काठमाडौं । दोलखाकी ३१ वर्षिया ललितकला चापागाईंको दुवै मृगौला फेल भएको छ । हाल उनी वीर अस्पतालमा उपचार गराइरहेकी छिन् । सास बढ्ने, हात–खुट्टा सुन्निने, छातीको पछाडिपट्टीको भाग सुन्निने लक्षण उनलाई देखापरेको थियो । “यति हँुदैमा उपचार गरेको भए मृगौला बचाउन सकिन्थ्यो रे । अब त खाना पनि अरुले खुवाइ दिनुपर्ने हालत भएको छ,” उनले भनिन्, “जिल्लाका अस्पतालमा मृगौलाको डाइलासिस गर्ने व्यवस्था नहुँदा महिनामा ३ देखि ४ पटकसम्म डाइलासिस गर्ने आउनुपर्छ । यतै अस्पताल नजिकै कोठा भाडामा लिएर बसेकी छु ।”
धादिङकी ३९ वर्षीय फूलकुमारी वाइवालाई लगातार वाकवाकी हुने, रिङ्गटा लाग्ने, पिसाब थौरै–थौरै आउने आदि लक्षण देखापरेको थियो । यस्तो समस्या आएपछि उनले औषधी खाइन् । केही समय ठिक भयो तर पुनः पहिलाको जस्तै समस्या देखापर्यो । त्यसपछि स्वास्थ्य केन्द्रमा उपचार गर्न गइन् । केही ठिक भएजस्तो भए पनि पूरै ठिक भएन । उनी छोरीको सहयोगमा उपचारका लागि वीर अस्पताल आइन् । अस्पतालमा उपचार गर्दामात्र थाहा भयो, मृगौला काम नलाग्ने भइसकेको रहेछ । उनी वीर अस्पतालमा अहिले डाइलासिस गरिरहेकी छिन् ।
धनुषाकी २९ वर्षीय नजिमा खातुनले सुत्केरीको अवस्थामा पनि आराम गर्न नपाएको सुनाइन् । उनलाई ६ महिनादेखि हात–खुट्टा सुन्निने, खान मन नलाग्ने, रिंगटा लाग्ने आदि लक्षण देखापर्यो । नजिकैको मेडिकलबाट दुखाइ कम गर्ने औषधी किनेर खाइन् तर ठिक भएन । बरु लक्षणहरु झन बढ्दै गए । उनी कोशी अस्पतालमा उपचारका लागि गइन् । त्यसपछिमात्र थाहा भयो, मृगौला फेल भएको रहेछ ।
सामान्य लक्षण देखा पर्दा वास्ता नगर्ने, चिकित्सकको सल्लाहबिना नै दुखाइ कम गर्ने औषधी खाने आदि प्रवृत्तिले मृगौला रोगका बिरामी बढ्दै गएको चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार मृगौला रोगले सताएका मानिसहरू अन्य व्यक्तिजस्तै साधारण देखिन्छन् । नियमित स्वास्थ्य परीक्षण नगर्दा मृगौला थाहै नपाई बिग्रिरहेको हुनसक्छ । मृगौला ९० प्रतिशतसम्म खराब भइसक्दा पनि कुनै लक्षण देखिँदैन । ९० प्रतिशत मृगौला खराब भए पहिलेकै अवस्थामा आउन गाह्रो छ । त्यसैले कतिपय मानिसको मृगौला बिग्रिरहेको छ भने पनि कुनै लक्षण नदेखिन सक्छ ।
मृगौला रोग पहिले वृद्धवृद्धाहरूमा बढी देखिए पनि हाल आएर बालबालिका तथा युवामा समेत देखिन थालेको छ । अझ धुमपान, मदिरा सेवन गर्ने ४५ वर्षमाथिका व्यक्तिहरू बढी जोखिममा रहेका छन् । तर, ७५ वर्ष माथिकालाई ५० प्रतिशत अत्यधिक जोखिम हुन्छ ।
मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले भन्छन्, “महिलाहरूमा गर्भवती अवस्थाको जटिलताका कारण मृगौला रोग बढी देखिन्छ । पिसाब धमिलो हुने, रिङ्गटा लाग्ने, धेरै पटक पिसाब लाग्ने, लगातार वाकवाकी आउने, हात खुट्टा सुन्निने, छातीको पछाडिपट्टीको भाग सुन्निने, भोक नलाग्ने लक्षण देखिन्छ । यस्ता लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ ।”
टिचिङ अस्पतालकी मृगौला रोग विशेषज्ञ डा. दिव्या सिंहका अनुसार गर्भवती महिलामा गम्भीर मृगौला रोग भएमा आमा र तिनका शिशुमा समेत नकारात्मक असर पर्छ । डा. सिंह भन्छिन्, “गर्भवती अवस्थामा स्वस्थ र पोषिलो खाना नपाएमा कम तौलको बच्चा जन्मने हुन्छ र पछि उसको मृगौला बिग्रने समस्या हुन सक्छ ।”
मधुमेह र उच्च रक्तचाप भएका, धुमपान गर्ने, ५० वर्ष उमेर नाघिसकेका, मृगौलामा अन्य समस्या भएका व्यक्तिलाई मृगौला रोगको खतरा बढी हुने भएकोले नियमित रुपमा परीक्षण गराउन डा. सिंहले सुझाइन् ।
नेपालमा मृगौला रोगीको यकिन तथ्यांक छैन । तर, वार्षिक करिब ३ हजार नयाँ रोगी थपिने गरेको चिकित्सकहरु बताउँछन् । यकिन तथ्यांक नभए पनि पुरुषभन्दा महिला मृगौला रोगको समस्याबाट बढी पीडित हुने गरेको चिकित्सकहरू बताउँछन् ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा मृगौला रोगका कारण प्रत्येक वर्ष ६ लाख महिलाको मृत्यु हुने गरेको पाइएको छ । मृगौलासम्बन्धी रोगबाट विश्वभर १९ करोड ५० लाख महिला प्रभावित भएको संगठनको तथ्यांक छ ।
मृगौलाको काम के हो ?
मृगौलाको काम शरीरबाट उत्पादन हुने विकारहरू शरीरमा जम्मा हुन नदिई बाहिर फ्याँक्ने हो । यसका साथै मृगौलाले शरीरमा पानी र लवणको मात्रा मिलाउँछ । क्याल्सियम र फोस्फोरसको सन्तुलन कायम राखी हड्डीहरू बलिया बनाउन, मांसपेसी र नसाहरू चल्नका लागि शरीरमा सोडियम, पोटासियमको मात्रा मिलाउन सहयोग गर्ने गर्छ ।
रगत बनाउने हर्मोन, रक्तचाप नियन्त्रण र मुटुकै कार्य नियन्त्रण गर्न पनि मृगौलाको महत्वपूर्ण भूमिका हुन्छ । सामान्य व्यक्तिको शरीरमा दुईवटा सिमी आकारका करिब १० सेमि लामा दुईवटा मृगौला मेरुदण्डको दायाँ–बायाँ करङमुनि रहेको हुन्छ ।
मृगौला रोगका लक्षणहरू
शरीर सुन्निने, पिसाब रातो हुने, पिसाब कम हुने वा पिसाब धेरै लाग्ने ।
खाना रुची नहुने ।
वाकवाकी लाग्ने ।
शरीरमा रगत कमी हुने ।
शरीरको छाला गाढा कालो भएर जाने ।
सास फेर्न गार्हो हुने ।
मृगौला रोगबाट बच्न के गर्ने ?
रक्तचाप र मधुमेह नियन्त्रण गर्ने ।
सबैले वर्षको एकपटक रगत र पिसाबको परीक्षण गर्ने ।
दैनिक २ लिटरभन्दा बढी पानी पिउने ।
जथाभावी पेनकिलर नखाने ।
नियमित रुपमा शारीरिक व्यायाम गर्ने ।