site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
औषधी नै पाइँदैन सरकारी अस्पतालका फार्मेसीमा

काठमाडौं । वीर अस्पतालमा पतिको उपचार गर्न आएकी मैयावती चिकित्सकले लेखेका ५ प्रकारको औषधी लेखेको चिट बोकेर अस्पतालको फार्मेसीमा पुगिन् । तर, फार्मेसीमा दुई प्रकारका औषधीमात्रै पाइन् । बाँकी औषधी बाहिरका निजी फार्मेसीबाट किन्नुपर्ने भयो । उनी मधुमेहका बिरामी पतिलाई ३ दिनदेखि अस्पतालमा भर्ना गरेर उपचार गराइरहेकी छन् । उनले दैनिक ४ हजार रुपैयाँसम्मको औषधी किन्नुपर्छ । तर, अधिकांश औषधी अस्पतालको फार्मेसीमा नपाइने भएकाले बाहिर किन्नुपर्ने हुन्छ । “यहाँ आधा पनि औषधी पाइँदैन, सबै बाहिरका फार्मेसीबाट ल्याउनुपर्छ,” उनले गुनासो गरिन् । 

बानेश्वर थापागाउँकी हरिकला कार्की थापाथलीस्थित प्रसूति गृहमा छोरीलाई सुत्केरी गराउन गइन् । उनले छोरीको सुत्केरी गराउँदा चाहिने अधिकांश औषधी र सामान बाहिरको निजी फार्मेसीमा गएर किनेको बताइन् । 

मीनभवनस्थित निजामती कर्मचारी अस्पतालको अवस्था पनि उस्तै छ । केही समयअघि भान्जाको आकस्मिक उपचारका लागि पुगेका गौरीघाटका बिसन भण्डारीले औषधीका लागि कैयौंपल्ट अस्पताल बाहिरका निजी निजी फार्मेसीमा धाउनुपर्यो । “इमर्जेन्सीले लेखिदिएको औषधीसमेत अस्पतालमा पाइँदैन । रातिको बेला औषधी खोज्न कहाँ जानु ?” उनले भने । तीन दिन अस्पताल बस्दा अधिकांश समय औषधी किन्न बाहिरकै फार्मेसीमा जानुपरेको अनुभव उनले सुनाए । “फ्लेक्सनजस्तो सामान्य औषधी पनि अस्पतालको फार्मेसीमा पाइँदैन भने अरुको के कुरा गर्नु,” भण्डारीले आक्रोश पोखे । कमिसनका लागि अस्पतालकै मिलेमतोमा औषधीको कृत्रिम अभाव सिर्जना गरिएको हुन सक्ने उनको आशंका छ ।

काठमाडौंका सरकारी अस्पतालहरु वीर, कान्ति बाल, टिचिङ, प्रसूति गृह आदिमा चिकित्सकले लेखिदिएका औषधी अस्पतालको फार्मेसीमा नपाउने गरेको सेवाग्राहीको गुनासो छ । 
अस्पतालहरु भने टेन्डर प्रक्रिया लामो र झन्झटिलो हुने भएकाले सबै औषधी फार्मेसीमा राख्न नसकिएको तर्क गर्छन् । “एउटै औषधी धैरै कम्पनीले उत्पादन गर्ने हुन्छन् । सबै औषधी राखेर साध्य पनि हुँदैन,” वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले भने । 

प्रसूति गृहकी प्रशासन प्रमुख रनु थापाले भने चाहेर पनि सबै औषधी अस्पतालको फार्मेसीका राख्न नसकिने बताइन् । “केही बिरामीका आफन्त चिकित्सकले लेखेकै ब्रान्डको औषधी खोज्छन् । त्यो औषधी नहुँदा बाहिरका फार्मेसीमा जानुपरेको हो,” उनले भनिन् । 

स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार फार्मेसीमा औषधी अभाव हुन नदिन अस्पतालले वर्षभरीको औषधी एकैपटक खरिद गर्नुपर्ने हुन्छ । तर, यसरी एकैपटक औषधी किन्दा मिति गुज्रिएका औषधीको पनि मूल्य तिर्नुपर्ने अस्पतालहरु तर्क गर्छन् । निजी फार्मेसीमा भन्दा सरकारीमा ५० प्रतिशत सस्तो मूल्यमा औषधी पाइन्छ । तर, अस्पतालले सञ्चालन गरेको फार्मेसीमा चिकित्सकले लेखिदिएको औषधी नपाउँदा बाहिर महँगोमा किन्नुपरेको बिरामीहरु बताउँछन् । 

निजी फार्मेसीमा गुणस्तरीय औषधी नपाइने र महँगो पर्ने गरेको गुनासो धेरै आएपछि गत वर्षदेखि सबै सरकारी अस्पतालमा आफ्नै फार्मेसी हुनुपर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको थियो । यसका लागि केही बजेटसमेत मन्त्रालयले अस्पतालहरुलाई दिएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २३, २०७४  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro