मञ्च बाहिर नै बनाएर सलामीसहित अन्य सबै तामझाम गरेर भित्र लगे त उद्देश्य पनि पूरा हुन्थ्यो र जनताले पनि दुःख पाउँदैन थिए । अनि यस्तो भ्रमण समयानुकुल बनाउन अब घोडा र रिसल्लालाई बिस्तारै इतिहास बनाए पनि फरक पर्ने देखिँदैन ।
अन्त्यमा, संघीय, गणतान्त्रिक, समावेशी नेपालको राष्ट्रपतिको औपचारिक भ्रमणको कार्यक्रममा अर्कोपल्ट ‘मौसुफको सवारी’ भन्ने ह्यासट्याग नचलोस्, सरकार र सम्बद्ध निकायले ध्यान पुर्याओस् ।